Total Pageviews

Showing posts with label अनुभूति. Show all posts
Showing posts with label अनुभूति. Show all posts

29 June, 2026

मन रोएको एक यात्रा : बुटवलदेखि सिमरा




जेबी दर्लामी

एक अवसर प्राप्त भयो यात्रा गर्ने । हरेक यात्रा मलाई थप अवसरजस्तै लाग्छन् । यात्रामा धेरै कुरा सिक्न सकिन्छ । नयाँ साथीहरुसँग चिनापरिचय हुन सकिन्छ । नयाँ ठाउँहरु देख्न पाइन्छ । नयाँ चालचलन र परम्पराहरुसँग साक्षात्कार पनि हुन पाइन्छ । तसर्थ मलाई यात्रा गर्न बेस्सरी मन लाग्छ । यात्रा गर्ने बहाना खोजिरहन मन लाग्छ ।

२०८३ असार १२ गते । यस्तै एउटा यात्रा जुरेको थियो बारा जिल्लाको सिमरासम्मको । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तीन दिने कार्यक्रममा मधेश र लुम्बिनी प्रदेश समितिलाई एकै ठाउँमा भेट हुने संयोगको संयोजन केन्द्रीय समितिले गरेको थियो । सहभागी हुनेमा लुम्बिनी (मगरात) प्रदेश समितिको उपाध्यक्षको हैसियतमा मेरो नाम पनि पठाइएको रहेछ र यसरी आउन पाएको थिएँ । 

प्रदेश अध्यक्ष लगायतका साथीहरु दाङबाट आउँदै थिए, स्कार्पियो रिजर्व गरेर । त्यसैमा बुटवलबाट केन्द्रीय सचिव मिलन गाहा र मलाई पनि राख्नेगरि उनीहरु आउँदै थिए । खोइ, कसको योजना या सल्लाहले हो, सिमरा पुग्न नयाँ बाटो जाने निर्णय भएछ । सुस्ता त्रिवेणीबाट भारत पस्ने र भारतको सडकमार्ग हुँदै वीरगञ्ज निस्कने । त्यही सल्लाहअनुसार हामीलाई भैरहवा बोलाइयो । मिलनजी र म त्यहाँ गएर उक्त समूहमा सामेल भयौँ ।  

गाडी भैरहवादेखि हुलाकी मार्ग हुँदै पूर्व लाग्यो । गोपीगञ्ज आइपुगेर हामी बर्दघाटतिर उक्लेनौँ । नेपालको सडकमार्ग भएर बर्दघाट, दाउन्ने, आरुङखोला, चोरमारा, डण्डा, कावासोती, थुम्सी, गैंडाकोट, भरतपुर (चितवन), हेटौँडा, पथलैया हुँदै सिमरा पुगिने थियो । तर हामीले रोजेका थियौँ भारतको बाटो । नयाँ ठाउँ भएर यात्रा गर्नुको रोमाञ्चक कल्पना एउटा थियो । त्योभन्दा बढी हामी कार्यक्रममा पुग्न यसै ढिला भइसकेका थियौँ र हामीलाई सुनाइएको थियो, भारतको बाटो भएर आउँदा करिब दुई घण्टा छिटो आइपुगिन्छ । एकसय किलोमिटरकै फरक पर्ने समेत भनिएको थियो । मलाई भने नयाँ बाटो भएर जाँदा कति ठाउँमा अलमल परिने पक्का छ भन्ने लागेको थियो । साथीहरुलाई यो कुरा भनेको पनि थिएँ । नभन्दै त्यस्तै भयो । गण्डक ब्यारेजको वारि नेपालतर्फ माछाभात खाएर पारि भारततर्फ पुग्नासाथै हामीलाई यो कुराको आभास भइसकेको थियो । त्यहाँ हामीलाई रोकेर गाडी र चालकको नाम दर्ता गर्न मात्र भनिएन, हाम्रा झोला गाडीबाट निकालेर मेशिनमै राखेर स्क्यानसम्म गरियो । स्थलमार्ग भएर भारत प्रवेश गर्दा यो प्रकारको अनुभव मैले जीवनमै पहिलोपटक गरेको थिएँ । नेपालीलाई सीमामा अतिरिक्त चेकजाँच गर्ने मानौं माथिको आदेश ती सुरक्षाकर्मीहरुले पालना गरिरहेका थिए जस्तो लाग्यो । अनि मेरो मनमा केही महिनाअघि नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संसदमा उभिएर भनेका कुरा झल्याँस्स सम्झना भयो । ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको छ’, हो यही भनेका थिए हाम्रा प्रधानमन्त्रीले । सम्पूर्ण युद्धसामग्रीसहित अर्को देशको सेनाले कुनै देशको भूभाग कब्जा गरेर बस्नु र दशगजामा दुवैतिरका बासिन्दाले एकअर्काको देशको जमिनमा भैंसी प्रवेश गराउनुबीचको भिन्नता मात्रै पनि हाम्रा प्रधानमन्त्रीले बुझेका भए त्यसरी बोल्ने सायद थिएनन् होला, त्यो पनि देशको सर्वोच्च कार्यकारी स्थानबाट । उनले त्यसरी बोलेकोमा गल्ती स्वीकार गर्ने कष्ट पनि गरेनन् तर, त्यो बोलीका कारण नेपाली जनताले झेल्नुपरेको र अझै झेल्नुपर्ने देखिएको कष्ट भने असाध्यै पीडादायी र डरलाग्दो छ । उनको त्यही बोलीकै बलमा निकै लामो समयपछि भारतीय सेना सुस्तामा पस्यो हतियारसहित । ती घुसपैठियाहरुको प्रतिकार गर्न नेपालको सरकार र त्यस मातहतका निकायहरु निकम्मा सावित भइदिए । परचक्रीले भिरेको हतियारको समेत डर नमानी मैदानमा उत्रिए स्थानीय जनता । हो त, आजसम्म सुस्ताको भूमि बचाइराखेका त्यहीँका जनताले हुन् । सलाम गर्छु म, सुस्ताका ती नेपाली जनतालाई । 

हाम्रा प्रधानमन्त्रीको त्यस वचनपछि सुस्तामा मात्रै होइन, देशका विभिन्न स्थानमा भारतीय एसएसबी प्रवेश गरेको खबर स्थानीय जनताबाट सुन्दै आइएको छ । कति ठाउँमा रातारात सीमा मिचेर पुल बनाइएका घटना पनि सुन्न पाइएको छ । भारत सरकार, त्यहाँका कूटनीतिज्ञहरु, कर्मचारी, सुरक्षा बल र आम भारतीय जनताको समेत नेपाल र नेपालीलाई हेर्ने नजरमा हेयको मात्रा बढिरहेको प्रत्यक्ष अनुभूति गर्न परिरहेको यथार्थ कसैले लुकाउन सक्तैन होला । 

नारायणी (भारतले भन्ने गण्डक) नदीको पुल तरेर हामी भारतको बिहार प्रान्तमा प्रवेश गरेका थियौँ । सीमा बजारको नाम वाल्मिकी नगर रहेछ । स्कार्पियोभित्र हामी नौजना थियौँ । चेकपोइन्टमा हाम्रा झोला गाडीबाट निकालेर स्क्यान गरिएको थियो । तत्पश्चात् चालकलाई धेरैबेर त्यहाँ अल्मल्याइयो । उनलाई अनेक अनावश्यक प्रश्न सोधेर हैरान पारियो । उनको बाउआमाको नामसम्म सोधियो । पुल तरिनसक्दै मन अमिलो भइसकेको थियो । पुलदेखि तल्लो भेगमा नदी लगभग सुकेकोजस्तो देखिन्थ्यो । पानी सबै पुलनिरै थुनेर भारततर्फको नहरमा खसालिएको थियो । अलि वर आउँदा त्यो नहर पश्चिम, दक्षिण र पूर्व दिशातर्फ बिहारको भूमिमा सिंचाई पु¥याउन पानीले डम्मै भरिएर बगेको थियो । हामी पूर्वतर्फ बगेको नहरको छेउ भएर गुडेका थियौँ । 

त्रिवेणीबाट भारतको बिहार प्रदेश भएर वीरगञ्ज पुग्न नेपालको बाटोभन्दा धेरै छिटो हुने भनेर कसैले भनेको भरमा हामीले यत्रो चुनौती हातमा लिएका थियौँ । सुरुमै भारतीय सुरक्षाकर्मीहरुबाट पाएको अतिरिक्त चेकजाँचको हेपाहापूर्ण व्यवहारले मन खिन्न भइसकेको थियो । झन्पछि झन् नेपाली सिमले काम गर्न छाड्यो । न कसैलाई फोन गर्न सकियो न त नेट चलाएर म्याप हेर्दै हिँड्न नै सकियो । हामी त अचानक कुहिरोको काग बन्यौँ । नहरको छेउ भएर सानो सडक बनेको रहेछ । पूरा गियरमा लगातार गाडी हाँक्न सक्ने अवस्था थिएन । पछाडि फर्कौं, धेरै पर पुगिसकिएको छ । अगाडि बढौँ, अब अझै कति अगाडि बढ्नुपर्छ भन्ने नै थाहा छैन । कुनै अनिश्चयको यात्रामा हामी यसरी होमिएका थियौँ । 

एक ठाउँमा गाडी रोकेर एक बिहारी युवकसित हामीले सोधेका थियौँ, ‘यो सडकमार्ग भएर वीरगञ्ज पुगिन्छ कि पुगिन्न ?’ भनेर । उसले बताएको थियो, ‘वीरगञ्ज होइन इनरवा पुग्छ यो सडक । त्यहीँबाट नेपाल प्रवेश गर्न सकिन्छ ।’ हामी उसको कुरामाथि विश्वास गरेर अगाडि बढिरह्यौँ । अविश्वास गर्ने पनि विकल्प कतै बाँकी रहेको थिएन । 

स्कार्पियोले गति लिइरह्यो । कहीँ कतै चार र पाँच गियरमा कुद्यो । धेरै ठाउँमा त तीन गियर नै पर्याप्त भयो उसलाई । भारत छिर्ने समयमा दिनको ठिक एक बजेको थियो । त्यो दोपहरको प्रचण्ड घाममा गाडीभित्रको वातानुकूलित प्रणालीले काम गर्न छाडेपछि हामीले त्यसका सबै झ्याल खोलेर बाहिरको हावा खाएका थियौँ । बल्ल राहत पाएको थियो ज्यानले । मनको उकुसमुकुस भने बाँकी नै थियो । 

हामी गुडिरहेको सडक छेउ भएर यत्रो ठूलो नहर बेगवान् थियो । ठाउँ–ठाउँमा उत्तरतर्फ बिजुली मोटर जोडेर त्यो नहरको पानी खेतसम्म पु¥याइएको थियो । दक्षिणी भेगका खेतहरुमा भने नहरमै ढोका बनाएर पानी पठाइएको थियो । नहरको दुवैतिर खेतमा हरियाली व्याप्त थियो । मकै लगायत विभिन्न खेतीपाती राम्ररी सप्रेका देखिन्थे । कहीँ स–साना बजार आए । धेरैजसो गाउँ नै देखा परे । बजार पनि फोहोरको कारखाना भन्न मिल्ने । यत्रतत्र फोहोर मात्रै । गाउँ त गाउँ नै भइहाल्यो । 

हामी कहाँ छौँ ? गाडी कहाँनिरबाट गुडिरहेको छ ? कसैलाई थाहा थिएन । नौ जनाकै मुखमा एउटै ठाउँको नाम घरिघरि आइरहेथ्यो, इनरवा । कसैले इनरुवा भन्यौँ, कसैले इनवारु । वास्तविक नाम मुखाग्र गराउन निकै नै बल लगाउनुपरेको थियो । 

पटक–पटक फोनको डाटा खोलेर हेरेँ । अहँ, नेटवर्कको त कुनै नामनिशाना थिएन । धेरैबेर गुडिसकेपछि बल्ल फोनमा प्राण पसेजस्तो भयो । गूगल म्याप खोलेर हेर्दा हामी नेपालको माडी र ठोरीको ठिक मुनि भारतीय भूभागमा थियौँ । यहाँबाट नेपालको सीमा केही नजिक पर्दोरहेछ र नेपाल टेलिकमको नेटवर्कले थोरै काम गरेको रहेछ । इनरवा पुग्न भने त्यहाँबाट अझ धेरै टाढा थियो । केही छिनपछि टेलिफोनमा डाटाको शक्ति हराउन थाल्यो । यो मन फेरि डराउन थाल्यो । 

इनरवा आइपुग्दा मनै भरङ्ग भयो । हाम्रो देब्रे छेउबाट बगिरहेको नदीजस्तो नहर अचानक बेपत्ता भएको थियो । म पनि गाडीमा देब्रेतिरकै झ्यालमा बसेको थिएँ । त्यसैले त्यो आँखा बिझाउने दृश्य हेर्दिनँ भनेपनि हेर्नुप¥यो । नहरको संरचना उस्तै छ, उत्रै छ तर, पानी एक थोपा पनि छैन । अझ सीमामा भारतीय सुरक्षाकर्मीले थप तर्साए । हामीलाई ‘जुन बाटो आएको हो त्यही बाटो फर्केर नेपाल जाऊ’ भनियो । साथीहरुले टुटेफुटेको हिन्दीमा कुरा गरेर यो समस्यालाई सुल्झाए । हामी अन्ततः नेपाल प्रवेश ग¥यौँ । 

शरिरको दुःख केही कम भएको थियो । आफ्नो देशमा आइसकेको हुँदा शरिरको थकान केही होइनजस्तो लाग्न थालेको थियो तर, छेउमा देखा परिरहेको सुखा नहरले भत्भती मन पोलिरह्यो । सीमापारि हरियाली खेतबारी यता भने फुस्रो धुलो उडिरहेको थियो । छिमेकीसँग त्यसै कहाँ रिस उठ्छ र हामीलाई ? हामी त्यस्तो मूर्ख पनि कहाँ छौँ र नचाहिने कुरामा रिसाइहाल्नलाई ? 

यसपटकको यात्रा यस्तै भयो । करिब चार घण्टाको बाटोभरि यो मन अमिलो र आँखा पिरो भइरह्यो । जब आफ्नो मात्रै भलो चाहने छिमेकी पर्छ, व्यक्ति होस् या देश– त्यसले धेरै फरक पार्दोरहेछ । यस्तो व्यवहारले त छिमेकी हुनुको नातासम्बन्धै मार्दोरहेछ । 

०



02 April, 2026

सिक्किम अनुभूति



      


जेबी दर्लामी

        सन् २०२३ को अक्टोबर ०३, मंगलबार ।

नेपालको सरकारी कामकाजमा चल्ने मिति अनुसार त्यो दिन परेको थियो २०८० साल असोजको १६ गते । त्यो रात बार मात्रै मङ्गल परेको थियो, सिक्किमेली र प्रत्येक ठाउँमा दुख्ने मानवताका लागि भने अमङ्गलको रात भइदियो । त्यस रात सिक्किमको राजधानी गान्तोकबाट पश्चिमोत्तरमा लगभग नेपालको सीमामै रहेको ‘साउथ ल्होनाक’ ताल एक्कासी फुट्यो । 

हुन त त्यो एक्कासी नै फुटेको चाहिँ होइन । पर्यावरणविद्हरूले पटक–पटक चनाखो तुल्याइरहेका थिए कि यो ताल छिट्टै भत्कन गइरहेको छ । थुप्रै केस स्टडीहरू पनि भएका थिए त्यस तालउपर । विश्वव्यापी जलवायु परिवर्तनको खास असर हिमाल र समुद्रमा देखिँदै आइरहेको अवस्थामा यो मात्र होइन, हिमालय क्षेत्रका अरू पनि थुप्रै हिमतालहरू लगभग अब फुट्ने र लोप हुने खतरामा छँदैछन् । यो ताल त्यसरी फुट्नु हामीजस्ता औसत मान्छेका लागि त अचम्मलाग्दो घटना थियो तर, यही क्षेत्रमा लगातार काम गरिरहेका र आवाज उठाइरहेकाहरूका लागि भने कुनै अनौठो घटना थिएन । यो घटनाले यसप्रकारका प्राकृतिक विपदहरूलाई अग्रिम कदम उठाएर कम गर्न सकिन्थ्यो भन्ने कोणबाट बहसको जन्म भइदियो । यस्तो गम्भीर मुद्दामा राज्य र सरकारले ध्यान नदिएको तर्क पनि प्रशस्तै सुनियो । 

    लगातार वर्षा भइरहँदा पानीको सतह धेरै माथि आयो र त्यसले तालको डिल भत्कायो । त्यसले आधी रातमा बाढीको रुप लियो । त्यो भयानक बाढी केही मिनेटभित्रै टिस्टा नदीमा पस्यो । त्यसले चुन्थाङनिर टिस्टा नदीमा बाँधिएको तेस्रो नम्बरको बाँधलाई क्षतविक्षत हुनेगरी भत्काइदियो । बाढीको बेग थपिँदै तल–तल बग्दैआउँदा त्यसले आफूसँगै धेरैथोक बगायो । मानिसहरूलाई पनि बगायो । 

    अर्को दिन समाचारमा हामीले नेपालमा पनि सुन्यौँ पढ्यौँ, २० जना सर्वसाधारण र २३ जना सैनिक बाढीमा परी हराएका थिए । टिस्टा नदीको ठाउँ–ठाउँमा विद्युत उत्पादन प्रयोजनार्थ बनाइएका थुप्रै कृत्रिम जलाशयहरू भत्किएका थिए । सडकहरू खोलाले तानेको थियो । घर, पसल लगायतका संरचनाहरू थुप्रै–थुप्रै बगाएको थियो । 

सिक्किम प्रोजेक्ट डट ओआरजीको नोभेम्बर २५, २०२३ को अंकमा ‘टिस्टा अब बग्दैन’ शीर्षकको शोधलेखमा अर्चना पाठक र रिचार्ड सेनले लेखेका छन्,

‘विपत्तिलाई प्राकृतिक भन्नु गलत हुनेछ बरु यो विकास र वृद्धिको नाममा पहाडलाई निरन्तर खोक्रो बनाइनुको परिणाम हो । भारतको बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्न मेगा इन्फ्रास्ट्रक्चरको सिर्जनामार्फत् मानवीय हस्तक्षेपले हिमालय क्षेत्रमा सबै दुःखद् परिणामहरू निम्त्याइरहेको छ ।’ 

त्यही वेबसाइटमा अक्टोबर २४, २०२३ मा मोना क्षेत्री लेख्छिन्, ‘बाढीको पानी सिङ्तामको उपत्यका बस्तीसम्म पुग्न १ घण्टा ४० मिनेट मात्र लागेको थियो । सिङ्तामदेखि पश्चिम बङ्गालको मेल्ली नजिकैको किर्नेसम्म ३६ मिनेट र मेल्लीदेखि टिस्टा बजारसम्म ३० मिनेट । बाटोमा यसले सिक्किमको मङ्गन, गान्तोक, पाक्योङ र नाम्ची जिल्लाहरूमा ठूलो क्षति पुर्यायो । टिस्टा (नदी) पहाडबाट तल ओर्लिएपछि यसले मानिस, घर, पुल र आफ्नो बाटोमा पर्ने सबै कुरा लग्यो ।’

    सन् १९६८ मा पनि सिक्किममा अक्टोबर महिनामै ठूलो झरी लागेको इतिहास छ । अन्तिम चोग्याल (राजा) पाल्देन थोण्डुप नामग्यालको शासनकालमा । यस्तै मितिमा अर्थात् यही महिनाको दुई देखि पाँच तारिखको बीचमा । झण्डै ६० घण्टाको अविरल झरीले टिस्टा नदी उर्लिएको, ठाउँ–ठाउँमा पहिरो गएको, पहिरोले घर, सडक र पुलहरू बगाएको दुःखद कथा छ । त्यो भेलबाढीमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो । यसपटकको यो बाढी मानवीय क्षतिका हिसाबले त्यसपछिको दोस्रो रहेछ ।

   

    लासहरू भेटिने क्रम चल्यो । नेपालबाट गएका नेपालीहरू पनि परेका थिए केही । कोही ज्यूँदै सम्पर्कमा आए । कोही आजसम्मै हराइरहेका छन् ।

हिमालखबर डट कमले पछिल्लो अद्यावधिक समाचार लेख्यो, २५ असोज २०८० मा, ‘करिब ४८ जनाको ज्यान गएको छ । सयभन्दा बढी हराइरहेका छन् ।’

हिन्दुस्तान टाइम्सले ८ अक्टोबर २०२३ मा आफूलाई अपडेट गरायो, ‘कम्तीमा ५५ जनाको ज्यान गयो, १४१ जना अझै हराइरहेका छन् । हराइरहेकामध्ये १४ जना सैनिकहरू हुन् ।’

एउटा संयोग कस्तो रह्यो भने यस घटनाको ठिक एक वर्षअघि हामी यही दिन सिक्किम पुगेका थियौँ । अर्थात् २०७९ सालको असोज १६ गते । राति करिब एघार बजेको समयमा सिक्किमको राजधानी गान्तोक ओल्र्हेका थियौँ हामी । अँग्रेजी मिति थियो २ अक्टोबर, २०२२ । 

सिक्किमबाट फर्केर यात्रा संस्मरण लेख्ने सुर गर्दागर्दै एक वर्षको समय हातबाट निक्लेछ । कति चाँडै गएछन् आफ्नै दिन । गान्तोकको इन्चे मोनास्ट्री उक्लँदैगर्दा एकैछिन ट्याक्सीलाई पर्खन भनेर एउटा सानो नोटबूक र कलम किनेको थिएँ । त्यही नोटबूक र कलम मैले सिक्किम यात्राभर प्रयोग गरेँ । नेपाल फर्केर पनि त्यो नोटबूकमा लेखेँ । त्यही कलमले लेखेँ । तर अचम्म, ८० पृष्ठको यो नोटबूक भरिन अझै एक चौथाई बाँकी नै छ । सेलो ग्रिपर ०.५ बलपेनले पनि अझैसम्म लेख्दैछ । यही कलम मैले धेरै खोजी गरेँ नेपाल आएर तर पाइनँ । लेख्न यति सजिलो कलम सित्तिमित्ति भेटिएको थिएन, छैन । 

यही सानो नोटबूकको आधारमा अर्को ठूलो नोटबूकमा सिक्किम यात्राको विस्तृत वर्णन गर्न कस्सिएँ । अचेल लेख्ने बानी हराएर होला, एक दुई पाना लेख्दै हात कर्करी दुख्न थाल्छ । हातले लेख्नुपर्ने लेखिसकियो अब ल्यापटपमा लेख्नुपर्ला भनेर सोँचेको थिएँ । सिक्किम यात्राको अनुभव छिट्टै प्रकाशन गर्नुपर्ला भनेर पनि सोँचेको थिएँ । यात्रामा यति धेरै मधुर अनुभव बटुलिएको थियो कि त्यही वर्षभित्रै यसलाई पोख्न मन लागेको थियो । सोँच्दासोँच्दै र लाग्दालाग्दै दिन रात कति चाँडो बितिगएछन् । के–के भयो, भयो । सोच आजसम्मै अधुरै रह्यो । 

त्यहीबीच मेरो आधा–अधुरो उपन्यासलाई पूरा गर्नु थियो । त्यही काममा पनि अल्झिनुपर्यो । उपन्यास ‘मारीखोलाको ढुङ्गो’ शीर्षकमा नेपालयबाट २०८० सालको चैतमा प्रकाशित भइसकेको छ । 

यसपाली टिस्टाको डरलाग्दो बाढीले सिक्किमलाई त हल्लायो नै, मलाई पनि बेस्सरी हल्लायो । आफ्नो अल्छीपनमाथि आफैले कटाक्ष गर्न मन लाग्यो । अब यसरी हुँदैन, हुँदै हुँदैन भनी आफैलाई चिमोट्न मन लाग्यो । र फेरि यसरी कस्सिएँ लेख्न । लेखिसकेका अक्षरलाई थप जीवन दिन । 

अर्को दुःखद संयोग, दार्जीलिङको घुम पहाडमा जन्मिएकी, नेपाली संगीत क्षेत्रमा घुमभन्दा अग्ली पहाड त्यही रात ढलेको खबर सुन्यौँ, पढ्यौँ । कसले पढेको छैन होला ‘मेलोडी मून’ दिलमाया खातीको नाम ? कसले सुनेको छैन होला त्यो मधुर कर्णप्रिय स्वर ?

विछोडको पीडा नसकी खप्न दसैंको बेलामा

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा 

.....

यस्तो कालजयी गीतमा स्वरसम्राट नारायणगोपालसँग स्वर भरेकी उनै दिलमाया खाती । हरेक वर्ष दसैंको छेकमा यो गीत खुब सुनिन्थ्यो रेडियो नेपालमा । हामी सानै छँदाको कुरा । एफएमहरू नजन्मँदैको कुरा । यिनै सदावहार गायिका यो वर्षको दसैँ आउनुभन्दा ठिक २२ दिनअघि हामीबाट विछोड भइन् । यही वर्ष असोज १६ गते राति ८४ वर्षको उमेरमा पश्चिम बङ्गालको सिलगढीको एक अस्पतालमा उनी जीवनले अस्ताइन् तर, उनको जीवनी भने युगौँयुग अजर अमर रहनेछ ।

डाँडा छ साक्षी के दिन र राति निद छैन आँखामा

मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा 

उता सिक्किममा ल्होनाक ताल भत्कियो, यता दार्जीलिङमा दिलमायाको भौतिक देह । भत्कनुसँग जोडिएको पीडा दुवैतिर बराबर थियो । नेपालतिर पनि, भारततिर पनि । 


अब थोरै अर्को प्रसङ्ग ।

यसै वर्ष (२०८०) को असार महिनामा काठमाडौंबाट पछि लागेर कुकुरको एउटी छाउरी बुटवल आइपुगी । हाम्रो घरमा । भर्खर ३ महिना जतिकी थिई । वर्णसंकर । गोल्डेन शेफर्ड । यति चलाख, यति ज्याद्रो कि एकैछिन थपक्क बस्नै नसक्ने । हामीसँग खेल्दाखेल्दै पनि कतै छिसिक्क आवाज आउनै नहुने, भुकिहाल्ने । चेनगेटमा त कसैले छोयो कि पुग्यो । माथिल्लो तलाबाट गोलीझैँ छुटेर पुगिहाल्ने । चिनजानको परे त ठिकै छ नत्रभने भुकेर कालिकानगर उचाल्ने । घरका मान्छेहरूलाई पनि जिस्कँदाजिस्कँदै टोकटाक पारिदिने । कहिले त घाउ पनि बनाइहाल्ने । 

लुसी हुँदै नाम लेक्सी रहन गयो । यही सालको दसैंको लामो विदामा केटकेटीसँगै लेक्सीलाई पनि लिएर हामी पहाड गयौँ । बजारको साँघुरो घर कम्पाउण्डमा नअटाइ–नअटाइ खेल्न अभिशप्त लेक्सी, जब गाडीबाट ओर्लेर गाउँ जाने पैदल बाटो समात्यौँ, कति खुसी भई–भई । दगुर्ने, स्याँस्याँ गर्ने, उफ्रने, बाटोका छेउछाउ झाडीतिर फालिएका दालमोठ, गुट्खा, चाउचाउ आदिका प्लास्टिकहरू सुँघेरै पत्ता लगाइदिने । 

घर पुगेपछि झन् त्यसको खुसीले सबै सीमा नाघिदियो । त्यहाँका हरेक कुरा उसका लागि नयाँ थिए । त्यहाँको पानी, त्यहाँको बतास । त्यहाँको घर, गोठ, भान्साकोठा । कुखुरा र बाख्राहरूलाई त झन् उसले पहिलोपटक देख्दैथिई आफ्नो जीवनमा । कति खुसी भई । कति उफ्री । कुखुराहरूलाई लखेटेर हाराबारा पारी । खोरका बाख्रा र गोठमा बाँधिएको पाडालाई देखेर भुक्नुसम्म भुकी । दुई तीन दिन त्यहाँ बस्दा पनि उसको लागि त्यो परिवेश नौलो नै थियो । हरेक कुरालाई ध्यान दिएर हेरी, सुँघी । कहिले डराई । कहिले अचम्ममा परी । यसपालीको गाउँ यात्रामा हामीलेभन्दा बढी लेक्सीले रमाइलो गरी, रमाइलो समय बिताई ।

त्यसपछि ऊ हामीसितै बुटवल फर्की । उही साँघुरो बासस्थलमा । 

तर, यसपाली ऊ आफू मात्रै फर्केकी थिइन, ऊसित एक गम्भीर स्वभाव पनि सँगै आएको थियो । तीन चार दिनसम्म त हिँडाई र दौडाईको थकानले होला, खुब सुती । खुब निदाई । त्यसपछि उसको पहिलेको जस्तो चञ्चलता फेरि फर्केर आएन । ऊ अब गम्भीर भएकी थिई । हामीले बोलेका हरेक कुरा बुझ्न थाली । ‘सुत्’ भन्दा पहिले हातमा झुण्डिन आउँथी, अब खुरुक्क आफ्नो ओछ्यानमा गएर पल्टिन थाली । ‘माथि जा’ भन्दा माथि जान थाली, ‘तल जा’ भन्दा तल । 

त्यो छोटो समयको गाउँको यात्राले, नयाँ ठाउँको यात्राले उसको हाउभाउ र बानीबेहोरामा पूरापूर परिवर्तन ल्याइदिएको थियो । यो सबै हुनुको कारण त्यही यात्रा थियो । हामीले यही महसुस गर्यौँ, यात्रालाई हामीलेभन्दा बढी लेक्सीले आत्मसात गरिछे ।

एउटा पशु भनिने प्राणीलाई त यात्राले यसरी फरक पार्दोरहेछ । हामी त चेतनशील भनिने प्राणी । हामीलाई झन् कति फरक पार्छन् होला यात्राहरूले । तर, शर्त यति मात्रै हुन्छ होला, कमसेकम आफ्नो यात्रालाई लेक्सीले जत्ति सम्पूर्ण रुपले आत्मसात गर्नुप¥यो । आफ्ना सबै ज्ञानेन्द्रियले नयाँ ठाउँलाई अनुभूत गर्नुपर्यो । त्यहाँको धरातल छुनुपर्यो, त्यहाँको हावापानी र माटोलाई सुँघ्नुपर्यो, त्यहाँको पर्यावरणलाई चिन्नुपर्यो या चिन्ने कोशिस मात्रै भएपनि गर्नुपर्यो र त्यहाँका मानिस र समग्र चराचर जगतको भावनालाई छाम्न सक्नुपर्यो ।


सिक्किम यात्राको एक वर्षपछि त्यो बेलाको अनुभव लेख्न बसिरहँदा ममाथि पनि त्यो चुनौती आइलागेको छ । पहिलो चुनौती त यतिका लामो समयपछि त्यो यात्रालाई पुनः अनुभूत गर्न सकेँ या सकिनँ भन्ने नै छ । दोस्रो, मनलाई छुन आउने अनुभूतिलाई लेखनमा न्याय दिन सक्छु कि सक्दिनँ भन्ने छ । 

०

दक्षिण ल्होनाक ताल फुटेपछि हाम्रो मानसिक अवस्थामा त्यसले पारेको प्रभाव आफ्नो ठाउँमा छ । नेपालमा पनि त्यसले वातावरणीय बहस केही मात्रामै सही उठाइदिएको छ । केही मिडियाले यसबारेमा छलफल श्रृङ्खला चलाएका छन् । भर्खरै अर्थात् यही २०२३ को अक्टोबर २९ (२०८० कात्तिक १२) मा चारदिने औपचारिक भ्रमणमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आए । फर्कनुअघि नेपाली संसदमा केही मिनेट बोले । उनको चासोमा नेपालको शान्तिप्रक्रिया त छँदैथियो, जलवायु परिवर्तन पनि मुख्य थियो । उनैले हामीलाई सम्झाए, बितेका पछिल्ला ३० वर्षमा नेपालले एक तिहाई हिमनदी गुमाएको छ । हाम्रो लागि कति शर्मनाक कुरो । आफ्नो गुमेको चिज पनि अरू कसैले भनिदिनुपर्ने देखाइदिनुपर्ने । हामी आफैले देख्न नसक्ने । के हाम्रो विवेकमा अब भ्वाङ परेकै हो ? हुन त नेपालको जलवायु परिवर्तनमा शक्तिराष्ट्रहरूको होडबाजीलाई दोष दिने गरिन्छ । केही हदसम्म यो सत्य होला । तर, त्यसो हुनुको जिम्मेवार हामी पनि कम चाहिँ छैनौँ । गएका केही दशकमा हामीले चुरे क्षेत्रलाई जसरी बर्बाद पारेका छौँ, त्यसलाई नियाल्ने हो भने हामी हुँडार र माउखानेको झुण्डभन्दा कम हिंस्रक देखा पर्दैनौँ ।

हामी आफूले जानी नजानी निम्त्याइरहेका प्रकोपहरू त आउनै बाँकी छन् । हाम्रो वशमा नभएका प्राकृतिक समस्याहरूबाट पनि हामी प्रताडित नै भइरहेका छौँ । २०७२ साल वैशाखको महाभूकम्पको घाउ निको अझै भइसकेको छैन । फेरि हामीले अर्को भूकम्प सहनुपरेको छ । सिक्किमको दर्दनाक घटनाको ठिक एक महिनापछि नोभेम्बर ३, २०२३ (२०८० कात्तिक १७ गते) को राति नेपालको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गयो । (भूकम्प खासमा आउँछ कि जान्छ ? यो प्रश्नको जवाफ मैले आजसम्म पाउन सकेको छैनँ ।) यो भूकम्पमा परी डेढसयभन्दा बढीको ज्यान गयो, सयौँ अरू घाइते भए । यति लेख्दालेख्दै म सिक्किमेली जनताको दुःखमा हाम्रो पनि दुःख उस्तै छ भनी देखाउन चाहेको छु । हामी एउटै खुकुरीको धारमा टेकेर हिँडिरहेका छौँ भनी स्मरण पनि गराउन चाहन्छु । कोविडजस्तो घातक महामारीले पारेको विश्वव्यापी प्रभावमा हामीले सँगै भोगेको सास्तीको कुनै हिसाब छैन । 

प्रत्येक प्राकृतिक विपत्तिपछि हाम्रो बास भुइँमा किन हुन्छ ? बहुतले घर भएकाहरू पनि किन त्रिपाल टाँगेर धुलोमा सुत्न आउँछन् ? यो प्रश्न बडो गम्भीर लाग्छ मलाई । यसको उत्तर यही होला भन्ने लाग्छ, हामी प्रकृतिबाट धेरै टाढा जान खोजेका छौँ । हामीले आफ्नो धरातल बिर्सेका छौँ । धरातल अर्थात् भुइँ । भौतिक विकास, सुख, सुविधा र लोभ, लालच, ईष्र्याले हामीलाई रोगी बनाइरहेको छ । बेला–बेलामा आउने भूकम्प लगायतका यस्तै विपत्तिहरूले हामीलाई हाम्रो वास्तविक औकात सम्झाएर जान्छन् । हामी को हौँ र हामीले गर्नुपर्ने के हो, बुझाएर जान्छन् । हाम्रो भुइँ देखाइदिएर जान्छन् । हामीलाई प्रकृति र प्राकृतिक व्यवहार नछाड्न भनेर जान्छन् । हामीलाई आफू हुनुपर्ने ठाउँ बताइदिएर जान्छन् ।

बिहानी घामको पहिलो किरणले दिनभरिको छनक दिन्छ भन्ने आहान छ । सुरुआतबाटै पढ्दै हुनुहुन्छ भने पाठकले पक्कै मेरो यो यात्रा संस्मरण कस्तो हुनेवाला छ भन्ने थाहा पाइसक्नुभयो होला । तपाईंले थाहा पाएको कुरा ठिक हो । यो संस्मरण खाली सिक्किम यात्रासित मात्र सम्बन्धित रहनेछैन । त्यससँगै टाँसिएर आउने अनेकन् प्रसङ्गहरू पनि यहाँ समावेश हुनेछन्, भएका छन् । एकप्रकारको स्वच्छन्दता यो संस्मरणमा पाठकले पाउनुहुनेछ । लेखकीय स्वच्छन्दता । चाहनुभएमा मेरो उन्मुक्त उडानमा सहभागी बन्न सक्नुहुनेछ । यो उडानमा सुरक्षित तवरले अवतरणसम्म तपाईंलाई लैजाने मेरो प्रयास रहनेछ ।

यो संस्मरण लेखिरहँदा धेरैपटक विश्राम लिएँ । धेरैपटक अल्छी गरेँ । धेरैपटक सुस्ताएँ । तर बेला–बेलामा भत्किरहने आफूभित्रैको ल्होनाक तालले मलाई लेख्न प्रेरित गरिरहे । विभिन्न समयमा घटिरहेका सिक्किम र नेपालबीचका घटनाहरूले पुनः कलम समात्न बाध्य बनेँ । निरन्तर लेखिरहन विवश भएँ ।

त्यस्तै खालका दुईओटा घटना यो यात्रा संस्मरण लेख्दैगर्दा घटित भए । एउटा सुखद्, अर्को दुःखद । दुवै घटना नेपाल र सिक्किमसँग जोडिएको । 

सुखद घटना थियो, सिक्किमेली कवि नीलम गुरुङ पहिलो नेपाली पोयट आइडल बनिन् । नेपालमै पहिलोपटक आयोजना गरिएको कवितासम्बन्धी यस्तो खालको रियालिटी शोमा सिक्किमबाट आएर पहिलो उपाधि जित्नु चानचुने कुरा थिएन । यसमा सिक्किमेली जनता त खुसी भए नै होलान्, नेपाली पनि रमायौँ । यो थियो वि.सं. २०८० सालको पहिलो महिनाकै कुरा । अर्थात् सन् २०२३ को अप्रिलमा । 

त्यही सालको डिसेम्बर ३० मा नेपालबाट घुम्न गएकी व्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले पक्राउ गर्यो । उनीमाथि राजनीतिप्रेरित वक्तव्यबाजी गरेको र साकेला मनाउने आह्वान गर्दैै सिक्किमको समाजलाई ध्रुवीकरण गरेको अभियोग लाग्यो । सन् २०२४ को अप्रिलमा सिक्किम विधानसभा चुनाव हुन लागेको परिप्रेक्ष्यमा उनले सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवन कुमार चाम्लिङसित उभिएको फोटो सार्वजनिक गर्दा सिक्किम प्रशासनले शंकाको घेरामा राख्यो ।

तर, दुःखको कुरा यति नै थिएन । जुनसुकै देशको प्रहरीले जुनकुनै व्यक्तिलाई उसले चाहेको बेलामा छानबिन गर्न पाउँछ, हिरासतमा राख्न पनि पाउँछ । दुःखको कुरा त यो थियो कि सिक्किम र नेपालका आम नागरिक दुई खेमामा विभाजित भइदिए । हुँदाहुँदै कुरा एकदमै व्यक्तिगत तहमा झर्न थाल्यो । सिक्किमेली र नेपालीले एकअर्कालाई निकृष्ट भाषामा गालीगलौज गर्न थाले । यस्तो खालको भावनात्मक विभाजन धेरै नमीठो थियो । भूगोलको सीमारेखाले त हामीलाई विभाजित बनाइदिएकै थियो । त्यसले त के फरक पाथ्र्यो र ? मनै विभाजित भएपछि त साह्रै दुःख लाग्दो रहेछ । 

यस्तो समयमा उनै प्रथम नेपाली पोयट आइडल नीलम गुरुङको कविताको एक अंश मलाई पटक–पटक सम्झन मन लागेको थियो, 

ओ काठमाडौं

कसरी दिलाउँ न्याय तिमीलाई ?

जब म आफैं निर्दोष भएर पनि दोषी छु

कसरी लेखुँ तिम्रो सहरको कविता

म त आफ्नै देशमा विदेशी छु

..............................

०

इब्न बत्तुता को हुन् ? तपाईंले चिन्नुभा’छ ? मैले चिन्दिनँ । मुक्त ज्ञानकोश विकिपिडिया, ब्रिटानिका  लगायत विभिन्न स्रोतहरू भन्छन्, उनी हाल मोरक्कोमा पर्ने स्थानमा जन्मिएका एक विद्वान थिए, लेखक थिए । यात्रा गर्न रुचाउने यात्री थिए । उनको जन्म सन् १३०४ मा भएको थियो । उनले आफ्नो जीवनकालमा पचहत्तर हजार माइलभन्दा बढी यात्रा गरे । हाम्रो छिमेकी देश भारतसम्म पनि आएका थिए यात्रा गर्दै । उनले आफ्नो यात्रा संस्मरण पनि लेखेका थिए, ‘रिहला’ नामको किताबमा ।

अरू कुरा थाहा भएन तर तिनले भनेको भनिएको एउटा कुरा असाध्यै घत परेको छ मलाई,

‘यात्रा भनेको यस्तो कर्म हो, जसले तिमीलाई शब्दविहीन तुल्याइदिन्छ र कथावाचक बनाइदिन्छ ।’


यो कुरा मेरो लागि आश्चर्यचकित तुल्याउन खालको छ,

‘शब्दविहीन कथावाचक’ । 

कस्तो उपमा ! शब्दविनै कथा भन्नु, कथाकार बन्नु !


सिक्किम यात्राबाट फर्कँदा यस्तै विलक्षण र सुन्दर अनुभव हामीले पनि बोकी ल्याएका थियौँ । अबेलै पो भइसकेछ । यसलाई तात्तातै पस्कन सकिएन । केही बासी हुन गएको छ । तर, अनुभूति कहिल्यै बासी हुँदैन भन्ने विश्वासको दलिल पेश गर्न चाहेको छु ।

उनै बत्तुताले भनेका भनिएका थुप्रै अभिव्यक्तिहरू इन्टरनेटमा उपलब्ध रहेछन् । नेट अर्थात् जाल । अब त यो जाल पनि मामा शकुनिकै प्रतीत हुँदै जाँदो छ । एक वाक्य उनै बत्तुताले भनेको भनिएको छ,

‘यो संसार एउटा किताब हो, जसले यात्रा गरेन मानौं त्यसले एउटा मात्रै पाना पढ्यो ।’

यो भनाइ सन्त अगष्टिनको हो भनेर पनि केही ठाउँमा उल्लेख गरेको पाइन्छ ।

बत्तुताको यो अर्को वाक्य, ‘दुनियाँमा कुनै विदेशी भूमि छैन, विदेशी त यात्रा गर्ने यात्री हो ।’

फेरि तिनै बत्तुता बतुराउँछन्, ‘असल क्यामेरा तिमी आफूभित्रै छ अनि मधुर पल क्षणहरू तिमीले बाटो (यात्रा) मा बनाउन सक्छौ ।’

क्यामेरा आविष्कार भएको त सन् अठार सय समथिङतिर हो जस्तो लाग्छ । बत्तुताले तेह्र सय समथिङतिर कसरी ‘क्यामेरा’ भन्न सके ? होइन त यो शकुनिको पासो ?

तर नि, जसले भने पनि माथिका यी कथन अत्यन्तै सुन्दर लागे र यहाँ साभार गरेको हुँ । यात्राबारेका सुन्दर भनाइहरू अनेक भेटिन्छन् । जस्तै कि राल्फ वाल्डो इमर्सन भन्छन्, 

‘हामी सुन्दरता खोज्नका लागि बाहिर निस्कन्छौँ तर, सुन्दरतालाई हामीभित्रै राख्नु जरुरी छ । नत्र हामीले त्यो (सुन्दरता) कतै पाउनेछैनौँ ।’

रोय एम. गूडम्यान चाहिँ यसो भन्छन्, 

‘याद राख, खुसी भन्ने चिज यात्रा गरिरहनुमा छ, कुनै गन्तव्य भेट्नुमा होइन ।’ 

जेमी लिन बेट्टीको यो कुरा पनि उस्तै सुन्दर लाग्छ, 

‘नोकरीले तिम्रो खल्ती भरिन सक्छ तर यात्राले तिम्रो आत्मा भरिन्छ (अघाउँछ) ।’

संसारप्रसिद्ध उपन्यासकार, कवि तथा नाटककार अस्कर वाइल्डले त आदेशकै भाषामा भनेका रहेछन्, ‘कुनै पनि बहाना नबनाइ बाँच अनि कुनै पछुतो नमानी यात्रा गर ।’


बहाना बनाउने र पछुताउने कारण त कति हो कति । नखोजे पनि पाइन्छ । तर, यसपटक भने हामीले बहाना र पश्चात्तापलाई अनदेखा गरेका थियौँ । अचानकजस्तै बनेको थियो सिक्किम घुम्ने योजना । नेपालीभाषीको बाक्लो बसोबास रहेका भारतका पूर्वोत्तर राज्यहरूको कुनै भागमा जाने सोंचेका थियौँ । सिक्किम जाने अन्तिम टुंगो लाग्यो । 

सिक्किम मेरो सपनाको भूमि थियो । त्यहाँ सशरिर पाइला नटेक्दै पनि त्यसका बारेमा धेरै कुरा जानकारीमा थियो । नेपाली मूलको जनसंख्या भएका राज्यमध्ये धेरै समाचार र नेपालमा चर्चा हुने भनेकै सिक्किमको त हो नि ।


यो त्यही सिक्किम यात्राको दुःखसुखको सम्झना हो । 

 ०


(प्रकाशन नभइसकेको सिक्किम अनुभूतिकाे भूमिकाबाट)




10 October, 2024

फर्काउन नसकिने एउटा प्रेमको सम्झना

 जेबी दर्लामी 


आज ठिक ७ दिन भयो उसको आवाज सुन्न नपाएको । तर, यस्तो लागिरहन्छ ऊ यतैकतै छे । 

हामीसितै छे । 

पोहोर साल असार महिनामा ऊ काठमाडौंमा भेटिएकी थिई । कुनै गल्लीमा एक्लै बसिरहेको उसलाई भेट्याएर एकजना ड्राइवर काम गर्ने भाइले आफूले जागिर गर्ने अफीसमा लिएर आएछन् । आफूचाहिँ प्रायः गाडीमा डुलिरहनुपर्ने भएकाले यसको रेखदेख गर्न नपाएको पछुतो रहेछ उनलाई । कसैलाई दिन पाए हुन्थ्यो भन्ने लागिरहेको रहेछ मनमा । त्यसै समय ताराजी त्यहाँ पुगेको हुनुपर्ने । ‘एउटा कुकुरको बच्चा छ, घर ल्याउँ ?’ भनेर उहाँले मलाई सोध्नुपर्ने । कुकुर देख्नै मन नपराउने ताराजीको मनमा त्यो करुणा भाव उसकाप्रति कसरी जाग्यो होला ? मलाई आज पनि थाहा छैन । ‘छाउरा होइन छाउरी हो ।’ उहाँको थप भन्ने कुरा । ‘के फरक पर्छ र छाउरा र छाउरीमा ? दुवै बराबर ।’ मैले यस्तै भन्नुपर्ने । कुकुर बिरालोलाई हुरुक्कै माया गर्ने मजस्तो मान्छेलाई धेरै कुरा सोध्नै परेन । यसरी त्यो ३, ४ महिनाकी छाउरीले बुटवल आउने बस चढी । भिडियोकलमा उसको मुखको वरिपरि देखिएको गाढा कालो रङले विशेष आकर्षण गरेको थियो मलाई । 

लगातारको झरीबर्खा र पहिरोका कारण त्यो बसलाई काठमाडौंबाट बुटवल आइपुग्न दुई दिन लाग्यो । यसबीचमा ऊ बसभरिका मान्छेको प्यारी भइछ । सबैलाई भुकिछ । आफूसित भएको गर्भे दाँतले सबैलाई टोकिछ । सबैसित जिस्किछ । सबैको हातहातमा पुगिछ । 

बुटवल चौराहामा लिन गएको थिएँ, अर्को दिनको साँझ । उसलाई उचालेर गाडीमा राख्ने बेलामा मसित पनि खुब झर्कोफर्को गरी । भुकी पनि एकछिन । तीन महिनाको छाउरीको यत्रो ठूलो स्वर ? यत्रो होसियारी ? यत्रो चनाखोपन ? मलाई उसमा केही त छ भन्ने पहिलो भेटमै लागेको थियो । 

हुन पनि ऊ साह्रै ज्याद्रो भएर आई हाम्रो घरमा । अब ऊ छाउरी रहिन । ऊ त अब लुसी, लेसी अनि केके हुँदै लेक्सी भई ।  सानो आवाज कतै सुन्दा पनि कान ठाडा बनाइहाल्ने उसको त्यो आनीबानी समयसँगै बढ्दैगयो । शरिरले त ऊ छाउरी थिई, तर स्वर उसको छाउराकोजस्तो थियो । ठूलो र गहकिलो । स्वभाव पनि उस्तै । उसलाई हात मिलाउने र वासरुमभित्र जाने बानी भने कहिल्यै लगाउन सकिएन । हात दिँदा टोक्थी । दिसापिसाब आउँदा छतमा उक्लन्थी । उसको सुत्ने प्रिय ठाउँ भने म अध्ययन गर्दा बस्ने सोफा र किताबहरूको थुप्रोमुनिको खाली ठाउँ बन्यो । 

जाडो याममा भने ऊ हामीसितै सिरकभित्र घुस्रेर सुती । कहिले डल्लो परेर निदाएकी हुन्थी त कहिले मान्छेजस्तै लम्पसार बनेर । दिउँसोमा उसको ताल–तालका सुताई हुन्थे । केही फोटोमा सुरक्षित छन्, धेरै त छुटे । 


ऊ यहाँ आउने ताका सिँढी चढ्न र झर्न पनि डराउँथी । मैले नै उसलाई सिकाएको थिएँ तलमाथि गर्न । समय बित्दैजाँदा यो घर उसलाई सानो हुन थाल्यो । बाहिर निस्कन पाउँदा रमाउन थाली । तर सधैं बाहिर निकालेर खेल्न दिने समय हुन्थेन । हामीसँग फुर्सद पनि हुन्थेन । ऊ साँगुरो घरको दुई तलामा खुम्चन बाध्य भई । छतमा निस्केर सुकाएका जुत्ता मोजा च्यात्दै आफ्नो उर्जा खपत गर्न विवश भई । झन् पछि त आफ्नो छतबाट छिमेकीको घरको छत हुँदै बाहिर सडकमा आउन पनि सिकी । त्यसलाई रोक्न हामीले छतको पर्खालभरि गमला राख्यौँ र विभिन्न फलफूल लगायौँ । तर पनि उसको वेगलाई थाम्न सकिएन । त्यसपछि छतको ढोका पनि बन्द हुन थाल्यो । 



उसलाई हेरेर बस्ने हामीसित समय थिएन । प्रायः ऊ दिनभर एक्लै हुन्थी घरमा । साँझमा हामी घर पुग्दा ढोकामै झुण्डिन आउँथी र हामीलाई माया गर्थी । हातमा चाट्थी, गालामा पनि । सुस्तरी आवाज निकालेर अपनत्व देखाउँथी । 

कोही विराना मान्छे घर अगाडिको बाटो भएर हिँडेको थाहा पाए गेटमै गएर थर्काउँथी । साइकल डो¥याउँदै व्यापार गर्नेहरूको आवाजलाई आफ्नो आवाजले छपक्कै ढाकिदिन्थी । सानो छँदा त साङ्लो देखे पनि भुक्थी, भित्तामा देखिने स–साना कीरालाई पनि झम्टन जान्थी । पछि–पछि बिराला, मुसा केहीले पनि हाम्रो घरको गेटबाट भित्र चियाउन पनि पाएनन् । कोठाभित्र मस्त निद्रामा हुन्थी, तर बाहिर केहीको छिसिक्क आवाज आउँदा जुरुक्कै उठेर भुक्दै दगुर्थी । 

ऊ हुँदासम्म हामीलाई सुरक्षाको भाव आउँथ्यो मनमा । ऊ यहाँ हुँदासम्म घरमा केही कुराको डर छैन भन्ने लाग्थ्यो । आज ऊ छैन । यो क्रूर सहरमा कता–कता डर लागेको आभास हुन्छ । 

पोहोर साल यसै समयमा उसलाई अर्घाखाँची लिएर गएका थियौँ । पहिलोपटक ऊ यति खुला ठाउँमा पुग्न पाएकी थिई । भालुबाङबाट सिलिङखोलाको ६, ७ किलोमिटरको दूरीमा ऊ हाम्रो अघि–अघि हिँडी । धेरै नै अगाडि पुगेपछि भने फर्केर हामीलाई लिन आउँथी । बाटोमुनि बोटबिरुवाको झ्याङमा कसैले फालेको चाउचाउ र सुर्तीका खाली प्याकेटहरू नदेखेर पनि सुँघेरै पत्ता लगाउँथी । त्यो छोटो समयको यात्रामा प्रकृतिको आनन्द हामीलेभन्दा उसले बढी अनुभव गरी । यात्राको मजा हामीलेभन्दा बढी उसैले उठाई । 

घरमा पुगेपछि उसको ज्याद्रोपनले सीमा नै नाघ्यो । घरमा पालेका कुखुराहरूलाई लखेटेर हाराबारा पारी । खोरमा बसेका बाख्राहरूलाई भुक्नुसम्म भुकी । गोठको पाडोलाई पटक–पटक झम्टी । यति धेरै नयाँ कुरा उसले आफ्नो जीवनमै पहिलोपटक देखेकी थिई । घरी छक्क परी, घरी डराई, घरि आक्रामक बनी ।

त्यहाँबाट फर्केर बुटवल आएपछि उसको आनीबानीमा केही फरक देखियो । पहिलेभन्दा कम चञ्चल । अलि गम्भीर भएजस्तो । जीवनजगतलाई केही न केही फरक तरिकाले बुझी कि लाग्ने ।  

उसलाई सलाद मन पर्ने । भातभन्दा बढी रोटी मन पर्ने । काँक्रा र मासु सँगै दियो भने मासुभन्दा बढी काँक्रा रुचाउने । टेबलमा खुला छाडिराखेको मासु नै भएपनि मुख नलगाउने तर काँक्रा त निकालेरै खाने । स्टोर कोठामा गएर भेटिएजति काँचो कुरा खाइहाल्ने । आलू समेत । उसको यो बानीबेहोरा देखेर हामीलाई रमाइलो लाग्थ्यो । ऊ कुकुर हो भन्ने पनि लाग्न छाडिसकेको थियो । 

यसपटक घर जाँदा पनि हामीले उसलाई लिएर गयौँ । यसपटक भने मन बाँधेर हामीले उसलाई घरमै छाड्ने सल्लाह गरेका थियौँ । बुबाआमासँग पनि सोधिसकेका थियौँ । आमालाई साथी होला भन्ने पनि लागेको थियो । ७ दिन भएछ, उसलाई सिलिङखोला छाडेर हामी बुटवल फर्केको । हिँड्ने बेलामा उसलाई कोठामा थुनेका थियौँ । आँखाभरि आँसु थियो उसको । हामी हिँड्दैछौँ भन्ने उसले अघि नै थाहा पाइसकेकी थिई । झ्यालबाट टाउको निकालेर कराई । 



बाटोमा ताराजी बेस्सरी भक्कानिनुभो । मैले पनि मन थाम्न सकिनँ । कुकुरसित जोडिएका थुप्रै संस्मरण छन् मेरो मनमा । त्यसमा यो पनि एक थपियो । जे भएपनि घरमै छे, आमासित छे भन्ने सोँचेर मन बुझाएका छौँ । अझ बाबाले असाध्यै मन पराउनुहुन्छ कुकुर बिरालोलाई । ऊ त्यही फराकिलो ठाउँमा खुसी हुनेछ भन्ने विश्वास लिएका छौँ । बजारको गुँड त उसलाई उहिल्यै साँगुरो बनिसकेको थियो । 

अहिले आँगनमा आएर कोही बोल्दा कराउँदा लेक्सी किन भुकिन ? भन्ने मनमा आउँछ । ऊ यहाँ छैन भनेर थाहा पाउन एकछिन समय लाग्छ । सात दिनभित्र ४ वटा मुसा स्टोरकोठामा मारिसकेका छौँ । ऊ भएको भए तिनको यत्रो हिम्मत कहाँ हुन्थ्यो ? भन्ने लागिरहन्छ । कहिलेकाहीँ हामी अलि अबेलासम्म सुतेको देखे सिरानीमा आएर भुक्थी । अहिले पनि त्यो आफ्नोपन भरिएको आवाज सुन्न कान तृषित् छन् तर ऊ छैन । हामी यताउताबाट घर फर्कँदा बरण्डाबाट टाउको बाहिर निकालेर हामीलाई नै हेरिरहन्थी । 



अहिले पनि साँझ घर फर्कँदा उसलाई हेर्ने नजर स्वतः त्यतातिर सर्दारहेछन् । मूलढोका खोल्नासाथै आएर लुटुपुटु गर्ने उसको मायालु स्पर्शको अभाव उसैगरी खट्कन्छ । तनाव हुँदा उसलाई छोए मात्रै मन केही हलुका हुन्थ्यो । अब त त्यो भारी बिसाउने मुलायम ठाउँ पनि बाँकी छैन । 























०

२०८१ असोज २४

(बुटवल) 


15 September, 2024

थिरी, भायोलिन र मनि दाइ

 


जेबी दर्लामी


सन् २०१२ तिरको कुरा हो यो ।

मलेसियामा रहेर बसेर केही लेखिरहेका नेपाली लेखकका किताब खोजेर किन्ने पढ्ने क्रममा मनि राई ‘गोठाले’को कथासङ्ग्रह ‘युद्ध समाधि’ हातमा परेको थियो । जम्मा १६ वटा कथाहरू समेटिएको यस सङ्ग्रहका अधिकांश कथाका अधिकांश प्रसङ्ग मैले बुझिनँ । बुझ्दै बुझिनँ । मैले नबुझ्दैमा ती कथा नबुझिने खालका हुन् भन्ने चाहिँ होइन र तपाईंले पनि बुझ्नुहुन्न भन्ने पनि होइन । तर त्यही सङ्ग्रहमा रहेको ‘दिलासाका सिरिञ्जहरू’ शीर्षकको कथाले भने मलाई भित्रै तहमा छोयो । मैले पटक–पटक पढेँ यो कथालाई । कथाभन्दा कुनै भावुक संस्मरणझैँ लाग्ने यो कथा मलाई यति धेरै मन प¥यो कि आफ्नै तालमा रेकर्ड गरी थुप्रै रात सुन्दै निदाएको थिएँ । 

कथाको सार यस्तो छ :

बर्मा (म्यानमार) बाट एउटी युवती आफ्नो पिता जन्मेको भूमिको खोजीमा नेपाल आउँछे । उसको नाम हो थिरी । उसको भेट लेखक (म पात्र) सँग धरानमा हुन्छ । त्यसले ठेगाना लेखिएको कागज देखाउँछे । किरिङमिरिङ देखिने बर्मेली लिपिमा त्यो लेखिएको हुन्छ । अँग्रेजीमा उल्था गर्दा त्यो ठेगाना नाम्जाङ, धनकुटाको हुन्छ । तर, ठ्याक्कै कुन गाउँ केही थाहा हुँदैन । थिरी आफ्नो पितृभूमिमा त पुग्छे तर गाउँघर पत्ता लाग्दैन । हरेस खाएर ऊ यत्तिकै आफ्नो देश फर्कन्छे, बर्मा ।

पछि म पात्रलाई निमन्त्रणा आउँछ थिरीको । ऊ बर्मा पुग्छ र थाहा पाउँछ, थिरी उम्कनै नसक्नेगरी लागुपदार्थको लती भएकी हुन्छे । उसको केटा साथी इनवाले उसलाई लगभग छाडिसकेको हुन्छ । म पात्रको कविताको मर्मलाई थिरीले भायोलिनमा स्वर दिएर बजाउँछे । सारै राम्ररी भायोलिन बजाउँछे थिरी । एकप्रकारको आत्मीयता झाङ्गिदै जान्छ, म पात्र र थिरीबीच । उनीहरू माछा मार्न ईररावदी नदीमा सँगै जान्छन् । सँगै बस्छन्, घुमघाम गर्छन् । उसलाई नेपाल ल्याएर आउने र कुनै सुधारकेन्द्रमा केही समय राख्ने म पात्रको इच्छालाई थिरीले हाँसेर टारिदिन्छे । म पात्र एक्लै फर्कन्छ बर्माबाट । अनि कथा सकिन्छ । कथा सकिन्छ तर थिरीको आगत के भयो ? भन्ने उत्सुकताले पाठकलाई कहिल्यै छाड्दैन । 

त्यही उत्सुकता बोकेर म पनि १२ वर्ष हिँडिरहेँ । थिरीको त्यो पातलो शरीर कहिलेकाहीँ मेरो अगाडि उभिन्थ्यो । लागुपदार्थले सुकेको त्यो ज्यान । ती स्याना पाखुरा कन्याइरहेकी । 

थिरीको पातलो ज्यान, फुक्काफाल व्यवहार र जीवन जगतप्रतिको उसको साक्षी भावले पाठकलाई तरङ्गित गराइरहन्छ । के थिरी वास्तविक पात्र हो ? हो भने ऊ ज्यूँदै होली ? या दुव्र्यसनको दलदलमा भासिएर उसको मृत्यु भइसक्यो ? पाठकको मनमा यसप्रकारका प्रश्नले अवश्यै पिरोल्छन् । मलाई पनि यस्तै भएको थियो । ड्रग भरेको सिरिञ्जले घोँच्दाघोँच्दा अब उसको हातमा यति सानो सिरिञ्जको टुप्पो अटाउने ठाउँ पनि बाँकी छैन । यो कुरा थिरी आफैले स्वीकार गर्छे । के कारण ऊ यस्तो दुव्र्यसनमा परी ? के कारण ऊ आफ्नै जीवनसँग यति धेरै कठोर हुन सकी ? के कारण उसलाई बाँच्न मन छैन ? यी प्रश्नहरूले मलाई कयौं दिन कयौं रातसम्म उठक बैठक गराइरहे ।  

सोंचेको थिएँ कुनै दिन लेखकसँग भेट हुँदा यो कथाका बारेमा अवश्य सोधूँला । एक दिन त्यो मौका जुरेको पनि थियो, मलेसियामा । क्वालालम्पुरको होटल गोर्खामा कथाका लेखक मनि राई ‘गोठाले’सित भेट हुन पाइएको थियो । आदिवासी जनजाति महासंघ, मलेसिया शाखाले राखेको एक कार्यक्रममा दाइ र म अतिथिका रुपमा निमन्त्रित थियौँ । कार्यक्रमपछि हामीले भेटघाट ग¥यौँ । दाइसँग केही मान्छेहरू पालैपालो आए । त्यसपछि टेबुलमा बियर र सितनहरू आए । अनि त मैले मनभरि सँगालेर ल्याएका प्रश्न जस्ताकोतस्तै फर्काएर आएँ । केही पनि सोध्न सकिनँ यस विषयमा । के भयो भयो, मनको कुरा मनमै रह्यो । 

मलेसियामा मनि राई ‘गोठाले’ कुनै अचिनारु नाम थिएन । त्यहाँ बितरण हुने करिब आधा दर्जन नेपाली साप्ताहिकमध्ये कुनै न कुनैमा प्रायः उहाँको कार्टून प्रकाशित हुनेगर्दथ्यो । मलेसियाले कामदार विजा दिनुभन्दा धेरै अघि नै त्यहाँ पुग्नुभएका मनि दाइ सबै नेपालीका अभिभावक हुनुहुन्थ्यो । अझ साहित्य लेख्ने पढ्नेहरूले त उहाँलाई त्यो विरानो भूमिमा मियो नै मान्ने गरेका थिए । उहाँ हामी सबैको मनि दाइ हुनुहुन्थ्यो । 

त्यसपछि सन् ’१४ तिर एक्काईस वर्षको प्रवास बसाईंपछि दाइ नेपाल फर्किनुभो । म पनि ’१७ मा स्वदेश आएँ । जीवनमा अनेक घटना परिघटना भए । हामीले एकअर्कालाई भेट्न त के फोनमा कुरा पनि गर्न सकेनौँ । दाइ आफ्नै संसारमा व्यस्त, म आफ्नै दुनियाँमा हराएँ । 

तर, यसपाली दाइसँग भेट्ने सुअवसर प्राप्त भयो करिब १२ वर्षपछि । मेरो नयाँ उपन्यास ‘मारीखोलाको ढुङ्गो’ प्रकाशनपछि ताराजी र मैले एकपटक देश भ्रमण गर्ने योजना बनायौँ । मेची महाकाली उपन्यास लिएर हिँड्ने हाम्रो इच्छा थियो । किताब बेच्नुभन्दा पनि नयाँ साथीहरूसँग परिचय स्थापित गर्ने र पुरानासँग सम्बन्ध नवीकरण गर्ने भन्ने थियो । किताब त नेपाञ्लयले प्रकाशित गरेको थियो । हामीले झोलामा बोकेर हिँड्न कुनै बाध्यता थिएन ।

बुटवल, भैरहवा र अर्घाखाँची (सन्धिखर्क) मा ‘मारीखोलाको ढुङ्गो’को विमर्श भव्यताका साथ सम्पन्न भइसकेका थिए । २०८१ जेठ १२ र १३ गते गोरखामा भएको नेपाल मगर सङ्घको राष्ट्रिय सम्मेलनमा भाग लिएपछि हामी दुईजना बुटवल फर्केनौँ । उतैबाट पूर्व हान्नियौँ । १४ गते गोरखाबाट एघार बजेतिर हिँडेको हामी बर्दिबास बास बस्न पुग्यौँ । अर्को दिन घुमफिर गर्दै इटहरी गइबस्यौँ । १६ गते दमकमा स–सानो कार्यक्रमपछि बिर्तामोडमा बसाई भयो । १७ गते बिर्तामोडमा वरिष्ठ गीतकार शिवशङ्कर थापाको प्रमुख आतिथ्यतामा उपन्यासबारे परिचयात्मक कार्यक्रम सम्पन्न गरेर हामी धरान बास बस्न पुगेका थियौँ । धरानमा कार्यक्रमको सबै संयोजन मनि राई ‘गोठाले’ दाइले गर्नुभएको थियो । 

साँझ धरानको एक होटलमा दाइले हामीलाई आत्मीयतापूर्वक स्वागत गर्नुभयो । १२ वर्षपछि सशरीर पुनः एकअर्कालाई देख्न भेट्न पाएर हामी दाइ भाइ दुवैलाई खुसी लागेको थियो । बेहद खुसी । हामीले पुराना कुरा कोट्यायौँ । ‘नुरी’ उपन्यासमा राख्न भनेर दाइलाई भूमिका लेखाएको थिएँ मैले तर प्रकाशन गर्दा त्यसलाई राख्न सकिएन । कारण, दाइलाई पढ्न दिँदा त्यो ११ वटा लामा कथाहरूको सिलसिला थियो । कथावस्तु एउटै तर हरेक कथा आफैंमा स्वतन्त्र थिए । जुनसुकै कथा पढेपनि फरक नपर्ने । सुरुको पानाबाट मिलाएर पढ्नै नपर्ने । त्यो खालको लेखन नयाँ हुन्छ कि भनेर पनि सोंचेको थिएँ । तर पुनर्लेखन गर्दा ‘नुरी’ एक उपन्यासको रुपमा आयो । दाइले लेखेको भूमिका असान्दर्भिक हुने लागेर त्यसमा राखिएन । 

जेठ १८ गते बिहानै दाइले आफ्नो घरमा बोलाउनुभयो । धनकुटा रोडमा रहेछ घर । वरिपरि विभिन्न बोटबिरुवाको हरियालीले घेरेको ठाउँ । भाउजू विमला राईले फरासिलो व्यवहारका साथ हामीलाई स्वागत गर्नुभयो । चिया नास्तापछि भाउजू र ताराजी उता दुःखम्सुखम्मा व्यस्त हुँदा यता दाइ र म मलेसियालाई सम्झेर नोस्टाल्जिक भयौँ । दाइले मसँग भएको भेटको तिथिमिति सप्पै भुलिसक्नु भएछ । म पनि अल्मलिएँ । दाइ भन्नुहुन्छ, ‘हाम्रो भेट भएको थियो सन् २००८ मा । क्वालालम्पुरको नेपाली होटल द गोर्खामा ।’ म भन्छु, ‘हाम्रो भेट सन् २०१४ तिर होला भएको, गोर्खा होइन होटल लोजिनामा ।’ पछि म विश्वस्त हुन्छु, होटल चाहिँ दाइले ठिकै सम्झनुभयो तर, तारिखचाहिँ होइन । पछि बुटवल फर्केर मैले आफ्ना पुराना डायरी खोतलखातल पारेँ । सन् २०१५ को मार्च २२ मा मैले लेखेको डायरीको पाना फेला प¥यो । त्यस दिन नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया शाखाले एक कार्यक्रम गरेको रहेछ । क्वालालम्पुरकै भूभागमा पर्ने बाङसार भन्ने ठाउँमा । नेपालबाट ज्ञानेन्द्र पुनमगर (अहिले नेपाल मगर संघ, केन्द्रीय समिति अध्यक्ष) लाई प्रमुख अतिथिका रुपमा आएका रहेछन् । उनी त्यतिबेला आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष थिए । मलाई पनि अतिथिको रुपमा बोलाइएको थियो । अतिथिका तर्फबाट सम्बोधन चाहिँ मनि दाइले गर्नुभएको रहेछ । त्यो पनि डायरी हेर्दा खुल्यो । त्यही दिन रहेछ दाइसित भेट भएको । पहिलोपटक ।

थुप्रै सम्झनाहरू थिए दाइको मनमा मलेसियासँग जोडिएका । २१ वर्ष निरन्तर रुपमा त्यो देशमा बस्नु । अवैधानिक रुपमा त्यो पनि । उतिबेलैको भेटमा दाइले भन्नुभएको थियो, ‘मलाई त मलेसियन मूलको चाइनीज भन्ठानेर यहाँको प्रहरीले पनि समात्न सक्दैन ।’ मेरो पनि यस्तै अनुभव थियो । मेरो अनुहार चाहिँ मलेजस्तो भएर कहिल्यै प्रहरीको चेकजाँचमा परिनँ । दुईपटक गरेर साढे ६ वर्ष बस्दा पनि । एकदुईपटक हूलमूलमा मात्रै त्यसखालको चेकिङमा परेको थिएँ । 

अनि मैले कुरा उठाएँ, दाइको कथासङ्ग्रहको । ‘युद्धसमाधि’को । त्यस सङ्ग्रहको कुरा उठ्दा स्वाभाविकै थिरीको कुरा चल्ने नै भयो । मैले सोधेँ,

‘थिरी के वास्तविक पात्र हो ?’

मनि दाइको अनुहार मलिन भयो । उहाँले भन्नुभो, ‘हो, ऊ वास्तविक पात्र हो ।’

त्यसपछि दाइले थिरीको कथा सुनाउनुभयो, 

विक्रम सम्वत् २०४० तिरको कुरा हो । एउटी बर्मेली ठिटी धरान आइपुगी । साथमा उसले आफ्नो केटा साथीलाई पनि ल्याएकी थिई । केटीको नाम थिरी, केटाको चाहिँ इनवा । थिरीको पिताको घर धनकुटा थियो । उनी जवान अवस्थामा बर्मा पुगे । उतै बर्मेली केटीसँग बिहे गरे । सन्तानका रुपमा दुई बहिनी छोरी जन्मिए, थिरी र मार्ला । त्यसपछि उनी उतै मरे । नेपाली बस्ती जिनकाइटको नजिकै घर पर्ने भएका कारण अलि–अलि नेपाली भाषा पनि जानेकी थिई थिरीले । आफ्नो पिताको जन्मभूमि देख्ने उत्कट इच्छाले उसलाई डो¥याएर नेपालसम्म ल्याएको थियो । उसले ठेगाना लेखेको कागज मनि दाइलाई देखाई । थिरीले नै त्यसलाई अँग्रेजीमा अनुवाद पनि गरी । त्यो हुनआयो, नाम्जाङ ३, धनकुटा, नेपाल । 

थिरी र इनवालाई लिएर मनि दाइ धनकुटातिर लाग्नुभएछ । हिलेमा बास भयो । त्यहाँ थिरी र इनवाले ड्रग लिएको प्रसङ्ग त्यो कथामा छ । त्यो पनि सत्य नै रहेछ । उनीहरूले ब्राउन सुगर तानेका रहेछन् । मनि दाइलाई अचम्म लागेछ, उनीहरू लठ्ठिएको देखेर । उनीहरूले दिएको काँचो सुपारी खाएर आफू पनि घण्टौं बेहोश भई सुतेको मनि दाइले बताउनुभयो । 

गाउँघर पत्ता नलागेपछि थिरी निरास भएर आफ्नो देश फर्की । लगत्तै थिरी धरान आई । अप्रत्यासित जस्तो । के–के खोजेर नपाएजस्तो । धरानकै पुरानो निजी स्कूलमा उसले पढाउन थाली । ब्राउन सुगरको लतबाट छुट्कारा पाउने त उसको पनि इच्छा थियो होला । मरे पनि आफ्नो पितृभूमिमै मर्ने उसको रहर थियो होला । अँग्रेजी धेरै राम्रो थियो उसको । क्षमतावान् शिक्षिका थिई ऊ तर समाजमा असल बन्न सकिन । लागुपदार्थको बन्धन तोड्नै नसकेपछि उसलाई यो भूमिमा बसिरहन पनि उचित लागेन होला । छँदाखाँदाको जागिरलाई चटक्कै भुलेर ऊ दोस्रोपटक बर्मा फर्केर गई । 

पछि मनी दाइलाई उनीहरूले बर्मा डाके । त्यतिबेलै मनी दाइलाई लागेको रहेछ, थिरी अब यो ड्रग्सको साङ्लो तोड्न सक्तैन । हुन पनि त्यस्तै भएछ । ब्राउन सुगर तान्दातान्दै थिरीको प्राण सदाका लागि उडेर गयो । उसले आफ्नो पिताको गाउँलाई देख्नै नपाई सदाका लागि आँखा चिम्ली ।

थिरीलाई सम्झेर मनी दाइ केहीबेर गम्भीर हुनुभयो । मलाई पनि उसको दुःखान्त थाहा पाउँदा नरमाइलो लाग्यो । अझै पनि थिरीलाइ चिन्न सकिएन । उसलाई जान्न सकिएन । ऊ लागुपदार्थको दलदलमा गाडिएको त थाहा भयो तर किन त्यसरी गाडिई ? यो प्रश्न भने अझै पनि मेरो मनमा आइरहन्छ । यो कुरा मनी दाइलाई पनि सायद थाहा थिएन । मेरो यो प्रश्नमा मौन धारण गर्नुभएको मनी दाइको अनुहारमा हेरेर यस्तै सोचिरहेँ । 

केही समयको मौनतापछि मनि दाइ बसिरहेको खाटमा उठ्नुभो । किताब राखेको दराजमाथि राखेको भायोलिन केस निकाल्नुभो । त्यसभित्रबाट एउटा पुरानो भायोलिन निस्कियो । त्यही रहेछ थिरीले बजाइरहने भायोलिन । मनि दाइको कवितालाई सुरमा ढालेर उसले बजाएको भायोलिन । त्यो भायोलिन मनि दाइको नाममा थिरीले आफ्नो पितृभूमिलाई चढाएको सायद एउटा सुन्दर उपहार थियो । 

त्यस भायोलिनलाई मेरो हातमा राखिदिनुभयो, मनि राई दाजुले । त्यसलाई धेरैबेर काखमा राखेर मुसारिरहेँ । कतै थिरीले आफ्नो केशमा सिउरिएको केँवराको फूलको बास्नाजस्तो नाकभित्र पसेको महसुुस भयो । त्यतिबेलै ब्राउन सुगरको नमिठो गन्ध पनि नाकमा परेजस्तो महसुस भयो । यस्तो पनि महसुस भयो, थिरीको अतृप्त इच्छाको धमिलो छायाँ यतै कतै हल्लिइरहेको छ । 

०

२०८१ भदौ ३०
(बुटवल) 

Featured Post

रापतीका चिराहरू

देउखुरी उपत्यकाबाट देखिएकाे रापती नदी । फोटो : जेबी दर्लामी