Total Pageviews

Showing posts with label किताब. Show all posts
Showing posts with label किताब. Show all posts

21 May, 2026

सम्पादकीय (मगरातका छोरीहरू)

सन् २०२४ को सुरुआतमै मैले यो लेखनको थालनी गरेको थिएँ । दुई वर्ष भएछ यो लेखेर राखेको । प्रकाशित हुने अवसर भने बल्ल आएको छ ।

म आफ्नो समुदायको कथा लेख्ने सोचमा थिएँ । हाम्रो समुदायभित्र लेख्नुपर्ने यति धेरै सामग्रीहरू छन् कि ती सबै लेखिसक्दा एक विशाल पुस्तकालय बन्न सक्छ । तर, कमै लेखिएका छन् । एक त, हाम्रो समुदायमा लेख्नुपर्ने विषय लाखौँ छन् र कलम चलाउने लेखकहरू एकदमै कम छौँ । सबैले सबै विषयमा लेख्न सक्ने क्षमता कसैसँग हुन्न, हामी सँग पनि छैन । अर्को कुरा, अरू समुदायका लेखकले हाम्रो समुदायको विषय लेख्न गाह्रो छ । हाम्रो या कसैको समुदायभित्रको कुनै पनि विषयमा लेख्न त्यो समुदायको भूगोल, बसोबास, संस्कार संस्कृति, भाषा र वेशभूषा बुझेर मात्रै चल्दैन । कुनै पनि समुदायको आफ्नो मनोविज्ञान हुन्छ । यो झनै महत्वपूर्ण विषय हो । समुदायको आम प्रवृत्ति र मनोविज्ञानको अध्ययन नगरी केही लेख्न सकिन्छ भन्ने मलाई लाग्दैन । यिनै कारणले हाम्र्रा गहन विषयहरू लेखोटका रुपमा बाहिर आउन नसकिरहेको अवस्था छ । अर्को दुःखको कुरा, अनुसन्धान गरिरहेका, लेखिरहेका र प्राज्ञिक कर्म गरिरहेका मगर विज्ञ, लेखक र प्राज्ञहरू पनि हाम्रो समुदायले जन्माइरहेको त छ, तर पाठकहरू भने निकै नै कम छौँ । कम पनि छौँ र कमजोर पनि । आजसम्म लेखिएका गहन विषयवस्तुका पुस्तक हामीले पढ्न नै अल्छी गरिरहेका छौँ । ती पुस्तकसम्बन्धी मिहीन अध्ययन गर्न, त्यसमाथि धारणा बनाउन र त्यसको सत्यतथ्य पर्गेल्न र अभ्यास गर्न त झनै टाढाको कुरा भएको छ । उता आफ्नै (मातृ) भाषामा लेख्ने र पढ्ने लेखक तथा पाठकको पीडा योभन्दा बढी गहिरो छ । पढ्ने, चिन्तन मनन र बहस पैरवी गर्ने समय हामीसँग छैन । भएको समयमा पनि अरू काममा व्यस्त छौँ वा हुनुपर्ने बाध्यता पनि छ । एकाग्रतामा बल दिनुपर्ने हाम्रो मस्तिष्कमा प्रविधिको चरम विकासले गर्दा सही÷गलत सुचनाको भेलबाढी यस्तरी पसिरहेको छ कि त्यो सङ्लिने अवस्था तत्काल देखिँदैन । बरु त्यसले हाम्रो चेतनाको तहलाई क्षय गर्दै लगेको छ । यस्तो अवस्थामा लेखन÷पठनको संस्कृति राम्रोसँग स्थापित नभइकनै धरापमा परेको छ भन्न मन लाग्छ । कुनै पनि समुदायलाई उँभो लगाउने भरपर्दो माध्यम नै लेखन÷पठन हो । यही माध्यम नै संकटमा परेपछि हाम्रो समुदाय पनि दिनदिनै उँधो गतितर्फ ओर्लनुपरिरहेको अवस्था अत्यन्तै सोचनीय छ । 

हाम्रो समुदायमा यति धेरै सुधार गर्नुपर्ने विषय छन् कि त्यसमाथि पनि सयौँ किताब लेख्न सकिन्छ । हजारौँ श्रव्यदृश्यका सामग्री निर्माण गर्न सकिन्छ । समुदायलाई अगाडि बढाउनका लागि हामीमा भएका नकारात्मक पक्षकाबारेमा चर्चा परिचर्चा हुनेछ र हुनु पनि पर्नेछ तर, त्यसभन्दा अघि हामीसँग भएका सकारात्मक पक्षलाई सबैका सामु ल्याउनुपर्ने खाँचो छ । हाम्रा सबल कुराको प्रचारप्रसार हुन जरुरी छ । हामीले कमाएको आत्मसम्मानको कथा सबैलाई सुनाउनु जरुरी छ । यो किताब लेख्नुको उद्देश्य यो पनि एउटा हो । 

नेपाली समाज र आफ्नो समुदायलाई यथेष्ट योगदान दिएर आफूलाई स्थापित गराएका र कतै गुमनाम समेत भएका मगर महिलाका बारेमा कमै चासो र कुराकानी हुने गरेको छ । यस्तै कम महत्व बनेका अथवा बनाइएका विषयउपर लेख्ने मेरो इच्छा थियो । त्यही इच्छाले घचेट्दै यति काम गर्न लगायो । तर, लेखिसकेको लामो समयपछि पनि यसले प्रकाशित हुन पाएन । ल्यापटपको स्क्रीनमा लेख्दै मेट्दै गरिरहेँ । पछिल्लो समय त आफूले लेखिसकेका पंक्तिहरूलाई नै अद्यावधिक गर्नुपर्ने अवस्था आयो । किनभने दुई वर्षको अवधि धेरै लामो हो र यति लामो समयमा नेपाली समाजमा थुप्रै उथलपुथल र फेरबदल भइसकेको छ । यसबाट हाम्रो समुदाय पनि बाँकी रहने कुरै भएन । 

यस पुस्तकमा जति जनाको संक्षिप्त परिचय समेट्न सकेँ, मलाई लाग्छ कि उहाँहरूका बारेमा लेख्ने नै हो भने प्रत्येकको एक सिंगो किताब बन्न सक्छ । एउटै व्यक्तिका बारेमा विभिन्न कोणबाट लेख्ने हो भने एकभन्दा बढी किताब पनि बन्न सक्छ । यतातिर हातमा कलम हुनेहरूले ध्यान दिए हुन्थ्यो भन्ने पनि लाग्छ । 

यो किताब मैले (मात्र) लेखेँ भन्दिनँ । यसमा समावेश भएका सामग्री थुप्रै पत्रपत्रिका र अनलाइनमा प्रकाशित भइसकेका हुन् । तिनलाई एकै ठाउँमा सङ्कलन र सम्पादन गर्ने काम मात्रै मैले गरेँ । यसर्थ म ती सबै सञ्चारमाध्यमलाई धन्यवाद दिन चाहन्छु । यसका साथै जहाँ–जहाँबाट फोटोहरू साभार गरेँ, ती सबैप्रति पनि आभार व्यक्त गर्दछु । सम्पादकीय भूमिका रहे पनि त्यसको मानक या कसीलाई पछ्याउन (समयाभाव या अध्ययनको सीमाका कारण) नसकेकोमा भने आफैप्रति खेद प्रकट गर्दछु । 

यस परिचयात्मक पुस्तक (पुस्तिका भने हुन्छ) पहिलो संस्करण हो र समेट्नुपर्ने सबैलाई क्रमशः अन्य संस्करणमा थप्दै र परिमार्जन गर्दै जाने वाचा गर्दछु । 

यो किताब पूरा भइसकेपछि विषयक्रम मिलाउन मलाई असाध्यै गाह्रो भयो । एउटै उपाय रह्यो, पहिलो नामअनुसारको वर्णानुक्रममा मिलाउने । मैले त्यही गरेको छु । यसलाई कसैले अन्यथा लिनुहुने छैन भन्ने विश्वास पनि लिएको छु । त्यसैगरि अर्को समस्या सर्वनाम प्रयोगमा भोगेँ । यहाँ समावेश सबैजना मेरो दृष्टिमा अत्यन्तै आदरणीय हुनुहुन्छ । सबैलाई म बराबर आदर सम्मान गर्दछु । तथापि मैले नेपाली मिडियाले चलनचल्तीमा ल्याइरहेको तरिका प्रयोग गरेको छु । यसबाट पर्न गएको असुविधाप्रति पनि क्षमायाचना गर्दछु । 

लेखनका लागि लामो समय लगाइएको भएपनि प्रकाशनको समयमा केही हतार भएको छ । यहाँ धेरै कमीकमजोरी पक्कै छन् । आउँदा दिनमा सच्याउँदै जानेछु । विद्वान पाठकले एक मौकाका साथै रचनात्मक सल्लाह र सुझाव पनि दिनुहुनेछ भन्ने सधैं अपेक्षा रहनेछ ।


जेबी दर्लामी 

02 August, 2025

अर्घाखाँची : नेपाल ‘एकीकरण’ हुनुअघि (किताब अंश)

      

 नेपालको वर्तमान राजनैतिक र भौगोलिक नक्सा बन्नुअघि अर्घाखाँची विशाल मगरात अन्तर्गतको एक भूभाग थियो । २०६८ को राष्ट्रिय जनगणनामा अर्घाखाँची जिल्लाको कुल जनसंख्या १९७६३२ र मगर जातिको संख्या ३५५८४ अर्थात् कुल जनसंख्याको १८ प्रतिशत देखिएको छ ।१ 

अहिले संख्याका हिसाबले मगर जातिको आँकडा कम देखिएपनि यो भूमि विगतको कालखण्डमा मगरातअन्तर्गत नै पर्दथ्यो भन्ने प्रमाण भने प्रशस्त पाउन सकिन्छ । सबैभन्दा ठूलो प्रमाण त यहाँ पुस्तौंदेखि बसोबास गर्ने बासिन्दाको जनजिब्रोले उच्चारण गर्ने तथ्य नै हो । अर्घाखाँची मात्र होइन, प्यूठान, गुल्मी, बाग्लुङ लगायत छिमेकी जिल्लाका आम मानिस यो भेगलाई अझैपनि ‘मगरात’ भन्दछन् । नेपालका शासकहरूले मगरात राज्यको ऐतिहासिक भूभाग, भाषा, धर्मसंस्कृति, इतिहास र मनोविज्ञान मेटाउन अनेक प्रयास गरेका भएपनि यहाँ बसोबास गर्ने बासिन्दा र भूगोलले नै कुनै समय यो भूमि मगरात थियो भनी थुप्रै प्रमाण प्रस्तुत गरिरहेका छन् ।


के हो मगरात ?

अर्घाखाँचीका अनेकन् गढी, चउर, थुम र कोटहरूको नाम देख्दा यो भूभाग कुनै समय विशाल मगरातअन्तर्गत नै थियो भनेर सहजै मनन गर्न सकिन्छ । यहाँका धेरै ठाउँहरूका नामका पछाडि ‘बाङ’ जोडिएको छ । उदाहरणका लागि, अर्लिबाङ, करेबाङ, ढाकाबाङ, थेरबाङ, दुरबाङ, धातिबाङ, पाथ्राबाङ, फुदबाङ, बलेबाङ, मनबाङ नाम गरेका स्थान अहिले पनि अर्घाखाँचीमा पर्दछन् । यीमध्ये ढाकाबाङ र धातिबाङ त राज्य पुनर्संरचना हुनुअघि (२०७३) सम्म सिंगो गाविस नै थिए । अहिले ढाकाबाङ भुमिकास्थान नगरपालिका र धातिबाङ पाणिनि गाउँपालिकामा पर्दछ ।

यहाँबाट पश्चिम लागेपछि प्यूठान, रोल्पा र रुकुमका सघन मगर वस्तीहरूमा भएका ‘बाङ’ त कति छन् कति !

मगर भाषा तीन प्रकारका छन् । एक, मगर खाम जो राप्ती नदीपारिका जिल्लाहरू प्यूठान, रोल्पा, रुकुम र दाङमा बोलिन्छ । मगर ढूट जो पाल्पा, स्याङ्जा, तनहुँमा अत्यधिक बोलिन्छ र अर्को मगर काइके जो डोल्पा र हुम्लातिरका मगरहरू बोल्ने गर्दछन् । ‘बाङ’ भनेको मगर खाम भाषामा ‘समथर चउर’ हुन्छ ।२ 

यतिबेला पछाडि बाङ जोडिएका स्थानहरू प्रायः मगर खाम भाषा बोल्ने भूभागमा पर्ने हुँदा र त्यसको अर्थ मगर खाम भाषासितै मिल्ने (जस्तै, लि भनेको बाँस र बाङ भनेको चउर मिलाएर लिबाङ) भएकोले त्यो समय अर्घाखाँचीमा पनि मगर खाम भाषाको वर्चस्व थियो कि भनेर अनुमान लगाउन सकिन्छ । कालान्तरमा यतातिर खश भाषाले आधिपत्य जमाउँदै गएपछि मगर भाषा लोप हुँदै गएको हुनुपर्छ । प्यूठानका पूर्वी भेगका मगरहरू पनि अर्घाखाँचीका मगरलेझैं आफ्नो भाषा बोल्न जान्दैनन् । अझ मगर जातिको बाहुल्यता रहेको गुल्मी जिल्लामा पनि कुनै प्रकारको मगर भाषा नबोलिनुको कारण अर्थपूर्ण छ ।

अर्घाखाँचीभन्दा पूर्वतिर पर्ने पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी आदि जिल्लामा बोलिने मगर ढूट भाषामा समथर चउरलाई जनाउने आफ्नो भाषा नदेखिएको हुँदा यता बोलिने मगर नेपाली भाषामा खश नेपाली भाषाको प्रभाव परेको भन्न सकिन्छ । खश भाषाको प्रभाव गण्डकी क्षेत्रमा मात्र परेको होइन, यसको प्रभाव त सिंगो नेपालमै परेको हो । उदाहरणका लागि, रोल्पामा पर्ने एक प्रसिद्ध फाँटलाई अहिले धेरैले ‘माडी चउर’ भनेर चिन्छन् तर, त्यहाँका स्थानीयले ‘माडी बाङ’ भन्ने गर्दछन् ।

यसैगरी अर्घाखाँचीमा रहेका अनेकन् कोटहरूले पनि यो भूभाग पहिले मगरात प्रदेशको एक हिस्सा थियो भन्ने प्रमाण दिन्छन् । खाम मगर भाषामा   ‘कोई’को अपभ्रंश रुप नै आजका ‘कोट’हरू हुन् । 

अध्येता बमकुमारी बुढामगर लेख्छिन्, ‘मगर राज्यको शासन केन्द्र कोई र खलंगा नामले स्थापित भए । मगर भाषामा ‘कोई’ भनिने शब्दलाई भारोपेली उच्चारणमा ‘कोट’ भन्ने चलन बनाइयो । कोई शब्दको व्यूत्पत्ति      ‘बा+कोई’ बाट भएको हो । ‘बा’को अर्थ ‘भाले’ र ‘कोई’को अर्थ ‘बास्नु’ हुन्छ । बाकोई बेला (भाले बास्ने समय) राजाले प्रजालाई कचहरीका लागि खबर गर्ने अग्लो ठाउँ भन्ने बुझिन्छ । कोइवाले हुँदै कोटवाले–कतवाले–कटुवाल बनेको शब्दको अर्थ पनि अग्लो ठाउँबाट दमाहा, नगरा, झ्याली बजाएर ‘खुतयान्या’ (सुचना) दिने व्यक्ति भन्ने हुन्छ ।’३ 

अर्घाखाँचीमा पनि आजसम्म थुप्रै ठाउँहरू ‘कोट’का रुपमा परिचित छन् । जस्तै, अर्घाकोट, असुरकोट, उप्रीकोट, केरुङ्गाकोट, खाकोट, खाँचीकोट, खुम्चीकोट, गैंडाकोट, घोचाकोट, छत्रकोट, जयकोट, जुवाकोट, जैनी (जोगिनी) कोट, ढाकाबाङकोट, तुमकोट, थपकोट, थामकोट, थारकोट, दमारेकोट, नुवाकोट, बरमकोट, बलकोट, मगराकोट, मरुवाकोट, माझकोट, मिर्लिङकोट, रामकोट, रिकोट, लौरीकोट, सल्लीकोट, सामकोट आदि । 

तर पछिल्लो समय प्रायः सबै कोटहरूमा मन्दिर निर्माण गरिएको र ‘कोट’लाई ‘मन्दिर’को रुपमा बुझ्ने तथा बुझाइने गरेको पाइएको छ ।

किरातपछि शासनको मूलधारमा आएका लिच्छवी भनिनेहरू पनि मगर नै हुन् भन्ने केही अनुसन्धाताहरूको दाबी छ । केशव सूर्यवंशीका अनुसार मगरहरू नै लिच्छवीका रूपमा देखा परेका हुन् र उनीहरूले नेपाललाई इतिहासमै स्वर्णयुगमा पु¥याएका हुन् । तर हिजोका ती वैभवशाली लिच्छवीहरू आज कहाँ छन् त भनेर नेपालका इतिहासकारहरू बोल्न चाहँदैनन् ।४ 

गण्डकीदेखि पश्चिम र कर्णालीदेखि पूर्व मगरात थियो भन्ने अनेक प्रमाणहरूले पुष्टि गरेका छन् । केही उदाहरण :

कल्हणकृत राजतरङ्गिणी ४ : ५३१ मा नवौं शताब्दिमा खश काश्मीरका राजा जयापीडलाई नेपालका राजा अरमुडिले पराजित गरेको बताइएको छ । राजतरङ्गिणी ५ : ५४५ मा अरमुडिको किल्ला कालीगण्डकी किनारमा रहेको उल्लेख भएकाले अरमुडि मगर राजा भएको अनुमान हुन्छ ।

नेपाल सम्वत् ११९ अर्थात् वि. सं. १०५५ मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणकको उल्लेख छ । सुनको कारोबार गर्ने भएकाले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकी नजिक गुल्मीका मगर भएको बुझिन्छ ।५ 

वि. सं. ११२६ तिर लमजुङका गंग रानकले सारेको अष्टसाहस्रिका प्रज्ञापारमिता नामको बौद्धग्रन्थको प्रतिलिपि पाइएको छ ।६

नेपाल सम्वत् २२१ अर्थात् विक्रम सम्वत् ११५७ को एक अभिलेखमा मंग्वर विषयको सताडे भन्ने ठाउँका झान्टेश्वर महादेवको पूजाआजाको प्रबन्ध मिलाउन श्री इदाभावो नायक, श्री धक्नप नायक र श्री सोहव रानेलाई नाईके छानिएको कुरा लेखिएको छ । 

विक्रम सम्वत् १२०७ तिरको एक हस्तलिखित ग्रन्थको पुष्पिकावाक्यमा उल्लिखित पन्नग विषयलाई पनि मगरातकै विषय मानिएको छ ।७

तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण, वुवार वुदा राने, ओम राण, देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे, पाक आदि राने, राणे, राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरूमध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रूपमा सम्मानित छन् ।

राणक पदले सामन्त राजालाई जनाउँथ्यो । उत्तरमध्यकालमा उपत्यकाका लक्ष्मीनरसिंह र प्रताप मल्लका पालाका अभिलेखमा ब्राह्मण, प्रधान, खश र मगरहरूलाई विशेष महत्व दिएर उल्लेख गरिएको छ ।

यसैगरी कर्णालीपश्चिमका भूभागमा खशहरूको राज्य थियो र उनीहरू बौद्ध धर्मबाट प्रभावित थिए । अहिले पनि सुर्खेतको काक्रेविहार, जुम्लाको मिचागाउँ चैत्य, अछामको कुचीविहारका भग्नावशेषले त्योबेला खश साम्राज्यमा अंगीकार गरिएको बौद्धधर्मको साक्षी दिइरहेका छन् ।८

अनुसन्धाता बालकृष्ण पोखरेल खस कुनै जाति होइन बरू महाजाति हो भन्छन् । अर्थात् उनका अनुसार खस धेरै प्रकारका जाति मिलेर बनेको एक महाजाती हो ।९

ईसाको नवौं शताब्दीको अन्त्यतिर आएर भारतका आदि शङ्कराचार्य हिन्दु धर्मको प्रचार र विस्तार गर्दै कुमाऊँ, गढवालसम्मै आएका थिए । पछि उनी अहिलेको काठमाडौंसम्मै पुगे । धेरै बौद्धमार्गीलाई हिन्दुधर्ममा ल्याए । उनै आदि शङ्कराचार्यले बौद्ध धर्मका लाखौं ग्रन्थहरू जलाउन लगाएको कुरा पनि विभिन्न इतिहासकारहरूले जनाएका छन् तर, यसको प्रमाण भने कतै पाइएको उदाहरण छैन ।

विशाल मगरात प्रदेशमा विभिन्न गुट र कलह थियो । राजनैतिक रूपमा पाँचओटा गुटबन्दी थियो भनी प्रसिद्ध इतिहासकार ह्यामिल्टनले लेखेका छन् । उनकाअनुसार लमजुङ, पाल्पा, भिरकोट, मालिजङ (पर्वत) र प्यूठान राज्यले विभिन्न स–साना रजौटाहरूसित मिलेर शासन चलाइरहेका थिए ।१०

पृथ्वीनारायणको उदय हुँदासम्म माथिका यी राज्यहरूमा मगर, खश, गुरुङ जातिले शासन गरिरहेका थिए । तर, एकआपसमा रहेको कलह, डाह, ईष्र्या र गुटबन्दीले गर्दा नै उनीहरू नयाँ शासकको हातमा परेको हुनुपर्छ ।


को हुन् मगर ?

नेपालका प्रख्यात समाजशास्त्री जनकलाल शर्माका अनुसार मध्य एसियाबाट हिमाल नाघेर अहिलेको नेपाल देश हुँदै भारतको गंगा नदीको छेउछाउसम्म प्रवेश गरेका हूणहरू नै अहिलेका मगरहरू हुन् ।११ 

तिनै हूणहरूले अहिले नेपाल भनिने देशका धेरै भूभागमा आफ्नो राज्य निर्माण गरेका थिए । विशेषगरी गण्डकी र कर्णाली नदीका बीचमा पर्ने भूभाग उनीहरूको क्षेत्र थियो । तिनै हूणहरू पछि मगर कहलाइए र उनीहरूको बसोबास क्षेत्र मगरात भनियो ।

अर्का समाजशास्त्री डा. हर्षबहादुर बुढामगरकाअनुसार अहिलेका मगरहरू मध्यएसियाबाटै आएका हेप्ताल जाति थिए र उनीहरूलाई पनि सेता हूण नै भनिन्थ्यो ।१२

शर्मा र बुढामगर यो कुरामा समान विचार राख्दछन् कि हूण र हेप्तालहरू मध्यएसियाबाटै नेपालमा प्रवेश गरेका हुन् र उनीहरूको संस्कृति पनि मिल्दोजुल्दो थियो । त्यसरी हेर्दा हूण र हेप्ताल जातिको सम्मिश्रणबाट नै आजको विशाल मगर जातिको विकास भएको हुनुपर्दछ ।

किरात धर्मशास्त्र मुन्धुमलाई उद्धृत गर्दै बुढामगर लेख्छन्, ‘हिमालयको उत्तरी भेगतिर सिन नामक स्थान थियो । त्यहाँ मगरहरू पहिलोपटक देखा परे । सिन र चितु नामका अगुवाको नेतृत्वमा उनीहरू उत्तरबाट दक्षिणतिर झरे । यी दुईबाट बाह्र जाति सृजना भयो ।’

पाल्पा, मकवानपुर आदि राज्यमा शासन गर्ने राजाहरूको ‘सेन’ थर नभई पदवी थियो कि भन्न सकिन्छ ।


पूर्वी युरोपमा पर्ने देश हङ्गेरीमा मग्यार भनिने एउटा जाति छ । मिसेज बोडा सरोल्टाको नेतृत्वमा २०५३ तिर एउटा टोली नेपाल भ्रमणमा आएको थियो । उनीहरूको उद्देश्य थियो कि हङ्गेरीका मग्यार र नेपालका मगर जातिबीचको समानता पहिल्याउने । 

उनीहरूलाई विश्वास के थियो भने मग्यार र मगर एकै हुन् । हुनपनि हङ्गेरी देशको सुरुको तीन अक्षर मात्र पढ्दा हूण नै बन्छ । हङ्गेरीमा चलेको एक जनश्रुतिअनुसार मध्यएसियाबाट युरोप प्रवेश गरेका हूण  नामका दाजु र मग्यार  नामका भाइको संयुक्त नाममा अहिलेको ज्गलनबचथ देश बनेको हो ।

बुढामगरले नेपालका मगर र हङ्गेरीका मग्यारका बीच समानता देखाउने अर्को प्रमाणका रूपमा विश्वप्रसिद्ध भाषाविद् मोरिस स्वेडेसले ईस्वीसम्वत् १९९५ अर्थात् वि. सं. २०५२ मा गरेको एक सर्वेक्षण प्रस्तुत गरेका छन् जहाँ यी दुई जातिको भाषामा २० प्रतिशत समानता देखिएको थियो ।

अर्का अनुसन्धाता प्रोफेसर जिसेप टूचीले लेखेका छन्, ‘हूणहरूले पश्चिममा हङ्गेरी र रोमलाई समेत थर्काएर राखे भने पूर्वमा बेइजिङसम्मलाई ।’१३

मध्यएसियाबाट आएका हूणहरू नै नेपालका मगर हुन् भन्नेमा अब कतै दुई मत नहोला तर, हिमाल नाघेर अहिलेको नेपाल रहेको भूखण्डमा प्रवेश गरेका मगरहरू यत्तिमै सिमित रहे कि यहाँबाट पनि अन्यत्र फैलँदै गए ? भन्ने प्रश्नको जवाफ पनि खोज्नु सान्दर्भिक देखिन्छ ।

यसै प्रसङ्गमा यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने मगरजातिलाई नागजाति पनि भनिएको पाइन्छ । अध्येता विजय सागरले लेखेका छन्, ‘सेन वंशावलीमा मगरजातिलाई नागजाति उल्लेख गरिएको छ । किराँत जातिलाई सिंह, लिम्बुलाई महाव्याध्र र मगरलाई नागजाति भनिएको छ ।’१४

मगर जातिभित्र अथवा मगर जाति नै नागवंशी थिए भन्नेमा धेरै अनुसन्धानहरूले देखाएका छन् । साहित्यकार एवं पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितले प्राचिन पुस्तकहरूमा उल्लेख गरिएको नागजाति सर्प नभई मानिसको कबिला अथवा गण थियो भनेका छन् । नागको पूजा गर्ने भएकाले उनीहरूलाई नाग भनियो ।१५


डा. केशवमान शाक्य पनि यो कुरालाई स्वीकार गर्दछन् । ‘यस्तो थियो मगरको स्वर्णिम इतिहास’ शीर्षक आलेखमा उनी लेख्छन्, ‘अहिले भारतमा पर्ने मगधसम्मै मगरहरूको शासन थियो ।’१६

मगर भाषाका जानकार विद्वान एम.एस. थापामगरलाई उद्धृत गर्दै शाक्य थप लेख्छन् कि ‘बुद्धले बोल्ने भाषा पाली वा मागधी थियो र त्यो ब्राह्मी लिपिमा लेखिने गरिन्थ्यो । लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपि त्यही थियो र उक्त लिपि मगरहरूको थियो । यसरी हेर्दा मगध राज्य र मगरहरूको सम्बन्ध राम्ररी जोडिएको पाइन्छ ।’ 

तर, मगर भाषाका अर्का विद्वान डा. हर्षबहादुर बुढामगर ब्राम्ही लिपि मगरहरूको थियो भन्नेमा स्पष्ट हुन नसकिएको बताउँछन् ।१७

जे भएपनि प्राचीन समयमा मगरहरू तिब्बतदेखि गंगाको समतल भूभागसम्म फैलिएका थिए र उनीहरू समृद्ध थिए भन्नेमा सबै अनुसन्धाता, लेखक तथा विद्वानहरूका एक मत देखिएका छन् ।

सिक्किममा मगर जोङ्गा अर्थात् मगर किल्ला थियो र त्यहाँका मगर राजाको नाम सिन्तु सतो सेन थियो जो सिक्किमका प्रथम मगर राजा थिए । काङ्वाचेन नदीको उपत्यकामा मगरजातिको राज्य थियो । त्यहाँ अझैपनि मगरजातिको प्राचीन बजार, बस्ती र किल्लाहरूको भग्नावशेष छँदैछ ।१८

भौगोलिक सीमारेखा कोरिएर अलग–अलग बन्नुपरे पनि अहिले भारतीय उपमहाद्वीपमा पर्ने भूभागमा बसोबास गर्ने एकै खालको शारीरिक बनोट र नाकनक्शा भएको जाति एकै हो भन्न सकिने आधार छन् । विभिन्न समयमा उदाएका शासकहरूले मगर जातिलाई छिन्नभिन्न पार्न थुप्रै प्रकारका षडयन्त्र गरेका थिए । त्यसको पछिल्लो कडीको रूपमा नेपालको वर्तमान राज्य पुनर्संरचनालाई लिन सकिन्छ ।

आजभन्दा १२२ वर्षअघि अर्थात् ई. सं. १८९८ मा नेपाल आएका प्रख्यात फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीले त्योबेलामा पनि यो देशमा मगर जातिको अधोगति सुरु भइसकेकोतर्फ इंगित गर्दै यस्तो लेखेका छन्,

‘गोरखा राज्यमा अरू पुराना दुई जाति छन्– मगर र गुरुङ । पृथ्वीनारायण र उनका उत्तराधिकारीहरूले यी दुई जातिलाई आफ्नो फौजमा इज्जतसाथ राखे तर हिन्दु समाजमा बडो होसियारीसाथ मात्र ल्याए । नेपालको हिन्दु समाजमा यिनीहरूको स्थिति अझ पनि निश्चित छैन । मगरहरूको खशसँग पुरानो सम्बन्ध थियो । खश र मगर नेपालको इतिहासमा ईस्वीको चौधौं शताब्दीतिर एकैपटक देखा परे । ... 

मुसलमान आक्रमणबाट भागेर आएका रजपूतहरूलाई यिनीहरूले आत्मीयता देखाई स्वागत गरे, आफूसँग राखे र पछि उनीहरूलाई नै आफ्नो मुखिया बनाए । ठाकुरहरूका बारेमा यसै भन्न नसकिए तापनि धेरैजसो खशहरू त वास्तवमा मगर रगतका हुन् । हिमाली क्षेत्र आसपासमा बस्ने अरूहरू जस्तै मगरहरू पनि तिब्बती मूलका हुन् । 

यिनीहरू पनि मासु र रक्सी खूब खान्छन् । यिनीहरूमध्ये जसले हिन्दु धर्म स्वीकार गरी गाईको मासु खान छोडे उनीहरूलाई ब्राह्मणहरूले क्षत्री वा खशको दर्जा दिए । जात परिवर्तनको यो अभियान चल्दै रह्यो । तर ब्राह्मणहरू बलिया भएपछि जात परिवर्तनको विषयमा उनीहरू त्यति उदार रहेनन् । ... आफ्नो इज्जत बढाउन भर्खरै जात फेर्नेहरूले हिन्दु अभिजातीय वंशसित आफूलाई काल्पनिक किसिमले जोड्न थाले, जस्तै– सूर्यवंशी, चन्द्रवंशी ।’१९

मलेसियामा बस्ने आदिवासीले आफूलाई मले या मलायु भन्दछन् । ईस्लाम धर्म अप्नाउनुअघिसम्म उनीहरू पनि प्रकृतिपूजक नै थिए । त्यसरी हेर्दा पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्मै मगरजातिको भूमि थियो कि भन्ने प्रश्न उठ्ने प्रशस्तै कारण देखिन्छन् ।

लेखक प्रश्रितका अनुसार, ‘नागाल्याण्डका बासिन्दाले आफूहरूलाई आजसम्म पनि नाग भन्ने गरेका छन् । ‘नागा’ त अँग्रेजले आफ्नो भाषामा राखिदिएको नाम हो ।’२०

उनको कुरालाई मान्ने हो भने नागाल्याण्डमा पनि मगरहरूले शासन गरेका थिए र अहिले पनि त्यहाँ उनीहरू आदिवासी अर्थात् भूमिपुत्रकै दर्जामा बसेका छन् भन्न सकिन्छ ।

मगरजातिको पहिलो शत्रु भारततिरबाट आएको वैदिक आर्यजाति थियो जसले नेपालकोे भूभागमा राजनैतिकभन्दा पनि धार्मिक राज्य विस्तार ग¥यो । त्योभन्दा अघि कर्णाली भूभागमा आएका खश जातिसित मगरजातिको सम्बन्ध मित्रवत् नै रहेको देखिन्छ । त्यसो हुनुको कारण खश र मगरजातिबीचमा धेरै चालचलन मिल्दाजुल्दा थिए ।

प्रा. डा. सूर्यमणि अधिकारी लेख्छन्,

‘अझैपनि जुम्ला, बझाङ र जाजरकोटतिर मतवाली क्षत्रीहरूका ठूल्ठूला गाउँहरू छन् । जुम्लातिर मतवाली क्षत्रीलाई ‘पावई खश’ भन्ने चलन छ । पाखा–पखेरामा बस्ने हुनाले यिनीहरूलाई ‘पावई’ भनिएको हो । यिनीहरू जनै लगाउँदैनन् र परम्परादेखि नै मदिरा सेवन गर्न स्वतन्त्र छन् । यसर्थ यिनीहरूलाई मतवाली क्षत्री भनिन्छ । यिनीहरूका रीतिस्थिति हिन्दु परम्पराबाट बढी प्रभावित छन् तापनि ब्राह्मण पुरोहितको आवश्यकता ठानिंदैन । यिनै अपरिवर्तित मतवाली–क्षत्री अथवा पावई खश नै प्राचीन खश जातिका विशुद्ध अवशेष मानिन्छन् ।’२१

अधिकारीको अनुसन्धानअनुसार त्योबेलाका खशजाति र मगरजातिबीच स्वभावतः ठूलो भिन्नता पाउन गाह्रो हुन्छ । 

समाजशास्त्री डोरबहादुर विष्टले आफ्नो चर्चित किताब ‘सबै जातको फूलबारी’मा खश जातिका बारेमा यस्तो लेखेका छन्,

‘हाम्रा थुपै्र खश दाजुभाइहरूले आफू सफल, सम्पन्न र ठूला मानिस भएका बेला ठकुरी क्षत्री बनेर बाँकी हामीजस्ता गरिब अशिक्षित मानिसहरूलाई आफन्तै भए पनि खसेका मतवाली भन्दै ‘तल्ला जात’मा खसालेर राख्न ‘खस पावै’ भन्ने अपमानजनक शब्द प्रयोग गर्दै आएका थिए । त्यसैकारणले हामीहरूलाई पनि आफू खश हौँ भनेर स्वीकार गर्न धेरै लाज लाग्थ्यो । कसैले हामीलाई खश भनेमा रिसाउने र चित्त दुखाउने गर्दै आएका थियौँ । त्यसो त आज पनि थुप्रै खशहरूलाई आफू खश हौँ भनी स्वीकार गर्न लाज र असजिलो लाग्छ । खश हुनाको कारण उपेक्षापूर्ण व्यवहार पाउँदै आएका हुनाले हामीलाई अरूले खश भनिदिँदा अपमानित भएजस्तो लाग्छ । तर, खशवाहेक अरू कुनै नाम राख्न मिल्ने हाम्रो अर्को जातीय नाम पनि छैन ।’२२


भारतबाट वैदिक आर्यहरूको प्रवेशपछि विस्तारै अवस्था परिवर्तन भयो । खशहरू पनि पूर्णतया हिन्दुकरणमा परे । कुमाऊँको बाटो हुँदै पश्चिम नेपालमा प्रवेश गरी जुम्लाको सिञ्जामा आफ्नो राज्यप्रशासनको केन्द्र बनाउनुभन्दा अघि नै खशहरू हिन्दुधर्मप्रति आंशिक रूपमा आकृष्ट भइसकेका थिए ।२३

वैदिक आर्यहरूको प्रवेशपछि त नेपालमा हिन्दुधर्मको विस्तार झनै व्यापक भइदियो । यहाँ फेरि विष्टको भनाई राख्नु सान्दर्भिक होला । उनी थप लेख्छन्,

‘घरमा परेको सामाजिक, धार्मिक, सांस्कृतिक काम जति सबै हाम्रै धामीबाट गराउने र मष्ट, बाँटपल, ह्याँगरे, गुरा, थार्प, कालशिल्त, दारे, बबिरो, रुम, बुढु, म्वाहै, खापर, मरुद्धा, लामा आदि कहिलेकाहीँ बाहु मष्ट पनि भनिने अवैदिक देवता मान्ने हामी खशलाई बाहुनले मान्ने देवताको नामसम्म पनि थाहा छैन । जातीय हिसाबले खशहरू ककेशियन हुनाले उनीहरूको अनुहार बाहुनसित मिल्दछ । त्यसैले उनीहरूलाई क्षत्री भनाउन अरू जनजातिलाई भन्दा सजिलो पनि परेको थियो ।’२४

परिणामतः खश र मगरलगायत अन्य सबै जातिमा हिन्दु धर्मको कुनै न कुनै रूपको प्रभाव पर्न आयो । उनीहरू वैदिक आर्यहरूले ल्याएको वर्णव्यवस्था र मूत्र्तिपूजाको परम्परा मान्न बाध्य भए । शक्ति गुमाउँदै आएको मगरजाति पनि उनीहरूको प्रभावमा नपर्ने कुरै भएन । नेपालका आदिवासीहरूमध्ये हिन्दुकरणको सबैभन्दा चर्को प्रभावमा मगर जाति नै प¥यो । त्यही समयमा मगरजातिका धेरै मानिस जनै पहिरिएर क्षत्री समेत बने । कोही रहरले कोही बाध्यताले । शाहवंशको राज्य विस्तारमा पनि ब्राह्मण क्षत्रीको जत्तिकै भूमिका मगरहरूको रह्यो । त्यसैकारण निश्चित भूगोलमा केही बाक्लो वस्ती रहेको देखिए पनि बाहुन क्षत्री जसरी नै मगरहरू नेपालभरि छरिन सके ।

मगरहरू ठकुरी बनेर कथित माथिल्लो जात बन्न थालेको पनि वैदिक आर्यहरूकै प्रभाव र प्रपञ्चका कारण हो । यतिसम्म कि नेपालका अन्तिम राजवंश शाह पनि मगर नै थिए भनिन्छ । शाहहरूले यो कुरा कहिल्यै स्वीकार गरेका छैनन् । तर, पृथ्वीनारायण शाहले ‘म मगरातको राजा हुँ’ भन्नु या मामाकी (मकवानपुरका राजा हेमकर्ण सेनकी) छोरी बिहे गर्नुले मात्र होइन, धेरै त्यस्ता तथ्यहरू छन् जसले नेपालको शाहवंशीय राजपरिवार मगरजातिकै थियो भन्ने आधार प्रशस्त देखिन्छ ।

पृथ्वीनारायण शाहकी आमा कौशल्यावती पाल्पाली राजा गान्धर्व सेनमगरकी छोरी थिइन् । पृथ्वीनारायण आफैले मकवानपुरका राजा हेमकर्ण सेनमगरकी छोरी ईन्द्रकुमारीसित बिहे गरेका थिए । पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह भने कान्छी श्रीमती भारतीय राजपूतकी छोरी नरेन्द्रलक्ष्मीतिरका हुन् । प्रतापसिंहका नाती अर्थात् रणबहादुरका छोरा गीर्वाणयुद्ध त झन् तराई मूलकी मिश्रकी छोरीबाट जन्मेका थिए । यसरी नै राजपरिवारका अन्य पुरूष सदस्यहरूले पनि आर्यमूलका महिलाहरूसित वैवाहिक सम्बन्ध जोड्दै आउँदा अनुहारको बनोटमा फरक हुँदैआएको हुनसक्छ । अझ कतिपय त नेपालको राजखलक मगर जातिका भएकै कारण बाहुनहरूले षडयन्त्र गरेर राजसंस्था नै निर्मूल पारेका हुन् भन्नेहरू पनि छन् । 

तर यो तर्क आफैमा कमजोर किन छ भने राजसंस्थाले आफूलाई समयअनुकूल परिवर्तन गर्न नजानेकै कारण उसको जरा उखेलिएको हो ।

पृथ्वीनारायणका बुबा नरभूपाल शाहले पनि मगरकी छोरी बिहे गर्नुले त्यो समयको सामाजिक परम्पराको एक झल्को दिन्छ । अहिले त धर्म र परम्पराको नाममा अनेक व्यवधान हुने गरेको अवस्थामा राजपरिवार यदि आर्यमूलका भएका भए त्यसरी अन्तर्जातीय विवाह गर्नु त्यो समय कुनै हालतमा सम्भव थिएन ।

शाहवंशीय राजपरिवारका पुर्खा खाञ्चा र मिञ्चा हुन् भन्ने कुरामा पनि सबै इतिहासकारको मत मिल्दछ । यी शब्दावली पनि मगर भाषाका हुन् । मगर भाषामा कराङ्च भनेको जेठो हो भने मार्च भनेको कान्छो या सानो हो । तिनै कराङ्च र मार्च शब्दहरूको अपभ्रंश नै खाञ्चा र मिञ्चा हो भनिन्छ ।

अर्को मुख्य कुरा शाह राजाहरूको कुलदेवी स्याङ्जाकी आलमदेवी हुन् जहाँको पुजारी रानामगर हुने पुस्तौंदेखिको परम्परा रहेको छ । आफ्नो कुलदेवीको मन्दिरमा अर्को जातिको पुजारी राख्ने प्रश्नै हुँदैन ।

योगी नरहरी नाथले ‘मगर–गुरुङ वंशावली’ नामक पुस्तकमा ‘नुवाकोटको त्रिशुलीस्थित त्रिवेणी देवीघाटमा पृथ्वीनारायणको मृत्यु हुँदा उहाँको दाजु सुरथसिंह रानामगर पनि साथै थिए’ लेखेका छन् ।

यही कुरा साभार हुँदै ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी’ मा पनि उल्लेख छ । पुस्तकको सुरुआतमै लेखिएको छ, ‘...श्रीश्रीश्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिंडुपतिको राज लियापछि पछिल्ला पटक् नुहाकोटमा पाउलाग्नुभयामा गुरूप्रोहित थरघर भैयाद भारादार र आफ्ना ददा सुरथिसिं राना सबैको बुढापाकाछेउ हुकुम भयाका कुरा । ...’

(अर्थात् श्री ५ बूढा महाराजाले तीन शहर नेपाल र हिन्दुपतिको राज्य लिएपछि पछिल्लो पटक नुवाकोटमा पाउलाग्नुभएमा गुरु–पुरोहित, थरघर, भैयाद, भारादार, आफ्ना ददा सुरथसिंह राना र सबै बूढापाकाछेउ हुकुम भएका कुरा ।)२५

इतिहासकारहरूले पृथ्वीनारायणसँगै एकजना मगर जातिको चाकर सती गएको उल्लेख गरेका छन् । शाह परिवारले काठमाडौंको कलंकीस्थित एक मन्दिरमा पूजा गर्दा कालो सुँगुरको बली चढाउने गरेको तथ्य पनि पाइन्छ । हिन्दुआर्यले सुँगुरको बली चढाउने कुरा कल्पना पनि गर्न सकिन्न ।

राजपरिवारमा मामाकी छोरी बिहे गर्ने चलन भर्खरैसम्म थियो । उदाहरणका निम्ति त्रिभुवनका बुबा पृथ्वीवीरविक्रमले आफ्नो मामा वीरशमशेर ज.ब.रा.की छोरी बिहे गरेका थिए । यो चलन पनि मगर जातिको हो ।

त्योभन्दा आलो उदाहरण पनि दिन सकिन्छ । छोरा दीपेन्द्रले सुप्रिया शाह र देवयानी राणालाई मन पराइरहेको आमा ऐश्वर्यलाई मन परेको थिएन । रानी ऐश्वर्य चाहन्थिन् कि हुनेवाला राजा अर्थात् आफ्नो जेठो छोरा दीपेन्द्रको बिहे आफ्नै माइती खलककी कुनै युवतीसित होस् । यसको अर्थ, दीपेन्द्रले आफ्नै मावलीको कुनै केटी बिहे गरोस् भन्ने उनको इच्छा थियो ।२६

आफ्नो चर्चित किताब ‘हाम्रो समाज  : एक अध्ययन’मा समाजशास्त्री जनकलाल शर्मा लेख्छन्,

‘मगर पनि ठकुरीजस्तै मातृसत्तात्मक समाज हो । त्यसैकारण यिनीहरूमा मामाचेला फुपूचेलामा विवाह गर्ने चलन छ । मामाचेला फुपूचेला नभए मात्र यिनीहरूको अन्यत्र विवाह हुन्छ ।’२७

शर्माले अझ त्योबेलाका कवि शिखरनाथ सुवेदीको एक कविताँश यसरी उद्धृत पनि गरेका छन्,

मामाकि छोरिसित हक यिन्को लाग्छ

भानिज छैन भने आरकाले माग्छ

ठकुरी मगरको यति यौटा खुन्छ

मामाकि छोरीसित विह्यावरि हुन्छ ।

अर्थात् मगर र ठकुरीको एउटै रक्तसम्बन्ध रहेको कवि सुवेदीले कवितामार्फत् भन्दछन् । यसबाट पनि अहिलेका केही नश्लका ठकुरीहरू कुनैबेला मगर जाति नै थिए भन्न सकिन्छ । तिनै कविको अर्को चर्चित कविताको पंक्ति यस्तो छ,

मगरको वंशावलि हराएर जान्छ

ठकुरीको गाउँमा पसे पत्ता लाग्छ ।


अहिलेका धेरै ठकुरीहरू कुनै समय मगर थिए या मगर जातिसँग सम्बन्धित थिए भन्नका लागि योभन्दा राम्रो उदाहरण अर्को के हुनसक्ला ? सबै ठकुरी मगर होइनन् र सबै मगर ठकुरी होइनन् तर, शक्तिको पूजा गरिने यो भूमिमा राज्यशक्तिमा पहुँच भएका मगरहरू विस्तारै क्षत्री र ठकुरी कहलाइएका हुनसक्ने मत विश्वसनीय देखिन्छ ।

कुनै समय शासनसत्तामा पनि वर्चस्व रहेको मगर जाति कालान्तरमा नेपाली शक्तिको केन्द्र राजदरबारभित्र हुने गरेका विभिन्न षडयन्त्र र दाउपेचमा टिक्न नसकेर पाखा लाग्यो । 

केही निश्चित जातिको पनि निश्चित वंशको सहभागिता नेपाली राजनीतिक वृत्तमा हावी हुँदै आउँदा मगर जातिको सोझोपन त्यहाँ काम लाग्ने कुरै थिएन । कुनै समय विशाल मगरातको शासक जाति, नेपाल निर्माणको मुख्य सहयोगी जाति, नेपालको राजनीतिमा अथाह योगदान दिएको जाति अहिले आएर झनपछि झन् सीमान्तकृत र निम्छरो देखिएको छ ।


कतिले भन्छन् शाह त मुसलमान हो । तर, खान, खाँ, शाह भनेको जाति या थरभन्दा ज्यादा पदवी हो । खान अथवा खाँको अर्थ सम्राट भन्ने हुन्छ । यो पदवी खासमा मङ्गोलियाबाट ईराक हुँदै भारततिर आएको देखिन्छ । 

भारतमा मुगल शासन तिनै मङ्गोलियनहरूको हो । सुरुमा उनीहरूको अनुहारको बनोट चिम्सो आँखा र थेप्चो नाक नै थियो । कालान्तरमा उनीहरूको बिहेबारी अरबीयन र भारतीयहरूसित हुन थालेपछि नश्ल नै परिवर्तन हुँदैआयो । नेपालका राजपरिवारको हकमा पनि यो सत्य लागु हुन आउँछ भनिन्छ ।

शाहवंश मगर समुदायकै हो भनेर प्रख्यात इतिहासकारद्वय ह्यामिल्टनले ‘एन अकाउन्ट अफ किङडम अफ नेपाल’ र भेन्सिटार्टले ‘नोट्स अन नेपाल’ नामक आफ्ना किताबमा लेखेका छन् । यिनै ह्यामिल्टनलाई उद्धृत गर्दै विष्णुप्रसाद घिमिरेले लेखेका छन्,

‘पाल्पाका राजा महादत्त सेनका छोरा समरबहादुर सेनलाई अवधका नबाव असौफुद्दौलाहले ‘नादिर शाह’ र ‘लाल  दिवान’ जस्ता उपाधि दिएका थिए ।२८

यो उदाहरणले नेपालको पछिल्लो राज खानदानमा शाह उपाधि हो थर या जात होइन भन्नेमा स्पष्ट हुन सकिन्छ ।

वि. सं. १९५१ तिर शाहहरूको असली वंशावली जलेको कुरा विदेशी लेखक इडेन भ्यान्सीटार्टले आफ्नो किताब ‘दि गुर्खा’ मा उल्लेख गरेका छन् । यदि यो सत्य हो भने त्यो आगलागी दूर्घटनावश भएको थियो कि नियतवश भन्ने प्रश्न उठाउन सकिन्छ । अर्को वंशावली तयार पार्दैगर्दा त्यस समय लेख्न पढ्न छूट पाएका केही मानिसले छलछाम गरेनन् होला र ? भन्ने प्रश्न स्वाभाविक हुन आउँछ ।

पृथ्वीनारायण शाहका माहिला छोरा बहादुर शाहको पालामा नेपाल आएका इतिहासकार कर्कप्याट्रिकले बहादुर शाहका भाइभदैहरू अझपनि मगर रीतिरिवाजमा छन् भनेर लेखेका छन् । अर्का इतिहासकार एफ.बी. ह्यामिल्टनले पनि अहिलेका राजाहरू मगरकै सन्तान हुन् भनी लेखेका छन् ।

यसरी देशी विदेशी धेरै लेखक, इतिहासकार र अनुसन्धाताहरूको साझा निचोडले के भन्छ भने मगर जाति कुनै समय यो देशको एक समृद्ध र विकसित जाति थियो र ऊ नेपाल देशको शक्तिकेन्द्रमा थियो । कालान्तरमा राजदरबार र नेपाली राजनीतिलाई प्रभावमा पारेका केही चतुरहरूले ‘मगर भनेको भारी बोकेर खाने जाति हो’ भनेर पाठ्यपुस्तकमै छपाउन सफल भए । उक्त पाठ प्राथमिक तहमा राखेर नेपालका कलिला मस्तिष्कलाई पचासको दशकसम्मै घोकाइयो । यसरी नेपालमा जानाजान राज्यसंयन्त्रबाटै मगर जातिको अवमूल्यन सुरु भएको थियो । 

यति मात्र होइन, यो राज्य मगर जातिको पहिचान मेटाउन कतिसम्म लागेको थियो भने मगर नेतृत्व÷राजाको मानमर्दन गर्नकै लागि पञ्चायतकालमा भीमनिधि तिवारीजस्ता साहित्यकारलाई ‘शिलान्यास’ जस्तो भद्दा किताब लेख्न लगाएर क्याम्पस तहमा पढायो । पञ्चायतले नै नालापानीमा युद्ध लड्नेहरूको पहिचान मेटाएर इतिहासको पुनर्लेखन गरायो । 

फलस्वरूप नालापानीमा त्यसरी बहादुरीपूर्वक लड्नेहरू नेपाली थिए भनियो तर ती नेपाली अधिकाँश मगर जातिका योद्धा थिए भन्ने तथ्यलाई लुकाइयो ।

प्रा. डा. सूर्यमणि अधिकारीका अनुसार ईसाको १२औं शताब्दीमा मात्रै खशहरूले हिन्दु बनेर वर्णव्यवस्थालाई स्वीकार गर्न थालेका हुन् । हिन्दु वर्णव्यवस्थाअनुसार उनीहरू क्षत्रीयमा परे अथवा पारिए । त्यसभन्दा अघि खशजाति बौद्ध धर्मको प्रभावमा थियो । खश र मगरजाति सँगसँगैजसो बौद्ध धर्म र हिन्दु वर्णव्यवस्थाभित्र परेका हुनसक्छन् । 

वर्णव्यवस्थाअनुसार केही टाठाबाठा मगरहरू पनि क्षत्रीय बनाइए । अहिले मगर र क्षत्री दुवै जातिमा पाइने समान थर भएकाहरू विगतमा मगरजातिकै थिए ।


हुन त वैदिक आर्यहरूले नेपाल भूमिमा प्रवेश गरेर अरूलाई आफ्नो धर्म र संस्कारमा बदल्ने काम मात्र गरेनन् । उनीहरूले यहाँका आदिवासी र भूमिपुत्रका अनेक संस्कारलाई आफ्नो बनाए पनि । 

जस्तो कि संस्कृतिविद् डा. जगमान गुरुङका शब्दमा भन्ने हो भने अहिले नेपालमा आर्य संस्कृति भनेर जसलाई भनिएको छ त्यो खश र विभिन्न आदिवासी संस्कृतिबाटै प्रभावित र विकसित भएको हो । उनी भन्छन्, ‘एकै वैदिक जरा भएर पनि भारतीय आर्य र नेपाली आर्य संस्कृतिको विधामा धेरै भिन्नता देखिन्छ ।’

हुनपनि चाडवाड मान्ने सवालमा होस् या बलिप्रथा र पूजाआजाको विषयमा होस्, नेपाल र भारतका सनातनी भनिने आर्यहरूकै मत अहिले मिल्दैन । अर्को शब्दमा भन्दा नेपालमा भएका सबै जातजातिले एकअर्काका संस्कार र संस्कृतिलाई आ–आफ्नो बनाइसकेका छन् र आफ्नै मौलिकतामा त्यसलाई अभ्यास गरिरहेका छन् । राज्यले उचित व्यवस्थापन गर्न सके यो सहिष्णुता सदैव अक्षुण्ण रहने कुरामा पनि कुनै शंका छैन । 

तर, लोकतन्त्रपछिको राज्य पनि धर्म र संस्कृति संरक्षणको मुद्दामा संवेदनशील देखिएको छैन । सयभन्दा बढी जातजाति र तिनको आफ्नै मौलिक धर्म संस्कृति रहेको देशमा राज्य नै पक्षपातको हिमायती बनेको देखिएको छ ।

‘खशहरू कर्णाली हुँदै गण्डकी क्षेत्रमा प्रवेश गरेपछि आफूजस्तै गुण र कर्म भएका यहाँका लडाका जाति मगर र गुरुङसँग उनीहरूको सम्बन्ध स्थापित भयो र यही सम्बन्धले राष्ट्र निर्माण र नेपाली राष्ट्रियतालाई सबल बनाउन सहायकसिद्ध भएको हो, संस्कृतिविद् डा. गुरुङले भनेका छन् ।’२९

अर्घाखाँची र यस वरपरका भूभाग मगरात भूमि भएका कारणले मगर राजाहरूले शासन गरेका थिए भन्नेमा दुईमत छैन तर यी विषयमा पर्याप्त अनुसन्धान हुन भने सकेको छैन । बरू अर्घामा राइठोरी (पछि शाह) वंशका राजाले राज्य हत्याउने समयमा त्यहाँ गुरुङ राजाले शासन गरिरहेको प्रा. डा. राजाराम सुवेदी लगायतले लेखेका छन् ।

त्योभन्दा अघि यहाँ मगर राजा नै थिए भन्ने एउटा आधार भने राजदरबार बनाइएको ठाउँको नाम ‘मगाथुम’ भएबाट अनुमान लगाउन सकिन्छ । पक्कै पनि यो ठाउँ मगर जाति या राज्यसित सम्बन्धित रहेको हुनुपर्छ । मगाथुममा पुरानो समयको अवशेष विद्यमान रहेको देख्न सकिन्छ । लेखक तथा अध्येता बुद्धिबहादुर रायमाझी भन्छन्, ‘मगरातकै अपभ्रंश ‘मगा’ भएको हो ।’३०

(जेबी दर्लामीलिखित नेपालको राजनीतिमा अर्घाखाँची पुस्तकको सानो अंश । यो पुस्तक बजारमा उपलब्ध छ ।)


09 September, 2024

'नेपालको राजनीतिमा अर्घाखाँची' पुस्तकमा समावेश विषयसूची



















अर्घाखाँची : नेपाल ‘एकीकरण’ हुनुअघि

—के हो मगरात ?

—को हुन् मगर ?

—शाहहरूको प्रवेश


अर्घाखाँची : नेपाल ‘एकीकरण’को समयमा

—मगर जातिमाथि पहिलो षड्यन्त्र

—गोर्खा र खाँची राज्यको सम्बन्ध

—हारेको अर्घा र खाँची


अर्घाखाँची : राणाकालमा

—जङ्गबहादुर र अर्घाखाँची : जन्मको नाता

—राणा शासनविरुद्धको पहिलो जनविद्रोह

—नेपाल प्रजापरिषद्

—नेपाली काङ्ग्रेसको जन्म

—अर्घाखाँचीमा नेपाली काङ्ग्रेस


अर्घाखाँची : २००७ देखि २०४६ सम्म

—वीपी र काशीनाथ, कहिले अलग कहिले साथ

—नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास

—अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी

—मूर्ति काण्ड

—बर्रे काण्ड

—२०३६ सालको आन्दोलनमा अर्घाखाँची

—टंकप्रसाद भुसालको हत्या

—शोभाखर धनञ्जयको रहस्मय मृत्यु

—फ्रान्सेली अध्येताको अर्घाखाँची अनुभव

—काङ्ग्रेस र माले, कोभन्दा को कम

—पञ्चायतलाई अन्तिम धक्का


अर्घाखाँची : २०४६ देखि २०५२

—वाङ्ला काण्ड


अर्घाखाँची : ‘जनयुद्ध’मा

—युद्धको पृष्ठभूमि

—माओवादी नेताहरू

—भीडन्त, आक्रमण, प्रत्याक्रमण र गैरन्यायिक हत्या

—भदौ २३ र २४ अर्थात् सदरमुकाम कब्जाको नालीबेली

—सहायक सिडीओ र एलडीओको अपहरण

—बेपत्ता पारिएकाहरू


अर्घाखाँची : जनआन्दोलन २०६२/६३ मा

—आन्दोलनको १९ दिन

—घाइतेहरू

—नागरिक समाजको भूमिका


अर्घाखाँची : २०६३ देखि २०७३ सम्म

—पहिलो संविधान सभा र अर्घाखाँची

—दोस्रो संविधान सभा र अर्घाखाँची

—संविधान : असमान सम्झौताको दस्तावेज

—ऐतिहासिक हवाईजहाज दुर्घटना

—अर्घाखाँचीको पुनर्संरचना

—पालिकाहरूको संक्षिप्त परिचय

—अखण्ड लुम्बिनी : संघीयताविरोधी आन्दोलन

—एक झल्को


अर्घाखाँची : सीमाङ्कनदेखि आम निर्वाचनसम्म

—दलहरूको परीक्षाको घडी

—स्थानीय तहको निर्वाचन : २०७४

—वर्गशत्रुबीचको तालमेल

—स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू

—स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवार र मत परिणाम

—भुसाल र गौतम‘वाद’

—निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको नामावली

—जिल्ला समन्वय समितिको निर्वाचन र नतीजा

—स्थानीय निर्वाचनमा देखिएका केही गज्जबका दृश्यहरू

—नेताहरूलाई कारबाहीे

—प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : २०७४

—पार्टीहरूको घोषणापत्र

—प्रदेश सभामा देशैभरको मत परिणाम

—प्रदेश सभामा अर्घाखाँचीको मत परिणाम

—राष्ट्रिय सभाको निर्वाचन र अर्घाखाँची


अर्घाखाँची : महिला आन्दोलनको चर्चा

—पहिलो विद्रोह

—अर्घाखाँचीका महिला नेतृहरू

—पितृसत्ताको अवशेष

—एकताको उदाहरण

—प्रदेश सभामा अर्घाखाँचीका महिला नेतृहरू

प्रकाशन मिति : २०७७

(किताबका लागि सम्पर्क : मगरात अध्ययन तथा अनुसन्धान केन्द्र, बुटवल)

मारीखोलाको ढुङ्गो (उपन्यास)



मारीखोलाको ढुङ्गो

JB Darlami

 

Format

Paperback

ISBN (Paperback)

9789937968201

Language

Nepali

Genre

Insurgency

Publication Date

06 Apr 2024

 GET THIS BOOK :

https://publicationnepalaya.com/book/marikholako-dhungo#get-book

https://thuprai.com/book/marikholako-dhungo/

https://www.daraz.com.np/products/marikholako-dhungo-by-jb-darlami-i131285303-s1038139083.html

https://kitabyatra.com/product/marikholako-dhungo-SiBt88


मारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो । द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति र हैरानी यसमा मिठोमसिनोसँग आएको छ । द्वन्द्वको कारण र परिणाम, द्वन्द्वनायकको उत्तेजना र पतन, कर्ताहरूको कर्म र क्रियाको चखिलो प्रस्तुति यहाँ छ । मीराको उदात्त र मानवीय चरित्रले पाठकलाई रुझाउँछ । कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास विशिष्ट बनेको छ । यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो ।

08 September, 2024

नेपाल मेरी सानीआमा


 


फणीश्वरनाथ रेणु 


‘छोटी माँ’ अर्थात् सानीआमा । ....

नेपालमा मेरी सानीआमा बस्नुहुन्छ । हरेक वर्ष विजयादशमीमा म उहाँलाई प्रणाम पठाउँछु अनि आशिर्वाद ग्रहण गर्दछु । म जहिलेपनि जब नेपालको धर्तीमा आफ्ना पाउ टेक्छु तब एक चिम्टी त्यहाँको माटो लिएर शिरमा राख्दछु । मेरा स्मृतिहरू जाग्दछन् अनि म रोमाञ्चित हुने गर्दछु । 

जय नेपाल ! नेपाल मेरी सानीआमा ।

गर्मीविदाका अन्तिम दिनहरू चलिरहेका थिए । त्यसैका बाँकी दुईचार दिन बिताउन भनेर म एक आफन्तको घरमा पाहुना लाग्न गएको थिएँ । घर फर्कने दिन बिहानैदेखि मुसल्धारे वर्षा भइरहेको थियो । गढबनैलीको सानो रेलस्टेशन जहाँ ती दिनहरूमा रेलगाडी बडो अनिच्छापूर्वक रोकिन्थे । हाम्रो रेलगाडी अर्थात् जोगबनीतिर जाने रेल जब त्यो स्टेशनमा आइपुग्यो तब घनघोर वर्षाको साथमा पुर्बी बतास पनि चलिरहेको थियो । बतास जोडले चलिरहेका कारण हातमा छाताछतरी भइकन पनि मानिसहरू दौडँदैभिज्दै रेलमा सवार भइरहेका थिए । रेलका सबै झ्यालहरू बन्द थिए अनि ढोकाहरूमा मानिसहरूको भीड लागेको थियो ।

गार्डसाहेबले बजाएको सिठीको तिखो आवाजसँगै रेलगाडीको इञ्जिनको मोटो आवाज पनि सुनिएको थियो । म त्यतिञ्जेलसम्म यताउता दौडिरहेको थिएँ । रेलगाडी आफ्नो लिकमा हिँड्न थालिसकेको थियो ।

हिँडिरहेको रेलको जुन डिब्बा आफ्नो नजिकबाट भएर गइरहेको मलाई लाग्यो म त्यसैको हैण्डिल समातेर झुण्डिएँ । एकजना ग्रामिण मानिसले छुटेको आफ्नो साथीलाई चिच्याइचिच्याइ भनिरहेको थियो, ‘हत्था समात् हत्था ।’ ढोकानिरको हैण्डिललाई त्यसले हत्था भनेको थियो । मलाई उसको कुराले प्रेरणा मिल्यो, हत्थामा समातेँ अनि झुण्डिएँ ।

खुट्टा राख्ने ठाउँसम्म पुग्नुअगावै मेरो काँधमा झुण्डिरहेको छाता भुईँमा खस्यो । त्यससमय प्लेटफार्ममा जेजति होहल्ला भइरहेको थियो त्यो सब मेरो कारणले नै थियो । गढबनैलीको अद्र्धपागलको बोली आजपनि मेरो कानमा गुञ्जिरहेको छ, ‘ए छोटे मियाँ, आँ आँ अब तँ मर्छस् साला !’

‘छोटे मियाँ’ उसले मलाई नै भनेको थियो अनि गाली पनि मलाई नै गरेको थियो । खासमा कुरा मेरो पहिरनको थियो । मैले कुर्ता पाइजामा लगाएको थिएँ अनि त्यस समयसम्म पाइजामा हाम्रो इलाकामा आम पहिरन बनिसकेको थिएन । यसलाई मुसलमानहरूको पोशाक भन्ने ठानिन्थ्यो । 

‘छोटे मियाँ अब तँ मर्छस् । बतास र पानीले मिलेर हिर्काइरहेको थप्पडलाई कतिञ्जेल सहन सक्लास् तँ ? जलालगढ पुग्नुभन्दा अगाडि नै तँ रेलगाडीबाट खस्छस् अनि मर्छस् ।’ यस्तै कल्पना गरेर छोटे मियाँ थर्थर काँप्न थाल्यो । दौडेर अघि हत्था समात्ने बेलामा नै उसले ढोकामा फस्र्ट क्लासको रोमन अङ्क देखिसकेको थियो । ‘भित्र कोही अँगे्रज या एँग्लो बसेको होला । अनुनय विनय गरेपछि त्यसले ढोका त खोलिदेला तर मेरो आङमा खादीको कुर्तापाइजामा देखेपछि त्यसले मलाई लात्ताले हानेर तल खसालिदिनेछ ।’ कल्पनाले छोटे मियाँको कलेजो मुखमा आउलाजस्तो भयो । छोटे मियाँको मुखबाट बडो मुश्किलले बोली निस्कियो, ‘ओपेन सर । प्लीज, ... आइ एम डाइङ .... ओपेन !’

फस्र्ट क्लास डिब्बाको ढोका खुल्यो । एउटा गोरो घाँटी, एउटा गोरो अनुहार देखा प¥यो । छोटे मियाँले आँखा बन्द ग¥यो, ‘अब ज्यानले खाने भयो बूट !’

हत्थाबाट कतिखेर हात छुट्यो अनि कतिखेर म त्यो डिब्बाभित्र प्रवेश गरेँ त्यो कुरा मलाई न आज सम्झना छ न त त्यो दिन नै थियो ।

गोरो वर्णका ती मानिस कुनै गोरा या एँग्लो थिएनन् । उनी त शुद्ध खादीधारी थिए । उनको ओठमा  स्वजनोचित मुस्कान थियो अनि उनले शुद्ध हिन्दी भाषामा मलाई सोधे,

‘किन ? चलिरहेको रेलमा किन चढ्नुभयो ?’

‘हजुर । यो स्टेशनमा रेल रोकिनै मान्दैन ।’ मैले भनेँ ।

‘यो स्टेशनको नाम के थियो ?’

‘गढबनैली ।’

‘जानेचाहिँ कहाँ नि ?’

‘सिमराहा स्टेशन ।’

म लाजले पानीपानी भइसकेको थिएँ किनकी बर्थमा बसिरहेकी एउटी केटी अघिदेखि नै मलाई हेर्दै एउटै तालमा मुस्कुराइरहेकी थिई । मसँग केके सोधिरहेका मानिसले त्यस केटीसँग केही भने । उनले बोलेको भाषा न अँग्रेजी थियो, न हिन्दी, न बाङला न त मैथिली । तर त्यो भाषा ग्रीक या चीनिया लवजको पनि थिएन । मैले जति बुझ्न सकेको थिएँ, त्यति कुरा छर्लङ्ग बुझेको रहेछु । उनले भनेका थिए, ‘यो केटो कसो खसेर मरेन !’ 

लूगा ? कपडालाई हाम्रो गाउँमा पनि लूगा नै भन्थे । उनले पनि यही वाक्य बोलेका थिए । लूगा भन्ने शब्द सुन्नासाथ माथि बर्थमा बसेर मुस्कुराइरहेकी केटी उठी । लेदरको झोलाबाट खादीको धोती निकाल्दै भनी, ‘धोती त छ तर कुर्ता ?’

मैले भनेँ, ‘त्यसको जरूरत छैन । एकछिनमा यो सुकिहाल्छ ।’ 

ती भद्र मानिसले मेरो हातमा धोती थम्याइदिँदै बाथरूमको ढोका देखाइदिए । सहरमा धोइएको खादीको मसिनो धोती पहिरिएर जब म बाथरूमबाट बाहिर आएँ तब देखेँ, एउटा सफा हाफ–शर्ट मेरो लागि उनीहरुले निकालेर राखिदिएका थिए । त्यसलाई पनि लगाएर हेरेँ, ठ्याक्कै मेरो ज्यानमा मिल्यो । त्यो कमिजको भित्रपट्टि घाँटीनिरको भागमा रातो रङको मोनोग्राम अङ्कित थियो जहाँ लेखिएको थियो, ‘टी पी के ।’

रेलगाडी जलालगढको स्टेशनमा आएर रोकियो । टिकट–चेकरले मलाई गढबनैलीको स्टेशनमै देखेको थियो । रेल रोकिनासाथ ऊ कराउँदै आयो, ‘कहाँ गयो त्यो केटा ?’ त्यसपछि ममा दृष्टि पर्नासाथ ऊ चिच्यायो, ‘निस्कीहाल् यहाँबाट ।’

ती भद्र मानिसले चेकरलाई रोक्दै भने, ‘सिमराहासम्मको लागि यसले थर्ड क्लासको टिकट लिएको छ । अब त्यसलाई फस्र्ट क्लासको बनाइदेऊ ।’

अघि धोती कमिज लिने समयमा मैले थोरै आनाकानी गरेको थिएँ तर यसपटक म बोल्नै सकिनँ । उता त्यो केटी जो मेरै उमेरकीजस्ती थिई, निरन्तर मुस्कुराइरहेकी थिई ।

त्यसपछि ती गोरो वर्णका भद्र मानिसले मलाई आफ्नो छेउमा बसाले । नाम, काम, पढाईलेखाईको बारेमा सोधपुछ गरे । मैले देखेँ, त्यो मुस्कानवाली केटीले ‘चाँद’ मासिक पत्रिकाको खोलले आफ्नो अनुहार छोपेर हाँसोलाई लुकाउने प्रयत्न गरिरहेकी थिई ।

मैले भनेँ, ‘गाउँका स्कूलहरूमा पढ्न मेरो मनले मान्दैन । पहिला गुरूकुल काँगडीमा जान चाहेको थिएँ तर बाबाले मान्नुभएन । अहिले शान्ति निकेतनमा जान्छु भन्छु तर आमाले मान्नुहुन्न ।’

युवतीले ‘चाँद’का पृष्ठहरू बन्द गरी । यसपटक त मेरो कुरा सुनेर ती भद्र मानिस पनि मुस्कुराउन सुरू गरेका थिए । मैले त्यस पत्रिकालाई हातमा लिँदै सोधेँ, ‘नयाँ अङ्क हो ?’ अनि दूबेजीको पत्र निकालेर पढ्न थालेँ । फेरि कुरा यसरी अगाडि बढ्यो कि मैले भारत–भारती पनि सस्वर वाचन गर्न लागेँ, ‘.... भगवान, भारतवर्षमा गुञ्जोस् हाम्रो भारती । ......’

भद्र मानिस मेरो वाचन सुनेर मन्त्रमुग्ध भए कि भएनन् कुन्नि ? तर उनको मुस्कानले मलाई उत्साहित बनाइरहेको थियो । अनि त्यस युवतीको मुस्कानलेचाहिँ उत्तेजित । त्यसपछि मैले रवीन्द्रनाथ ठाकुरका केही कविताहरू पनि वाचन गरेर सुनाएँ,

‘दिनेर शेषे घुमेर देश घोमता परा ए छाया .... 

भूलाल रे भूलाल मोर प्राण

नव वत्सरे करिलाम पन लबँ स्वदेशेर दीक्षा

....’

अनि मैले सोधेँ ती भद्र मानिसलाई,

‘तपाईँको नाम के हो ? कहाँ जानुहुन्छ ? कहाँबाट आउँदै हुनुहुन्छ ? घर कहाँ ?’

नाम सुनेर केही चमत्कृत बनेको थिएँ, ‘कोइलावाला ?’

उनले आफ्नो घर विराटनगर बताएपछि मैले अचानक मेरो मीतबुबालाई सम्झेँ । विराटनगरका ‘खरदार साहेब’ भन्थे, तर मैले उनलाई देखेको थिइनँ । आमा अनि बाबाको मुखबाट सुनेको थिएँ, मीतबाको कथा ।

‘मेरा मीतबा अर्थात् मेरो पिताजीको साथी पनि विराटनगरमै बस्नुहुन्छ ।’ मैले भनेँ ।

‘के नाम हो उनको ?’ सोधनी भयो ।

‘खरदार साहेब ।’

मेरो जवाफ सुनेर त्यो रूपवतीको हाँसो झन् छचल्कियो । विनाकारणको यो कस्तो हाँसो हो ?

‘कुन खरदार साहेब ? त्यहाँ त धेरै खरदारहरू छन् । खरदार कुनै नाम हैन । यो त जस्तो कि तपाईँकोतिर भन्छन् नि, मुन्सी, डिप्टी कलक्टर .... । यस्तै हो ।’

छोटे मियाँको मुख सानो भयो । त्यसोभए खरदार साहेब कुनै नाम हैन ? ऊ रन्थनियो, नाम हैन ? ‘जसले टेढीमा आश्रम बनाएका थिए । अनि उनले स्कूल पनि चलाएका छन् । ......’

‘ठिक छ । तपाईँ कहिल्यै विराटनगर जानुभएको छैन ?’ 

‘छैन ?’ 

‘त्यसोभए आउनुस् कुनैसमय । तपाईँका पिताजीको मित्र पहिलेदेखि नै रहेछन् अब तपाईँ पनि मेरो मीत बनेमा .... ।’

यसपटक त्यो सौभाग्यवती, जसको स्यूँदोमा सिन्दूर भर्खरै देखेको थिएँ, हाँस्दाहाँस्दा झण्डै मरिन ।

मैले भनेँ, ‘आउने मन त धेरै दिनअघिदेखि नै छ । तर ...’


रेलगाडीले मेरो गन्तव्यको निकटतम सीमारेखा पार गरिसकेको देखेपछि म आत्तिएँ, 

‘यी लूगा, कमिज धोती ...’

भद्र मानिस बोले, ‘ठिकै छ नि त । तपाईँ आउँदै हुनुहुन्छ पछि ।’

आफ्नो गाउँको स्टेशन सिमराहा स्टेशन यति छिटो पुग्नुको दुःख जीवनमा पहिलोपटक भइरहेको थियो । योभन्दा अघिअघिका यात्राहरूमा रेलमा चढ्नेबित्तिकै म यही सोच्ने गर्थेँ, बीचका स्टेशनहरूमा नरोकिएर यो रेलगाडी एकैचोटि हाम्रै स्टेशनमा आएर रोकिए हुन्थ्यो ।

———

गाउँको सीमाभन्दा बाहिर आइपुग्दा नै थाहा भयो कि घरको वातावरण असाधारण किसिमले तातिएको छ । बाबा हिजोदेखि नै आगो भएर मेरो ढाड आइपुग्ने समयको पर्खाईमा हुनुहुँदोरहेछ । खराऊको एक नयाँ जोडी मेरो ढाडको लागि तयार भएर बसेको छ भन्ने पनि थाहा पाएँ ।

बाबा भर्खरै आर्यसमाजी बन्नुभएको थियो । जबदेखि आर्यसमाजको चर्चा हुन थाल्यो मेरो बाबाको तामस तेज हुनथाल्यो । हामी अर्थात् उहाँका सन्तानहरूमाथि नै उहाँले आर्यसमाजको आर्षवाक्यको पहिलो प्रयोग सुरू गर्नुभयो । हामीलाई पिटपाट पार्नुभन्दाअघि उहाँ नियमपूर्वक केही श्लोकहरूको पाठ गर्नुहुन्थ्यो । ती श्लोकहरूको अर्थ हुन्थ्यो, ‘पाँचवर्षको उमेरसम्म लालन, दसवर्षपछि सम्भवतः सोह्रवर्षसम्म ताडन, त्यसपछि पुत्रसित मित्रको व्यवहार गर्नुपर्दछ ।’ मित्रताको गन्तव्य त अझ धेरै टाढा थियो । अनि यसपटक बाबालाई आफ्नो आर्यत्व देखाउने अपूर्व अवसर जुरेको थियो ।

गृह सम्वाददाताबाट योपनि जानकारी भयो कि बाबालाई मेरो छुट्टीकोबारेमा सबैकुरा थाहा भइसकेको छ । स्कूलका लामा छुट्टीहरूमा एक हप्ता अरू थपेर मैले घरमा सुनाउने गर्थेँ । एकपटक त डेढ महिनाभन्दा बढी छुट्टी त्यसरी नै मिलाएको थिएँ । र अझ यसपटक आफ्नो नीजि छुट्टीवाहेक तीन दिन अरू उडाएको थिएँ । छाता पनि रेल चढ्ने बेलामा खसेर हराएको थियो । त्योपनि बाबाकै थियो । नयाँ नै थियो त्यो । होस्टेलको बाँकी रकम छुट्टीअघि नै घरबाट असुलेको थिएँ तर होस्टेलमा अझै चुक्ता गरेको थिइनँ । बाबालाई योबारेमा पनि थाहा भइसकेको थियो ।

‘चलिरहेको रेलमा किन चढिस् ?’ यही एउटा प्रश्नमा बेतको लौरो पाँचपटक पर्ने पक्कापक्की थियो । ऊफ् ! यसपटक त बेसार र चूनाको न्यानो लेप लगाएपनि शरीरको दुखाइ जाँदैन होला । पिट्दापिट्दा मलाई बाबाले आज पक्कैपनि सत्यार्थ प्रकाश नै बनाउनुहुन्छ होला भनेर मनमनै सोचेँ ।

त्यो गृह सम्वाददातालाई एकन्नी पैसा दिएर नीजि सम्वाददाता बनाएँ । गाउँको सीमाभित्र खुट्टै राखिनँ । त्यहाँबाट पैदलै आठ माईल हिँडेर फारबिसगञ्ज गएर बसेँ । 


गाजीरामको दोकानबाहिर बेञ्चमा रातभरि पल्टिएर स्टेशनकोछेउ चौबाटोमा हुने रासलीलाका गीतहरू सुनेँ । हाम्रो गाउँमा रामलीला र रासलीलाका मानिसहरू पछिल्लो चारपाँच वर्षदेखि आउजाउ गर्न बन्द गरेका थिए । कारण, त्यस ईलाकाका धेरै मानिसहरू आर्यसमाजी बनेका थिए । हाम्रो गाउँका  मानिसहरू तिनलाई राम तथा कृष्ण अथवा राधाको रूपमा केटाहरूलाई नचाउने धूर्तहरूको मण्डली भन्दथे । 

..... बाबाका साथी पनि कतै आर्यसमाजी त हैनन् ? सोचेको थिएँ ।

आमाको मुखबाट सुनेका केही कथाहरूका पछिल्ला पङ्क्ति अझै पनि सम्झनामा थियो । आमा भन्नुहुन्थ्यो, ‘तेरो जन्मको के कुरा ? त्यो वर्ष मगनीपछि पहिलोपटक म ससुराल आएकी थिएँ । लोग्नेको घरमा । चौथो दिनको साँझ एक देउताजस्तो पुरूष अनि देवी दुर्गाजस्ती स्त्री हाम्रो घरमा आएका थिए । तेरो बाले आफ्नी आमासँग भन्नुभएको थियो, ‘आमा, सायद यी देवता नै हुन् ।’

तर उनी थिए खरदार साहेब । शिक्षाकोबारेमा प्रचार गरेको अभियोगमा उनलाई पिञ्जडामा कैद गरेर सपरिवार काठमान्डू पठाउने हुकुम भएको थियो । तर बडा हाकिमहरूको सहायताले गर्दा ती दुईजना सीमापार गरेर यता आएका थिए । टाढा जाने हो भनेका थिए, कलकत्ता, प्रयागतिर । पुलिसले थाहा नपाउने ठाउँमा । खरदार साहेबकी पत्नी मलेरियाले ग्रस्त थिइन् । माटो र फूसले बनेको हाम्रो झोपडीमा पन्ध्र दिनसम्म ती देवी र देवताले बास गरे । जाने बेलामा भन्दै गएका थिए, ‘यी दिन र यो मित्रता कहिल्यै बिर्सनेछैनौँ ।’

त्यो घटनाको धेरै वर्षपछि बाबाले गएको वर्ष सुनाउनुभएको थियो, ‘खरदार साहेबलाई नयाँ तीन सरकार (प्रधानमन्त्री) ले फीर्ता बोलाएका छन् । शिक्षाप्रचार गर्ने शाही हुकुम मिलेको छ । विराटनगरमा एउटा आदर्श विद्यालय खोलेका छन् जहाँ टेढी आश्रमका सबै शिक्षकहरूले काम गरेका छन् ।

‘अहँ, म अब बेतको लौरो खानका लागि घर जाँदिनँ । बरू म त्यो साथीको घरमा जान्छु जो रेलमा भेटिएका थिए ।’ यही निर्णयपछि बिहानको पहिलो गाडी चढेर म जीवनमा पहिलोपटक भारतको एक कुनामा रहेको जोगबनी पुगेको थिएँ ।

जोगबनी !

आजभन्दा पच्चिस वर्षअगाडिको जोगबनी । उत्तरतिर घना कालो तराई, हिमालका टाकुराहरूमा चम्किरहने घाम । तराईमा जहाँसम्म दृष्टि पर्छ त्यहाँसम्म कुहिरो र तुँवालोको बर्को । जताततै काठपातहरू । यतापट्टि भारतमा धान कुट्ने एउटा मिल थियो, उतापट्टि नेपालमा पहिलो जूट मिल बनिरहेको थियो ।

त्योभन्दा अघि जबजब म घरबाट भागेर हिँड्थेँ सधंै पुर्बोत्तरतिर जान्थेँ । कलकत्ता, भागलपुर, गोहाटीतिर । तर उत्तराञ्चलतिरको यो मेरो यात्रा पहिलो थियो । त्यतिबेला म चौध वर्षको थिएँ ।

उतिबेला जोगबनी स्टेशनको चीयास्टलहरूमा जस्तोखालको चीया पिउन पाइन्थ्यो त्यस्तो चीया त अचेल पटनाका ठूलाभन्दा ठूला होटेलहरूमा पनि पाइन्न । कटिहार— जोगबनी लाइनमा पूर्णियाभन्दा पछि जोगबनीको रेलस्टेशनमा मात्रै चीयाका स्टलहरू थिए । आजपनि छन् तर बाह्रतेह्रवर्षअघि पाइनेजस्ता चीया आजभोलि पाइन्न ।

स्टेशनको पुर्बतिर नेपाल—भारत सीमाको नजिक अन्य यात्रीहरूसँगै उभिएर मोटरगाडीको प्रतीक्षा गरिरहँदा थाहा भयो कि कसैले बिडीचुरोट राखेको छ र त्यो पक्राउ प¥यो भने त्यसलाई जेल पठाइनेछ । यो ती दिनहरूको कुरा हो जब नेपालका महाराजाधिराज अर्थात् पाँच सरकारको जन्मोत्सवमा एकाध दीयो बालिन्थ्यो अनि तीन सरकार अर्थात् राणा प्रधानमन्त्रीको जन्मदिनको अवसरमा विराटनगरमा होली र दीपावली एकसाथ मनाइन्थ्यो । सानो–सानो कुरामा पनि थुनामा परिने खतरा थियो । यस्तो राजनैतिक चेतना ऊबेलामा पनि थियो ।

मोटरको नाउँमा एउटा ट्रक आयो । आजपनि यातायातमा धेरै सुधार भएको छैन । ट्रक त के भन्ने, जँगली भैँसी मानौँ कम्मरसम्मको हिलोमा कर्दमक्रीडा गरेर आएको होस् । ट्रकमा खचाखच पहाडी नेपाली तथा गैरनेपालीहरू पनि भरिएका थिए । कुदाकुद गर्दै केही मानिस त्यहाँ झरे, केही उस्तै कलाबाजी देखाउँदै चढे पनि ।

हातमा खादीको झोला झुण्ड्याएर मैले ड्राइभरसित बिन्ती गरेँ । ड्राइभरको छेउमा बसेका एकजना पण्डितले मलाई आफ्नो नजिक बसाले । उनको छेउमा बस्नेबित्तिकै एकप्रकारको सुगन्धले मेरो प्राण भरियो । पण्डितजीको निधारमा चन्दनको लेपसँगै चामलका केही दानाहरू टाँसिएका थिए । देखेँ, यताका मानिसहरूले पनि खादीका पोशाक लगाउँदारहेछन् । कसले भन्छ नेपालीहरू फोहोरी हुन्छन् ? त्यो त बिचरा पहाडतिर ÷हिमालतिरका मानिसहरू हुन् जहाँ पानी छुनसम्म गाह्रो हुन्छ ।

पण्डितजीले सोधे, ‘कहाँ जाने हो ?’

‘साथीको घरमा ।’

‘साथीको नाउँ के हो ?’

‘नाम ! अस्पतालदेखि पश्चिमतिरको घर भन्थे । ..... कोइलवरवाला .... खुबै गोरा ... हाँसिरहन्छन् । खादी लगाउँछन् ।’

जोगबनीदेखि विराटनगरसम्मको सडक । हिलोमा फसेको गाडी चारपाँच दिनसम्म पनि ननिस्कँदो रहेछ । हामी चढेको ट्रक पनि कच्ची सडकको हिलोलाई मथ्दै बजारमा आइपुग्यो । चुङ्गी कार्यालयमा ।

पण्डितजीले भने, ‘हिँड म पु¥याइदिन्छु । मेरो घरपनि अस्पतालदेखि पश्चिममै पर्छ । तर कोइलवरवाला भन्ने त त्यता मेरो घरको छेउछाउ कोही छैन ।’

मैले सोधेँ, ‘कोइलावाला भन्ने कोही ...... ?’

हिलोमा मलाई सावधान गराउँदै उनी हाँसे । बाटोमा मैले सोधेँ, ‘यहाँ नगरपालिका या कुनै स्थानीय चिन्ह राखिएका कुनै सूचनापाटी छैनन् ?’

उनले भने, ‘आफ्नै साथीलाई सोध्नू गएर । यो बाटोमा हिँड्ने मान्छे हिलोधूलोसँग जोगिनुपर्छ । बोल्नु हुँदैन ।’


एउटा काठले बनेको घरनजिक गएर म उभिएँ । उनले सोधे, ‘के हो ?’ 

मलाई लागेको थियो, हिजो रेलमा भेटिएकी मुस्कुराइरहने युवतीले एउटा झ्यालमा बसेर यता हेरिरहेकी छे । त्यसोभए यही हो मेरो साथीको घर । मैले भनेँ,

‘यहाँ सोधौँ है त ?’

हाँस्दै पण्डितजीले भने, ‘यही हो तिम्रो साथीको घर । काठको दुईतले घर ।’

देखेँ, मेरो मित्र पनि कम रहेनछन् । दुनियाभरको सजावट घर वरिपरि थियो । हँ ? घोडामा चढिरहेको को हो ? यो त केटी हो ।

‘विशुको काल आएको छ ।’ पण्डितजी तलैबाट कराए । 

मैले उनलाई भनेँ, ‘धेरैधेरै धन्यवाद पण्डितजी ।’

उनले भने, ‘पहिला हातखुट्टा धोऊ ।’

मैले हातखुट्टा धोईवरी माथि हेरेँ । दुईतले त्यो घरको बरण्डामा रेलिङ समातेर एक दर्जनभन्दा बढी मानिसहरू मलाई नै हेरेर मुस्कुराइरहेका थिए । त्यहाँ मेरा साथी पनि थिए । रेलमा मुस्कुराइरहने त्यो विवाहित युवती पनि त्यहीँ थिई ।

देखेँ, खै’ के कुरामा परिवारका सबैजना हाँसिरहेका थिए !

देखेँ, पण्डितजी त्यही घरको आसनमा जमेर बसेका थिए ।

हिजोमात्र परिचित मेरो साथीले पण्डितजीतिर देखाउँदै परिचय गराए, ‘उहाँ मेरो पिताजी ।’

‘हँ ? यी पण्डितजी यिनको पिताजी ??’ म छक्क परेर हेरिरहेँ ।

साथीले भने, ‘तपाईँको मीतबा पनि उहाँ नै हो । अर्थात् खरदार साहेब ।’

मैले मीतबा अर्थात् पण्डितजीको चरण छोएर ढोग गरेँ ।

पिताजीले भन्नुभयो, ‘उता तिनीहरू किन हाँसिरहेछन्, थाहा छ तिमीलाई ?’

हाँसिरहेकी बुनू (विजयालक्ष्मी)ले तोतेबोलीमा भनी, ‘कस्तो अचम्मको कुरा ! कमिज लगाइदिने तारिणी दाज्यूको अनि साथी भन्ने सान्दाजुलाई ?’

मुस्कुराइरहने युवतीले भनिन्, ‘म त रेलमै झण्डै मरेकीथिएँ हाँस्दाहाँस्दा ।’

मेरो साथी अर्थात् बीपीले भने, ‘अब तपाईँ र मपनि मीत भयौँ । हिहिहिहि ।’


त्यो परिवारको सान्दाजु अर्थात् मेरो साथीले मुस्कुराउने युवतीको परिचय दिए, ‘यिनी सुशिला हुन् । तपाईँकै दर्जामा पढ्छिन् तर भारत–भारती सस्वर पाठ गर्न सक्दिनन् ।’

त्यतिञ्जेल मैले हिजो रेलबाट लगाउँदै आएको हाफ–शर्टको मालिक आइपुग्यो । आउनेबित्तिकै मलाई जोडसँग अङ्कमाल ग¥यो र उता फर्केर भन्यो, ‘देख्नुभो भाउजु ? मैले भनेको थिएँ नि, मेरो हराएको कमिजले केही खोजेरै फीर्ता आउनेछ । एउटा ‘मुसल्लम मितर’ भेटियो ।’

(तारिणीले पनि मलाई मुसलमान ठान्यो ।)

तुरून्तै मित्रतामा फेरबदल भयो । तारिणीले मलाई जित्यो । मुस्कुराइरहने सौभाग्यवती सुशिला भाउजुलाई भक्तिपूर्वक झुकेर प्रणाम गरेँ । भाउजुले कुनै आशिर्वाद दिनुभएन, हाँसिरहनुभयो ।


सान्दाजु, विश्वेश्वरप्रसाद कोइराला ।

ठूलो दाजु, श्री मातृकाप्रसाद कोइराला । उहाँ काठमान्डूमा हुनुहुन्थ्यो र उहाँको तस्वीर सबै भाइबहिनीहरूको कोठामा झुण्डिएको थियो । सान्दाजुले गर्व र आदरकासाथ भन्नुभएको थियो, ‘हाम्रो ठूलो दाज्यू । यो फोटोचाहिँ पटनाको सदाकत आश्रममा छँदाको हो ।’

माहिलाचाहिँको नाम कोशु दाज्यू । केशवप्रसाद कोइराला । कलकत्तामा पढ्नुहुन्थ्यो । उहाँको चिठी आएको थियो । पार्सलमा रसबरी मिठाई आउँदै थियो ।

सबैभन्दा कान्छो गिरिजाप्रसाद कोइराला जो त्यतिबेला सातआठ वर्षको थियो, उसले यामानको पहाडी घोडालाई नचाइरहेको थियो । त्यत्रो ठूलो घोडा अनि त्यसमा सवार मान्छेचाहिँ यति सानो ?

श्री कृष्णप्रसाद कोइराला समस्त विराटनगरका, समस्त मोरङ जिल्लाका अनि समस्त नेपाल देशका पिताजी थिए । पिताजी, कोइराला निवास, आदर्श विद्यालय ।

गाइगोठजस्तो घाँस र सिठाले बारेको घरमा आदर्श विद्यालयको कक्षा चल्थ्यो । एकपटक कक्षामा बसिसकेपछि मैले निर्णय गरेँ, ‘म यहीँ पढ्छु ।’

पिताजीले मेरो बाबालाई पत्र लेख्नुभयो, ‘रेणुले यहीँ पढ्नेछ ।’

रेणु नाम पनि पिताजीले नै दिनुभएको हो ।

एक दिन उहाँले मलाई सोध्नुभयो, ‘घरमा तिमीलाई के नामले बोलाउँछन् ?’

मैले के भन्नु ? जुन वर्ष मेरो जन्म भएको थियो त्यही वर्ष एउटा ठूलो फौजदारी मुद्दाका कारणले हाम्रो परिवारमा पहिलोपटक रीन लागेको रहेछ । त्यसैकारण मेरी बज्यैले मलाई प्रेमसाथ रिनवाँ (ऋणवाँ) भनेर बोलाउँथिन् । रिसाएको बेलामा बाबाले पनि यही नामले बोलाउनुहुन्थ्यो । गाउँका मानिसहरूलेचाहिँ यही नामलाई यथासक्य मधुर बनाउँदै रनवाँ, रूनु, रूनुक, रीनू भनेर बोलाउँथे । यदि त्यो मुद्दा पहिलो फौजदारी भएको भए मेरो नाम निश्चय नै फौजदार हुनेथियो होला ।


मैले माथिका नामहरूलाई सक्दो सुधारेर भनेँ, ‘राणा भनेर बोलाउँछन् ।’

मेरो कुरा सुनेर वरिपरि भएकाहरू सबै गलल्ल हाँसे । मेरो साथी तारिणीले भन्यो, ‘यो राणाशाही यहाँ चल्नेछैन ।’

पिताजीले भन्नुभयो, ‘ल यसको नाम अब रेणु भयो ।’

यही नाम रह्यो । यो नाम र लामो कपाल भएको बेलामा धेरैपटक म लज्जित पनि बन्नुपरेको थियो ।

त्यस समयपछि लगातार तीन महिनासम्म म आफ्नो गाउँमा आजसम्म बसेको छैनँ ।

१९३५ देखि १९४२ सम्म पिताजीको सहज स्नेहको अधिकाँश मलाई मिलिरह्यो । आश्रमजस्तो कोइराला निवासमा मेरा सारा महत्वाकाँक्षालाई सहारा मिल्यो । साहित्य, राजनीति र कलाको त्रिवेणी कोइराला निवास । जहाँ गएपनि मेरो मन विराटनगरमै हुन्थ्यो । बाहिर कतैबाट फर्केर म सिधै विराटनगर पुग्थेँ । मेरो यस्तो व्यवहारले मेरा बाआमाले कहिलेकाहीँ दुःख पनि मान्नुहुन्थ्यो ।

मैले देखेको छु, कोइराला निवासको एउटा साँघुरो कोठामा नेपालको मुक्तिको परिकल्पना नयाँ ढँगबाट गरिएको थियो । शहीद शुक्रराज जोशीआदिको हत्याको आवाज यही कोठाबाट निस्केर भारतीय पत्रहरूमा छापिएका थिए । ‘जनता’मा नेपालको चिठी छाप्ने योजना पनि बनाइएको थियो । अनि विश्वेश्वरप्रसाद कोइरालाका उम्दा कथाहरूको रचना पनि त्यही सानो कोठामा भएको थियो । मैले दुनियाका सबै राम्रा र प्रसिद्ध लेखकहरूको सम्बन्धबारेका चर्चा पनि त्यहीँ सुनेको हुँ । ती लेखकहरूको पुस्तक पनि त्यही कोइराला निवासमै पढ्ने अवसर पाएको हुँ । ती दिनहरूमा विजया जसको उमेर पाँच वर्षको हुँदो हो, एउटा किताबको नाम खुब रट्ने गर्थी, ‘नो पासाराँ, नो बागाराँ ।’

सानीआमा श्रीमती दिव्या कोइराला सबैसँग भन्नुहुन्थ्यो, ‘मेरा पाँच हैन छः छोराहरू छन् ।’

सन् १९५० को तिहारको झिलीमिली रात । 

जय नेपाल ! 

मुक्ति सँग्रामका सिपाहीहरूले बन्दुकको ट्रिगर दबाए । फस्र्ट राउण्ड गोली थ्रीनटथ्रीबाट निस्केको थियो । मैले देखेको थिएँ, मलाई देखेर नेपाल मेरी सानीआमा स्वर खोलेर हाँसेकी थिइन्,

‘तिमी पनि आएको ? तिमी पनि ? यो फौजी बर्दीमा ?’

‘सान्दाजुलाई हेर्नुहोला । मलाई के हेर्नुहुन्छ ?’

पुर्बको कमाण्ड बीपी कोइरालाको । कलम हैन उहाँको हातमा दामी बन्दुक थियो । एकसाथ डेढसय गोली निकाल्ने बन्दुक ।

टट्टठायँ ...... टट्टठायँ .....

‘बिकू ? सुतेर भाइ सुतेर ।’

राणाशाहीले स्टेनगनले जवाफ दिइरहेको थियो, ट–ट–ट–ट–ट टटटटट ट–ट–टट 

‘बिकू ? तिमीसँग गोलीहरू छन् ? गिरिजालाई देऊ ।’

कोइराला निवासमै हुर्केबढेको बीपीको छेमाको छोरा बिकूलाई गोली लाग्यो । उसको साथमा म थिएँ । गिरिजा पनि थियो ।

‘टटठायँ .... टटठायँ .... ।’

‘जय नेपाल ! जय नेपाल !!’

राणाशाही स्टेनगन चुप लाग्यो ।


बाग्मतीको किनारमा एउटा फोहोर धर्मशालाको कालकोठरीमा नेपालका पिताजीले बन्दी अवस्थामै मृत्युलाई अँगाल्नुपरेको थियो । भारतका बापू आगा खाँको राजभवनमा बन्दी थिए । अनि नेपालका पिताजी त्यस्तै  अत्याचार भोग्दै नेपालमा नजरबन्दी थिए । भारतीय मुक्तिसँग्रामका लागि आफ्नो देशमा यसरी शहीद हुने दोस्रो उदाहरण मैले आजसम्म थाहा पाएको छैनँ ।

मेरो छेउमा ढल्केर राणाशाहीको विरूद्धमा फायरिङ गरिरहेको त्यस सुकुमारको अनुहारमा मैले पिताजीको आत्माको झलक देखेको थिएँ । गिरिजाको अनुहारमा । पिताजीको सबैभन्दा कान्छो छोरा, हाम्रो प्यारो कान्छो भाइ .... । 

‘रेणु दाज्यू, जेलमाथि विजय । मालअड्डा बजारमाथि विजय । अमिनी .... सबैमाथि विजय ।’ गिरिजाले सुनाउँदैथियो । उता बिकूले भनिरहेको थियो, ‘रगत थामिएन । केही लुगा छ भने दिनोस् घाऊमा बाँध्नका लागि ।’

राणाशाही स्टेनगनले फेरि आगो ओकल्न थाल्यो । मुक्ति सँग्रामका सिपाहीहरूले त्यसको जवाफ दिएनन् ।  गोरिल्ला लडाइँको नियम नै खास अलग हुन्छ ।

विराटनगरका प्रत्येक घरमा क्रान्तिको झण्डा फर्फराउन लाग्यो । बडाहाकिम उत्तमविक्रम राणाले आफ्नो घरलाई नै युद्धको किल्ला बनाएका थिए । मुक्ति सेनाले विराटनगरका मिलहरूमाथि कब्जा गरिसकेको थियो । दुईओटा जूट मिल, एउटा सुती कपडाको मिल अनि एउटा सलाईको फ्याक्ट्री र हाईड्रो ... । शहर खाली गर्ने योजना पनि चलिसकेको थियो ।

मैले काशीमा गएर बस्नुभएकी सानीआमालाई चिठी लेखेँ, ‘बिकूलाई हवाईजहाजबाट पटना लगिएको छ । चोट सामान्य छ ।’

यसपाली विजयादशमीमा विशेष प्रणाम पठाउने समयमा मैले सानीआमाको तस्वीरलाई गहिरो ध्यानले हेरेँ । यस्तो लाग्यो, मानौँ उहाँले सोधिरहनुभएको छ, ‘हो कि हैन ? तिमीले नै त भनेको थियौ महाराजा कवि अनि प्रधानमन्त्री कथाकार ...। सँसारमा यसखालको जोडी अत्यन्तै कम पाइएको छ । साहित्यिकहरूको हातमा एउटा देशको जिम्मेदारी छ । आफ्नी सानीआमा र नेपालको सम्झना तिमीलाई अझैपनि आउँछ ?’

कुनै जवाफ मनमा फुरेन । 


(‘ज्योत्स्ना’ नोभेम्बर १९६१ मा प्रकाशित तथा रेणुको आत्मकथाको पुस्तक ‘आत्म—परिचय’मा सङ्कलित)


अनुवाद : जेबी दर्लामी

०००


Featured Post

रापतीका चिराहरू

देउखुरी उपत्यकाबाट देखिएकाे रापती नदी । फोटो : जेबी दर्लामी