जेबी दर्लामी
यो कुरा हो विक्रम संवत् २०५१ सालतिरको अर्थात् सन् १९९४ को । मैले आफू पढिरहेको कक्षा ६ का सबै किताब बारीमा लगेर पोलिदिएँ । यतिबेला मेरो उमेर थियो जम्मा १२ वर्षको । टिनएजमा पनि लागेको थिइनँ म तर, मेरो मन मानौं बूढो भइसकेको थियो । यस्तो लाग्थ्यो, सबै बुझ्न सक्थेँ म । आफूमाथि आइपरेका सबै दुःख, पारिवारिक तनाव, आमाको सुस्केरा, बाबाको परदेशबास सबै–सबै बुझ्थेँ म ।
किताब पोलेर आगो तापिसकेपछि अब के गर्ने ? भन्ने सङ्कट मभित्र जन्मिएको थियो । ६ कक्षाका ती किताब र तीसँग सम्बन्धित केही बिजोडा कापीहरू पनि एकसाथ सल्केका थिए । त्यसको न्यानो भने धेरैबेर टिकेन । अब के गर्ने ? प्रश्नको चिसो सिरेटोले मुटुमै हिर्काउन आएको थियो । किन मैले यसो गरेँ ? भन्ने एउटा पछुतोमिश्रित प्र्रश्न झीनो स्वरमा मनभित्र कतै उठेको थियो तर त्यसलाई मैले जे गरेँ, ठिक गरेँ भन्ने आफूभित्रको अहङ्कार, आडम्बर र अभिमानको जवाफले त्यो प्रश्न हुर्कनै पाएन ।
पाँच कक्षा पास गरेपछि ५ कक्षासम्मै चलेको गाउँकै स्कूलमा पढाउन थालेको, मासिक ३०० रुपैयाँ तलब थापेको, ६ कक्षामा पढ्दैगरेको विद्यालयमा निजी स्रोतबाट पढाइरहेको सरलाई ब्ल्याकबोर्डमा उनले बिगारेको हिसाब सच्याइदिएको, ३ कक्षा पूरा नगर्दै बुधबार साप्ताहिक, गोरखापत्र र विभिन्न दलका मुखपत्र खरर्रै पढ्न सिकेको ... आदि इत्यादि घटना मेरो अहङ्कारलाई मलजल गर्न पर्याप्त थिए होलान् भन्ने लाग्छ । तर, कारण यो प्रमुख थिएन । घरबाट विद्यालय पुग्ने बाटोको दूरी एकदिनभरिको हुनु, अर्काको घरमा हेलाहोँचो भएर बस्नुपर्ने बाध्यता हुनु, घरमा आमा एक्लै पर्नु र आमाले पाइरहेको दुःखले रातदिन मथिङ्गलमा हिर्काइरहनु मुख्य कारण यी थिए । गाउँमै स्कूल हुन्थ्यो भने के हुन्थ्यो होला ? भनी कहिलेकाहीँ म गमेर बस्छु । कमसेकम मैले विद्यालय जीवनको यात्रालाई अधुरो छाडेर किताब पोल्ने थिइनँ होला । कमसेकम जीवन र जगतलाई थप विशाल आलोकमा बुझ्न सक्ने र त्यसलाई समाज र समुदायबीच बुझाउन सक्ने ल्याकत राख्थेँ हुँला । ठाउँ–ठाउँमा औपचारिक शिक्षाको नपाएको प्रमाणपत्रले कुनै दन्त्यकथाको राक्षसजस्तो भएर हाहाहूहू गर्दै मलाई आजसम्मै तर्साउने थिएन होला या म तर्सिन्नथेँ हुँला । गमेर बस्दा मलाई यस्तो लाग्छ ।
तीनओटा मुख्य गाउँ थियो हाम्रो वडामा । हाईस्कूल सबैभन्दा माथिल्लो गाउँमा थियो । त्यहाँसम्म गएर पढ्न सक्ने क्षमता हाम्रो टोलमा कसैको भएन । त्यो हाईस्कुल बीचको गाउँमा राखिदिएको भए त वडाभरिका विद्यार्थीले पढ्न पाउने थिए नि । राज्यको वरिपरि माखाजस्तो भए रिङ्नेहरूले गरेको यो भेदभाव सम्झँदा अहिले पनि मनमा सानोतिनो आगो दन्कन्छ मेरो ।
असमयमै स्कूल छाडेपछि सबैभन्दा बढी मैले सिकेको पाठ भनेको एउटै
छ, त्यो हो निरन्तरताको
गहन भूमिका । पढाइलेखाइ जेजस्तो भए पनि नियमित विद्यालय र घर आइजाइले मान्छेलाई
जीवनको अनुशासन सिकाउँछ होला भन्ने लाग्छ । कुनै काममा एकाग्र भएर लागिरहन मद्दत
गर्छ होला । अर्थात् निरन्तरतालाई जीवनमा लागु गर्न गराउन सहयोग गर्छ होला ।
असमयमै विद्यालय छाडेपछि म एकप्रकारको स्वच्छन्द बन्दैगएँ । मन नपरेका कुरामा लडाइँ गर्न थालेँ । गाउँठाउँका स–साना अनियमितता र विसंगतिले मलाई क्रूद्ध बनाउन थाल्यो । एकैरातमा सम्पूर्ण परिवर्तन गर्नुछ भनेजत्तिकै आफूलाई रफ्तार चाहिएको थियो । तर, समाजका सबै अवयव र प्रणाली कछुवाभन्दा सुस्त थिए । समाजलाई ह्वात्त अगाडि लैजाने मेकानिज्म हामीसँग केही थिएन ।
विस्तारै कसैको र केहीको बन्धन मलाई मन पर्न छाड्यो । समाजका नैतिक अनैतिक भाषा परिभाषा मलाई एउटै लाग्न थाल्यो । त्यही उडन्ता बानीले मलाई उडाउँदै एक दिन भारत पु¥यायो । बहाना थियो, पिताजीको खोजी गर्ने । सङ्कल्प थियो, ५, ६ वर्षसम्म घर नफर्केका बाउलाई आफूसितै लिएर आउने । तर, आफ्नो दिमागमा बन्न आएका अनेकन् विचारको रास आफूभन्दा ठूलो देखिएपछि र त्यसले क्रमशः मेरो अस्तित्वलाई पुरिदिन थालेपछि मैले गाउँ छाडेको थिएँ ।
यो थियो वि.स. को २०५५ साल अर्थात् सन् १९९८ । त्यतिबेला म थिएँ जम्माजम्मी १६ वर्षे ठिटो । एकदम कच्चा माटोजस्तो । नेपालले पहिलोपटक भिजिट नेपालको घोषणा सरकारी तवरमा गरेको बेला रहेछ । अहिले संज्ञान हुन्छ ।
देशले भिजिट नेपालको उत्सव मनाइरहँदा म र मजस्ता थुप्रै
नेपाली परदेशी भूमिमा दुःख मनाउन बाटो लागिरहेका थियौँ ।
०
पाठ्यपुस्तक जलाएर हिँडेको मान्छेको झोलामा भारत पुग्दा थियो, खगेन्द्र सङ्ग्रौलाको ‘हस्तक्षेप’ (कथासङ्ग्रह), सङ्ग्रौलाकै नेपाली अनुवादमा याङ मोको प्रसिद्ध उपन्यास ‘युवाहरूको गीत’, देवकोटाको ‘मुनामदन’, ‘सुलोचना’ । सङ्ग्रौलाका नाम जोडिएका किताब मैले भालुबाङ बजारको एउटा पान पसलमा किनेको थिएँ । बाँकी किताब बाजेको पालाको कन्तुरबाट निकालेको थिएँ । यी प्रायः किताब उतै हराए । ‘युवाहरूको गीत’ मात्रै मसित फर्कियो र यो अझै मसितै छ । यसको पछिल्लो १० पृष्ठ भने मैले अझै पढ्न भ्याएको छैनँ । त्यो उपन्यास पूरै पढिसकेको भए के हुन्थ्यो होला मेरो जीवनमा ? या के हुन्नथ्यो होला ? कहिलेकाहीँ सोँचेर रमाउने गर्दछु ।
भारतको हिमाचल प्रदेश मेरो पहिलो परदेश यात्रा बन्यो । गाउँकै पाका मान्छेहरूको पछि लागेर म त्यहाँ पुगेको थिएँ । घरबाट भालुबाङसम्म हिँड्दै त्यसपछि बस चढेर नेपालगञ्जसम्म । त्यहाँबाट नेपालको सिमाना पछाडि छाडेर हामी भारत प्रवेश गरेका थियौँ । अनि रुपैडिहा, बरेली, पावँटा, नाहन हुँदै रातदिनको यात्रापछि हामी बडुसाहिब पुगेका थियौँ । हिमाचल प्रदेशको सिरमोर जिल्ला । आएको भोलिपल्टै सुरु भएको थियो, परदेशको दैनिकी ।
बिहानै उठ्ने, गुरुद्वाराले सञ्चालन गरेको लङ्गरमा गएर चिया र रोटी
खाने, त्यसपछि निर्माण
सामग्री बोकेर काममा खट्ने । फेरि दिउँसो उही लङ्गरमा आएर मोटो चामलको भात, यदाकदा कीरा भेटिने
सिमलामिर्च र फर्सीका तरकारी । दिनभरि फेरि काममै । सेवादारहरूले किट्लीमा बोकेर
ल्याएका दुधपाउडर राखिएको चिया साँझपख पिउन पाइन्थ्यो । अनि राति उही लङ्गरमा भात
रोटी खान लाइन बस्ने । मलाई मोटो चामलको भात र ठस्स गन्हाउने रोटीमा समस्या थिएन ।
कहिलेकाहीँ थालमै फेला पर्ने र कहिलेकाहीँ दाँतमा किरिक्क लाग्ने कीराप्रति पनि
गुनासो थिएन । तर, गुरुद्वाराभित्रको
एउटा प्रचलन भने मलाई किन हो मनै परेन । त्यो थियो रोटीका लागि टाउकामा रुमाल
राखेर दुईटा हात थाप्नुपर्ने । सुरुमा त अपच नै भयो मलाई । नयाँ–नयाँमा त कहिले
टाउकोमा रुमाल राख्न बिर्सने त कहिले दुईटा हात थाप्न बिर्सने भयो । मलाई मात्र
होइन, सबैलाई ।
कोही सेवादार फरासिला हुन्थे । नामअनुसारकै सेवाको भावना उनीहरूको अनुहारमा झल्किन्थ्यो । कोही भने साह्रै हरामी हुन्थे । कसैले झुँक्किएर एउटा हात थाप्यो भने गाली नै गर्थे । त्यस्ता गाली नेपालीलाई मात्रै होइन, त्यहाँका स्थानीय र तल मैदानी भूभागबाट आएका शिखहरूलाई पनि पर्थे ।
तर, लङ्गरभित्रको यी चलन भने मलाई असाध्यै मन पथ्र्यो– आफूले खाएको थालबटुका आफैं माझेर राख्नुपर्ने, सुपरवाइजर होस् या सामान्य मजदुर एकै ठाउँमा बसेर खानुपर्ने, को सानो को ठूलो जातपात या पदीय हैसियतको कुनै अर्थ नहुने ।
त्यहाँबाट हिउँ परिरहेका डाँडाहरू नजिकै देखिन्थे । त्यसबाट
आउने चिसो सिरेटोले कानभित्रैसम्म आएर हिर्काउँथ्यो । त्यस्तो चिसोमा फलामको रड
काट्ने र बोक्ने, सिमेन्टको बोरा बोक्ने, ढलान हुँदा सिमेन्ट, गिट्टी र बालुवाको
मिश्रण भरिएको तसला बोकेर दस एघार तलामाथिसम्म लिएर जानुपर्ने । किन आएछु भन्ने
पनि भयो । परदेशमा दुःख हुन्छ त सबैले भन्थे, दुःखको किसिम भने आफैंले आएर भोगेको थिएँ ।
यहाँ आएर मनमा खुसी लाग्ने एउटै कुरा थियो, बिजुली बत्ती । गाउँमा सल्लाको दाउरा बालेर उज्यालो बनाउने आदिम परम्पराबाट अचानक रातमा पनि दिनजस्तो उज्यालो दिने बिजुलीको उपभोग गर्न पाइएको थियो । झोलाभरि बोकेर ल्याइएका किताबहरू काम लागेका थिए । दिनभरि काममा दलिएको थकित शरिरलाई भुल्लाभित्र लुकाएर म ती किताबका पंक्तिहरूमा डुबिरहन्थेँ । अरु साथीहरू रातभरि तास खेल्थे । त्यसका लागि बिजुली बत्ती बाल्नैपथ्र्यो । त्यही बत्ती बाल्नैपर्ने साथीभाइको बाध्यतालाई म किताब पढ्ने रहरमा प्रयोग गर्थें ।
त्यसै गरेर पढिभ्याएको थिएँ मैले आफूसित लगेर गएका किताबहरू । पढिभ्याएको मात्रै होइन, दोहो¥याएर, तेह¥याएर र कुनै पाना पचासौँपटक घोकेको थिएँ । ‘युवाहरूको गीत’का अन्तिम दस पृष्ठवाहेक त्यो उपन्यासका अन्य पानाहरू पनि पटक–पटक पढेको थिएँ । यसरी किताब जलाएर हिँडेको मान्छे म, किताबलाई नै सबैभन्दा नजिकको साथी बनाउन अभिशप्त भएको थिएँ ।
झोलामा भएका किताबको थुप्रो एकदमै सानो भएपछि मैले सम्झेको थिएँ– बनारस । गाउँमा छँदा छिमेकीको घरमा एउटा किताब थियो, मोटो–मोटो । घरमा ठूला मान्छे नभएको क्षण समातेर त्यस घरको मेरै उमेरको केटो र मैले त्यो किताब धेरैपटक मुसारेका थियौँ । किताबभित्रका केही पंक्तिहरू मैले पढेको थिएँ र बिल्कुलै नयाँ स्वादको लागेको थियो त्यो । किताबको नाम, त्यो छापिएको र पाइने ठेगाना मुखाग्रै गरेको रहेछु । त्यही बलमा हिमाचल प्रदेशको सिरमोर जिल्लाबाट उत्तर प्रदेशको बनारससम्म पत्राचार गरी किताब मगाउन सकेको थिएँ । पत्रमा मैले लेखेको थिएँ, ‘नेपालको ऐतिहासिक रुपरेखा’ जसरी पनि पठाइदिनुहोला र त्यसवाहेक अन्य पठनीय किताबहरू पनि यो मेरो ठेगानामा प्रेसित गरिदिनुहोला ।
प्रेषक : …………………………
अकाल एकेडेमी, गुरुद्वारा बडुसाहिब
जि. सिरमोर, हिमाचल प्रदेश
प्रापक : बाबु माधवप्रसाद शर्मा
पोस्ट बक्स नं. ६, वाराणसी, उत्तर प्रदेश
त्यसको केही दिनपछि बडुसाहिबभित्रै रहेको हुलाकमा मेरो नामको पार्सल आइपुगेको जानकारी पाएँ । हतारिँदै लिन गएँ । किताबको मूल्य र हुलाकको सेवाशुल्क तिरेर उक्त पार्सल हातमा बोकेर आउँदा मलाई आफू नेपाली होइन नेपोलियन बनेको आभास भएको थियो । कामसाम गोली मारो भन्दै म मध्यदिनमै कोठामा आएको थिएँ र हतारिँदै खोलेको थिएँ किताबले भरिएको खामलाई । कुनै बेला पटक–पटक मुसार्दै, लोभिँदै ‘आफ्नो साथमा पनि यो किताब भइदिएको भए कति जाती हुन्थ्यो’ भन्ने कल्पना गर्दै र प्राप्तिको कुनै सम्भावना अगाडि देखा नपर्दा खिन्नताबोधले अनुहार अँध्यारो बनाउँदै हिँडेको म एक तृषित्का अघि यतिबेला सिङ्गो तलाउ थियो । म त्यसबाट आँतभरि पानी पिएर त्यसैमा पौडी खेल्न चाहन्थेँ । मलाई आफ्नो जीवनभरिकै सबैभन्दा मूल्यवान खजाना हात परेजत्तिकै खुसी लागेको थियो ।
‘नेपालको ऐतिहासिक रुपरेखा’सँगै त्यो ठूलो खामभित्र अन्य केही नेपाली किताबहरू पनि थिए । त्यसमा उपन्यासकार प्रकाश कोविदलाई समर्पण गरेको एउटा पातलो उपन्यास पनि थियो । (कोविदकै उपन्यास भने मैले केहीपछि मात्रै पढ्न पाएको थिएँ ।) त्यो उपन्यासको नाम र लेखकको नाम अहिले म सम्झन सकिरहेको छैनँ । उपन्यासको कथा भने घामछायाँजस्तो मनमा आइपुग्छ । त्यसभित्र समावेश गरिएको एउटा गीतको टुक्रा कतै गीत सुन्नै नपाएको अवस्थामा पनि मनमा पूरै कपीपेस्ट गरेर राखेको थिएँ । त्यो गीत पनि मैले धेरैपछि मात्रै सुन्ने अवसर पाएको थिएँ ।
पूर्णिमाको रात पनि औँशीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रंगाइहाल्यो
यो त शम्भुजीत बास्कोटाको शब्द र सङ्गीतमा दीपक खरेलले गाउनुभएको गीत रहेछ, धेरैपछि थाहा भएको थियो । यसको भाका अर्कै रहेछ, यो पनि धेरैपछि ज्ञात भएको थियो । मैले त्यो उपन्यासभित्र भेटेका यिनै दुईटा लाइनलाई वर्षौंसम्म आफ्नै भाकामा गुन्गुनाइरहेँ । आफैं सङ्गीतकार, आफैं गायक बनेर ।
यी दुई वाहेक अरु पनि केही स–साना किताब पठाइएको थियो मेरो ठेगानामा । ती किताबहरू परदेशमा घरदेश सम्झाउने या बिर्साउने अमूल्य धन थिए मेरा लागि ।
पहिले–पहिले भारतबाट घर आउँदा बाबाले ल्याउनुभएका केही हिन्दी किताब र पत्रपत्रिका मैले पढिसकेको थिएँ । तीमध्ये रङ्गीन पानामा छापिएका ‘सरिता’ नामको डिमाई साइजको म्यागेजिनका केही अङ्कहरू पनि समावेश थिए । त्यही पत्रिका पढेर मैले टुट्याफुट्या हिन्दी बोल्न सिकेको थिएँ ।
सुरत भी अब तुम्हारी पहचान ना सकेंगे हम
शदीयों का फासला है जिस मोड से जूदा हुए हम
‘सरिता’को कुनै अङ्कमा
सानैमा पढेको एक कवितात्मक पंक्ति आज पनि मेरो मनमा थपक्क बसेको छ । त्यो बेला यी
पंक्तिका सबै शब्द म बुझ्न सक्तिनथेँ तर पनि सबै बुझेजस्तो लाग्थ्यो । यसभित्रको
भावुक अर्थ आएर मनमा ऊल्था भइदिएको आभास हुन्थ्यो । सुरत, फासला र जूदा भनेको के
हो ? भारत गएर गाउँ फर्केका
आफूभन्दा ठूला केटाहरूसँग सोध्ने गर्थेँ । बोरा बोकेर फर्केकाहरूलाई शब्द न अक्षर, भाव न अर्थ । केही
थाहा थिएन उनीहरूलाई । म अक्षर पढ्न सक्नुको र अर्थ बुझ्न नसक्नुको पीडामा आहाल
खेलिरहन्थेँ ।
आफैै भारत आएपछि हिन्दी किताबहरू पढ्ने रहर थप बढेको थियो । हामीले काम गर्ने ठाउँमा हिन्दी र पञ्जाबी भाषामा छापिएका पत्रिकाहरू आउँथे । पञ्जाबको भटिण्डा सहरबाट हरेक दिन साँझमा बडुसाहिब बास बस्न आउने सरकारी बसले ती पत्रिका बोकेर ल्याउँथ्यो । तीमध्ये ‘पंजाब केसरी’ नामको पत्रिका (सायद यो पत्रिका दुवै भाषामा छापिन्थ्यो तर, मैले हिन्दी भाषामा फेला पारेको थिएँ) मा एकजना हिमाचली लेखकले निरन्तर नेपाल यात्राको संस्मरण लेख्ने गरेका थिए । उनको नाम मैले भुलिसकेँ तर, आफ्नो देशसम्बन्धी लेखिएका ती सम्झना–आलेख पढ्ने लालचमा म मौका ढुकेर बस्थेँ ।
एकजना चौकीदारी गर्ने रुकुमतिरका नेपाली युवक थिए । त्यो ठाउँमा पुराना भइसकेका र मभन्दा आठदस वर्ष जेठा । उनलाई मैले प्रिन्सिपलको ढोकामा स्यानो कुर्सीमाथि बसेर दिनभरि केही न केही पढिरहेको देख्थेँ । कहिले दैनिक पत्रिका, कहिले कुनै पातला किताब त कहिले ‘रैपिडैक्स इङ्लिस स्पीकिङ कोर्स’ नामको छिट्टै अँग्रेजी सिकाउने दाबी गरेको ढड्डु किताब । कहिले कुनै चिल्लो कागजमा छापिएको म्यागेजिन पनि उनको हातमा म देख्न पाउँथेँ । के उनी पनि मजस्तै किताब पोलेर हिँडेको विद्यार्थी हुन् त ? त्यही भएर पढाईप्रतिको भोकतिर्खा उनको यसरी प्रकट भएको हो ? प्रश्न उब्जन्थ्यो मेरो मनमा तर मिलाएर सोध्न भने कहिल्यै सकिनँ । उनले त्यसरी दिनभरि बसेर पढ्न पाएको देख्ता मलाई बेस्सरी डाह भने लाग्थ्यो । उनको ठाउँमा आफू भएको कल्पनाले मन कुँडाएर जान्थ्यो ।
तिनै चौकीदार दाइले पढिभ्याएका पत्रिका कहिलेकाहीँ मेरो हातमा पर्थे । सबैभन्दा पहिले त त्यो पत्रिका प्रिन्सिपलको हातमा पथ्र्यो । उनले पढिसकेपछि सायद उनीसँगै कार्यालयमा बस्नेहरूले पढ्थे । किनभने आजजस्तो प्रविधिको विकास नै थिएन त्योबेला । सुचना, मनोरञ्जन, ज्ञानआर्जन, धारणा एवं विचार निर्माण सबैको माध्यम भनेकै पुस्तक र पत्रपत्रिका थिए । कार्यालयभरिका सबै कुर्सी डुलेर मात्रै त्यो पत्रिका ती चौकीदार दाइको हातसम्म आउन पाउँथ्यो । उनले दोबारेको, पट्याएको, हातको पसिनाले भिजाएको र ठाउँ–ठाउँमा अक्षर समेत खुइलिइसकेको अनि कच्याककुचुक्क परेर कति ठाउँमा पढ्नै नसकिने बनेको त्यो पत्रिका बल्ल मेरो हातमा आइपुग्थ्यो । त्यो पनि दिनदिनै होइन, आक्कलझुक्कल मात्रै । मेरो लागि मृगतृष्णाजस्तै बनेको त्यो पत्रिका हातमा परेको दिन मलाई लङ्गरसम्म पुगेर भात खान पनि अल्छी लाग्थ्यो । म त्यसै अघाउँथेँ । मेरो प्यास त्यही पत्रिकाले तृप्त पाथ्र्यो । आधाउधी पानाहरू हराइसकेका, धेरैका हातको घर्षणले केही अक्षरहरू नै बिलाइसकेका । त्यस्तो हालतको पत्रिका हात पर्ने दिन मभित्र संसारै जितेजत्तिकै अभिमान जाग्दथ्यो ।
त्यही ‘पंजाब केसरी’मा विभिन्न हिन्दीभाषी कविहरूका कविता
पढ्न पाएको थिएँ । त्यही पत्रिकाको कुनै अङ्कमा मुन्शी प्रेमचन्दको उपन्यास
‘निर्मला’को समीक्षा छापिएको थियो । समीक्षा यति सुन्दर थियो कि मलाई त्यो उपन्यास
पढ्ने छटपटीले बसीखानै दिएन ।
मौकाले त्यहाँ काम गर्ने केही पुराना भएका केटाहरू एकदिन सोलन सहर घुम्न जाने भए । मैले उनीहरूको हातमा एउटा कागजको चिर्कटोमा निर्मलाको नाम लेखेर ‘यो किताब जसरी हुन्छ तसरी ल्याइदिनू, लागेको खर्च म बेहोर्छु’ भनेँ । साँझ उनीहरूले झोलाबाट चट्ट लाएर निर्मलाको प्रति मेरो अगाडि राखिदिँदा नजान्ने मान्छे पनि एक फन्को नाचूँजत्तिकै खुसी भएँ ।
तर,
मेरो खुसी तत्क्षण रोकिदिएर एकजनाले थर्काए,
‘तँ ह्याँ काम गर्न आको
कि पढ्न, हँ ?’
‘का... का... काम गर्न
आको ।’ मैले हक्बकाउँदै जवाफ दिएँ ।
‘किन किताब मगाको त ?’ उनले थप थर्काए ।
त्यसपछि दिउँसो घटेको घटनाको बेलीविस्तार लगाए । भएछ के भने, उनीहरूले त्यो चिर्कटो
लगेर किताब पसलको साहुजीलाई टक्राएछन् । एकछिन चिर्कटो हेरेपछि साहुजीले एक खात
प्रश्न उनीहरूमाथि उल्टै खन्याएछन,
‘कसलाई हो ?’
‘कहाँ पढ्छ ?’
‘घर कता ?’
‘बस्छ कहाँ ?’
‘तिमीहरू नेपाली होइनौ ?’
‘यो किताब कसलाई लगिदिन
लागेको ?’
आदि आदि ।
साहुजी आफैं रनभूलमा परेका रहेछन् । उनले चिर्कटोमा निर्मला
नाम पढ्नेबित्तिकै मात्र उपन्यास सम्झेनन् बरु कोर्समा राखेको निर्मला सम्झेछन् ।
त्यही भएर उनी यति धेरै प्रश्नको उत्तर जान्न उत्सुक भए हुनन् । एउटा नेपालीले
यहाँ आएर कुनै शिक्षालयमा पढ्दैगरेको ठाने हुनन् । तर, त्यो नेपालीले त यता
गैंटी र बेल्चा हानिरहेको थियो । बालुवा, सिमेन्ट र रड बोकिरहेको थियो ।
किताब पसलेले आखिरमा निर्मला दिइपठाएछन् तर भारतमा कक्षा १२
को वैकल्पिक हिन्दीमा पढाइ हुनेगरि छापिएको । यो उपन्यासको प्रति अझै पनि मसित
सुरक्षित छ । यसको पहिलो पृष्ठमा लेखिएको छ, ‘निर्मला (जीवन की एक करुण कहानी), कक्षा १२ के लिए
वैकल्पिक हिन्दी की पाठ्यपुस्तक समीक्षा सहित ।’ ३ देखि १२१ पृष्ठसम्म निर्मला
उपन्यासको मूल कथा छ भने १२२ देखि १६० पृष्ठसम्म विभिन्न स–साना शीर्षकमा समीक्षा
छापिएको छ । अक्षर भने निकै नै सानो छ, सायद १० फन्ट साइजमा ।
अहिले पनि कहिलेकाहीँ बूक¥याकबाट निकालेर यो उपन्यासलाई मुसार्ने गर्छु । ओहो, निर्मला र उनको जीवनमा अचानक आएका ती कति धेरै अकल्पनीय आघात । ती तोताराम र उनको मनोविज्ञानको चित्रमय विवरण । ती मंसाराम, जियाराम, ती डा. भुवनमोहन सिन्हा र उनीहरूको मृत्यु र आत्महत्या । उनीहरूमध्ये केहीको मृत्यु सामान्य तरिकाले भएको छ तर गहिरिएर हेर्दा त्यो पनि आत्महत्या नै जस्तो लाग्छ । किनभने उनीहरूलाई मर्न बाध्य पार्ने केही न केही समाजभित्रका अवयव कारण छन् । केही समयअघि काठमाडौंको एक किताब पसलबाट निर्मलाको नयाँ संस्करण किनेँ । धेरै समयपछि दोहो¥याएर पढ्दा मलाई यस्तो लाग्यो कि यो उपन्यास त बढी नै निराशावादी रहेछ । यस उपन्यासमा मान्छेको मृत्यु यति धेरै र अस्वाभाविक तरिकाले बारम्बार आएका छन् कि यी सबै के आवश्यक थियो ? भन्न मन लाग्छ । यति धेरै मृत्युका दृश्य नभएका भए यो उपन्यास यो स्तरमा लोकप्रिय हुन्थ्यो या हुन्नथ्यो होला ? यस्तो पनि सोच्न मन लाग्छ ।
हिमाचलमा पढेको हार्डकवरमा छापिएको निर्मलाको आवरणमा मुन्शी
प्रेमचन्दको स्केच अहिले आधा च्यातिइसकेको छ । गाता नै पनि केही ठाउँमा चोइटिएको छ
। भित्रका पानाहरू मक्किएर टुक्रने अवस्थामा छन् । अढाई दशक नाघेछ, यस उपन्यासलाई मैले
पहिलोपटक छोएको, पढेको र छातीमा
टाँसेको । सायद आफ्नो जिन्दगी नै घोर अन्धकारमा रहेको त्यस समयमा मलाई यो
पानैपिच्छे निराशा झल्कने उपन्यास खुबै मन परेको थियो होला ।
यति लामो कालखण्डमा धेरै उथलपुथल भइसक्छ र भइसकेको पनि छ–
संसारमा, देशमा, समाजमा, र हाम्रो व्यक्तिगत
जीवनमा । ती पुराना दिनहरूको सम्झनाले मलाई अतिशय भावुकतामा लैजान खोज्छन् । अहिले
पनि यो उपन्यास हातमा पर्दैगर्दा सोच्छु, कति छिट्टै बितेर गएछन् यति धेरै वर्ष, महिना । कहिले छोटा र
कहिले निकै लामा लागेका दिन र रातहरू । अनि यही समयभित्रै प्राप्त प्रेम, वियोग र आघातहरू । र
हेर्न मन लाग्छ, कुनै कुइनेटोमा
घुँडामाथि निधार राखेर आफैंले छोडिआएका ती मूल्यवान पदचापहरू ।
०
एउटा पिलन्धरे सिँगाने केटो जाडोमा थुरथुर काम्दै सिमेन्ट र फलामसँग सकीनसकी जुधिरहेको दृश्य उसकै गाउँका त्यो ठाउँमा पुरानिएका अलि ठूला केटाहरूलाई देखिनसक्नु भएछ । त्यसपछि मलाई उनीहरूले धोबीघाटमा लिएर गए । सत्र अठारतले विशाल भवनको सबैभन्दा पुछारमा पहाडबाट छङ्छङाउदै बग्ने खोलाको किनारैमा रहेको धोबीघाट । त्यहाँ कहिल्यै घाम नलाग्ने र गुफाजस्ता कोठाहरू थिए । कोठाको बाहिरपट्टि ठूलो अर्को कोठा र त्यसैमा कपडा धुने, निचोर्ने र सुकाउने ठूल्ठूला मेशिन । भित्रपट्टि सुत्ने ओछ्यानहरू र आइरन दल्ने टेबलहरू राखिएका कोठा । कथं त्यो बहुतले भवन गर्लम्म ढल्यो भने सबैभन्दा पहिले चटनी बन्ने हामी नै हुन्थ्यौँ । तर, त्यस्तो घटना कहिल्यै भएन र आज आएर यो पट्यारलाग्दो संस्मरण कोर्न पाइएको छ । यहाँसम्म घसेटिँदै आउनुभएको तपाईँ पाठकलाई धन्यवाद । कतिले त माथि नै छाडिसके होलान् ।
बिहान अँध्यारैमा आँखा मुसार्दै उठ्ने, सातआठ तलामाथिसम्म विद्यार्थीका युनिफर्म लिन जाने, गल्र्स होस्टेलको ढोकामा सित्तिमित्ति लोग्नेमान्छेसित बोल्न नपाएका वार्डेनहरूले जिस्क्याएको हेर्ने र चुपचाप सहने, तिनले थुपारिदिएका कपडाका भारी तन्नामा पोको पार्ने र त्यसलाई एउटा कुममा बोक्ने अनि टाउकोले भुइँ छोइएलाजस्तो घोप्टो पर्दै धोबीघाटमा ल्याइपु¥याउने । त्यसपछि भएभरका कपडा मेशिनमा खाँद्ने, वासिङ पाउडर राखेर चलाउने, त्यहाँबाट निकालेर निचोर्नेवाला मेशिनमा राख्ने, त्यहाँबाट फेरि सुकाउने मेशिनमा । कहिलेकाहीँ गठरी बोकेर खोलापारि घाम लागेको ठाउँमा लगेर सुकाउनु पनि पथ्र्यो ।
मैले त्यहीँ आएर सुनेको कुरा । मभन्दा अघि धोबीघाटमा काम गर्ने एउटा नेपाली केटा थियो । यस्तैगरि घाममा ल्याएर कपडा सुकाउने क्रममा माथि होस्टेलको झ्यालबाट उसलाई हेरिरहने शिख केटीका एकजोर आँखासँग उसको आँखाको मिलन भयो । मिलन भन्नु नै दुर्घटना भयो । आँखाको आकर्षण र ईशारा क्रमशः हाततर्फ स¥यो । त्यसपछि त्यो मुखसम्मै आयो, आई लव यु र आई लव यु टूको तहमा । तर एकदिन होस्टेल वार्डेनलाई सबैकुरा थाहा भयो । केही दिनभित्रै भिडन्त सुरु भइहाल्यो । एकातिर प्रेम र आकर्षण, अर्कोतिर जिम्मेवारी र जवाफदेहिताको कठोर नियमका बीच । एक जोडी नेपाली र पञ्जाबी केटाकेटी आफूलाई एकअर्कामा समाहित गराउन चाहन्थे । अर्काको छोराछोरीलाई सुरक्षित राखेर पढाइलेखाइमा अब्बल बनाइदिने जिम्मा पाएको बडुसाहिबको कलेज प्रशासन त्यसो हुन किमार्थ चाहन्नथ्यो । चाहोस् पनि कसरी ? त्यस केटीको बाआमा पञ्जाबबाट आएछन् र आफ्नी छोरीलाई उतै लिएर गएछन् । माथि झ्यालबाट त्यो पञ्जाबी केटी रुने, यता धोबीघाटको लुगा सुकाउने चौरमा हाम्रो देशको बहादुर केटो रुने भएछ । पुराना केटाहरूले आफूले देखेको यो कारुणिक दृश्य मलाई बयान गरेर सुनाएका थिए । उनीहरूको बयान सुनेर म पनि त्यो चौरमा जाँदा जहिल्यै माथितिर हेर्ने गर्थेँ । गल्र्स होस्टेलतिर । तर, मेरो नाम काढेर कोही युवतीले कहिल्यै बोलाइन ।
धोबीघाटमा आएपछि काम धेरै सजिलो लाग्यो । त्यसो त नियमित गरिने काम जति नै सजिलो भए पनि झ्याउलाग्दो नै हुन्छ । लुगा सुकाउने भीमकाय मेशिन तात्तिँदा पूरै वाताबरण न्यानो हुन्थ्यो । माथि खुला ठाउँमा चिसो सहेर काम गर्नुपर्ने बाध्यता अब बाँकी थिएन । मेरै उमेरका केही साथीहरू भने त्यही काममा थिए । उनीहरूलाई सम्झिँदा, भेट हुँदा, उनीहरूका पट्पटी फुटेका हातखुट्टा देख्दा मन निकै दुख्थ्यो । तर, उनीहरूका लागि केही गर्न सक्ने ह्याउ मसित थिएन ।
धोबीघाटमा केही बिहारीहरू हाम्रा साथी थिए । धोबीघाटको इञ्चार्ज भने एकजना युपीवाला भैया थिए । उनी पत्नीसहित छेउको कोठामा बस्थे । ‘खुब मोज छ यो सालेलाई’, उमेर पुगेका केटाहरू बेला–बेलामा मुर्मुरिन्थे । महिनौँ, वर्षौँ घरबाट टाढा बस्नुपरेका विवाहित केटाहरूलाई युपीवाले भैयाको जिन्दगी त मोज होइन, मोजैमोजको थियो । तर, त्यो मोजमा पनि दुःख थियो । उमेर पैंतालिस काटिसकेको थियो तर उनका सन्तान भएका थिएनन् । त्यही कारण हो या अरु, श्रीमती कहिलेकसो हामीसित बोलेको देख्नासाथ ती भैया झर्कोफर्को गरिहाल्थे । आफू यदाकदा हाँस्थे तर, ओँठ सकेसम्म नखुलोस् भनेजस्तो गरेर । श्रीमती भने हाँसेको हामीले (मैले) कहिल्यै देखिनँ । उनीहरू काम नचलेको दिन नजिक भएका फरक–फरक मन्दिर खोज्दै जान्थे र आजापूजा गरेर फर्कन्थे । त्यस दिन मन्दिरका भगवानलाई चढाएर उब्रेका मिठाई र नरिवलका टुक्राटाक्री हाम्रो भागमा पनि धोबीघाटसम्म आइपुग्थ्यो ।
ठट्टैठट्टामा एकदिन ती इञ्चार्जले मलाई आफ्नो छोरो बन्न भनेका थिए । युपीमा थुप्रै जमिन छ भन्थे अझ । सन्तान नहुनुको पीडा सायद । म त्यतिबेला केही बुझ्दिनथेँ तर बुझेकै भएपनि मैले गर्न नै के सक्दो हुँ र ?
‘नेपालको ऐतिहासिक रुपरेखा’ एकदिन डेराबाटै चोरियो । खै कसले चोरेर लग्यो, पत्तै पाउन सकिएन । जसले लगेपनि ऊ किताबप्रेमी नै थियो । चटपटे पोका पार्न त पक्कै चोरेन होला । किताब चोरिएकोमा पीडासँगै सन्तोष मान्नुपर्ने एउटा कारण यत्ति थियो– कुनै किताबप्रेमीको हातमै त्यो पुगेको छ । मनलाई सान्त्वना दिने बाटो यही थियो ।
त्यो घटना भएको पनि आज अढाई दशक पूरा भइसक्यो । एकदिन बुटवलको
एक पुस्तक पसलमा मैले नामै लिएर यो किताबका बारेमा सोधेँ । पसलेले उत्साहित भएर ‘छ
नि’ भन्दै निकालेर दिए । मोटो गातामा मोटै आकारको त्यो किताबको कागज र गुणस्तर
हेर्दा पुरानै प्रकाशन हो भन्नेमा कुनै शङ्का थिएन । हतारिँदै पैसा तिरेर झोलामा
राखेँ अनि कुदेँ घरतिर । घरमा आएर हेरेँ, प्रकाशन मिति देखियो २०६० साल । छैटौं संस्करण रहेछ
। लेखकको प्राक्कथन पढ्दा थाहा हुन्छ, यो किताब पहिलोपटक २०१५ सालमा छापिएको रहेछ ।
प्रकाशिका (प्रकाशक) कृष्णकुमारी देवीको वक्तव्यबाट थाहा हुन्छ, नेपालको ऐतिहासिक
रुपरेखाको प्रकाशक पनि उनै रहिछन् र त्यो किताब छापिएको रहेछ विस. २००८ मा । छामेँ, कागज अहिलेका किताबमाजस्तै वेटलेस खालको बाक्लो ।
सुघेँ, मुसारेँ, ओल्टाइपोल्टाइ गरेँ ।
पानाहरू सररर्र पारेर पनि हेरेँ । तर, शीर्षक भने तबमात्रै आँखामा राम्ररी प¥यो । यो त मैले खोजेको
किताब रहेनछ । अढाई दशकअघि चोरिएको र मैले आजसम्म खोजिरहेको किताबको नाम ‘नेपालको
ऐतिहासिक रुपरेखा’ हो । मैले बडो उत्साहित भएर घरमा भित्र्याएको किताबको नाम
‘नेपालको ऐतिहासिक विवेचना’ रहेछ । त्यो किताबका लेखक बालचन्द्र शर्मा, यो किताबका लेखक
ढुण्डिराज शर्मा । साढे नौ हजार दिनदेखि खोजी गरेको किताब पाइयो भन्ने उत्साहले
राम्ररी शीर्षक नै नपढी झोलामा गुट्मुट्याएको रहेछु । तर, दुःख मनाउ गर्ने कुनै
कारण थिएन । यो किताब पनि मेरो निम्ति यसको विषय र समयरेखाका हिसाबले
सङ्ग्रहणीयमध्ये एउटा बनेको छ ।
मैले धेरै ठाउँमा त्यो किताब खोजेँ तर आजसम्म भेट्याएको छैन । काठमाडौं जाँदा पटकैपिच्छे पुराना किताब पाइने ठाउँमा चियाउन पुग्छु । त्यो शीर्षकको किताब कतै फेला पर्छ कि भन्ने आशाले । तर, अहँ, आजसम्म पाउन सकेको छैनँ ।
म हिमाचलमै रहँदा कारगील युद्ध सुरु भयो । भारत र पाकिस्तानबीच । सन् १९९९ मा । धोबीघाटबाटै पनि म कहिलेकाहीँ माथि उक्लेर ती चौकीदार दाइलाई नमस्ते गर्न पुग्थेँ । पुराना अङ्क नै भए पनि पंजाब केसरी बोकेर पुनः धोबीघाट फर्कन्थेँ । पत्रिका पढ्नुको फाइदा केही ढिलै भए पनि सुचनाको पहुँचमा जानु थियो । समसामयिक र ज्ञानगुनका कुरा त अलग भए बोनसमा ।
पंजाब केसरीका अङ्कहरू आजभन्दा भोलि झन्–झन् रक्तरञ्जित हुन थाले । कारगीलमा पाकिस्तान र भारतबीच भिषण युद्ध सल्कियो । त्यसको रापतापले सिङ्गो भारत तरङ्गित बन्न पुग्यो । घाइते र मृत सैनिकका शरीरका फोटोहरू दिनदिनै बढ्दो संख्यामा छापिन थाले । देशप्रेमले लछप्पै भिजेका कथा, कविता, गीत र पाठकपत्रले पंजाब केसरीका पृष्ठहरू भरिन थाले । म पनि भारतका विभिन्न भूभागमा बस्नेहरूले मन निचोरेर पठाएका विभिन्न रुपका तिनै भावनाहरूमा बहकिएर भावुक हुन्थेँ । हात एकातिर, खुट्टा एकातिर भएका विभत्स घाइते सिपाहीका फोटो खै कुन प्रयोजन र उद्देश्यले जस्ताकोतस्तै छापेको हुन्थ्यो पंजाब केसरीले । जति बढी त्यस्ता फोटो र समाचार छापिन्थे, पाठकका देशभक्ति भावना पनि उत्तिकै मात्रामा छापिन्थे । आजको भाषामा त्यो बेला पत्रिकाको पनि भाइरल बन्ने र बिक्ने तरिका थियो होला ।
म हिमाचल प्रदेशको पूर्वी जिल्ला सिरमोरमा गएर बसिदिनाले र ‘तिमी नआउने भए म त्यहीँ आउँछु बाउ’ भनेर चिट्ठी पठाउनाको कारणले छिमेकी जिल्ला शिमलाको पल्लो भेगमा पर्ने सतलज नदीको किनारमा रहेको रामपुर बुुसहर छेउमा गोलभेँडा खेती गर्दै आफ्नै दुनियामा रमाइरहेका मेरा बालाई राम्रै दवाब परेको हुनुपर्छ । अन्ततः बाउ घर फर्कने भए । बाउ नभएको घर सग्लो हुँदैन भन्ने मैले सानैमा सिकेको थिएँ । बाउ घर जाने खबरले मेरा आँखा खुसीले रसाए । आमालाई एक्लै छाडेर आएको थिएँ स–साना भाइहरूसित । अब बाउ घर फर्केपछि मलाई चैनको निद्रा पर्ने थियो । चारसय जनालाई एकसाथ पाक्ने गुरुद्वाराको लङ्गरको भात र रोटी पनि केही स्वादिलो पक्कै हुने थियो ।
बाउलाई लिएर फर्कने प्रण गरेर परदेशिएको म । बाउ त घर
फर्किए । म भने बाउको ठाउँमा परदेशी भइगएँ । ठिक एक वर्ष बसेँ म त्यस ठाउँमा । सन्
१९९९ को हिउँदमा बल्ल घर फर्किएँ ।
घर त फर्किएँ तर अब उतैको चस्का लागिसकेको थियो । म घर फर्कने बेलामा बडुसाहिबको कलेजमा जाडो बिदा सुरु भइसकेको थियो । विद्यार्थीहरू क्रमशः घर फर्किरहेका थिए । विद्यार्थी नै नभएपछि धोबीघाटमा कसको लुगा धोएर बस्नु ? कसको लुगामा आइरन दलेर बस्नु ? म खाली बनेका गल्र्स र ब्वायज होस्टेलभित्र छिर्थेँ र उनीहरूले सिरानीमा छाडेर राखेका किताबहरू सुटुक्क निकालेर ल्याउँथेँ । प्रायः जसो विद्यार्थी पञ्जाबी समुदायका हुने र तिनले पढ्ने भाषा पनि पञ्जाबी भाषामै हुने भएकाले थुप्रै किताब पञ्जाबी भाषाका फेला पर्थे । अनि मैले बल गरेर पञ्जाबी (गुरुमुखी) अक्षर पढ्न सिकेँ आफैं । यति सिकेँ कि पढ्न त म कतै अल्मलिन्नथेँ तर, अक्षर छिचोलेर मात्रै पुग्दैनथ्यो । पञ्जाबी भाषा नै नसिकी अक्षर मात्रै घोकेर या खोकेर केही उपलब्धी हुने थिएन । अनि मैले त्यो ठाउँमा पुरानिएका र ठुटे पञ्जाबी बोल्न सक्ने केटाहरूसँग जानीनजानी पञ्जाबी भाषामै बोल्ने अभ्यास गरेँ । हिन्दी र पञ्जाबी भाषामा हुने ठूल्ठूला फरक या विविधतालाई पनि मैले कनेर सिकेँ । यो सबै दुःख मलाई किताबले नै दिएको थियो । पञ्जाबी भाषामा छापिएका किताब पढ्ने रहरले यो दुःख पनि मलाई दुःख लागेको थिएन ।
विद्यार्थीका सिरानीमुनि, टेबलमा, आलमारीमा विभिन्न विधाका किताब अलपत्र छाडिएका
हुन्थे । सायद लाइब्रेरीमा फर्काउन बाँकी रहेका । म सरर्र हेर्थेँ ती सबै । हिन्दी
भाषामा छापिएका कोर्सका किताबहरू म छाड्दिनथेँ । कट्टुभित्र लुकाएरै भए पनि
धोबीघाटसम्म ल्याएरै आउँथेँ । एउटा कति कक्षाको हिन्दी किताबभित्र गोरखाली सेनाले
लखनउमा गरेको लूटको चर्चा थियो, अहिले पनि म सम्झन्छु ।
पञ्जाबी र अँग्रेजी भाषाका किताबहरूचाहिँ म रोज्थेँ । जुन किताबमा भाषा अलि सरलजस्तो लाग्छ आफूलाई अनि जुन किताबमा चित्रहरू पनि बाक्लै राखिएका हुन्थे, ती किताब म धोबीघाट छिराउँथेँ । तर, बढी सैद्धान्तिकजस्ता लाग्ने किताब, म्याथ, साइन्स र बायोलजी आदि मेरो राडार क्षमताभन्दा बाहिरका किताब भने म अँगालोभरिको चाङ लगाएर पुस्तकालयमा लिएर जान्थेँ । त्यही मेसोमा यामानको पावरवाल चश्मा लगाएर पुस्तकालयको अफिस टेबलमा झुलिरहने शिख बूढोको स्याबासी पनि पाउँथेँ । त्यही मौकामा अन्त छुन नपाएका सयौँ लोभलाग्दा किताब त्यस लाइब्रेरीमा मुसार्न पाउँथेँ । केही किताब त्यहीँ बसेर केहीछिन पढ्न पनि पाउँथेँ । मलाई जताबाट पनि नाफैनाफा थियो, पैसा वाहेक ।
यस्तो वाताबरण भोग गरेर बसेको म, घरमा आएपछि धेरै दिन टिक्न सक्ने कुरै भएन । अब त बा घरमै थिए, मलाई केको चिन्ता हो र ? बडुसाहिबको कलेज बिदा सकिनुअघि नै म त्यहाँ फर्कन चाहन्थेँ र लङ्गरमा फ्रीको भात र रोटी खाएर त्यही पुस्तकालयमा गएर दिनभरि पढ्न चाहन्थेँ । त्यही चाहनाले मलाई एकदिन घरबाट निकालेरै छाड्यो र भालुबाङ आएर महेन्द्रनगरको बस चढाएरै ठूलो सास फे¥यो । म फेरि त्यहाँ आइपुगेँ । किताबहरूको दुनियामा । तर, किताब पढेर बस्ने औकात त कहाँ थियो र ?
सिङ्गो तलाभरिको पुस्तकालयसम्म पहुँचको आनन्द भएपनि नेपाली
किताब पढ्न नपाउनुको छटपटी भने सबै आनन्दलाई बिर्साइदिने खालको थियो । पहिले
सङ्कलन गरेका थोरै नेपाली किताब पनि घरमा लगेर राखेको थिएँ । अब मसित बाँकी भनेको
बनारसको ठेगाना थियो । तर,
कुन–कुन नेपाली किताब त्यहाँ पाइन्छन् भन्ने मलाई थाहा थिएन । एकपटक फेरि
चिट्ठी लेखेँ, ‘नेपालको ऐतिहासिक
रुपरेखा र केही पठनीय नेपाली किताब पठाइदिनुहोला ।’
उताबाट पत्रको जवाफसहित पठाइएका केही नेपाली किताब हातमा
परे । पत्रमा लेखिएको थियो,
‘अहिले नेपालको ऐतिहासिक रुपरेखा हामीसँग उपलब्ध नभएकाले अन्य किताब पठाएका छौँ
।’
ती अन्य किताबमा प्रकाश कोविदका केही पातला उपन्यास ‘अनुराधा’, ‘टिस्टा–रंगीत’, ‘प्रेमपत्र’, ‘हुरी’, सुवास घिसिङको ‘निलो चोली’ र युधिर थापाको ‘रातो दरबार’ थिए ।
कहाँको युवाहरूको गीत, कहाँको रातो दरबार र निलो चोली ! मेरो पठनको गति
अचानक यसरी फनक्क तीनसय साठी डिग्रीमा फर्कियो र पश्चगमनको दिशामा लर्खराउँदै
हिँड्न थाल्यो ।
०
कुनै दिन मलाई पल्टनको भूतले पनि छोएको थियो । धोबीघाटको पट्यारलाग्दो र एकरस दैनिकीलाई चटक्क छाडेर सेनामा भर्ती हुन पाए हुन्थ्यो भन्ने खुब रहर लागेको थियो । कहिलेकाहीँ सोलन र शिमला बजार घुम्न जाँदा बुट कसेर टाटेपाटे युनिफर्ममा गोर्खा रेजिमेन्टका सिपाहीहरू भेटिन्थे । उनीहरू नेपाली भाषामा उल्लिँदै–छिल्लिँदै हिँडेको देख्दा क्या लोभ लागेर आउँथ्यो । उनीहरूको पोशाक र रवाफ देख्दा आफू पनि त्यो ठाउँमा भएको कल्पनाले मन एकोहोरो हुन्थ्यो । सुन्थेँ, भर्ती हुन अहिले कुनै सर्टिफिकेट चाहिन्न । कारगील युद्ध चर्किरहेको जो थियो ।
घरबाट पुनः हिमाचल पुगेपछि मैले अन्तिम फैसला लिएँ, फौजमा जाने । जाने त के, देखिने । सोलनदेखि केही पर सबाथु भन्ने ठाउँमा भर्ती लिन्छ भन्ने सुनेको थिएँ । एकदुईपटक सोलनसम्म साथीहरूसँग गएकै थिएँ । यसपटक एक्लै गएँ । सबाथु त पुग्न सकिनँ तर सोलन बजारमा भेटिएका केही गोर्खा सिपाहीहरूसँग त्यहाँ जाने बाटो सोधेँ । उनीहरूले ‘किन जान लागेको ?’ भनेर सोधे । मैले जे हो त्यही बताएँ । कारगील युद्धको प्रसङ्ग निकालेँ तर, उनीहरू त मेरो कुरा सुनेर हाँस्न पो थाले । खै कताका गोर्खाली थिए, हाँस्दै एकजनाले भने, ‘ए भाइ, कारगील युद्ध तो कबको सकियो । भारतले जितेयो । पाकिस्तान हारेयो । तिमीलाई मालुम भएन ?’
म खस्रक्कै भएँ । कलेज बिदा भएपछि पंजाब केसरी पनि आउँथ्यो आउन्नथ्यो, हेक्का राख्न छाडेको थिएँ । इतिहासका पाना पल्टाउँदा अहिले थाहा हुन्छ, त्यो युद्ध त जम्माजम्मी तीन महिना चलेको रहेछ । तर, युद्धमा हारजित भइसकेर पनि भारतले पछिसम्म सैनिक भर्तीलाई आक्रामक तरिकाले अगाडि बढाएको थियो । त्यही हुनाले नै मैले युद्ध सकिएको थाहा पाएनछु । हुन पनि त्यो युद्धको रापताप सेलाएकै थिएन । बसमा, बाटोमा, बजारमा सबैतिर अझै पनि त्यसैको चर्चा म सुनिरहेको हुन्थेँ ।
सोलनमा भेटिएका सिपाहीहरूका कुरा सुनेपछि भने सबाथुसम्म जान
मेरा पाइला भारी भए । त्यहाँसम्म पुगेको भए म सेनामा भर्ती हुन्थेँ कि ? अथवा हुन्नथेँ पनि कि ? भएको भए अहिलेसम्म
बाँच्थेँ कि मरिसक्थेँ ? अब यी सबै कल्पनाका
कुरा भए । मेरो भर्ती हुने भूत उत्रियो । यसरी म मनैमा भर्ती भएँ र मनैमनमा
रिटायर्ड पनि भएँ । अहिले मिठो मानी यादहरूको पेन्सन खाइरहेको छु ।
०
पेन्सन खाएर त होइन, गुरुद्वाराको चारकिल्लाभित्र बसेर म अघाएको थिएँ । नजिकै अग्ला डाँडा देखिन्थे तर, त्यहाँ म पुग्न पाएको थिइनँ । आधा घण्टाको पैदल दुरीमा नदी सुसाइरहेको हुन्थ्यो । गर्मी मौसममा एकैपटक साथीहरूसित पौडी खेल्न त्यहाँ पुगेको थिएँ । सिरमोर जिल्लाका पाखाभरि नै स्याउका रुखहरू म यात्रा गर्दा देख्थेँ । म यही चारकुना मात्रै हेर्न त बाँचेको होइन भन्ने मेरो मनले भन्यो होला । मेरो उडन्ते स्वभावले एकै ठाउँ जमेर बस्न दिएन होला । लङ्गरको मोटो चामलको भातले मिछ्यायो होला । अथवा धोबीघाटको न्यानोले अमन भयो होला । म आखिर त्यो ठाउँ छाडेर हिँड्ने भएँ । हिँड्ने भएँ मात्रै होइन, एकदिन कुम्लोकुटुरो बोकेर हिँडि नै दिएँ ।
सानै उमेरमा अनेक ठाउँ पुगेर यहाँ थच्चिन आएका केही नेपाली बूढा मान्छेहरूलाई म चिन्दथेँ । एकजना यतैकी बिहे गरेर बसेका थिए । उनका छोराछोरी गाँजा खाने रल्लिने गरेका हामीले देखेका थियौँ । एकजना बूढा मान्छे त घर नेपाल हो मात्रै भन्थे, कुन ठाउँ हो बिर्सिसकेका थिए । उनी त्यो बूढेशकालमा पनि भारी बोक्ने काम गर्थे । एकजना अर्का नेपाली बूढामान्छेलाई हामीले खच्चडखानामा खच्चडका दिसापिसाब सोहोर्ने काम गरेको देख्थ्यौँ । अब आफ्नो जिन्दगी पनि त्यही बाटोमा गएको हो कि ? भन्ने सोचाइले थोरै झट्का लागेको थियो । म कतै बाउजस्तो केही वर्ष यतै हराउँछु कि भन्ने पिरलोले अलिकति मुटु खाएको थियो । बाउ त जसरीतसरी घर फर्केका थिए, म कतै सधैंका लागि यतै रल्लिनुपर्ने हुन्छ कि ? भन्ने चिन्ताले मन झसङ्ग भएको थियो । तर, हिँड्ने निश्चय गरिसकेको मलाई त्यहाँ रोक्ने कोही थिएन ।
सडक मजदुर बनेर म जान लागेको थिएँ त्यहाँबाट । धोबीघाटबाट । पुराना साथीहरू छुटेका थिए, नयाँ साथीहरू बनेका थिए । एकभारी किताब साथी बनेर थपिएका थिए । मसित अब याङ मो थिइनन्, खगेन्द्र सङ्ग्रौला थिएनन् न त लक्ष्मीप्रसाद देवकोटा नै थिए । मसित अब होस्टेलमा भेटिएका केही हिन्दी, केही अँग्रेजी र केही पञ्जाबी भाषाका किताब थिए । अनि थिए, प्रकाश कोविद, सुवास घिसिङ र युधिर थापाहरू । किताबको तातो राप बोकेर म हिउँ पर्ने चिसो सडक बनाउन माथि–माथि लेकतिर हिँडेको थिएँ । त्यो मेरो व्यक्तिगत छनौट थियो । श्रमको छनौट, अनियन्त्रणको छनौट, स्वेच्छाको छनौट । मलाई के थाहा, मान्छे भएर जन्मिएपछि केही न केहीको नियन्त्रणमा बस्नैपर्दो रहेछ । पूरै अन्तरिक्षमण्डल नै एकअर्काको अधीनमा रहेछ । मलाई यो पनि के थाहा, स्वतन्त्रताको सीमा त धेरै सानो हुँदो रहेछ । स्वतन्त्रताको शब्द र अर्थ असिमित हुन्थ्यो भने अनुशासन भन्ने शब्दार्थको के काम हुन्थ्यो र हुन पनि ? उन्मुक्त बनेर हिँड्न खोजेका मेरा पाइला अर्को बन्धनमा परेका थिए ।
धोबीघाटको न्यानो अब साथमा थिएन । मलाई चिसो सडकबाट तानेर
ल्याउने गाउँले दाइ छुटेका थिए । म फेरि उस्तै चिसो सडकमा फर्केको थिएँ ।
०
धोबीघाटमा एक वर्ष रहँदाबस्दा म केही ठूलो भएको थिएँ । मेरो ज्ञानको दायरा अलिकति भए पनि फैलिएको थियो । त्यहाँ मैले पंजाब केसरी मात्रै पढिनँ, मान्छेहरूलाई पनि पढेँ । सँगै काम गर्ने दुई भाइ थिए शर्मा थरका । खाट्टी पहाडे ब्राह्मण समुदायका । तर, उनीहरूको सामाजिक चलन सुनेर र थाहा पाएर म छक्कै परेको थिएँ । उनीहरूमा पनि बहुपति प्रथा जीवित रहेछ । सानोचाहिँ केटो मेरै उमेरको थियो । उसको नाम प्रेम थियो, अझै सम्झेको छु । उसलाई मैले हैरान पर्नेगरि सोधेको थिएँ यो विषयमा । उसले ढुक्कै सुनाएको थियो, ऊ त भाउजुसित सहजै सुत्न सक्छ । भन्छ फेरि भाभी नै, बिवी होइन । म त डबल छक्क परेको थिएँ । अहिले सम्झन्छु, हामीलाई पो त्यो छक्क लाग्ने विषय थियो । त्यहाँ त समाजै त्यसरी बनेको थियो । सामाजिक संरचना नै त्यही थियो । उनीहरूका लागि त त्यो विषय सामान्य थियो नि । बरु म छक्क परेको देख्दा उल्टै छक्क पर्ने अवस्था त्यो प्रेम शर्मालाई आइलागेको थियो ।
‘इस में हर्ज क्या है भाइ ?’ उसले उल्टै मलाई
सोधेको थियो ।
०
हामी त्यहाँबाट ठेकेदारको गाडीमा हिमाचलको सिरमोरलाई छाडेर
शिमला जिल्लामा पुग्यौँ । बडुसाहिबबाट गिरि नदी तरेर राजगढ । त्यहाँबाट केही
तलसम्म सोलन जाने सडक । त्यसपछि सोलनतिर जाने सडकलाई छाडेर फेरि गिरि नदीकै छेउछाउ
भएर नेरीपुल, कोटखाई, कुपरी, खडापत्थर, जुब्बल, हाटकोटी हुँदै
रोहडुसम्म । यी नाम धेरैजसो अझै पनि मनमा छन् । केही ठाउँको नाम भने यो लेखिरहँदा
गूगल म्यापमा हेरेर सम्झना अद्यावधिक गराएको छु ।
![]() |
| मैले झण्डै डेढ वर्ष बिताएका ठाउँ । |
रोहडुमा सडक बनाउने काममा लाग्यौँ । त्यहाँ रहँदाबस्दा बजारमा केही दिनको मेला लाग्यो । कुनै पर्व थियो सायद । नदीको दुई छेउमा बसेको सानो बजार रोहडुमा मेलाकै एक दिन हामीले पनि छुट्टी पाएका थियौँ । साथीहरूसँग बिहानै बजार झरेँ म पनि । मेलाको एक ठाउँमा बेलून शुटिङको स्टल रहेछ । एयरगन हातमा उचालेर सञ्चालकले चिच्याइ–चिच्याइ बोलाइरहेका थिए । हामी गयौँ । खै कतिमा किनियो त्यसका बुलेटहरू । मैले एयरगन समातेँ र बेलूनहरूलाई ताकेँ । जतिलाई ताकेँ, सबैलाई निसाना लगाएँ । भटाभट फुटे बेलूनहरू । एयरगन हातमा परेपछि कारगीलमा गएर लड्न नपाएको मेरो अन्तरमा बसेको भाडाको टट्टू जागिसकेको थियो । मान्छे ढाल्न नपाएको मेरो इख बेलून फुटालेर शान्त भयो । लहरै फुटेका बेलून देखेर खेल सञ्चालकको अशान्त बनेको अनुहार भने म बुझ्न मात्रै सक्थेँ, गर्न केही सक्तिनथेँ ।
त्यही मेलामा धुलो उडेको बाटो छेउ छाता ओढेर बसेका थिए एकजना बूढा मान्छे । उनी मान्छेका पाखुरामा ट्याटु बनाइरहेका थिए । मलाई पनि कता हो रहर लागेर आयो । दाहिने हात उनलाई दिएँ । सियो र मसीको भरमा कुनै मेशिनको सहाराविनै उनले मेरो पाखुरामा छोटो नाम लेखिदिए । ती वयोबृद्ध कलाकारको अनुहार त बिर्सिएँ तर, रोहडु मेलाको सम्झना भने हातमा बोकेर आजपर्यन्त हिँडिरहेको छु, बाँचिरहेको छु ।
एकदिन हामीले रोहडु छाड्यौँ । त्यसपछि सुङ्री नामक स्थानमा पुग्नुप¥यो । रोहडुभन्दा माथिल्लो भेगमा पर्ने त्यो ठाउँमा पुग्दा झमक्कै रात परिसकेको थियो । जुन घरमा हामी अब केही महिना बस्नुपर्ने थियो, त्यो घरमा दुईजना बूढा र बूढी र उनीहरूकी एउटी छोरी थिई । त्यो छोरीको उमेर मेरोभन्दा ३, ४ वर्ष बढी थियो होला । भएको एउटा छोरो दिल्ली कि देहरादूनतिर पढ्छ भन्ने थाहा भएको थियो पछि । त्यो केटीले भने त्यतै कतै रहेको स्कूल या कलेजमा पढ्थी ।
त्यो केटी त मेरो दुश्मन पो बनेर आई । अथवा मै पो उसको घरमा आएको थिएँ दुश्मन बनेर ?
एकदिन साँझमा मैले किताब पढिरहेको उसले देखिछ । माथिबाटै
झम्टेर आई र सोधी, ‘कुन किताब पढेको छौ
भैया ?’
मैले केही भन्न नपाउँदै त्यसले किताब मेरो हातबाट थुतेर
लगिसकेकी थिई । ओल्टाईपल्टाई गरेर हेरी र अनुहारमा चमक ल्याउँदै फेरि सोधी,
‘तिमी पढ्छौ यो किताब ? कुन कलेजमा पढ्छौ तिमी
? अनि किन यहाँ आएको ? भागेर आएको हो घरबाट ?’
यति धेरै प्र्र्रश्न गरी त्यसले कि मैले जवाफ नै दिन सकिनँ
। त्यसैपनि यी प्र्रश्नका भरपर्दा जवाफ मसित थिएनन् ।
म अल्मलिएको देखेर त्यस ढेब्रीले (हामी हिमाचली पुरुषलाई ढेब्रा र महिलालाई ढेब्री भन्थ्यौँ । खासमा यो हिमाचलीहरूले नेपाली श्रमिकलाई हियाउने अर्थमा सम्बोधन गर्ने वाक्य÷अपभाषा रहेछ । तर, नेपालीहरूबाट उल्टै ब्याकफायर भएपछि अन्ततः ढेब्रा÷ढेब्री उनीहरू भए) मसित अरु के–के किताब छन् भनी सोधी । आफै अगाडि सरेर मेरो सिरानीमा भएका भएभरका किताब लिएर आफ्नो कोठामा गई ।
मलाई यस्तो लाग्यो, मेरो आज सर्वस्वहरण भयो । अब कपाल मुण्डन गर्न
मात्रै बाँकी रह्यो । चारभञ्ज्याङ सिमाना त पहिल्यै काटिसकेको थिएँ ।
त्यो केटीले आँखाभरि हाँस्दै अर्को दिन, फेरि अर्को दिन र लगभग
एक हप्ताभरि किताब नदिएरै खाली प्रश्न मात्रै गरी मलाई,
‘नढाँटी भन न भैया, यी किताब तिमीले नै
पढेका हौ ?’
‘तिमी हिन्दी पढ्न
सक्छौ ? अनि पञ्जाबी र अँग्रेजी ? सक्छौ ?’
‘तिमीले किनेका हौ त यी सबै किताब ? कि चोरेका हौ कतैबाट ?’
मैले उसलाई केही जवाफ दिन सकिनँ । ती सबै किताब अब उसका भए । मलाई यसरी लुटेर उसको दुनियामा खुसी छाएको थियो । त्यसरी लुटिएर मेरो संसारमा भने दुःखैदुःख आएको थियो । एकातिर दिनभरि चिसो सडकमा काम गर्नुपर्ने, अर्कोतिर साँझ सुत्नुअघि बानी लागिसकेको किताब पढ्ने दैनिकी छुट्नुपर्ने । थुप्रै रात छटपटीमा बिते मेरा ।
किताबविना कसरी पो चैनले बाँच्न सक्थेँ र म ? एकदिन एउटा साथी शिमला
घुम्न जाने भयो ।
मैले ऊसित भनेँ, ‘शिमलामा घुम्दैगर्दा किताब पसल देखेमा त्यहाँ पस्नू
र तँलाई जुन मन पर्छ त्यही किताब किनेर मेरो लागि ल्याइदिनू ।’
किताबको नाम थाहा भए पो किटेर भन्नु ?
मैले उसको हातमा भारु. ५० को नोट पनि राखिदिएँ ।
त्यो दिनभरिको मेरो छटपटी हिजोअस्तिकोभन्दा चर्को थियो । साथी बिहानै गयो र साँझ आइपुग्यो । आएर साथीले झोलाबाट यति मोटो न मोटो दुईओटा किताब निकालेर मेरो अगाडि राखिदियो ।
म त एकछिन रनभूल्लै परेँ । यति मोटो कागजमा छापिएको किताब ? उस्तै परे सानो बलले ताने पनि च्यातिन्न कि जस्तो थियो । यस्तो कागज त कहिल्यै देखेको थिइनँ मैले । लेख्न फेरि उपन्यास नै लेखेको थियो । तर, यी उपन्यास मैले आजसम्म पढेकाजस्ता थिएनन् । अझ त्यसको गाता र त्यसमा छापिएको चित्र कुनै रंगीन संसारको जस्तो लाग्यो । गातामा पढेँ, लेखकको नाम थियो, सुरेन्द्र मोहन पाठक र उपन्यास थिए, ‘कमरा नम्बर ३०३’ र ‘गुनाह की जंजीर’ ।
मसित भएका पातला नेपाली उपन्याससित न यिनको बाहिरी आकार
दाँज्न मिल्थ्यो न त भित्रको विषयवस्तु नै । एउटा छुट्टै खालको संसार थियो त्यस
उपन्यासभित्र । मलाई कुनै फिल्म हेरेकोजस्तो महसुस भयो । केही महिनाअघि साथीहरूको
पछि लागेर सोलनको एक पुरानो फिल्म हलमा छिरेको थिएँ । त्यो मेरो जीवनकै पहिलो अवसर
थियो, फिल्म हलभित्रको ।
‘बारुद’ नामको फिल्म हेरेका थियौँ । त्यही फिल्ममाजस्तै यी उपन्यासभित्र पनि
बन्दुक थिए, बारुद थियो, गुण्डा थिए, हीरो थियो । मलाई यो
उपन्यासले तानेर आफ्नो संसारको लती बनायो ।
दुईटा उपन्यास कतिपटक दोहो¥याएर पढ्नु ? एकदिन छुट्टी मिलाएर म
आफैं शिमला गएँ । मालरोडछेउ फूटपाथमा राखिएको बूकशपमा त्यस्तै आकार र स्तरमा
छापिएका ३, ४ वटा उपन्यास किनेँ ।
सुरेन्द्रमोहन पाठक, ओमप्रकाश शर्मा, वेदप्रकाश शर्मा थिए
लेखकका नाम । किताबले झोला भरियो । म त्यसै धनी भइहालेँ ।
०
त्यसपछि ठेकेदारले हामीलाई त्यहाँबाट पनि बिरालोले बच्चा सारेजस्तै धेरै ठाउँमा सा¥यो । रोहडुबाट सुङ्री, त्यहाँबाट बाघी, त्यहाँबाट नारकन्डा, त्यसपछि खडापत्थर । यी सबै ठाउँमा सडक बनाउने काम ग¥यौँ । मैले भने कामभन्दा बढी घुमघाम गरेँ कि भन्ने लाग्छ । जुन ठाउँमा बसे पनि महिनामा एकदुई पटक शिमला नपुगी र कम्तीमा दुईटा किताब नकिनी मेरो मन शान्त हुन्थेन । त्यो बेचैनी के मैले जलाएका किताबहरूको श्राप थियो ? सानैमा एकजना गाउँले दाजैले भनेको वाक्य मैले सधैं विश्वास गरेँ, ‘सराप भनेको रक्सी हो, खाए लाग्छ नखाए लाग्दैन ।’ तर, कहिलेकाहीँ सोच्छु, किताब जलाएर हिँडेको मभित्र किताबकै तृष्णा किन यति चर्को भएको होला ?
यात्रा गरिरहँदा त्यो क्षेत्रका गाउँठाउँका नाम मुखाग्र बनाइसकेको थिएँ । त्यस वरपरका मुख्य सहर थिए, राजगढ, सोलन र शिमला । ती ठाउँमा बटुलेका थुप्रै सम्झना अझै पनि यो मनमा थुप्रिएर बसेका छन् ।
एकदिन राजगढ बजारमा एक्लै हिँडिरहेको थिएँ र काम गर्ने ठाउँमा पुग्न बस चढ्ने हतारमा थिएँ । टाउको दाहिनेतिर घुमाएर सडकमा बस आए÷नआएको हेर्दै थिएँ । भिडभाड थियो बजारमा । जब मैले आफ्नो शिरलाई यथास्थानमा ल्याउन अगाडि फर्किएँ, मेरो ओँठमा झुसिला रौंले बिझाए । मैले त उसैगरि हतारमा हिँडिरहेको एकजना पहाडी बूढोमान्छेको झुसे गालामा किस पो गरिसकेछु । ओहो, त्यो परिस्थिति ! लाजले मरेँ म त । ती पहाडी बूढा खुब हाँसे । हाँस्दै दुवै हत्केला आफ्ना घुँडामा टेकाए । एकछिन त्यसरी नै निहुरेर हाँसे । त्यसपछि आफ्नो बाटो लागे । मैले पनि चेतेँ । त्यसपछि पछाडि फर्केर हिँडिनँ ।
सोलनमा रहेको एउटा पार्कमा एकजना फोटोग्राफरले फोटो खिच्न
गरेको कर सम्झँदा अहिले पनि मलाई झ्याउ लाग्छ । यत्रो फ्ल्यासलाइट जोडेको क्यामेरा
बोकेर त्यो मान्छे मेरो नजिक आयो र ‘फोेटो खिचा’ भन्दै ढिपी गर्न थाल्यो । म
‘पर्दैन’ भन्दै पन्छिएँ तर उसको ढिपीका अगाडि गल्नैप¥यो । आधा पैसा अहिले
तिर्ने र आधाचाहिँ फोटो लिन आउँदा तिर्ने शर्तमा उसले मेरो फोटो खिँच्यो, दुईओटा । ती फोटो पछि
मैले ल्याएर आएँ तर अहिले मसित छैनन् । जसरी ती दिन हराए, फोटो पनि हराए ।
सोलन बजारको सम्झना गर्दा मलाई त्यो पुरानो फिल्महलको पनि
याद आइदिन्छ । मैले जिन्दगीमै पहिलोपटक हेरेको फिल्म त्यही हलमा थियो । बारुद ।
अक्षय कुमार हिरो, रवीना टण्डन हिरोनी ।
(भारतमा त हिरोइन भन्थे, लेख्थे । हामी भने
हिरोनी भन्थ्यौँ ।) अमरिश पुरी गुण्डा । मैले फिल्म हेरेपछि बुझेको कुरा यत्ति
थियो । त्यसको एउटा गीत भने मैले पछि क्यासेटमा सुन्दा–सुन्दा आफै गाउने भइसकेको
थिएँ,
हम तो तुझ से मोहब्बत करते थे, हमेशा हमेशा
हम तो तेरी अदा पे मरते थे, हमेशा हमेशा ।
एकपटक बाघीदेखि शिमला जाँदैगर्दा बसका मान्छेहरूले पहाडी
भाषामै के–के भन्दै सबैले घाँटी तन्काइ–तन्काइ पारि–पारितिर हेरेको देखेँ । भाषा
नबुझेपनि उनीहरूको व्यवहारले मभित्र उत्सुक कीरा जन्माइदियो । मैले सँगै बसेको
यात्रुसँग सोधेँ । उसले बतायो,
‘प्रीति जिन्टाको घर ऊ त्यो पारिको गाउँमा पर्छ ।’
सबैले एकसाथ घाँटी तन्काउनुको रहस्य थाहा पाएँ । यदाकदा
पत्रपत्रिकामा र मान्छेहरूले गर्ने चर्चाबीच मैले प्रीति जिन्टाको नाम पढेको
सुनेको थिएँ । कतै पोस्टरमा उनको फोटो पनि देखिसकेको थिएँ । तर, उनको घर हिमाचलमा हो
भन्ने चाहिँ मलाई थाहा थिएन ।
अहिले बल्ल थाहा हुन्छ, म पहिलोपटक हिमाचल पुग्ने वर्ष (सन् १९९८) मै उनी अभिनित दुई फिल्मले राम्रै चर्चा कमाइसकेका रहेछन् । एकै वर्षमा प्रदर्शनमा आएका ‘दिल से’ र ‘सोल्जर’बाट उनी बलिऊडमा स्थापित कलाकार भइसकेकी रहिछन् । युट्युबमा आइसकेपछि मैले उनका यी दुई फिल्मसहित ‘क्या कहना’, ‘कभी अलविदा ना कहना’, ‘कोई मिल गया’, ‘कल हो ना हो’ र ‘वीरजारा’ हेरेको छु । उनको सहायक रोल रहेको ‘अरमान’ पनि मलाई राम्रो लागेको फिल्ममध्ये एउटा हो ।
टुक्राटाक्री सम्झनाहरू पर्गेल्ने क्रममा मैले गरेको
दोस्रोपटकको परदेश यात्रा पनि मनमा ताजै छ । अघिल्लोपटक नेपालगञ्जबाट भारत छिरिएको
थियो । यसपटक महेन्द्रनगरबाट । भारतको बनबासाबाट देहरादुनसम्म बसमा यात्रा गरेँ ।
देहरादुनबाट मच्छर भन्ने ठाउँसम्मको अर्को यात्रा गर्नु थियो । मच्छरबाट अलिकति
हिँडेपछि बडुसाहिब गइपुगिन्थ्यो ।
म देहरादुनदेखि शिमला पुग्ने बसमा बसिसकेको थिएँ । एकातिर ३ र अर्कोतिर २ सिट भएको सरकारी बस थियो । सायद हिमाचल पथ परिवहनको । केहीबेरमा एउटा नेपाली परिवार त्यो बसमा चढ्यो । श्रीमान्चाहिँ आर्मीको पोशाकमा थिए । उनको झोला पनि आर्मीकै थियो । श्रीमती साडी र गरगहनासहित थिइन् । उनीहरूको साथमा मेरै उमेरकी एउटी केटी थिई । उनीहरूकी छोरी होली भन्ने सोचेँ । उनीहरू मेरै दाहिनेतिर रहेको तीनसिटेमा बसे ।
बूढाचाहिँले थोरै रवाफको शैलीमा मलाई सोधे, ‘नेपाली हो ?’
मैले ‘हो हजुर’ भनेँ ।
उनले फेरि सोधे, ‘घर काहाँ प¥यो ?’
‘अर्घाखाँची ।’ मैले
पुनः जवाफ दिएँ ।
उनीहरू नेपाली हुन् भन्ने त थाहा नै भयो । सोधेँ, ‘हजुरहरूको घर कहाँ हो
नि ?’
‘ए, हाम्रो घर ? याहीँ पनि छ देहरादुनमा ।’ मलाई लाग्यो, उनले मेरो पूरा प्रश्नको जवाफ आधा मात्रै दिए । तर, मैले थप केही सोधिनँ ।
म पनि यसपाली भर्ती हुने भूतसहित यात्रारत् थिएँ । त्यो भूतले कहाँ त्यसै बस्न
दिन्थ्यो र मलाई ? त्यसले मुख खोल्न
बाध्य बनायो,
‘म पनि भर्ती हुन सक्छु
कि भनेर जान लागेको छु ।’ भनेँ । अन्तरकुन्तरमा कतै यी बूढाले सहयोग गर्छन् कि
भन्ने आस पनि हुँदो हो ।
‘ए, हो र ? काहाँ गोएर हुने भर्ती
चिँ ?’ उनको प्रश्नले अलि
फुरुक्क भएँ म यसपाली ।
‘सबाथुमा देखिने भनेको
।’ हुन सक्नेसम्मको नरम भएर बोलेँ म यसपाली ।
‘ए हो र ? सपाटुमा होइच । म त बस्ने उता पर जम्मु हो । ल ल, प्रयास गरिहेर्नू नि ।’ ती बूढाको यस्तो कुराले थोरै दुःख महसुस भयो । यो दुःख के, दुःख त अब एकछिनपछि पो सुरु भयो ।
ती बूढाबूढीकी छोरी जो मेरै उमेरकी थिई, अघिदेखि प्यारप्यार
बोलिरहेकी थिई । जाडो नलागोस् भनेर बाउआमाले पल्टनबाट बोकेको रम पो पिउन दिएका थिए
कि त्यसलाई ? उसको आधा हिन्दी आधा नेपाली
भाषामा निरन्तरको गुनासो यही थियो,
‘अब रातभरि कसरी बस्ने
यस्तो सिटमा ? कसरी यात्रा गर्ने
यस्तोमा बसेर ?’
उसका बाआमाले काउलो पार्दै उसलाई ‘बेटा बेटा’ भन्दै फकाइरहेका थिए । तर, ऊ बारम्बार यही वाक्यसहित गुनासो गरिरहेकी थिई ।
हुन पनि सिटमा कुनै फोम या कपडा थिएन । सरकारी बस न प¥यो, नाङ्गैबुङ्गै थियो । ती बूढाबूढीमध्ये बूढाचाहिँ झ्यालतिर बसे । बूढीचाहिँ बीचमा । त्यो गनगने छोरी बसी यताको छेउतिर, मेरै नजिक ।
एकछिनपछि त्यो केटीको मुख त बन्द भयो तर खुट्टा चल्न थाले ।
उसले आफ्नो ढाड र टाउको बाउआमाको काखमा बिसाई र दुईटै खुट्टा मेरा साप्रामा ल्याएर
तेस्र्याई । म लाजले रातोपिरो भएँ हुँला । कालो मान्छे केको रातोपिरो हुन्छ र ? निलै भएँ हुँला नि ।
त्यो अँध्यारोमा कसले देख्ने ? कसले बुझ्ने मेरो पीडा
? मन त्यसै तुलबुल भइरह्यो । कुनै केटी मान्छेलाई आजसम्म
यो किसिमले छुनु परेको थिएन । कुनै केटी मान्छेले पनि मलाई यसरी कहिल्यै खुट्टा
बोकाएको अनुभव थिएन । ती बाउआमाले बेला–बेलामा आफ्नी छोरीको ताल हेर्थे र फेरि
चुपचाप आँखा चिम्लिदिन्थे । छोरीको ताल त बुझिनँ मैले, बाउआमाको पनि बुझ्न
सकिनँ । कमसेकम एकैपटक छोरीलाई ‘यसो नगर बेटा’ भन्न त सक्थे नि, भनेनन् ।
त्यो केटीले रातैभरि खुट्टा बोकाई मलाई । फागुन या चैतको महिना थियोजस्तो लाग्छ । ज्याकेट लगाएका थिए सबैले । मैले पनि लगाएको थिएँ । राति पटक–पटक मलाई जाडो होइन गर्मी लाग्यो । त्यो केटीको साप्रा यसरी ताता भइरहे कि घरि–घरि त ज्याकेट नै फुकालौँजस्तो भयो । एकातिर उसको तिघ्रा र साप्राको भारी बोक्नुपरेको छ, अर्कोतिर, त्यो बाफिलो गर्मी । मलाई कतिपटक औडाहा नै भयो गर्मीले । त्यस्तो अप्ठेरो सुताइमा समेत त्यो गर्मिलीलाई (शर्मिली त शर्म भा’ पो भन्नु) कोल्टे फेर्नुपर्ने अझ । कोल्टे फेर्दा कतिपटक त उसका खुट्टाले कता–कता छोए छोए मेरा । बाँच्नै सकस भयो रातभरि ।
यस्ता पनि कसै–कसैको छोरी हुने रहेछन् । यस्ता पनि कसै–कसैका बाउआमा हुँदा रहेछन् । म त रातैभरि जिल्लै परेँ । केही भनुँ या केही बोलुँ, भर्तीको भूत जागै बसेको छ भित्र । त्यसले भन्न दिए पो भन्नु ? त्यसले बोल्न दिए पो बोल्नु ? त्यो भूतले त उल्टै मलाई पो भन्दैथियो, ‘चुपचाप सहेर बस् । के थाहा, त्यसको बाले भोलि ‘हिँड् केटा जम्मुतिर’ भन्छन् कि ? जम्मु लगेर टक्रक्क भर्ती पो गरिदिन्छन् कि ? एकै रातको खटनपटन त हो, सहेर बस् केटा ।’
बिहान भएपछि बल्ल त्यो केटीले आफ्ना खुट्टा तल झारी ।
त्यसकी आमाले एकै वाक्य सोधिन्,
‘ए नानी ? तिम्लाई पो दुक्ख भोयो हइना ?’
त्यतिखेर आजजस्तो नानीबाबु भनेर लिंग छुट्याउने चलन चलेको
थिएन सायद । आफ्नी छोरीलाई ‘बेटा’ भन्ने आमाले मलाई ‘नानी’ भनेकी थिइन् ।
‘भएन आमै भएन ।’ मैले जवाफ फर्काएँ । दुक्ख मात्रै हइना, रिस पनि उठेको थियो नि । देखाउना पो पाइएना ।
तीनओटा वाक्यमा खुम्चिएको मेरो जवाफ सुनेर बाउचाहिँले राता
आँखा उघारेर मलाई एक पुलुक हेरेका थिए । त्यो हेराइ देखेर मभित्र अड्डा जमाएर
बसेको भर्तीको भूत आफै डराएर थरथर भएको थियो ।
०
त्यसपछि हामीलाई ठेकेदारले गिरि नदीको किनारमा ल्याएर आयो । नेरीपुल भन्ने ठाउँमा । यो ठाउँ सोलनभन्दा पूर्वतर्फ र राजगढबाट पश्चिमोत्तरतर्फ थियो । त्यहाँ हाम्रो डेरा नजिकै केही बङ्गालीहरू (अहिले त बेङ्गोली भन्छन् क्या र) बसेका रहेछन् । हामी पहरा भत्काउने, ढुङ्गा पल्टाउने र सडक चौडा पार्ने काममा थियौँ । उनीहरू ढुङ्गा बोक्ने, गिट्टी कुट्ने र सडक ग्रावेल गर्ने काममा रहेछन् । काम सकेपछि साँझमा हामी दुई जातिका प्राणी एकै हूलमा मिसिन्थ्यौँ र हिन्दीलाई सम्पर्क भाषा बनाएर कुराकानी गथ्र्यौं । बङ्गालीहरूको त्यो समूहमा एकजना आधीसरो कपाल फुलेका मान्छे केही फरक थिए । जसरी हाम्रो ठेकेदारले सबै नेपालीमा मलाई ‘अलग छस्’ भन्थ्यो, म पनि ती बङ्गाली मानुषलाई अरुभन्दा अलग देख्थेँ । छुट्टीपछिको समयमा अरु मान्छे तास खेलेर बस्थे तर उनी किताब पढेर बस्थे । उनका हातमा एकपटकमा एउटा मात्रै होइन, दुई या तीभन्दा बढी किताब हुन्थे । म छक्क पर्थेँ, के उनी एकैपटक एकभन्दा बढी किताब पढ्छन् ?
त्यतिबेलासम्म म पनि सानोतिनो किताबी कीरो भइसकेको थिएँ ।
एकदिन म पनि हातभरि तिनै ढड्डु उपन्यासहरू बोकेर उनको नजिक गएँ । उनले आफू
पढ्दापढ्दै पनि मतिर चासो दिएर हेरे । मतिर के हेर्नु, मेरा हातमा भएका
किताबतिर । आवाज ननिकालीकनै ती किताब मागे र हातमा राखी ओर्काइफर्काइ हेरे ।
त्यसपछि दाह्रीजुँगाले झप्प ढाकेको उनको मुख खुल्यो,
‘कितनी अच्छी है ना ये
किताबें ?’
मैले खुसी हुँदै ‘हाँ’ भनिदिएँ ।
‘तर, यसको के काम ?’ उनले हिन्दीमा यस्तै
भने, ‘यो सब कबाड हो । यस्ता
किताबले दिमाग पनि कबाडखाना बनाइदिन्छन् । केही फाइदा छैन यो सब पढेर । तू क्या
कबाडीवाला है जो इतना कबाड जमा कर रखा है ?’
त्यसपछि उनले लगभग झपारेकै शैलीमा सोधे, ‘किन पढ्छस् यस्ता किताब ?’
म अकमक्क परेर उनका अगाडि उभिएँ । ती बङ्गाली बन्धु एकनास
कराइरहे,
‘पढ्नु भनेको त समय र पैसा दुवैको लगानी हो । लगानी गर्नु नै छ त राम्रा किताब पढे हुन्न ? यस्ता वाहियात किताब पढेर किन टाइमपास गरेको ? आखिर यो पनि सित्तैमा आएन होला नि ? पैसै हालेर किन्ने भए राम्रा किताब किन्न सकेनस् ?’
ओहो,
किताब पोल्दा आमाको गाली खाएको थिएँ । अहिले किताब पढेकोमा पहिलोपटक गाली खाएँ
मैले जिन्दगीमा । मलाई अप्ठेरो पनि लाग्यो । त्यो झुसे न मेरो बाउपट्टिको न
आमापट्टिको । त्यसले यसरी झपार्ने अधिकार छ त मलाई ? यस्तो सोचेर रिस पनि
उठ्यो । सायद मेरो निधारमा रिसको गाँठो देखा प¥यो होला कि ? अब ती बङ्गाली बाबू
मोशाय शान्त भएर मलाई सम्झाइरहेका थिए,
‘सकेसम्म उपन्यास नपढ्
। पढ्ने नै भए समाज बुझाउने खालका उपन्यास पढ् । जस्तै कि, हाम्रा बङ्गाली
लेखकहरू छन्, (उनले केके नाम लिएका थिए, बिर्र्सिएँ ।) तिनका उपन्यास हिन्दीमा पनि ऊल्था भएर
छापिएका छन् । पढ्न सके अँग्रेजीमा पनि पाइन्छन् । प्रेमचन्दका उपन्यासहरू पढे
हुन्छ ...’
‘मैले निर्मला पढेको छु
।’ यसपाली उनलाई उछिनेर भनेको थिएँ मैले ।
‘अनि निर्मला पढिसकेको
मान्छेले यस्ता सस्ता उपन्यास पढ्ने हो त ?’ उनले थप झपारे मलाई ।
बेकारमा भनेछु भन्ने भएँ ।
‘निर्मला पढेपछि त कर्मभूमि पढ्ने हो, गबन पढ्ने हो, गोदान पढ्ने हो । निर्मला पढेको मान्छेले गुनाह की जंजीर पढ्ने हो त ? गुनाहों का देवता पढ् न बरु । अरे, शर्म कर् भाइ ।’
भोला दास । उनको यो सजिलो नाम अहिले पनि सम्झन्छु । आजभन्दा २६ वर्षअघिको कुरा भइसक्यो । सन् २००० सुरु भइसकेको थियो । त्यतिबेला उनको उमेर पैंतालीस पचासको वरिपरि थियो होला । कपाल आधासरो फुलेका थिए । दाह्री भने केही बाक्लै फुलेका थिए । झट्ट देख्दा कुनै साधुजस्ता देखिन्थे । उनका आँखामा देखा पर्ने गाम्भीर्य सक्कली साधुकाजस्तै थिए ।
अनि उनले मेरो घर सोधे ।
मैले चिट्ठी पठाउन त्यतिबेला जसरी ठेगाना लेखिन्थ्यो, उसरी नै आफ्नो ठेगाना
बताएँ,
सिद्धारा गाविस, वडा नं. ८, गाउँ सिलिङखोला, हुलाक हर्रेबर्रे, नजदीक भालुबाङ, जिल्ला अर्घाखाँची, लुम्बिनी अञ्चल, पश्चिम नेपा... ।
‘भालुबाङ ? तेरो घरको नजिक पर्छ
यो ?’ यसपटक उनका आँखा थप
तेजिला बनेका थिए । अलि झस्केजस्तो गरेर सोधेका थिए उनले यो प्रश्न ।
‘हो ।’ मैले भनेको थिएँ
।
मेरो जवाफ सुनेर उनका आँखा अझ केही ठूला भएका थिए । आँखाको
नानीमा स–सानो विष्फोट भएजस्तो देखिएको थियो । उनले हातका किताब भुइँमा राख्दै
मतिर राम्ररी ध्यान दिएर फेरि सोधेका थिए,
‘सच सच बता । सच बोल
रहा है ना तू ?’
‘मैले साँच्चै भनेको ।’ मैले अघिभन्दा प्रष्ट बोली निकाल्ने कोशिस गरेको थिएँ, तिनले राम्ररी सुनेनन् कि भनेर ।
‘आऽऽह !’ उनको मुखबाट सुस्केरा प्रकट भएको थियो । उनले मलाई छाडेर पारि–पारि लेकतिर हेर्न लागेका थिए । सामुन्ने चारैतिर अग्ला पहाडहरू थिए । पहाडभरि गाउँ बसेका थिए । तिनैमध्ये एउटा गाउँमा अस्ति केही दिनअघि हिमाचलका मुख्यमन्त्री प्रेमकुमार धूमल आएर धुमधाम भाषण गरेका थिए । उनी माइकमा चिच्याएको हामीले यहाँ तलसम्म सुनेका थियौँ । अझै तल गिरि नदी सुसाइरहेको थियो । यतिखेर भने नदीभन्दा ज्यादा ती भोला दास सुसाइरहेका थिए ।
त्यसपछि भएको हाम्रो वात्र्तालाप पढौँ । भाषा यस्तै थिएन
होला, भाव यही थियो,
‘भालुबाङको नजिकै एउटा
खोला छ । त्यसको नाम थाहा छ तँलाई ?’
‘राप्ती हो ।’
‘त्यो त नदी हो । खोला
भन्दैछु । नाला, नाला ।’
‘धेरै छन् । सबैको नाम
थाहा छैन । एउटा त सिलिङखोला हो । हाम्रो गाउँमा छ ।’
‘कुनै एउटा दुईटाको ?’
‘अरुको नाम थाहा छैन ।’
‘अब तँ कहिले घर
जान्छस् ?’
‘जान्छु छिट्टै ।
बस्दिनँ यस्तो ठाउँमा ।’
‘जब तँ घर जान्छस्, भालुबाङको पुलदेखि
पश्चिमतिर हिँड्दै आउनू । त्यहाँ एउटा खोला छ जसको नाम हो– मोइत्री ।’
‘मोइत्री ? यो कस्तो नाम हो ?’ पहिलोपटक सुनेको थिएँ
यस्तो खोलाको नाम ।
‘यो बङ्गाली भाषाबाट
बनेको नाम हो ।’
‘अनि यसको अर्थ के हो ?’
‘ऊ मेरी प्रेमिका थिई ।
मरेर गई । म पनि मर्ने हो एकदिन । हुन त अहिले पनि मरेकै छु ।’
‘के रे ?’ म झस्केको थिएँ ।
भोलाको अनुहार भुइँतिर झुकेको थियो, ‘हो, ऊ मेरी मायालु थिई ।
मेरो संसार थिई । ऊ गएपछि मेरो त संसारै उजाडियो ।’
‘....’ म निःशब्द उभिएको थिएँ
।
‘मोइत्रीको अर्थ बङ्गालीमा साथी हुन्छ, मित्र हुन्छ । यस्तो साथी जोसँग आत्मीय सम्बन्ध हुन्छ । तर, ऊ त सबै साथीभन्दा माथि थिई । यो प्रायः केटीहरूको नाम हुन्छ तर, ऊ अरु केटीहरूभन्दा अलग थिई । धेरै फरक थिई ।’
बाँकी उनको कहानी उनकै जुबानी यस्तो थियो,
‘म नेपालको सडक बनाउने समूहमा मिसिएर पश्चिम बङ्गालबाट गएको थिएँ । भालुबाङ बजारको नजिकै हामी बस्थ्यौँ । बाटो बनाउने सबै सामग्री, औजार र ठूल्ठूला मेशिनहरू त्यहीँ राखेका थियौँ । कोलोनी पनि भनेर चिनिथ्यो, पछि–पछि त्यो ठाउँलाई । राप्तीमाथि पुल बनिसकेको थिएन । हामी राप्तीमा पुल बनाउने र वरिपरि सडक विस्तार गर्ने काममा लागिरहेका थियौँ । त्यही खोलानिर पनि काम चलिरहेको थियो । त्यही समय मेरो घरबाट चिट्ठी आयो । त्यसैभित्र भाइले लेखेको छुट्टै पत्र पनि थियो । लेखेको थियो, मोइत्रीलाई खै के बिमार लाग्यो, एकै दिनमा बिती । हामीले अस्पताल लैजान पनि भ्याएनौँ ।’
त्यो पत्र पूरै पढ्न सकिनँ । त्यसपछि गाउँ फर्कन पनि सकिनँ । विरक्तिएर त्यहीँबाट नैनीताल आएँ । सडक मजदुर बनेर दुई वर्ष काम गरेँ । त्यसपछि हरिद्वार आएँ । त्यहाँ मन्दिरमा आठ दस महिना बिताएँ । त्यहाँबाट पनि हिँडेर रेणुकाजीमा आएँ । दुई महिना बसेँ । मन कहिल्यै स्थिर भएन । कहिले जोगी बनेर, कहिले मजदुर बनेर मैले त्यसपछिको जिन्दगी बिताएँ । अब घर फर्कन मन छैन । सायद फर्कने पनि छैनँ ।’
साँझ झमक्कै भइसकेको थियो । भोलाले मलाई थपमा सुनाए,
‘मैले मोइत्रीलाई केही दिन सकिनँ । उसले मलाई सबथोक दिई । मलाई प्रेम दिई । बाँच्ने हौसला दिई । ऊसित जीवन बिताउने कल्पनाले नै प्रेरणा दिएर म नेपाल गएको थिएँ, दुईचार पैसा कमाउँला भनी । ऊसित जीवनभर सँगै बस्ने सोचेको थिएँ । उसलाई मैले अब केही दिन सक्तिनथेँ । तर, उसको नाम आफूले काम गरिरहेको ठाउँमा कतै छाडेर जान चाहन्थेँ म । त्यसैले त्यो नालाको नाम मैले नै ‘मोइत्रीखोला’ राखेको हुँ । नेपालमा सानातिना नालालाई खोला भनिन्छ भन्ने मलाई थाहा थियो । सडकका इञ्जिनियरहरू सबै भारतीय थिए । उनीहरूलाई भनेर नाम राख्न कुनै समस्या पनि भएन । तँ जब घर जान्छस्, त्यहाँ पुगेर मेरी मोइत्रीको नाम पढ्नू । हुन्छ ?’
‘हुन्छ नि, किन नहुने ?’ मैले उनलाई वचन दिएँ ।
यसपाली म धेरै बसिनँ परदेशमा । बर्खा छँदै नेपाल फर्किएँ । यो सन् २००० एवं वि.सं. २०५७ को कुरा हो । नेपाल आएपछि मेरो पहिलो काम नै त्यो खोलासम्म पुग्नु भयो । भालुबाङको पुल तर्नेबित्तिकै उकालो काटेर थोरै पर पुग्नासाथै त्यो खोला भेटिँदो रहेछ । त्यहाँ रहेको बोर्डमा आँखा लगाएँ । लेखिएको रहेछ, ‘मोइत्री खोला ।’
त्यो बेला याशिका क्यामेरामा कैद गरिएका फोटोहरू अहिले मसित छैनन् । यसपटक खोलाका नाम खोज्दै जाँदा यसको पनि स्वतः सम्झना भइदियो । यससँगै हिमाचल प्रदेशमा आफूले भोगेका अनेकन् अनुभवको एउटा पाटोको सम्झना समेत जोडिन आयो । यसरी यो संस्मरण–आलेख पूरा भयो ।
यसपटक पनि भालुबाङबाट हिँड्दैगएँ । नजिकैबाट खिचेँ, मोइत्रीखोलालाई । एउटा सामान्य खोला । यसलाई चिनाउन लेखिएको बोर्डमा अक्षरहरू खुइलिइसकेका रहेछन् । भोलाले सुनाएका कथा भने ताजै छ । मोइत्री त उहिल्यै मरेकी थिई । भोला दास ज्यूँदै होलान् कि नहोलान् आज ? मनले यही प्रश्न सोधिरहेछ ।
त्यसैको छेउमा अर्को खोलाको नाम फियरी खोला छ । फियरीको कुनै अर्को अर्थ होला कि त्यसको अर्थ अप्सरा या परी नै होला ? के त्यो नाम पनि भोला दासझैँ बङ्गाली या अरु कुनै मजदुरले राखिदिएका थिए ? कसले कसलाई कहाँ गएर कसरी सोध्ने अब ?
सबै प्र्रश्नको जवाफ खोज्न पनि त नसकिँदो रहेछ ।
०
(किताब पोलेर हिँडेको
आफ्नो कृत्यप्रति मलाई कुनै गौरवानुभूति छैन आज, बरु पछुतो छ । विद्यालय छाड्नुपर्ने अनेक कारण थिए
होलान् तर, किताब पोल्ने त मै
थिएँ, मेरै हात थिए ।
यसखालको क्रियाकलापलाई आज आएर म खण्डन गर्न चाहन्छु । यही पछुतोबोधले २०८१ मा मैले
एसईई पूरा गरेँ, बी प्लस ल्याएर ।
मार्कसिटमा कहिलेकाहीँ देख्छु र बी प्लसलाई बी पोजिटिव भनेर सम्झन्छु । अनि
सम्झन्छु, आफ्नो जीवनमा आइपरेका
अनेक तीतापनका कारण मभित्र सकारात्मकभन्दा बढी नकारात्मक सोच हावी भइसकेको रहेछ ।
यसलाई सुधार गर्नुपर्छ भन्ने सन्देशकै लागि मलाई यो ग्रेड प्राप्त भएको होला भन्ने
लाग्छ ।)
०
२०८३।०६।२३
(भालुबाङ)


4 comments:
❤️❤️❤️
ओहो कति गहन! एउटा गज्जबका लेखक! कहाँ कहाँ पुर्याए एकै बसाईमा। कास! किताबप्रतिको यो प्रेम र हुटहुटी यति सजिव गराउन सकिएको भए अहिलेको पुस्ताले प्राप्त यी अवसरको कति फाईदा लिन सक्दो हो!
कथा यसरी खोजेर लेख्ने उनको स्वाभाव क्या अजिवको लाग्छ बा!
बधाई प्रिय जेबीजी!
धन्यवाद तिलकजी । याे सबै तपाइँहरुकाे प्रेरणाकाे बलले हाे है ।
🙏🙏🙏
Post a Comment