Total Pageviews

Thursday, June 13, 2024

माओवादी जनयुद्धमाथि युवा मीमांसा

केन सुवेदी

वैशाख २२, २०८१ शनिबार :२०:


मारीखोलाको ढुंगो पढिसक्न धेरै समय लाग्दैन तर यसले उठान गरेको माओवादी जनयुद्धको औचित्यले भने लामो समयसम्म बेचैन गराउँछ, छापामारहरूलाई अझ बढी। जेबी दर्लामीले फ्ल्यासब्याक शैलीमा उपन्यासलाई सुरुआत गर्छन् त्यो शैली अन्तिमसम्म नै चलिरहन्छ पछाडिका घटना अगाडि अगाडि घटेका घटनापछि राखिएका छन्।

माओवादी जनयुद्धलाई केन्द्रबिन्दुमा राखेर लेखिएको यस उपन्यासले निश्चित समय कालखण्डपछि त्यसताका भएको सशस्त्र द्वन्द्व युद्ध जेका लागि गरिएको थियो, त्यसको उद्देश्य पूरा नभएको सार अन्त्यमा अयोग्य लडाकुमार्फत प्रस्तुत गर्छ। प्रायः उपन्यासका कथा काल्पनिक हुन्छन् तर मारीखोलाको ढुंगोमा वास्तविकता यथार्थ बढी छन् केही समाचारका अंश नै हुन् जस्तो पनि लाग्छ।

द्वन्द्वकालको औचित्यमाथि समीक्षा जहिले उपल्लो वर्ग वा नेताले मात्र गरे त्यसलाई नै सत्य मानियो, तल्लो तप्काका लडाकु वा मजदुरको दृष्टिकोण जहिले गौण रह्यो, राखियो। मारीखोलाको ढुंगोले त्यही तल्लो तप्कामा रहेका मजदुर लडाकुहरूले द्वन्द्वकालमा अनुभव गरेका बीभत्स घटनाहरूको दृष्टान्त दिन्छ दिन्छ एक दर्दनाक क्यानभास जहाँ युद्धका तस्बिरहरू जसले देखाउँछ दाजुभाइ आफ्नाबीच काटाकाट मारामारको स्थिति। शान्ति सम्झौतापछि भर्ती भएका कमान्डरहरू पनि सरकारी सेनाका लागि योग्य हुन्छन् तर वर्षौं माओवादी पार्टीका लागि युद्धमा लड्ने योद्धाहरू अयोग्य ठहरिन्छन् उनीहरूलाई घर फर्किन सहीछाप गराइन्छ। त्यही अलपत्र योद्धाको पीडादायी जीवनमरणको दोसाँधमा रहेका घटनाक्रम पढ्न पाइन्छ पुस्तकमा जसको अन्तमा अयोग्यताले पाठकमा करुणा सिर्जना गर्छ।

उपन्यासले अहिलेको नयाँ पुस्तालाई माओवादी जनयुद्धबारे संक्षिप्तमा सार दिन्छ। लेखकको अभिप्राय उक्त जनयुद्धलाई अवहेलना गर्ने, तुस्तीकरण गर्ने, गलत थियो भनेर ठहर्या‍उने पटक्कै छैन। किनकि किताबको सुरुको आधा अंशले माओवादी द्वन्द्व किन गरियो भन्नेबारे विविध कथानकबाट प्रष्ट हुन्छ। दशकौंपछि पुराना यादहरूमा फर्किएर जनयुद्धले मलाई के दियो भनेर छापामारले आफैंसँग गरेको प्रश्नबारे मीमांसा हो मारीखोलाको ढुंगो। उपन्यास युद्धको चित्रण गर्न पूर्ण सफल , लेखक स्वयं द्वन्द्वमा केही हदसम्म सहभागी भएको जस्तो महसुस हुन्छ किनकि युद्ध छापाका साना कार्यहरूको चित्रणमा दृश्य प्रभाव सिर्जना हुन्छ। जस्तै, माओवादी लडाकुहरूले छापा मारेको, बन्दुकहरू प्रयोग गर्न सिकेको, अग्लो स्थान खोजेको, युद्धका लागि बालुवादेखि कागजमा नक्सांकन गरेको, प्रहरीसँग आमनेसामने परेको, आत्मसमर्पण गर्दा पनि बलात्कारी भएका कारण खुकुरीले छप्काएको, प्रहरीले जानीजानी अग्लो डिलबाट गुहु छोडेको, बंकरका लागि गहिरो खनेको आदि।

उपन्यासको सशक्त पक्ष धेरै छन् भाषा एकदम सरल बग्ने खालको , मारीखोलामा बग्ने पानी झैं। गम्भीर विषयहरूलाई हल्का तरिकाले प्रस्तुत गरिएको झैं लाग्छ बेलाबेला जसको कारण समय परिवर्तनले गर्दा भएको हुन सक्छ। पढ्दापढ्दै हाँसो कहाँ सकिन्छ गाम्र्भीयता सुरु हुन्छ थाहै हुँदैन अचानक गम्भीर बनाउँदा बनाउँदै हसाइँदिन्छ। द्वन्द्वलाई यतिका वर्षपछि चिन्तनमनन् गर्नु, त्यसबारे मीमांसा सिर्जना गर्नु साहित्यमा मात्र नभएर वास्तविकतामा पनि आवश्यक रहेको कुरा हामी सुनिरहेका छौं। ठीक थियो वा बेठीक थियो, ती अर्कै कुरा तर व्यक्तिगत मानव हृदयमा त्यसको प्रभाव कस्तो रह्यो ? त्यसको एकालाप हो उपन्यास।

सुरुआती कथाहरूमा द्वन्द्वमा होमिनु आवश्यकता थियो, क्रान्ति थियो, मजबुरी थियो, समानताका लागि लडाइँ थियो, बलिदानी थियो, जे जे भने पनि ठीक थियो भने भाष्य अन्तिममा रहेको उपकथनमा उदांगो हुन्छ। केही सिप नलागेर, अयोग्य भएपछि, घर फर्किन विवश भएपछि, गाउँमा अनेकन मानमर्दन खेपेपछि समग्रमा भन्नुपर्दा कोही केही बाँकी नरहेपछि, कमान्डर हुँदाको अलपत्र नाम जस्तै हुन पुगेपछि अवैध तरिकाले साउदीमा सेक्युरिटीमा काम गर्दैगर्दा मीरा बहिनीलाई लेखेका चिठीहरूले करुणाभाव जाग्छ। बलिदान रोकामगर भन्छन्, मैले युद्ध रोजेको थिइनँ, युद्धले जबर्जस्ती मलाई घिसारेको थियो आफूमा। जीवित शरीरमा अलपत्र बनेका माओवादी लडाकु अलपत्र अवैध काम गरिरहेको कारणले नै समयमा औषधिउपचार नपाएर प्राण त्याग गर्छन् मृत शरीर पनि नौ महिनासम्म अलपत्र परेर साउदीको सरकारी अस्पतालमा रहेको हुन्छ। एक गर्विलो गुरिलाको गिरावट अपत्यारिलो गुमाइमा अन्त्य हुँदा पाठकको मन बेजोड रुन्छ।

सशक्त कथालाई साहित्यका अनेकन टुलहरू प्रयोग गएर कथावाचन सार्है मीठो पस्केका छन्, जेबी दर्लामीले। किताबको संवाद, दृश्यात्मक कथानक साहित्यिक साधनहरूका प्रयोगले यो किताब वास्तवमै सिनेमा बनाउन उत्कृष्ट छ। द्वन्द्वकालबारे अन्य धेरै श्रव्यदृश्य बने पनि यसका साना विवरणलाई दृश्यसामग्रीमा उतार्न सक्दा पृथक् हुनेछ। जम्मा १३४ पृष्ठ लामो यो उपन्यास नयाँ पुस्ताका किशोरकिशोरीले पनि सजिलै पढेर माओवादी जनयुद्धबारे सरल तरिकाले बुझ्न सक्छन्। 

https://www.annapurnapost.com/story/456897/

Sunday, June 9, 2024

अलपत्र कमरेडको आत्मालाप

 ‘समयले डामेपछि हाँसो भन्ने चिज कता गायब हुँदो रैछ कता !’ 

‘युद्धले कसैको भलो नगर्दो रहेछ, हतियार बेच्ने व्यापारीको बाहेक ।’


लेखक जेबी दर्लामीको नयाँ उपन्यास ‘मारीखोलाको ढुङ्गो’ का लाइन हुन् यी । उपन्यास पढ्दा समयसँगै धूमिल हुँदै गएको त्यो इतिहास र त्यो समय ताजा भएर आउँछ । यो आख्यान हो, तर आख्यानभन्दा धेरै इतिहासको पुस्तक पनि हो । आख्यानको लयमा किताबले त्योबेलाका घटना वर्णन गर्छ ।

किताबको भाषा सलल बगेको छ । स्थानीय भाषाशैलीले उपन्यासलाई सरल र पठनीय बनाएको छ । युद्धमा होमिँदाको उतारचढाव, निराशा, आशा, मृत्यु–भय, त्यो बेलाका आन्दोलनकारी, आमजनता र सत्तापक्षले जसरी भोगे, त्यसलाई पात्र र परिवेश मार्फत उपन्यासले कैद गरेको छ ।

उपन्यासले कसैमाथि पक्षपात गरेको छैन । यसअघि जनआन्दोलनको पृष्ठभूमिमा लेखिएका उपन्यास वा कथाले एउटा पक्षको वकालत गर्थ्यो वा कुनै एकको राजनीतिक प्रभावमा हुन्थ्यो । उपन्यासको सुन्दर पक्ष यो हो कि– निष्पक्षता ।

उपन्यासमा क्रान्तिकारीले मात्रै शाहदत प्राप्त गरेजस्तो देखाइएको छैन । पीडित चाहिँ माओवादीहरू मात्रै हुन् जसरी पनि प्रस्तुत गरिएको छैन, आर्मी–पुलिसप्रति पनि सदाशयता छ । ‘माओवादी’ भन्दै सर्वसाधारणका छोराछोरीलाई पनि सत्तापक्षले जसरी मारेका थिए, त्यो पनि उल्लेख छ । आन्दोलनकारीले कसरी सर्वसाधारणलाई यातना दिएर मारेका थिए ? चन्दा उठाएर दुःख दिएका थिए ? त्योसहित आर्मी–पुलिसले निरीह जनताका छोरी–चेलीलाई बलात्कार गरी–गरी मारेको विषय पनि उल्लेख गरिनुलाई लेखकले दुई पक्षीय रूपमै अध्ययन गरेर उपन्यास लेखेका हुन् भन्न सकिन्छ ।

वि.सं. २०५२ मा बीजारोपण भएको क्रान्तिको आगोमा अन्तत : ‘सबथोक छाडेर हिँडेका कमरेडहरूले लोभलाई भने आफूसँगै बोकेर हिँडेका थिए ।’ यही एउटा लाइनले सम्पूर्ण यथार्थलाई बोकेजस्तो लाग्छ । थोरै शब्दमा धेरै प्रस्तुत गरेका छन् लेखकले । एक सय चौंतीस पृष्ठको उपन्यासले सम्पूर्ण ओगट्न सफल छ । ‘पन्च लाइन’ हरू पनि उम्दा छन् । उपन्यासको ‘टर्न एन्ड ट्वीस्ट’ ले हुरुक्कै बनाउँछ ।

उपन्यासको मुख्य वा प्रतिनिधि पात्र ‘कमरेड अलपत्र’, अर्को ‘मीरा भुसाल’ र सहायक पात्रको बलियो उपस्थिति छ । यथार्थको धरातलमा उभिएर प्रस्तुत गरिएको छ उपन्यास । परिवर्तनको चाहमा राजतन्त्रप्रतिको विद्रोहका लागि जीउज्यान धरापमा राखेर आन्दोलनलाई ‘लिड’ गरेको पात्र अलपत्र अन्त्यमा अयोग्य भनेर निकालिन्छ । पात्रको मनोभाव वा भनौं उसको हविगतजस्तै त्यो बेला आन्दोलनमा होमिनेहरूको यथार्थ–दशा चित्रण गर्न सफल छ उपन्यास । के–कसरी मान्छेहरू माओवादीमा लागे ? कसरी मृत्युवरण गरे ? कसरी आकर्षित भए ? पछि त्यसको परिणाम के भयो ? यी विषयमाथि लेखकले विमर्श गरेका छन् । नेपालको राजनीतिमा ठूलो इतिहास बोकेको आन्दोलनबारे यति मिहिन लेख्न साहसको आवश्यकता पर्छ ।

‘मारीखोलाको ढुङ्गो’ वि.सं. २०६२/२०६३ को जनआन्दोलन हुनुअघिको समयको कथा हो– जब माओवादीले राजतन्त्र हटाउन युद्ध सुरु गर्‍यो, गणतन्त्र स्थापनार्थ गाउँगाउँबाट अभियान सुरु गर्‍यो, त्यसबेलादेखिको कथा ।

‘प्रत्येक व्यक्तिको अधिकार र भूमिका बराबर हुनुपर्छ’, ‘धनी गरिबबीचको खाडल पुरिनुपर्छ’, ‘जातीय विभेदको अत्त्य गरिनुपर्छ’ भन्ने मूल नारा लिएर माओवादी जन्मेको थियो । उपलब्धि भयो के त ? खोइ हिजोका प्रतिबद्धता ? हजारौं निर्दोष मानिसको बलि चढाएर देशलाई के फाइदा भयो ? यस्ता हजारौं प्रश्नको जवाफ मागेको छ ‘मारीखोलाको ढुङ्गो’ ले । समग्रमा उपन्यास बितेको कालखण्डको दस्तावेज हो । पछिल्लो पानामा लेखिएझैं यो उपन्यास कथा मात्रै होइन, कथा भन्ने कौतूहलपूर्णर् रहस्यमयी कला पनि हो ।

काठमाडौंबाहिर बसेर लेख्ने यस उपन्यासका लेखक रहरले मात्रै लेखनमा आएका छैनन् भन्ने लाग्छ किताब पढ्दा ।

मोटामोटा उपन्यास त धेरै लेखिन्छन्, तर यो छरितो किताब पनि कसिलो र बलियो छ, कथा–उपकथाहरूमा छरिएको छैन, अनावश्यक कुरा लेखिएको छैन, त्यसैले सानो भएर पनि पूर्ण उपन्यास हो ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०८:२६https://ekantipur.com/koseli/2024/05/25/suicide-of-a-stranded-comrade-26-03.html