जेबी दर्लामी
जेन–जीमाथि भएको निर्मम दमन र सामूहिक हत्या देखेर विक्षिप्त भएको छु । रातभरि निद्रा लागेको छैन । एकदमै छोटो समयमा यति धेरै विभत्स दृश्यहरू देख्नुप¥यो कि दिमाग र शरिरले कामै नगर्नेजस्तो अवस्था आइलाग्यो । सर्वप्रथम यही आलेखमार्फत् राज्यको यो नरसंहारविरुद्ध खेद व्यक्त गर्दछु । जो सहिद भए यो आन्दोलनमा, ती सबै महान आत्माहरूप्रति हृदयदेखि नै असीम श्रद्धा छ ।
आन्दोलन केका लागि ?
मान्छे जन्मजात स्वतन्त्र प्राणी हो । उसलाई जब कसैले बन्धनमा राख्न खोजेको आभास हुन्छ, निश्चय नै उसले चल्मलाउन चाहन्छ । एक्लै फरक पर्दैन तर जब समूहगत रुपमा त्यो चल्मलाई सुरु हुन्छ, त्यही नै आन्दोलन बन्छ, संघर्ष बन्छ, अभियान बन्छ र सशस्त्र क्रान्तिको तहसम्म त्यो पुग्न सक्छ ।
जेन–जीको आन्दोलन त्यस्तो बेलामा सुरु भएको छ जब राज्यले एक्काइसौँ शताब्दिमा पनि सुचनाका सर्वसुलभ मार्गहरू अवरुद्ध बनाएर आफूखुसी शासन गर्ने इच्छा राखेको छ । कतिले हल्ला गरेजस्तो फेसबुक चलाउन पाउँ भन्ने माग लिएर जेन–जी सडकमा आएको होइन । फेसबुक बन्द गरेर गर्न लागिएका भ्रष्टाचारका अनेक कुकृत्यकाविरुद्ध जेन–जी यसरी खनिएको हो । फेसबुक चलाउन जेन–जीलाई किन सडकमा आउनुप¥यो ? जेन–जी सबै कुरामा र विशेष प्रविधिमा यति पोख्त छ कि जतिसुकै बन्द गरिए पनि इन्टरनेटका हरेक प्लेटफर्मसम्म त्यसले आफ्नो पहुँच सजिलै लैजान सक्छ । यही कारण होला उसको आन्दोलनको मागभित्र सामाजिक सञ्जाल अवरुद्ध हुनु र नहुनुसँग खास सरोकार देखिँदैन । जेन–जीको आन्दोलनलाई बहाना बनाएर सामाजिक सञ्जाल पुनः सुचारु गर्न लगाउनु त सरकारले आफ्नो खुनी अनुहार लुकाउन गरेको प्रयास मात्रै हो ।
जेन–जीको मुख्य माग हो, यो देशमा भ्रष्टाचार चरम छ, यो अब रोकिनुपर्छ । के यो मागभित्रको सन्देशमा कुनै सत्य छैन त ? यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै मात्र मन्त्रिपरिषदको बैठकमा भनेको एउटा वाक्य सम्झनुपर्छ । उनले भनेका छन्, सामाजिक सञ्जाल एक्सले भन्यो, भ्रष्टाचार र अपारदर्शिता हुने मुलुकमा दर्ता हुँदैनौँ । उनले सामाजिक सञ्जाल एक्सले पठाएको पत्र नै पढ्न लगाएर यो कुरा उद्धृत गरेका थिए ।
एक्सको यो भनाईसँगै हामीले बिर्सनुहुँदैन, २०८१ माघ २९ गते ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १८० देशमा गरेको सर्वेक्षणपछिको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १०७ औं नम्बरमा परेको थियो जो अघिल्लो वर्षको तुलनामा बढी थियो । सन् २०२३ मा १०० मा ३५ अङ्क प्राप्त गरेको नेपालले २०२४ मा एक अङ्क कम ३४ प्राप्त गरेको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले ५० भन्दा कम अङ्क प्राप्त गर्ने देशलाई भ्रष्टाचारव्याप्त देश मान्दछ । नेपाल भ्रष्टाचारव्याप्त मुलुक हो भन्दा हामीलाई लाज पक्कै लाग्छ तर खासमा लाज लाग्नुपर्ने त देश चलाइरहेका छौँ भन्नेहरूलाई हो । दुनियालाई थाहा छ, नेपालमा भ्रष्टाचार हुन्छ, भइरहेको छ, अनि यो यथार्थलाई स्वीकार गर्न राज्य चलाइरहेकाहरूलाई किन गाह्रो ? सीधा र सपाट भाषामा भन्नुपरे यसो भनौँ, राज्यका हरेक निकायमा हालीमुहाली गरिरहेका तिमीहरू भ्रष्ट हौ । तिमीहरूको भ्रष्ट आचरणले गर्दा देशले बदनाम हुनुपरेको छ । हामीले शिर झुकाउनु परेको छ ।
अब कुरा जेन–जीको
को हुन् जेन–जी ? प्राविधिक भाषामा भन्नुपर्दा जसको जन्म सन् १९९७ र २०१२ का बीचमा भयो तिनै हुन् जेन–जी । अर्थात् जेनरेसन जी । तर, जेन–जीलाई चिन्न यो भाषा पर्याप्त छैन । जेन–जी कुनै स्थूल चिज मात्र होइन । जेन–जीलाई उसको भावना, उसको विचार र उसको मनोविज्ञानसँगै एकमुष्ट बुझिनु आवश्यक छ ।
जेन–जीलाई कुनै पनि दलीय राजनीति, वाद या सिद्धान्त थाहा छैन । उसले ती थाहा पाउन पनि चाहँदैन । उसलाई यति मात्रै थाहा छ, देश जानुपर्ने बाटोमा गइरहेको छैन । देशमा हुनुपर्ने काम भइरहेको छैन । उसलाई आफ्नो र आफूजस्ताको भविष्य अन्धकार देखिएकोमा क्षोभ छ । उसलाई नेता भनिनेहरूका कुरा एकातिर व्यवहार अर्कोतिर भइरहेको दृश्यसँग खेद छ ।
जेन–जीलाई नेपाल नामको देशभित्र समाजका अन्तविर्रोध के–के हुन् भन्ने पनि धेरै थाहा छैन । किनकि यो पुस्ता आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रलाई ओगटेर बसेकाहरूले चरम अनदेखा गरेको पुस्ता हो । राजनीतिले त उपयोग र त्यसपछि उपेक्षा मात्रै गरेको पुस्ता हो यो । यो पुस्तालाई समाजको अन्तर्विरोध बुझाउने दुःख कसैले गरेकै छैनन् । उसले असल नेतृत्व नपाएरै आजसम्म चर्को स्वरमा बोल्ने जोकोहीलाई नेता मान्न तयार भएको हो । त्यही भएर उसको आँखामा पुराना सबै मान्छे, सबै दल र सबै निकाय निकम्मा लागेका हुन् । यही भएरै उसले प्रहरी बिटसँगै श्रम र संघर्षको झल्को दिने थारुको प्रतिमामा आगजनी गरिदिएको हो । किनकि उसको नजरमा यो देशमा देश लुट्नेहरूको नै शालिक बनेको छ ।
हिजोको आन्दोलनमा हामीलाई अश्लील लागेका केही नारा, केही अक्षर, केही हुँकार जेन–जीको मनोविज्ञान बुझाउने भरपर्दो स्रोत हो भनी किन नमान्ने ? ऊभित्र यो देश, देश चलाइरहेछौँ भन्नेहरू र राज्यप्रणालीप्रति कति हदसम्मको आक्रोश रहेछ भनी किन नसोच्ने ? जब राज्यको व्यवहार पतीत हुँदैगएको हाम्रै आँखाले देखेका छौँ, जेन–जीले बोकेको प्ले–कार्ड कसरी त्योभन्दा अश्लील भयो ? शब्द नै कसरी अश्लील भयो ? जबकि देशका शासकहरूको नाङ्गोपन हामी सबैले सहेकै छौँ, भोगेकै छौँ ।
जेन–जी लडोस् भिडोस्
जेन–जीलाई लड्न दिऔँ, भिड्न दिऔँ । ऊ लड्नेछ, सडकमा पोखिनेछ र फेरि सम्हालिनेछ । राज्यको क्रूरतालाई उसले नजिकबाट चिन्नेछ । आजसम्मको परिवर्तन सजिलै भएका होइनन् भन्ने यथार्थसँग ऊ परिचित हुनेछ अनि विगतमा भएका क्रान्ति र बलिदानको सम्मान पनि गर्नेछ ।
सम्भवतः अब राज्यसत्ता मेरै ठेक्का हो भनेजस्तो गर्नेहरूको दिनगन्ति सुरु भइसक्यो । अलिकति संशय के हो भने, जेन–जीको बलिदान यत्तिकै खेर त पक्कै जाँदैन तर, त्यसपछि के ? कस्तो प्रणाली यो देशमा ती ल्याउन चाहन्छन् ? कस्तो समाज ती बनाउन चाहन्छन् ? कस्तो शासनव्यवस्था ती देख्न चाहन्छन् ? यही खाली ठाउँमा अझै पनि अनेक स्वार्थसमूहले चलखेल गर्ने प्रशस्तै सम्भावना देखिन्छ । किनभने जेन–जीलाई देखाएर आफ्नो राजनीतिको रोटी बेल्न तयार भएर बसेकाहरू थुप्रै छन् । जेन–जी कतै प्रयोग हुने त होइनन् ? भन्ने प्रश्न पनि गम्भीरताले सोधिनुपर्छ ।
०
२०८२.०८.२४ (११:१९)
No comments:
Post a Comment