Total Pageviews

02 April, 2026

सिक्किम अनुभूति



      

Sikkim Tour

        सन् २०२३ को अक्टोबर ०३, मंगलबार ।

नेपालको सरकारी कामकाजमा चल्ने मिति अनुसार त्यो दिन परेको थियो २०८० साल असोजको १६ गते । त्यो रात बार मात्रै मङ्गल परेको थियो, सिक्किमेली र प्रत्येक ठाउँमा दुख्ने मानवताका लागि भने अमङ्गलको रात भइदियो । त्यस रात सिक्किमको राजधानी गान्तोकबाट पश्चिमोत्तरमा लगभग नेपालको सीमामै रहेको ‘साउथ ल्होनाक’ ताल एक्कासी फुट्यो । 

हुन त त्यो एक्कासी नै फुटेको चाहिँ होइन । पर्यावरणविद्हरूले पटक–पटक चनाखो तुल्याइरहेका थिए कि यो ताल छिट्टै भत्कन गइरहेको छ । थुप्रै केस स्टडीहरू पनि भएका थिए त्यस तालउपर । विश्वव्यापी जलवायु परिवर्तनको खास असर हिमाल र समुद्रमा देखिँदै आइरहेको अवस्थामा यो मात्र होइन, हिमालय क्षेत्रका अरू पनि थुप्रै हिमतालहरू लगभग अब फुट्ने र लोप हुने खतरामा छँदैछन् । यो ताल त्यसरी फुट्नु हामीजस्ता औसत मान्छेका लागि त अचम्मलाग्दो घटना थियो तर, यही क्षेत्रमा लगातार काम गरिरहेका र आवाज उठाइरहेकाहरूका लागि भने कुनै अनौठो घटना थिएन । यो घटनाले यसप्रकारका प्राकृतिक विपदहरूलाई अग्रिम कदम उठाएर कम गर्न सकिन्थ्यो भन्ने कोणबाट बहसको जन्म भइदियो । यस्तो गम्भीर मुद्दामा राज्य र सरकारले ध्यान नदिएको तर्क पनि प्रशस्तै सुनियो । 

    लगातार वर्षा भइरहँदा पानीको सतह धेरै माथि आयो र त्यसले तालको डिल भत्कायो । त्यसले आधी रातमा बाढीको रुप लियो । त्यो भयानक बाढी केही मिनेटभित्रै टिस्टा नदीमा पस्यो । त्यसले चुन्थाङनिर टिस्टा नदीमा बाँधिएको तेस्रो नम्बरको बाँधलाई क्षतविक्षत हुनेगरी भत्काइदियो । बाढीको बेग थपिँदै तल–तल बग्दैआउँदा त्यसले आफूसँगै धेरैथोक बगायो । मानिसहरूलाई पनि बगायो । 

    अर्को दिन समाचारमा हामीले नेपालमा पनि सुन्यौँ पढ्यौँ, २० जना सर्वसाधारण र २३ जना सैनिक बाढीमा परी हराएका थिए । टिस्टा नदीको ठाउँ–ठाउँमा विद्युत उत्पादन प्रयोजनार्थ बनाइएका थुप्रै कृत्रिम जलाशयहरू भत्किएका थिए । सडकहरू खोलाले तानेको थियो । घर, पसल लगायतका संरचनाहरू थुप्रै–थुप्रै बगाएको थियो । 

सिक्किम प्रोजेक्ट डट ओआरजीको नोभेम्बर २५, २०२३ को अंकमा ‘टिस्टा अब बग्दैन’ शीर्षकको शोधलेखमा अर्चना पाठक र रिचार्ड सेनले लेखेका छन्,

‘विपत्तिलाई प्राकृतिक भन्नु गलत हुनेछ बरु यो विकास र वृद्धिको नाममा पहाडलाई निरन्तर खोक्रो बनाइनुको परिणाम हो । भारतको बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्न मेगा इन्फ्रास्ट्रक्चरको सिर्जनामार्फत् मानवीय हस्तक्षेपले हिमालय क्षेत्रमा सबै दुःखद् परिणामहरू निम्त्याइरहेको छ ।’ 

त्यही वेबसाइटमा अक्टोबर २४, २०२३ मा मोना क्षेत्री लेख्छिन्, ‘बाढीको पानी सिङ्तामको उपत्यका बस्तीसम्म पुग्न १ घण्टा ४० मिनेट मात्र लागेको थियो । सिङ्तामदेखि पश्चिम बङ्गालको मेल्ली नजिकैको किर्नेसम्म ३६ मिनेट र मेल्लीदेखि टिस्टा बजारसम्म ३० मिनेट । बाटोमा यसले सिक्किमको मङ्गन, गान्तोक, पाक्योङ र नाम्ची जिल्लाहरूमा ठूलो क्षति पुर्यायो । टिस्टा (नदी) पहाडबाट तल ओर्लिएपछि यसले मानिस, घर, पुल र आफ्नो बाटोमा पर्ने सबै कुरा लग्यो ।’

    सन् १९६८ मा पनि सिक्किममा अक्टोबर महिनामै ठूलो झरी लागेको इतिहास छ । अन्तिम चोग्याल (राजा) पाल्देन थोण्डुप नामग्यालको शासनकालमा । यस्तै मितिमा अर्थात् यही महिनाको दुई देखि पाँच तारिखको बीचमा । झण्डै ६० घण्टाको अविरल झरीले टिस्टा नदी उर्लिएको, ठाउँ–ठाउँमा पहिरो गएको, पहिरोले घर, सडक र पुलहरू बगाएको दुःखद कथा छ । त्यो भेलबाढीमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो । यसपटकको यो बाढी मानवीय क्षतिका हिसाबले त्यसपछिको दोस्रो रहेछ ।

   

    लासहरू भेटिने क्रम चल्यो । नेपालबाट गएका नेपालीहरू पनि परेका थिए केही । कोही ज्यूँदै सम्पर्कमा आए । कोही आजसम्मै हराइरहेका छन् ।

हिमालखबर डट कमले पछिल्लो अद्यावधिक समाचार लेख्यो, २५ असोज २०८० मा, ‘करिब ४८ जनाको ज्यान गएको छ । सयभन्दा बढी हराइरहेका छन् ।’

हिन्दुस्तान टाइम्सले ८ अक्टोबर २०२३ मा आफूलाई अपडेट गरायो, ‘कम्तीमा ५५ जनाको ज्यान गयो, १४१ जना अझै हराइरहेका छन् । हराइरहेकामध्ये १४ जना सैनिकहरू हुन् ।’

एउटा संयोग कस्तो रह्यो भने यस घटनाको ठिक एक वर्षअघि हामी यही दिन सिक्किम पुगेका थियौँ । अर्थात् २०७९ सालको असोज १६ गते । राति करिब एघार बजेको समयमा सिक्किमको राजधानी गान्तोक ओल्र्हेका थियौँ हामी । अँग्रेजी मिति थियो २ अक्टोबर, २०२२ । 

सिक्किमबाट फर्केर यात्रा संस्मरण लेख्ने सुर गर्दागर्दै एक वर्षको समय हातबाट निक्लेछ । कति चाँडै गएछन् आफ्नै दिन । गान्तोकको इन्चे मोनास्ट्री उक्लँदैगर्दा एकैछिन ट्याक्सीलाई पर्खन भनेर एउटा सानो नोटबूक र कलम किनेको थिएँ । त्यही नोटबूक र कलम मैले सिक्किम यात्राभर प्रयोग गरेँ । नेपाल फर्केर पनि त्यो नोटबूकमा लेखेँ । त्यही कलमले लेखेँ । तर अचम्म, ८० पृष्ठको यो नोटबूक भरिन अझै एक चौथाई बाँकी नै छ । सेलो ग्रिपर ०.५ बलपेनले पनि अझैसम्म लेख्दैछ । यही कलम मैले धेरै खोजी गरेँ नेपाल आएर तर पाइनँ । लेख्न यति सजिलो कलम सित्तिमित्ति भेटिएको थिएन, छैन । 

यही सानो नोटबूकको आधारमा अर्को ठूलो नोटबूकमा सिक्किम यात्राको विस्तृत वर्णन गर्न कस्सिएँ । अचेल लेख्ने बानी हराएर होला, एक दुई पाना लेख्दै हात कर्करी दुख्न थाल्छ । हातले लेख्नुपर्ने लेखिसकियो अब ल्यापटपमा लेख्नुपर्ला भनेर सोँचेको थिएँ । सिक्किम यात्राको अनुभव छिट्टै प्रकाशन गर्नुपर्ला भनेर पनि सोँचेको थिएँ । यात्रामा यति धेरै मधुर अनुभव बटुलिएको थियो कि त्यही वर्षभित्रै यसलाई पोख्न मन लागेको थियो । सोँच्दासोँच्दै र लाग्दालाग्दै दिन रात कति चाँडो बितिगएछन् । के–के भयो, भयो । सोच आजसम्मै अधुरै रह्यो । 

त्यहीबीच मेरो आधा–अधुरो उपन्यासलाई पूरा गर्नु थियो । त्यही काममा पनि अल्झिनुपर्यो । उपन्यास ‘मारीखोलाको ढुङ्गो’ शीर्षकमा नेपालयबाट २०८० सालको चैतमा प्रकाशित भइसकेको छ । 

यसपाली टिस्टाको डरलाग्दो बाढीले सिक्किमलाई त हल्लायो नै, मलाई पनि बेस्सरी हल्लायो । आफ्नो अल्छीपनमाथि आफैले कटाक्ष गर्न मन लाग्यो । अब यसरी हुँदैन, हुँदै हुँदैन भनी आफैलाई चिमोट्न मन लाग्यो । र फेरि यसरी कस्सिएँ लेख्न । लेखिसकेका अक्षरलाई थप जीवन दिन । 

अर्को दुःखद संयोग, दार्जीलिङको घुम पहाडमा जन्मिएकी, नेपाली संगीत क्षेत्रमा घुमभन्दा अग्ली पहाड त्यही रात ढलेको खबर सुन्यौँ, पढ्यौँ । कसले पढेको छैन होला ‘मेलोडी मून’ दिलमाया खातीको नाम ? कसले सुनेको छैन होला त्यो मधुर कर्णप्रिय स्वर ?

विछोडको पीडा नसकी खप्न दसैंको बेलामा

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा 

.....

यस्तो कालजयी गीतमा स्वरसम्राट नारायणगोपालसँग स्वर भरेकी उनै दिलमाया खाती । हरेक वर्ष दसैंको छेकमा यो गीत खुब सुनिन्थ्यो रेडियो नेपालमा । हामी सानै छँदाको कुरा । एफएमहरू नजन्मँदैको कुरा । यिनै सदावहार गायिका यो वर्षको दसैँ आउनुभन्दा ठिक २२ दिनअघि हामीबाट विछोड भइन् । यही वर्ष असोज १६ गते राति ८४ वर्षको उमेरमा पश्चिम बङ्गालको सिलगढीको एक अस्पतालमा उनी जीवनले अस्ताइन् तर, उनको जीवनी भने युगौँयुग अजर अमर रहनेछ ।

डाँडा छ साक्षी के दिन र राति निद छैन आँखामा

मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा 

उता सिक्किममा ल्होनाक ताल भत्कियो, यता दार्जीलिङमा दिलमायाको भौतिक देह । भत्कनुसँग जोडिएको पीडा दुवैतिर बराबर थियो । नेपालतिर पनि, भारततिर पनि । 


अब थोरै अर्को प्रसङ्ग ।

यसै वर्ष (२०८०) को असार महिनामा काठमाडौंबाट पछि लागेर कुकुरको एउटी छाउरी बुटवल आइपुगी । हाम्रो घरमा । भर्खर ३ महिना जतिकी थिई । वर्णसंकर । गोल्डेन शेफर्ड । यति चलाख, यति ज्याद्रो कि एकैछिन थपक्क बस्नै नसक्ने । हामीसँग खेल्दाखेल्दै पनि कतै छिसिक्क आवाज आउनै नहुने, भुकिहाल्ने । चेनगेटमा त कसैले छोयो कि पुग्यो । माथिल्लो तलाबाट गोलीझैँ छुटेर पुगिहाल्ने । चिनजानको परे त ठिकै छ नत्रभने भुकेर कालिकानगर उचाल्ने । घरका मान्छेहरूलाई पनि जिस्कँदाजिस्कँदै टोकटाक पारिदिने । कहिले त घाउ पनि बनाइहाल्ने । 

लुसी हुँदै नाम लेक्सी रहन गयो । यही सालको दसैंको लामो विदामा केटकेटीसँगै लेक्सीलाई पनि लिएर हामी पहाड गयौँ । बजारको साँघुरो घर कम्पाउण्डमा नअटाइ–नअटाइ खेल्न अभिशप्त लेक्सी, जब गाडीबाट ओर्लेर गाउँ जाने पैदल बाटो समात्यौँ, कति खुसी भई–भई । दगुर्ने, स्याँस्याँ गर्ने, उफ्रने, बाटोका छेउछाउ झाडीतिर फालिएका दालमोठ, गुट्खा, चाउचाउ आदिका प्लास्टिकहरू सुँघेरै पत्ता लगाइदिने । 

घर पुगेपछि झन् त्यसको खुसीले सबै सीमा नाघिदियो । त्यहाँका हरेक कुरा उसका लागि नयाँ थिए । त्यहाँको पानी, त्यहाँको बतास । त्यहाँको घर, गोठ, भान्साकोठा । कुखुरा र बाख्राहरूलाई त झन् उसले पहिलोपटक देख्दैथिई आफ्नो जीवनमा । कति खुसी भई । कति उफ्री । कुखुराहरूलाई लखेटेर हाराबारा पारी । खोरका बाख्रा र गोठमा बाँधिएको पाडालाई देखेर भुक्नुसम्म भुकी । दुई तीन दिन त्यहाँ बस्दा पनि उसको लागि त्यो परिवेश नौलो नै थियो । हरेक कुरालाई ध्यान दिएर हेरी, सुँघी । कहिले डराई । कहिले अचम्ममा परी । यसपालीको गाउँ यात्रामा हामीलेभन्दा बढी लेक्सीले रमाइलो गरी, रमाइलो समय बिताई ।

त्यसपछि ऊ हामीसितै बुटवल फर्की । उही साँघुरो बासस्थलमा । 

तर, यसपाली ऊ आफू मात्रै फर्केकी थिइन, ऊसित एक गम्भीर स्वभाव पनि सँगै आएको थियो । तीन चार दिनसम्म त हिँडाई र दौडाईको थकानले होला, खुब सुती । खुब निदाई । त्यसपछि उसको पहिलेको जस्तो चञ्चलता फेरि फर्केर आएन । ऊ अब गम्भीर भएकी थिई । हामीले बोलेका हरेक कुरा बुझ्न थाली । ‘सुत्’ भन्दा पहिले हातमा झुण्डिन आउँथी, अब खुरुक्क आफ्नो ओछ्यानमा गएर पल्टिन थाली । ‘माथि जा’ भन्दा माथि जान थाली, ‘तल जा’ भन्दा तल । 

त्यो छोटो समयको गाउँको यात्राले, नयाँ ठाउँको यात्राले उसको हाउभाउ र बानीबेहोरामा पूरापूर परिवर्तन ल्याइदिएको थियो । यो सबै हुनुको कारण त्यही यात्रा थियो । हामीले यही महसुस गर्यौँ, यात्रालाई हामीलेभन्दा बढी लेक्सीले आत्मसात गरिछे ।

एउटा पशु भनिने प्राणीलाई त यात्राले यसरी फरक पार्दोरहेछ । हामी त चेतनशील भनिने प्राणी । हामीलाई झन् कति फरक पार्छन् होला यात्राहरूले । तर, शर्त यति मात्रै हुन्छ होला, कमसेकम आफ्नो यात्रालाई लेक्सीले जत्ति सम्पूर्ण रुपले आत्मसात गर्नुप¥यो । आफ्ना सबै ज्ञानेन्द्रियले नयाँ ठाउँलाई अनुभूत गर्नुपर्यो । त्यहाँको धरातल छुनुपर्यो, त्यहाँको हावापानी र माटोलाई सुँघ्नुपर्यो, त्यहाँको पर्यावरणलाई चिन्नुपर्यो या चिन्ने कोशिस मात्रै भएपनि गर्नुपर्यो र त्यहाँका मानिस र समग्र चराचर जगतको भावनालाई छाम्न सक्नुपर्यो ।


सिक्किम यात्राको एक वर्षपछि त्यो बेलाको अनुभव लेख्न बसिरहँदा ममाथि पनि त्यो चुनौती आइलागेको छ । पहिलो चुनौती त यतिका लामो समयपछि त्यो यात्रालाई पुनः अनुभूत गर्न सकेँ या सकिनँ भन्ने नै छ । दोस्रो, मनलाई छुन आउने अनुभूतिलाई लेखनमा न्याय दिन सक्छु कि सक्दिनँ भन्ने छ । 

दक्षिण ल्होनाक ताल फुटेपछि हाम्रो मानसिक अवस्थामा त्यसले पारेको प्रभाव आफ्नो ठाउँमा छ । नेपालमा पनि त्यसले वातावरणीय बहस केही मात्रामै सही उठाइदिएको छ । केही मिडियाले यसबारेमा छलफल श्रृङ्खला चलाएका छन् । भर्खरै अर्थात् यही २०२३ को अक्टोबर २९ (२०८० कात्तिक १२) मा चारदिने औपचारिक भ्रमणमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आए । फर्कनुअघि नेपाली संसदमा केही मिनेट बोले । उनको चासोमा नेपालको शान्तिप्रक्रिया त छँदैथियो, जलवायु परिवर्तन पनि मुख्य थियो । उनैले हामीलाई सम्झाए, बितेका पछिल्ला ३० वर्षमा नेपालले एक तिहाई हिमनदी गुमाएको छ । हाम्रो लागि कति शर्मनाक कुरो । आफ्नो गुमेको चिज पनि अरू कसैले भनिदिनुपर्ने देखाइदिनुपर्ने । हामी आफैले देख्न नसक्ने । के हाम्रो विवेकमा अब भ्वाङ परेकै हो ? हुन त नेपालको जलवायु परिवर्तनमा शक्तिराष्ट्रहरूको होडबाजीलाई दोष दिने गरिन्छ । केही हदसम्म यो सत्य होला । तर, त्यसो हुनुको जिम्मेवार हामी पनि कम चाहिँ छैनौँ । गएका केही दशकमा हामीले चुरे क्षेत्रलाई जसरी बर्बाद पारेका छौँ, त्यसलाई नियाल्ने हो भने हामी हुँडार र माउखानेको झुण्डभन्दा कम हिंस्रक देखा पर्दैनौँ ।

हामी आफूले जानी नजानी निम्त्याइरहेका प्रकोपहरू त आउनै बाँकी छन् । हाम्रो वशमा नभएका प्राकृतिक समस्याहरूबाट पनि हामी प्रताडित नै भइरहेका छौँ । २०७२ साल वैशाखको महाभूकम्पको घाउ निको अझै भइसकेको छैन । फेरि हामीले अर्को भूकम्प सहनुपरेको छ । सिक्किमको दर्दनाक घटनाको ठिक एक महिनापछि नोभेम्बर ३, २०२३ (२०८० कात्तिक १७ गते) को राति नेपालको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गयो । (भूकम्प खासमा आउँछ कि जान्छ ? यो प्रश्नको जवाफ मैले आजसम्म पाउन सकेको छैनँ ।) यो भूकम्पमा परी डेढसयभन्दा बढीको ज्यान गयो, सयौँ अरू घाइते भए । यति लेख्दालेख्दै म सिक्किमेली जनताको दुःखमा हाम्रो पनि दुःख उस्तै छ भनी देखाउन चाहेको छु । हामी एउटै खुकुरीको धारमा टेकेर हिँडिरहेका छौँ भनी स्मरण पनि गराउन चाहन्छु । कोविडजस्तो घातक महामारीले पारेको विश्वव्यापी प्रभावमा हामीले सँगै भोगेको सास्तीको कुनै हिसाब छैन । 

प्रत्येक प्राकृतिक विपत्तिपछि हाम्रो बास भुइँमा किन हुन्छ ? बहुतले घर भएकाहरू पनि किन त्रिपाल टाँगेर धुलोमा सुत्न आउँछन् ? यो प्रश्न बडो गम्भीर लाग्छ मलाई । यसको उत्तर यही होला भन्ने लाग्छ, हामी प्रकृतिबाट धेरै टाढा जान खोजेका छौँ । हामीले आफ्नो धरातल बिर्सेका छौँ । धरातल अर्थात् भुइँ । भौतिक विकास, सुख, सुविधा र लोभ, लालच, ईष्र्याले हामीलाई रोगी बनाइरहेको छ । बेला–बेलामा आउने भूकम्प लगायतका यस्तै विपत्तिहरूले हामीलाई हाम्रो वास्तविक औकात सम्झाएर जान्छन् । हामी को हौँ र हामीले गर्नुपर्ने के हो, बुझाएर जान्छन् । हाम्रो भुइँ देखाइदिएर जान्छन् । हामीलाई प्रकृति र प्राकृतिक व्यवहार नछाड्न भनेर जान्छन् । हामीलाई आफू हुनुपर्ने ठाउँ बताइदिएर जान्छन् ।

बिहानी घामको पहिलो किरणले दिनभरिको छनक दिन्छ भन्ने आहान छ । सुरुआतबाटै पढ्दै हुनुहुन्छ भने पाठकले पक्कै मेरो यो यात्रा संस्मरण कस्तो हुनेवाला छ भन्ने थाहा पाइसक्नुभयो होला । तपाईंले थाहा पाएको कुरा ठिक हो । यो संस्मरण खाली सिक्किम यात्रासित मात्र सम्बन्धित रहनेछैन । त्यससँगै टाँसिएर आउने अनेकन् प्रसङ्गहरू पनि यहाँ समावेश हुनेछन्, भएका छन् । एकप्रकारको स्वच्छन्दता यो संस्मरणमा पाठकले पाउनुहुनेछ । लेखकीय स्वच्छन्दता । चाहनुभएमा मेरो उन्मुक्त उडानमा सहभागी बन्न सक्नुहुनेछ । यो उडानमा सुरक्षित तवरले अवतरणसम्म तपाईंलाई लैजाने मेरो प्रयास रहनेछ ।

यो संस्मरण लेखिरहँदा धेरैपटक विश्राम लिएँ । धेरैपटक अल्छी गरेँ । धेरैपटक सुस्ताएँ । तर बेला–बेलामा भत्किरहने आफूभित्रैको ल्होनाक तालले मलाई लेख्न प्रेरित गरिरहे । विभिन्न समयमा घटिरहेका सिक्किम र नेपालबीचका घटनाहरूले पुनः कलम समात्न बाध्य बनेँ । निरन्तर लेखिरहन विवश भएँ ।

त्यस्तै खालका दुईओटा घटना यो यात्रा संस्मरण लेख्दैगर्दा घटित भए । एउटा सुखद्, अर्को दुःखद । दुवै घटना नेपाल र सिक्किमसँग जोडिएको । 

सुखद घटना थियो, सिक्किमेली कवि नीलम गुरुङ पहिलो नेपाली पोयट आइडल बनिन् । नेपालमै पहिलोपटक आयोजना गरिएको कवितासम्बन्धी यस्तो खालको रियालिटी शोमा सिक्किमबाट आएर पहिलो उपाधि जित्नु चानचुने कुरा थिएन । यसमा सिक्किमेली जनता त खुसी भए नै होलान्, नेपाली पनि रमायौँ । यो थियो वि.सं. २०८० सालको पहिलो महिनाकै कुरा । अर्थात् सन् २०२३ को अप्रिलमा । 

त्यही सालको डिसेम्बर ३० मा नेपालबाट घुम्न गएकी व्लगर उमा चाम्लिङ राईलाई सिक्किम प्रहरीले पक्राउ गर्यो । उनीमाथि राजनीतिप्रेरित वक्तव्यबाजी गरेको र साकेला मनाउने आह्वान गर्दैै सिक्किमको समाजलाई ध्रुवीकरण गरेको अभियोग लाग्यो । सन् २०२४ को अप्रिलमा सिक्किम विधानसभा चुनाव हुन लागेको परिप्रेक्ष्यमा उनले सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवन कुमार चाम्लिङसित उभिएको फोटो सार्वजनिक गर्दा सिक्किम प्रशासनले शंकाको घेरामा राख्यो ।

तर, दुःखको कुरा यति नै थिएन । जुनसुकै देशको प्रहरीले जुनकुनै व्यक्तिलाई उसले चाहेको बेलामा छानबिन गर्न पाउँछ, हिरासतमा राख्न पनि पाउँछ । दुःखको कुरा त यो थियो कि सिक्किम र नेपालका आम नागरिक दुई खेमामा विभाजित भइदिए । हुँदाहुँदै कुरा एकदमै व्यक्तिगत तहमा झर्न थाल्यो । सिक्किमेली र नेपालीले एकअर्कालाई निकृष्ट भाषामा गालीगलौज गर्न थाले । यस्तो खालको भावनात्मक विभाजन धेरै नमीठो थियो । भूगोलको सीमारेखाले त हामीलाई विभाजित बनाइदिएकै थियो । त्यसले त के फरक पाथ्र्यो र ? मनै विभाजित भएपछि त साह्रै दुःख लाग्दो रहेछ । 

यस्तो समयमा उनै प्रथम नेपाली पोयट आइडल नीलम गुरुङको कविताको एक अंश मलाई पटक–पटक सम्झन मन लागेको थियो, 

ओ काठमाडौं

कसरी दिलाउँ न्याय तिमीलाई ?

जब म आफैं निर्दोष भएर पनि दोषी छु

कसरी लेखुँ तिम्रो सहरको कविता

म त आफ्नै देशमा विदेशी छु

..............................

इब्न बत्तुता को हुन् ? तपाईंले चिन्नुभा’छ ? मैले चिन्दिनँ । मुक्त ज्ञानकोश विकिपिडिया, ब्रिटानिका  लगायत विभिन्न स्रोतहरू भन्छन्, उनी हाल मोरक्कोमा पर्ने स्थानमा जन्मिएका एक विद्वान थिए, लेखक थिए । यात्रा गर्न रुचाउने यात्री थिए । उनको जन्म सन् १३०४ मा भएको थियो । उनले आफ्नो जीवनकालमा पचहत्तर हजार माइलभन्दा बढी यात्रा गरे । हाम्रो छिमेकी देश भारतसम्म पनि आएका थिए यात्रा गर्दै । उनले आफ्नो यात्रा संस्मरण पनि लेखेका थिए, ‘रिहला’ नामको किताबमा ।

अरू कुरा थाहा भएन तर तिनले भनेको भनिएको एउटा कुरा असाध्यै घत परेको छ मलाई,

‘यात्रा भनेको यस्तो कर्म हो, जसले तिमीलाई शब्दविहीन तुल्याइदिन्छ र कथावाचक बनाइदिन्छ ।’


यो कुरा मेरो लागि आश्चर्यचकित तुल्याउन खालको छ,

‘शब्दविहीन कथावाचक’ । 

कस्तो उपमा ! शब्दविनै कथा भन्नु, कथाकार बन्नु !


सिक्किम यात्राबाट फर्कँदा यस्तै विलक्षण र सुन्दर अनुभव हामीले पनि बोकी ल्याएका थियौँ । अबेलै पो भइसकेछ । यसलाई तात्तातै पस्कन सकिएन । केही बासी हुन गएको छ । तर, अनुभूति कहिल्यै बासी हुँदैन भन्ने विश्वासको दलिल पेश गर्न चाहेको छु ।

उनै बत्तुताले भनेका भनिएका थुप्रै अभिव्यक्तिहरू इन्टरनेटमा उपलब्ध रहेछन् । नेट अर्थात् जाल । अब त यो जाल पनि मामा शकुनिकै प्रतीत हुँदै जाँदो छ । एक वाक्य उनै बत्तुताले भनेको भनिएको छ,

‘यो संसार एउटा किताब हो, जसले यात्रा गरेन मानौं त्यसले एउटा मात्रै पाना पढ्यो ।’

यो भनाइ सन्त अगष्टिनको हो भनेर पनि केही ठाउँमा उल्लेख गरेको पाइन्छ ।

बत्तुताको यो अर्को वाक्य, ‘दुनियाँमा कुनै विदेशी भूमि छैन, विदेशी त यात्रा गर्ने यात्री हो ।’

फेरि तिनै बत्तुता बतुराउँछन्, ‘असल क्यामेरा तिमी आफूभित्रै छ अनि मधुर पल क्षणहरू तिमीले बाटो (यात्रा) मा बनाउन सक्छौ ।’

क्यामेरा आविष्कार भएको त सन् अठार सय समथिङतिर हो जस्तो लाग्छ । बत्तुताले तेह्र सय समथिङतिर कसरी ‘क्यामेरा’ भन्न सके ? होइन त यो शकुनिको पासो ?

तर नि, जसले भने पनि माथिका यी कथन अत्यन्तै सुन्दर लागे र यहाँ साभार गरेको हुँ । यात्राबारेका सुन्दर भनाइहरू अनेक भेटिन्छन् । जस्तै कि राल्फ वाल्डो इमर्सन भन्छन्, 

‘हामी सुन्दरता खोज्नका लागि बाहिर निस्कन्छौँ तर, सुन्दरतालाई हामीभित्रै राख्नु जरुरी छ । नत्र हामीले त्यो (सुन्दरता) कतै पाउनेछैनौँ ।’

रोय एम. गूडम्यान चाहिँ यसो भन्छन्, 

‘याद राख, खुसी भन्ने चिज यात्रा गरिरहनुमा छ, कुनै गन्तव्य भेट्नुमा होइन ।’ 

जेमी लिन बेट्टीको यो कुरा पनि उस्तै सुन्दर लाग्छ, 

‘नोकरीले तिम्रो खल्ती भरिन सक्छ तर यात्राले तिम्रो आत्मा भरिन्छ (अघाउँछ) ।’

संसारप्रसिद्ध उपन्यासकार, कवि तथा नाटककार अस्कर वाइल्डले त आदेशकै भाषामा भनेका रहेछन्, ‘कुनै पनि बहाना नबनाइ बाँच अनि कुनै पछुतो नमानी यात्रा गर ।’


बहाना बनाउने र पछुताउने कारण त कति हो कति । नखोजे पनि पाइन्छ । तर, यसपटक भने हामीले बहाना र पश्चात्तापलाई अनदेखा गरेका थियौँ । अचानकजस्तै बनेको थियो सिक्किम घुम्ने योजना । नेपालीभाषीको बाक्लो बसोबास रहेका भारतका पूर्वोत्तर राज्यहरूको कुनै भागमा जाने सोंचेका थियौँ । सिक्किम जाने अन्तिम टुंगो लाग्यो । 

सिक्किम मेरो सपनाको भूमि थियो । त्यहाँ सशरिर पाइला नटेक्दै पनि त्यसका बारेमा धेरै कुरा जानकारीमा थियो । नेपाली मूलको जनसंख्या भएका राज्यमध्ये धेरै समाचार र नेपालमा चर्चा हुने भनेकै सिक्किमको त हो नि ।


यो त्यही सिक्किम यात्राको दुःखसुखको सम्झना हो । 

 ०


(प्रकाशन नभइसकेको सिक्किम अनुभूतिकाे भूमिकाबाट)




No comments:

Post a Comment