Total Pageviews

Wednesday, September 11, 2024

मन - जेबी दर्लामी

 


आमा, मलाई एकपटक फेरि

सानो मान्छे हुन मन छ,

तिम्रो काखमा हाँस्न मन छ

तिम्रै काखमा रुन मन छ .

कपालको मूल्य

 

जेबी दर्लामी


कपाल

जसलाई

अति नै माया गर्छन् मान्छेहरू


कोर्छन्

बाट्छन्

मुसार्छन्


कपाल

जसलाई

सबैभन्दा माथि राखेर हिँड्छन् मान्छेहरू


तर पनि कपाल

जसलाई

विरानो ठाउँमा सजिलै छाडेर हिँड्छन् मान्छेहरू


म सँग भएको

जवाफ विनाको प्रश्न यत्ति हो

सेलुन पसलमा छोडेको

कपालको मूल्य कति हो ?


मधुपर्क

वर्ष ३९ पूर्णाङ्क ४४५

असार, २०६३


Monday, September 9, 2024

प्रश्नहरू (कविता)

जेबी दर्लामी 


हिलोमा पनि कमल फक्रिन्छ

मरुभूमिमा पनि त क्याक्टस फुल्छ

जुम्लाको चीसो बतासमा पनि 

लहलहाउँदो धानको बाला झुल्छ


तर पनि संसार किन यस्तो बेरङ्गी छ ?


तुँवालोबाट छिरेर पनि

कालो रातलाई चिरेर पनि

घाम त आखिर लागेकै छ

उज्यालो सधै जागेकै छ


तर पनि संसार किन यस्तो अन्धकार छ ?


धरतीमा

उम्रेकै छन् बिरुवाहरू

माटोले मलाई रनभूल्लमा पारेर सधैं हँसाइरहन्छ

ढुङ्गा पचाउन सक्छ यसले

कोमल बिऊहरूलाई जतन गरी बचाइरहन्छ


तर पनि संसारमा किन यस्तो घटीकमी छ ?


झुसिल्कीराहरू पुतली बन्छन्

र जीवनको सुन्दरताको कथा भन्छन्

चैतको हूरी थामिन्छ

साउनको झरी रोकिन्छ

पालुवाहरू हरेक वर्ष पल्हाइरहन्छन् 

र अमरत्वको कविता सुनाइरहन्छन्


तर पनि संसार किन यस्तो कुरुप छ ?


संसारलाई यस्तो बनाउनमा

ती मानिसहरूको हात छ साथी,

जसले बलियाहरूको खुट्टा समात्छन्

निर्धाहरूको घाँटी ।

***