गीताञ्जली थापाको जन्म सन् १९८८ को जनवरीमा भारतको सिक्किम राज्यमा भएको हो । उनी त्यही सुन्दर ठाउँमा हुर्किन्, बढिन् । दक्षिण सिक्किममा पर्ने मालाबेसी नामको सानो गाउँमा रहेको डनबस्को स्कूलबाट उनले पढाइ सुरु गरिन् । पछि गान्तोकमा रहेको टाशी नामग्याल एकेडेमीमा अध्ययन गरिन् । उच्च शिक्षा (ग्राजुएसन) भने पश्चिम बङ्गाल राज्यको कोलकाताबाट पूरा गरिन् ।
उनी सन् २०१० देखि अभिनयमा सक्रिय भइन् । अभिनयमा आउनुअघि उनी एक व्यवसायिक मोेडल थिइन् । उनले मोडलिङमा केही पुरस्कार र अवार्ड प्राप्त गरिसकेकी थिइन् ।
उनको पहिलोपटक अभिनय रहेको अँग्रेजी भाषाको लघुफिल्म ‘मिथ’ (२००६) थियो जसलाई प्रशान्त रसाइलीले निर्देशन गरेका थिए । त्यतिबेला उनी विद्यालय तहमै अध्ययनरत थिइन् ।
सन् २०१० मा उनी पहिलोपटक फिचर फिल्ममा देखा परिन् । त्यो फिल्मको नाम थियो ‘टीना की चाबी’ । २०१२ मा ‘आईडी’ नामको फिल्ममा देखा परिन् । त्यो फिल्मले उनलाई विभिन्न अवार्ड र पुरस्कारहरू जितायो । जस्तै, बेस्ट पर्फर्मेन्स (लस एन्जलस फिल्म फेस्टिवल, २०१३) र बेस्ट एक्टे«स (इम्याजिन इण्डिया अवार्ड– म्याड्रिड फिल्म फेस्टिवल, २०१३) ।
गीताञ्जलीले त्यसपछि सन् २०१३ मा ‘मनसुन शूट आउट’ र ‘द्याट डे आफ्टर एभ्री डे’ नामका दुईओटा फिल्ममा अभिनय गरिन् । त्यही वर्ष नै उनको मुख्य भूमिका रहेको एक अर्को फिल्म खुबै चर्चित भयो । त्यसको नाम हो, ‘लायर्स डाइस’ । यस फिल्ममा उनीसँग अर्का प्रसिद्ध कलाकार नवाजुद्दिन सिद्दिकी थिए । यस फिल्मले गीताञ्जलीलाई राष्ट्रिय रुपमा चिनायो र विभिन्न अवार्डहरू दिलायो । उनले यसै फिल्मबाट ‘नेशनल फिल्म अवार्ड फर बेस्ट एक्टे«स’ अवार्ड जितिन् । यही फिल्मबाटै उनले न्यूयोर्क इण्डियन फिल्म फेस्टिवलमा ‘बेस्ट एक्टे«स अवार्ड’ पनि प्राप्त गरिन् ।
२०१४ मा उनको मुख्य भूमिका रहेको बहुभाषा (हिन्दी, उर्दु, अँग्रेजी र जर्मन) को फिल्म ‘टाइगर्स’ रिलिज भयो । यो फिल्ममा विभिन्न देशका कलाकारहरूले अभिनय गरेका थिए । यस फिल्मले सोही वर्षको टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा प्रदर्शन हुने मौका पायो । यसमा पनि गीताञ्जलीको कामलाई धेरैले रुचाए ।
२०१६ मा उनी अभिनित दुईओटा फिल्म आए जसको नाम ‘ल्याण्ड अफ दि गड्स’ र ‘ट्रयाप्ड’ थियो । २०१८ मा त उनका तीनओटा फिल्म प्रदर्शन भए । तिनका नाम ‘कुछ भिगे अल्फाज’, ‘पेन्टिङ लाइफ’ र ‘बाइस्कोपवाला’ थिए । २०१९ मा रिलिज भएको ‘स्टे« डल्स’ का लागि उनले ट्रिबेका फिल्म फेस्टिवलमा ‘स्पेशल जूरी मेन्सन अवार्ड’ प्राप्त गरिन् ।
सन् २०२० मा उनले एक लघु फिल्ममा काम गरिन् । त्यसको नाम थियो, ‘फ्राइड लाइन्स’ । यसैगरी उनले नेटफ्लिक्समा प्रसारित वेबसिरिज ‘सेक्रेड गेम्स’ को सिजन वन (२०१८) मा पनि काम गर्ने अवसर प्राप्त गरिन् ।
उनले अभिनय गरेको फिल्म ‘आईडी’ बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा पहिलो प्रदर्शन भएको थियो । ‘मनसुन शूटआउट’ ले एक अर्को प्रसिद्ध फिल्म महोत्सव कान्समा प्रदर्शित हुने अवसर प्राप्त ग¥यो र अन्तर्राष्ट्रिय रुपमा चर्चा कमायो ।
‘द्याट डे आफ्टर एभ्री डे’ एक लघुफिल्म हो । यसलाई निर्देशन गरेका थिए प्रसिद्ध भारतीय निर्देशक अनुराग कश्यपले । यसमा उनले अभिनेत्री राधिका आप्टेसँग अभिनय गर्ने अवसर पाइन् । यो फिल्म युट्युबमा रिलिज भएको एक हप्ताभित्रै ६ मिलियन (६० लाख) दर्शकले हेरेका थिए ।
पछिल्लो समय गीताञ्जली थापाले नेपाली फिल्ममा पनि अभिनय गरिन् । दुईसय वर्षभन्दा अघिको सामाजिक र कानुनी प्रचलनमा आधारित प्रसिद्ध लेखक इन्द्रबहादुर राईले लेखेको ‘जार’ शीर्षकको कथामा बनेको फिल्ममा उनले अभिनय गरिन् । यहाँ पनि उनको अभिनयलाई निकै रुचाइयो । यसै फिल्मबाट उनी नेपाली दर्शकमाझ राम्ररी परिचित भइन् ।
०
जेबी दर्लामीको सम्पादनमा ४५ जना विभिन्न कीर्तिमानी मगर महिलाको संक्षिप्त परिचय समेटिएको पुस्तक ‘मगरातका छोरीहरू’ बाट साभार ।


2 comments:
Gajjab JB Jee. I watched film. Enjoyed.
Thank you sir
Post a Comment