Total Pageviews

15 September, 2024

थिरी, भायोलिन र मनि दाइ

 


जेबी दर्लामी


सन् २०१२ तिरको कुरा हो यो ।

मलेसियामा रहेर बसेर केही लेखिरहेका नेपाली लेखकका किताब खोजेर किन्ने पढ्ने क्रममा मनि राई ‘गोठाले’को कथासङ्ग्रह ‘युद्ध समाधि’ हातमा परेको थियो । जम्मा १६ वटा कथाहरू समेटिएको यस सङ्ग्रहका अधिकांश कथाका अधिकांश प्रसङ्ग मैले बुझिनँ । बुझ्दै बुझिनँ । मैले नबुझ्दैमा ती कथा नबुझिने खालका हुन् भन्ने चाहिँ होइन र तपाईंले पनि बुझ्नुहुन्न भन्ने पनि होइन । तर त्यही सङ्ग्रहमा रहेको ‘दिलासाका सिरिञ्जहरू’ शीर्षकको कथाले भने मलाई भित्रै तहमा छोयो । मैले पटक–पटक पढेँ यो कथालाई । कथाभन्दा कुनै भावुक संस्मरणझैँ लाग्ने यो कथा मलाई यति धेरै मन प¥यो कि आफ्नै तालमा रेकर्ड गरी थुप्रै रात सुन्दै निदाएको थिएँ । 

कथाको सार यस्तो छ :

बर्मा (म्यानमार) बाट एउटी युवती आफ्नो पिता जन्मेको भूमिको खोजीमा नेपाल आउँछे । उसको नाम हो थिरी । उसको भेट लेखक (म पात्र) सँग धरानमा हुन्छ । त्यसले ठेगाना लेखिएको कागज देखाउँछे । किरिङमिरिङ देखिने बर्मेली लिपिमा त्यो लेखिएको हुन्छ । अँग्रेजीमा उल्था गर्दा त्यो ठेगाना नाम्जाङ, धनकुटाको हुन्छ । तर, ठ्याक्कै कुन गाउँ केही थाहा हुँदैन । थिरी आफ्नो पितृभूमिमा त पुग्छे तर गाउँघर पत्ता लाग्दैन । हरेस खाएर ऊ यत्तिकै आफ्नो देश फर्कन्छे, बर्मा ।

पछि म पात्रलाई निमन्त्रणा आउँछ थिरीको । ऊ बर्मा पुग्छ र थाहा पाउँछ, थिरी उम्कनै नसक्नेगरी लागुपदार्थको लती भएकी हुन्छे । उसको केटा साथी इनवाले उसलाई लगभग छाडिसकेको हुन्छ । म पात्रको कविताको मर्मलाई थिरीले भायोलिनमा स्वर दिएर बजाउँछे । सारै राम्ररी भायोलिन बजाउँछे थिरी । एकप्रकारको आत्मीयता झाङ्गिदै जान्छ, म पात्र र थिरीबीच । उनीहरू माछा मार्न ईररावदी नदीमा सँगै जान्छन् । सँगै बस्छन्, घुमघाम गर्छन् । उसलाई नेपाल ल्याएर आउने र कुनै सुधारकेन्द्रमा केही समय राख्ने म पात्रको इच्छालाई थिरीले हाँसेर टारिदिन्छे । म पात्र एक्लै फर्कन्छ बर्माबाट । अनि कथा सकिन्छ । कथा सकिन्छ तर थिरीको आगत के भयो ? भन्ने उत्सुकताले पाठकलाई कहिल्यै छाड्दैन । 

त्यही उत्सुकता बोकेर म पनि १२ वर्ष हिँडिरहेँ । थिरीको त्यो पातलो शरीर कहिलेकाहीँ मेरो अगाडि उभिन्थ्यो । लागुपदार्थले सुकेको त्यो ज्यान । ती स्याना पाखुरा कन्याइरहेकी । 

थिरीको पातलो ज्यान, फुक्काफाल व्यवहार र जीवन जगतप्रतिको उसको साक्षी भावले पाठकलाई तरङ्गित गराइरहन्छ । के थिरी वास्तविक पात्र हो ? हो भने ऊ ज्यूँदै होली ? या दुव्र्यसनको दलदलमा भासिएर उसको मृत्यु भइसक्यो ? पाठकको मनमा यसप्रकारका प्रश्नले अवश्यै पिरोल्छन् । मलाई पनि यस्तै भएको थियो । ड्रग भरेको सिरिञ्जले घोँच्दाघोँच्दा अब उसको हातमा यति सानो सिरिञ्जको टुप्पो अटाउने ठाउँ पनि बाँकी छैन । यो कुरा थिरी आफैले स्वीकार गर्छे । के कारण ऊ यस्तो दुव्र्यसनमा परी ? के कारण ऊ आफ्नै जीवनसँग यति धेरै कठोर हुन सकी ? के कारण उसलाई बाँच्न मन छैन ? यी प्रश्नहरूले मलाई कयौं दिन कयौं रातसम्म उठक बैठक गराइरहे ।  

सोंचेको थिएँ कुनै दिन लेखकसँग भेट हुँदा यो कथाका बारेमा अवश्य सोधूँला । एक दिन त्यो मौका जुरेको पनि थियो, मलेसियामा । क्वालालम्पुरको होटल गोर्खामा कथाका लेखक मनि राई ‘गोठाले’सित भेट हुन पाइएको थियो । आदिवासी जनजाति महासंघ, मलेसिया शाखाले राखेको एक कार्यक्रममा दाइ र म अतिथिका रुपमा निमन्त्रित थियौँ । कार्यक्रमपछि हामीले भेटघाट ग¥यौँ । दाइसँग केही मान्छेहरू पालैपालो आए । त्यसपछि टेबुलमा बियर र सितनहरू आए । अनि त मैले मनभरि सँगालेर ल्याएका प्रश्न जस्ताकोतस्तै फर्काएर आएँ । केही पनि सोध्न सकिनँ यस विषयमा । के भयो भयो, मनको कुरा मनमै रह्यो । 

मलेसियामा मनि राई ‘गोठाले’ कुनै अचिनारु नाम थिएन । त्यहाँ बितरण हुने करिब आधा दर्जन नेपाली साप्ताहिकमध्ये कुनै न कुनैमा प्रायः उहाँको कार्टून प्रकाशित हुनेगर्दथ्यो । मलेसियाले कामदार विजा दिनुभन्दा धेरै अघि नै त्यहाँ पुग्नुभएका मनि दाइ सबै नेपालीका अभिभावक हुनुहुन्थ्यो । अझ साहित्य लेख्ने पढ्नेहरूले त उहाँलाई त्यो विरानो भूमिमा मियो नै मान्ने गरेका थिए । उहाँ हामी सबैको मनि दाइ हुनुहुन्थ्यो । 

त्यसपछि सन् ’१४ तिर एक्काईस वर्षको प्रवास बसाईंपछि दाइ नेपाल फर्किनुभो । म पनि ’१७ मा स्वदेश आएँ । जीवनमा अनेक घटना परिघटना भए । हामीले एकअर्कालाई भेट्न त के फोनमा कुरा पनि गर्न सकेनौँ । दाइ आफ्नै संसारमा व्यस्त, म आफ्नै दुनियाँमा हराएँ । 

तर, यसपाली दाइसँग भेट्ने सुअवसर प्राप्त भयो करिब १२ वर्षपछि । मेरो नयाँ उपन्यास ‘मारीखोलाको ढुङ्गो’ प्रकाशनपछि ताराजी र मैले एकपटक देश भ्रमण गर्ने योजना बनायौँ । मेची महाकाली उपन्यास लिएर हिँड्ने हाम्रो इच्छा थियो । किताब बेच्नुभन्दा पनि नयाँ साथीहरूसँग परिचय स्थापित गर्ने र पुरानासँग सम्बन्ध नवीकरण गर्ने भन्ने थियो । किताब त नेपाञ्लयले प्रकाशित गरेको थियो । हामीले झोलामा बोकेर हिँड्न कुनै बाध्यता थिएन ।

बुटवल, भैरहवा र अर्घाखाँची (सन्धिखर्क) मा ‘मारीखोलाको ढुङ्गो’को विमर्श भव्यताका साथ सम्पन्न भइसकेका थिए । २०८१ जेठ १२ र १३ गते गोरखामा भएको नेपाल मगर सङ्घको राष्ट्रिय सम्मेलनमा भाग लिएपछि हामी दुईजना बुटवल फर्केनौँ । उतैबाट पूर्व हान्नियौँ । १४ गते गोरखाबाट एघार बजेतिर हिँडेको हामी बर्दिबास बास बस्न पुग्यौँ । अर्को दिन घुमफिर गर्दै इटहरी गइबस्यौँ । १६ गते दमकमा स–सानो कार्यक्रमपछि बिर्तामोडमा बसाई भयो । १७ गते बिर्तामोडमा वरिष्ठ गीतकार शिवशङ्कर थापाको प्रमुख आतिथ्यतामा उपन्यासबारे परिचयात्मक कार्यक्रम सम्पन्न गरेर हामी धरान बास बस्न पुगेका थियौँ । धरानमा कार्यक्रमको सबै संयोजन मनि राई ‘गोठाले’ दाइले गर्नुभएको थियो । 

साँझ धरानको एक होटलमा दाइले हामीलाई आत्मीयतापूर्वक स्वागत गर्नुभयो । १२ वर्षपछि सशरीर पुनः एकअर्कालाई देख्न भेट्न पाएर हामी दाइ भाइ दुवैलाई खुसी लागेको थियो । बेहद खुसी । हामीले पुराना कुरा कोट्यायौँ । ‘नुरी’ उपन्यासमा राख्न भनेर दाइलाई भूमिका लेखाएको थिएँ मैले तर प्रकाशन गर्दा त्यसलाई राख्न सकिएन । कारण, दाइलाई पढ्न दिँदा त्यो ११ वटा लामा कथाहरूको सिलसिला थियो । कथावस्तु एउटै तर हरेक कथा आफैंमा स्वतन्त्र थिए । जुनसुकै कथा पढेपनि फरक नपर्ने । सुरुको पानाबाट मिलाएर पढ्नै नपर्ने । त्यो खालको लेखन नयाँ हुन्छ कि भनेर पनि सोंचेको थिएँ । तर पुनर्लेखन गर्दा ‘नुरी’ एक उपन्यासको रुपमा आयो । दाइले लेखेको भूमिका असान्दर्भिक हुने लागेर त्यसमा राखिएन । 

जेठ १८ गते बिहानै दाइले आफ्नो घरमा बोलाउनुभयो । धनकुटा रोडमा रहेछ घर । वरिपरि विभिन्न बोटबिरुवाको हरियालीले घेरेको ठाउँ । भाउजू विमला राईले फरासिलो व्यवहारका साथ हामीलाई स्वागत गर्नुभयो । चिया नास्तापछि भाउजू र ताराजी उता दुःखम्सुखम्मा व्यस्त हुँदा यता दाइ र म मलेसियालाई सम्झेर नोस्टाल्जिक भयौँ । दाइले मसँग भएको भेटको तिथिमिति सप्पै भुलिसक्नु भएछ । म पनि अल्मलिएँ । दाइ भन्नुहुन्छ, ‘हाम्रो भेट भएको थियो सन् २००८ मा । क्वालालम्पुरको नेपाली होटल द गोर्खामा ।’ म भन्छु, ‘हाम्रो भेट सन् २०१४ तिर होला भएको, गोर्खा होइन होटल लोजिनामा ।’ पछि म विश्वस्त हुन्छु, होटल चाहिँ दाइले ठिकै सम्झनुभयो तर, तारिखचाहिँ होइन । पछि बुटवल फर्केर मैले आफ्ना पुराना डायरी खोतलखातल पारेँ । सन् २०१५ को मार्च २२ मा मैले लेखेको डायरीको पाना फेला प¥यो । त्यस दिन नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया शाखाले एक कार्यक्रम गरेको रहेछ । क्वालालम्पुरकै भूभागमा पर्ने बाङसार भन्ने ठाउँमा । नेपालबाट ज्ञानेन्द्र पुनमगर (अहिले नेपाल मगर संघ, केन्द्रीय समिति अध्यक्ष) लाई प्रमुख अतिथिका रुपमा आएका रहेछन् । उनी त्यतिबेला आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष थिए । मलाई पनि अतिथिको रुपमा बोलाइएको थियो । अतिथिका तर्फबाट सम्बोधन चाहिँ मनि दाइले गर्नुभएको रहेछ । त्यो पनि डायरी हेर्दा खुल्यो । त्यही दिन रहेछ दाइसित भेट भएको । पहिलोपटक ।

थुप्रै सम्झनाहरू थिए दाइको मनमा मलेसियासँग जोडिएका । २१ वर्ष निरन्तर रुपमा त्यो देशमा बस्नु । अवैधानिक रुपमा त्यो पनि । उतिबेलैको भेटमा दाइले भन्नुभएको थियो, ‘मलाई त मलेसियन मूलको चाइनीज भन्ठानेर यहाँको प्रहरीले पनि समात्न सक्दैन ।’ मेरो पनि यस्तै अनुभव थियो । मेरो अनुहार चाहिँ मलेजस्तो भएर कहिल्यै प्रहरीको चेकजाँचमा परिनँ । दुईपटक गरेर साढे ६ वर्ष बस्दा पनि । एकदुईपटक हूलमूलमा मात्रै त्यसखालको चेकिङमा परेको थिएँ । 

अनि मैले कुरा उठाएँ, दाइको कथासङ्ग्रहको । ‘युद्धसमाधि’को । त्यस सङ्ग्रहको कुरा उठ्दा स्वाभाविकै थिरीको कुरा चल्ने नै भयो । मैले सोधेँ,

‘थिरी के वास्तविक पात्र हो ?’

मनि दाइको अनुहार मलिन भयो । उहाँले भन्नुभो, ‘हो, ऊ वास्तविक पात्र हो ।’

त्यसपछि दाइले थिरीको कथा सुनाउनुभयो, 

विक्रम सम्वत् २०४० तिरको कुरा हो । एउटी बर्मेली ठिटी धरान आइपुगी । साथमा उसले आफ्नो केटा साथीलाई पनि ल्याएकी थिई । केटीको नाम थिरी, केटाको चाहिँ इनवा । थिरीको पिताको घर धनकुटा थियो । उनी जवान अवस्थामा बर्मा पुगे । उतै बर्मेली केटीसँग बिहे गरे । सन्तानका रुपमा दुई बहिनी छोरी जन्मिए, थिरी र मार्ला । त्यसपछि उनी उतै मरे । नेपाली बस्ती जिनकाइटको नजिकै घर पर्ने भएका कारण अलि–अलि नेपाली भाषा पनि जानेकी थिई थिरीले । आफ्नो पिताको जन्मभूमि देख्ने उत्कट इच्छाले उसलाई डो¥याएर नेपालसम्म ल्याएको थियो । उसले ठेगाना लेखेको कागज मनि दाइलाई देखाई । थिरीले नै त्यसलाई अँग्रेजीमा अनुवाद पनि गरी । त्यो हुनआयो, नाम्जाङ ३, धनकुटा, नेपाल । 

थिरी र इनवालाई लिएर मनि दाइ धनकुटातिर लाग्नुभएछ । हिलेमा बास भयो । त्यहाँ थिरी र इनवाले ड्रग लिएको प्रसङ्ग त्यो कथामा छ । त्यो पनि सत्य नै रहेछ । उनीहरूले ब्राउन सुगर तानेका रहेछन् । मनि दाइलाई अचम्म लागेछ, उनीहरू लठ्ठिएको देखेर । उनीहरूले दिएको काँचो सुपारी खाएर आफू पनि घण्टौं बेहोश भई सुतेको मनि दाइले बताउनुभयो । 

गाउँघर पत्ता नलागेपछि थिरी निरास भएर आफ्नो देश फर्की । लगत्तै थिरी धरान आई । अप्रत्यासित जस्तो । के–के खोजेर नपाएजस्तो । धरानकै पुरानो निजी स्कूलमा उसले पढाउन थाली । ब्राउन सुगरको लतबाट छुट्कारा पाउने त उसको पनि इच्छा थियो होला । मरे पनि आफ्नो पितृभूमिमै मर्ने उसको रहर थियो होला । अँग्रेजी धेरै राम्रो थियो उसको । क्षमतावान् शिक्षिका थिई ऊ तर समाजमा असल बन्न सकिन । लागुपदार्थको बन्धन तोड्नै नसकेपछि उसलाई यो भूमिमा बसिरहन पनि उचित लागेन होला । छँदाखाँदाको जागिरलाई चटक्कै भुलेर ऊ दोस्रोपटक बर्मा फर्केर गई । 

पछि मनी दाइलाई उनीहरूले बर्मा डाके । त्यतिबेलै मनी दाइलाई लागेको रहेछ, थिरी अब यो ड्रग्सको साङ्लो तोड्न सक्तैन । हुन पनि त्यस्तै भएछ । ब्राउन सुगर तान्दातान्दै थिरीको प्राण सदाका लागि उडेर गयो । उसले आफ्नो पिताको गाउँलाई देख्नै नपाई सदाका लागि आँखा चिम्ली ।

थिरीलाई सम्झेर मनी दाइ केहीबेर गम्भीर हुनुभयो । मलाई पनि उसको दुःखान्त थाहा पाउँदा नरमाइलो लाग्यो । अझै पनि थिरीलाइ चिन्न सकिएन । उसलाई जान्न सकिएन । ऊ लागुपदार्थको दलदलमा गाडिएको त थाहा भयो तर किन त्यसरी गाडिई ? यो प्रश्न भने अझै पनि मेरो मनमा आइरहन्छ । यो कुरा मनी दाइलाई पनि सायद थाहा थिएन । मेरो यो प्रश्नमा मौन धारण गर्नुभएको मनी दाइको अनुहारमा हेरेर यस्तै सोचिरहेँ । 

केही समयको मौनतापछि मनि दाइ बसिरहेको खाटमा उठ्नुभो । किताब राखेको दराजमाथि राखेको भायोलिन केस निकाल्नुभो । त्यसभित्रबाट एउटा पुरानो भायोलिन निस्कियो । त्यही रहेछ थिरीले बजाइरहने भायोलिन । मनि दाइको कवितालाई सुरमा ढालेर उसले बजाएको भायोलिन । त्यो भायोलिन मनि दाइको नाममा थिरीले आफ्नो पितृभूमिलाई चढाएको सायद एउटा सुन्दर उपहार थियो । 

त्यस भायोलिनलाई मेरो हातमा राखिदिनुभयो, मनि राई दाजुले । त्यसलाई धेरैबेर काखमा राखेर मुसारिरहेँ । कतै थिरीले आफ्नो केशमा सिउरिएको केँवराको फूलको बास्नाजस्तो नाकभित्र पसेको महसुुस भयो । त्यतिबेलै ब्राउन सुगरको नमिठो गन्ध पनि नाकमा परेजस्तो महसुस भयो । यस्तो पनि महसुस भयो, थिरीको अतृप्त इच्छाको धमिलो छायाँ यतै कतै हल्लिइरहेको छ । 

२०८१ भदौ ३०
(बुटवल) 

11 September, 2024

मन - जेबी दर्लामी

 


आमा, मलाई एकपटक फेरि

सानो मान्छे हुन मन छ,

तिम्रो काखमा हाँस्न मन छ

तिम्रै काखमा रुन मन छ .

कपालको मूल्य

 

जेबी दर्लामी


कपाल

जसलाई

अति नै माया गर्छन् मान्छेहरू


कोर्छन्

बाट्छन्

मुसार्छन्


कपाल

जसलाई

सबैभन्दा माथि राखेर हिँड्छन् मान्छेहरू


तर पनि कपाल

जसलाई

विरानो ठाउँमा सजिलै छाडेर हिँड्छन् मान्छेहरू


म सँग भएको

जवाफ विनाको प्रश्न यत्ति हो

सेलुन पसलमा छोडेको

कपालको मूल्य कति हो ?


मधुपर्क

वर्ष ३९ पूर्णाङ्क ४४५

असार, २०६३


09 September, 2024

प्रश्नहरू (कविता)

जेबी दर्लामी 


हिलोमा पनि कमल फक्रिन्छ

मरुभूमिमा पनि त क्याक्टस फुल्छ

जुम्लाको चीसो बतासमा पनि 

लहलहाउँदो धानको बाला झुल्छ


तर पनि संसार किन यस्तो बेरङ्गी छ ?


तुँवालोबाट छिरेर पनि

कालो रातलाई चिरेर पनि

घाम त आखिर लागेकै छ

उज्यालो सधै जागेकै छ


तर पनि संसार किन यस्तो अन्धकार छ ?


धरतीमा

उम्रेकै छन् बिरुवाहरू

माटोले मलाई रनभूल्लमा पारेर सधैं हँसाइरहन्छ

ढुङ्गा पचाउन सक्छ यसले

कोमल बिऊहरूलाई जतन गरी बचाइरहन्छ


तर पनि संसारमा किन यस्तो घटीकमी छ ?


झुसिल्कीराहरू पुतली बन्छन्

र जीवनको सुन्दरताको कथा भन्छन्

चैतको हूरी थामिन्छ

साउनको झरी रोकिन्छ

पालुवाहरू हरेक वर्ष पल्हाइरहन्छन् 

र अमरत्वको कविता सुनाइरहन्छन्


तर पनि संसार किन यस्तो कुरुप छ ?


संसारलाई यस्तो बनाउनमा

ती मानिसहरूको हात छ साथी,

जसले बलियाहरूको खुट्टा समात्छन्

निर्धाहरूको घाँटी ।

***

'नेपालको राजनीतिमा अर्घाखाँची' पुस्तकमा समावेश विषयसूची



















अर्घाखाँची : नेपाल ‘एकीकरण’ हुनुअघि

—के हो मगरात ?

—को हुन् मगर ?

—शाहहरूको प्रवेश


अर्घाखाँची : नेपाल ‘एकीकरण’को समयमा

—मगर जातिमाथि पहिलो षड्यन्त्र

—गोर्खा र खाँची राज्यको सम्बन्ध

—हारेको अर्घा र खाँची


अर्घाखाँची : राणाकालमा

—जङ्गबहादुर र अर्घाखाँची : जन्मको नाता

—राणा शासनविरुद्धको पहिलो जनविद्रोह

—नेपाल प्रजापरिषद्

—नेपाली काङ्ग्रेसको जन्म

—अर्घाखाँचीमा नेपाली काङ्ग्रेस


अर्घाखाँची : २००७ देखि २०४६ सम्म

—वीपी र काशीनाथ, कहिले अलग कहिले साथ

—नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास

—अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी

—मूर्ति काण्ड

—बर्रे काण्ड

—२०३६ सालको आन्दोलनमा अर्घाखाँची

—टंकप्रसाद भुसालको हत्या

—शोभाखर धनञ्जयको रहस्मय मृत्यु

—फ्रान्सेली अध्येताको अर्घाखाँची अनुभव

—काङ्ग्रेस र माले, कोभन्दा को कम

—पञ्चायतलाई अन्तिम धक्का


अर्घाखाँची : २०४६ देखि २०५२

—वाङ्ला काण्ड


अर्घाखाँची : ‘जनयुद्ध’मा

—युद्धको पृष्ठभूमि

—माओवादी नेताहरू

—भीडन्त, आक्रमण, प्रत्याक्रमण र गैरन्यायिक हत्या

—भदौ २३ र २४ अर्थात् सदरमुकाम कब्जाको नालीबेली

—सहायक सिडीओ र एलडीओको अपहरण

—बेपत्ता पारिएकाहरू


अर्घाखाँची : जनआन्दोलन २०६२/६३ मा

—आन्दोलनको १९ दिन

—घाइतेहरू

—नागरिक समाजको भूमिका


अर्घाखाँची : २०६३ देखि २०७३ सम्म

—पहिलो संविधान सभा र अर्घाखाँची

—दोस्रो संविधान सभा र अर्घाखाँची

—संविधान : असमान सम्झौताको दस्तावेज

—ऐतिहासिक हवाईजहाज दुर्घटना

—अर्घाखाँचीको पुनर्संरचना

—पालिकाहरूको संक्षिप्त परिचय

—अखण्ड लुम्बिनी : संघीयताविरोधी आन्दोलन

—एक झल्को


अर्घाखाँची : सीमाङ्कनदेखि आम निर्वाचनसम्म

—दलहरूको परीक्षाको घडी

—स्थानीय तहको निर्वाचन : २०७४

—वर्गशत्रुबीचको तालमेल

—स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू

—स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवार र मत परिणाम

—भुसाल र गौतम‘वाद’

—निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको नामावली

—जिल्ला समन्वय समितिको निर्वाचन र नतीजा

—स्थानीय निर्वाचनमा देखिएका केही गज्जबका दृश्यहरू

—नेताहरूलाई कारबाहीे

—प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : २०७४

—पार्टीहरूको घोषणापत्र

—प्रदेश सभामा देशैभरको मत परिणाम

—प्रदेश सभामा अर्घाखाँचीको मत परिणाम

—राष्ट्रिय सभाको निर्वाचन र अर्घाखाँची


अर्घाखाँची : महिला आन्दोलनको चर्चा

—पहिलो विद्रोह

—अर्घाखाँचीका महिला नेतृहरू

—पितृसत्ताको अवशेष

—एकताको उदाहरण

—प्रदेश सभामा अर्घाखाँचीका महिला नेतृहरू

प्रकाशन मिति : २०७७

(किताबका लागि सम्पर्क : मगरात अध्ययन तथा अनुसन्धान केन्द्र, बुटवल)

मारीखोलाको ढुङ्गो (उपन्यास)



मारीखोलाको ढुङ्गो

JB Darlami

 

Format

Paperback

ISBN (Paperback)

9789937968201

Language

Nepali

Genre

Insurgency

Publication Date

06 Apr 2024

 GET THIS BOOK :

https://publicationnepalaya.com/book/marikholako-dhungo#get-book

https://thuprai.com/book/marikholako-dhungo/

https://www.daraz.com.np/products/marikholako-dhungo-by-jb-darlami-i131285303-s1038139083.html

https://kitabyatra.com/product/marikholako-dhungo-SiBt88


मारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति हैरानी यसमा मिठोमसिनोसँग आएको द्वन्द्वको कारण परिणाम, द्वन्द्वनायकको उत्तेजना पतन, कर्ताहरूको कर्म क्रियाको चखिलो प्रस्तुति यहाँ मीराको उदात्त मानवीय चरित्रले पाठकलाई रुझाउँछ कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास विशिष्ट बनेको यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो