Total Pageviews

29 June, 2026

मन रोएको एक यात्रा : बुटवलदेखि सिमरा




जेबी दर्लामी

एक अवसर प्राप्त भयो यात्रा गर्ने । हरेक यात्रा मलाई थप अवसरजस्तै लाग्छन् । यात्रामा धेरै कुरा सिक्न सकिन्छ । नयाँ साथीहरुसँग चिनापरिचय हुन सकिन्छ । नयाँ ठाउँहरु देख्न पाइन्छ । नयाँ चालचलन र परम्पराहरुसँग साक्षात्कार पनि हुन पाइन्छ । तसर्थ मलाई यात्रा गर्न बेस्सरी मन लाग्छ । यात्रा गर्ने बहाना खोजिरहन मन लाग्छ ।

२०८३ असार १२ गते । यस्तै एउटा यात्रा जुरेको थियो बारा जिल्लाको सिमरासम्मको । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तीन दिने कार्यक्रममा मधेश र लुम्बिनी प्रदेश समितिलाई एकै ठाउँमा भेट हुने संयोगको संयोजन केन्द्रीय समितिले गरेको थियो । सहभागी हुनेमा लुम्बिनी (मगरात) प्रदेश समितिको उपाध्यक्षको हैसियतमा मेरो नाम पनि पठाइएको रहेछ र यसरी आउन पाएको थिएँ । 

प्रदेश अध्यक्ष लगायतका साथीहरु दाङबाट आउँदै थिए, स्कार्पियो रिजर्व गरेर । त्यसैमा बुटवलबाट केन्द्रीय सचिव मिलन गाहा र मलाई पनि राख्नेगरि उनीहरु आउँदै थिए । खोइ, कसको योजना या सल्लाहले हो, सिमरा पुग्न नयाँ बाटो जाने निर्णय भएछ । सुस्ता त्रिवेणीबाट भारत पस्ने र भारतको सडकमार्ग हुँदै वीरगञ्ज निस्कने । त्यही सल्लाहअनुसार हामीलाई भैरहवा बोलाइयो । मिलनजी र म त्यहाँ गएर उक्त समूहमा सामेल भयौँ ।  

गाडी भैरहवादेखि हुलाकी मार्ग हुँदै पूर्व लाग्यो । गोपीगञ्ज आइपुगेर हामी बर्दघाटतिर उक्लेनौँ । नेपालको सडकमार्ग भएर बर्दघाट, दाउन्ने, आरुङखोला, चोरमारा, डण्डा, कावासोती, थुम्सी, गैंडाकोट, भरतपुर (चितवन), हेटौँडा, पथलैया हुँदै सिमरा पुगिने थियो । तर हामीले रोजेका थियौँ भारतको बाटो । नयाँ ठाउँ भएर यात्रा गर्नुको रोमाञ्चक कल्पना एउटा थियो । त्योभन्दा बढी हामी कार्यक्रममा पुग्न यसै ढिला भइसकेका थियौँ र हामीलाई सुनाइएको थियो, भारतको बाटो भएर आउँदा करिब दुई घण्टा छिटो आइपुगिन्छ । एकसय किलोमिटरकै फरक पर्ने समेत भनिएको थियो । मलाई भने नयाँ बाटो भएर जाँदा कति ठाउँमा अलमल परिने पक्का छ भन्ने लागेको थियो । साथीहरुलाई यो कुरा भनेको पनि थिएँ । नभन्दै त्यस्तै भयो । गण्डक ब्यारेजको वारि नेपालतर्फ माछाभात खाएर पारि भारततर्फ पुग्नासाथै हामीलाई यो कुराको आभास भइसकेको थियो । त्यहाँ हामीलाई रोकेर गाडी र चालकको नाम दर्ता गर्न मात्र भनिएन, हाम्रा झोला गाडीबाट निकालेर मेशिनमै राखेर स्क्यानसम्म गरियो । स्थलमार्ग भएर भारत प्रवेश गर्दा यो प्रकारको अनुभव मैले जीवनमै पहिलोपटक गरेको थिएँ । नेपालीलाई सीमामा अतिरिक्त चेकजाँच गर्ने मानौं माथिको आदेश ती सुरक्षाकर्मीहरुले पालना गरिरहेका थिए जस्तो लाग्यो । अनि मेरो मनमा केही महिनाअघि नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संसदमा उभिएर भनेका कुरा झल्याँस्स सम्झना भयो । ‘भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको छ’, हो यही भनेका थिए हाम्रा प्रधानमन्त्रीले । सम्पूर्ण युद्धसामग्रीसहित अर्को देशको सेनाले कुनै देशको भूभाग कब्जा गरेर बस्नु र दशगजामा दुवैतिरका बासिन्दाले एकअर्काको देशको जमिनमा भैंसी प्रवेश गराउनुबीचको भिन्नता मात्रै पनि हाम्रा प्रधानमन्त्रीले बुझेका भए त्यसरी बोल्ने सायद थिएनन् होला, त्यो पनि देशको सर्वोच्च कार्यकारी स्थानबाट । उनले त्यसरी बोलेकोमा गल्ती स्वीकार गर्ने कष्ट पनि गरेनन् तर, त्यो बोलीका कारण नेपाली जनताले झेल्नुपरेको र अझै झेल्नुपर्ने देखिएको कष्ट भने असाध्यै पीडादायी र डरलाग्दो छ । उनको त्यही बोलीकै बलमा निकै लामो समयपछि भारतीय सेना सुस्तामा पस्यो हतियारसहित । ती घुसपैठियाहरुको प्रतिकार गर्न नेपालको सरकार र त्यस मातहतका निकायहरु निकम्मा सावित भइदिए । परचक्रीले भिरेको हतियारको समेत डर नमानी मैदानमा उत्रिए स्थानीय जनता । हो त, आजसम्म सुस्ताको भूमि बचाइराखेका त्यहीँका जनताले हुन् । सलाम गर्छु म, सुस्ताका ती नेपाली जनतालाई । 

हाम्रा प्रधानमन्त्रीको त्यस वचनपछि सुस्तामा मात्रै होइन, देशका विभिन्न स्थानमा भारतीय एसएसबी प्रवेश गरेको खबर स्थानीय जनताबाट सुन्दै आइएको छ । कति ठाउँमा रातारात सीमा मिचेर पुल बनाइएका घटना पनि सुन्न पाइएको छ । भारत सरकार, त्यहाँका कूटनीतिज्ञहरु, कर्मचारी, सुरक्षा बल र आम भारतीय जनताको समेत नेपाल र नेपालीलाई हेर्ने नजरमा हेयको मात्रा बढिरहेको प्रत्यक्ष अनुभूति गर्न परिरहेको यथार्थ कसैले लुकाउन सक्तैन होला । 

नारायणी (भारतले भन्ने गण्डक) नदीको पुल तरेर हामी भारतको बिहार प्रान्तमा प्रवेश गरेका थियौँ । सीमा बजारको नाम वाल्मिकी नगर रहेछ । स्कार्पियोभित्र हामी नौजना थियौँ । चेकपोइन्टमा हाम्रा झोला गाडीबाट निकालेर स्क्यान गरिएको थियो । तत्पश्चात् चालकलाई धेरैबेर त्यहाँ अल्मल्याइयो । उनलाई अनेक अनावश्यक प्रश्न सोधेर हैरान पारियो । उनको बाउआमाको नामसम्म सोधियो । पुल तरिनसक्दै मन अमिलो भइसकेको थियो । पुलदेखि तल्लो भेगमा नदी लगभग सुकेकोजस्तो देखिन्थ्यो । पानी सबै पुलनिरै थुनेर भारततर्फको नहरमा खसालिएको थियो । अलि वर आउँदा त्यो नहर पश्चिम, दक्षिण र पूर्व दिशातर्फ बिहारको भूमिमा सिंचाई पु¥याउन पानीले डम्मै भरिएर बगेको थियो । हामी पूर्वतर्फ बगेको नहरको छेउ भएर गुडेका थियौँ । 

त्रिवेणीबाट भारतको बिहार प्रदेश भएर वीरगञ्ज पुग्न नेपालको बाटोभन्दा धेरै छिटो हुने भनेर कसैले भनेको भरमा हामीले यत्रो चुनौती हातमा लिएका थियौँ । सुरुमै भारतीय सुरक्षाकर्मीहरुबाट पाएको अतिरिक्त चेकजाँचको हेपाहापूर्ण व्यवहारले मन खिन्न भइसकेको थियो । झन्पछि झन् नेपाली सिमले काम गर्न छाड्यो । न कसैलाई फोन गर्न सकियो न त नेट चलाएर म्याप हेर्दै हिँड्न नै सकियो । हामी त अचानक कुहिरोको काग बन्यौँ । नहरको छेउ भएर सानो सडक बनेको रहेछ । पूरा गियरमा लगातार गाडी हाँक्न सक्ने अवस्था थिएन । पछाडि फर्कौं, धेरै पर पुगिसकिएको छ । अगाडि बढौँ, अब अझै कति अगाडि बढ्नुपर्छ भन्ने नै थाहा छैन । कुनै अनिश्चयको यात्रामा हामी यसरी होमिएका थियौँ । 

एक ठाउँमा गाडी रोकेर एक बिहारी युवकसित हामीले सोधेका थियौँ, ‘यो सडकमार्ग भएर वीरगञ्ज पुगिन्छ कि पुगिन्न ?’ भनेर । उसले बताएको थियो, ‘वीरगञ्ज होइन इनरवा पुग्छ यो सडक । त्यहीँबाट नेपाल प्रवेश गर्न सकिन्छ ।’ हामी उसको कुरामाथि विश्वास गरेर अगाडि बढिरह्यौँ । अविश्वास गर्ने पनि विकल्प कतै बाँकी रहेको थिएन । 

स्कार्पियोले गति लिइरह्यो । कहीँ कतै चार र पाँच गियरमा कुद्यो । धेरै ठाउँमा त तीन गियर नै पर्याप्त भयो उसलाई । भारत छिर्ने समयमा दिनको ठिक एक बजेको थियो । त्यो दोपहरको प्रचण्ड घाममा गाडीभित्रको वातानुकूलित प्रणालीले काम गर्न छाडेपछि हामीले त्यसका सबै झ्याल खोलेर बाहिरको हावा खाएका थियौँ । बल्ल राहत पाएको थियो ज्यानले । मनको उकुसमुकुस भने बाँकी नै थियो । 

हामी गुडिरहेको सडक छेउ भएर यत्रो ठूलो नहर बेगवान् थियो । ठाउँ–ठाउँमा उत्तरतर्फ बिजुली मोटर जोडेर त्यो नहरको पानी खेतसम्म पु¥याइएको थियो । दक्षिणी भेगका खेतहरुमा भने नहरमै ढोका बनाएर पानी पठाइएको थियो । नहरको दुवैतिर खेतमा हरियाली व्याप्त थियो । मकै लगायत विभिन्न खेतीपाती राम्ररी सप्रेका देखिन्थे । कहीँ स–साना बजार आए । धेरैजसो गाउँ नै देखा परे । बजार पनि फोहोरको कारखाना भन्न मिल्ने । यत्रतत्र फोहोर मात्रै । गाउँ त गाउँ नै भइहाल्यो । 

हामी कहाँ छौँ ? गाडी कहाँनिरबाट गुडिरहेको छ ? कसैलाई थाहा थिएन । नौ जनाकै मुखमा एउटै ठाउँको नाम घरिघरि आइरहेथ्यो, इनरवा । कसैले इनरुवा भन्यौँ, कसैले इनवारु । वास्तविक नाम मुखाग्र गराउन निकै नै बल लगाउनुपरेको थियो । 

पटक–पटक फोनको डाटा खोलेर हेरेँ । अहँ, नेटवर्कको त कुनै नामनिशाना थिएन । धेरैबेर गुडिसकेपछि बल्ल फोनमा प्राण पसेजस्तो भयो । गूगल म्याप खोलेर हेर्दा हामी नेपालको माडी र ठोरीको ठिक मुनि भारतीय भूभागमा थियौँ । यहाँबाट नेपालको सीमा केही नजिक पर्दोरहेछ र नेपाल टेलिकमको नेटवर्कले थोरै काम गरेको रहेछ । इनरवा पुग्न भने त्यहाँबाट अझ धेरै टाढा थियो । केही छिनपछि टेलिफोनमा डाटाको शक्ति हराउन थाल्यो । यो मन फेरि डराउन थाल्यो । 

इनरवा आइपुग्दा मनै भरङ्ग भयो । हाम्रो देब्रे छेउबाट बगिरहेको नदीजस्तो नहर अचानक बेपत्ता भएको थियो । म पनि गाडीमा देब्रेतिरकै झ्यालमा बसेको थिएँ । त्यसैले त्यो आँखा बिझाउने दृश्य हेर्दिनँ भनेपनि हेर्नुप¥यो । नहरको संरचना उस्तै छ, उत्रै छ तर, पानी एक थोपा पनि छैन । अझ सीमामा भारतीय सुरक्षाकर्मीले थप तर्साए । हामीलाई ‘जुन बाटो आएको हो त्यही बाटो फर्केर नेपाल जाऊ’ भनियो । साथीहरुले टुटेफुटेको हिन्दीमा कुरा गरेर यो समस्यालाई सुल्झाए । हामी अन्ततः नेपाल प्रवेश ग¥यौँ । 

शरिरको दुःख केही कम भएको थियो । आफ्नो देशमा आइसकेको हुँदा शरिरको थकान केही होइनजस्तो लाग्न थालेको थियो तर, छेउमा देखा परिरहेको सुखा नहरले भत्भती मन पोलिरह्यो । सीमापारि हरियाली खेतबारी यता भने फुस्रो धुलो उडिरहेको थियो । छिमेकीसँग त्यसै कहाँ रिस उठ्छ र हामीलाई ? हामी त्यस्तो मूर्ख पनि कहाँ छौँ र नचाहिने कुरामा रिसाइहाल्नलाई ? 

यसपटकको यात्रा यस्तै भयो । करिब चार घण्टाको बाटोभरि यो मन अमिलो र आँखा पिरो भइरह्यो । जब आफ्नो मात्रै भलो चाहने छिमेकी पर्छ, व्यक्ति होस् या देश– त्यसले धेरै फरक पार्दोरहेछ । यस्तो व्यवहारले त छिमेकी हुनुको नातासम्बन्धै मार्दोरहेछ ।