Total Pageviews
Sunday, August 3, 2025
Saturday, August 2, 2025
अर्घाखाँची : नेपाल ‘एकीकरण’ हुनुअघि (किताब अंश)
नेपालको वर्तमान राजनैतिक र भौगोलिक नक्सा बन्नुअघि अर्घाखाँची विशाल मगरात अन्तर्गतको एक भूभाग थियो । २०६८ को राष्ट्रिय जनगणनामा अर्घाखाँची जिल्लाको कुल जनसंख्या १९७६३२ र मगर जातिको संख्या ३५५८४ अर्थात् कुल जनसंख्याको १८ प्रतिशत देखिएको छ ।१
अहिले संख्याका हिसाबले मगर जातिको आँकडा कम देखिएपनि यो भूमि विगतको कालखण्डमा मगरातअन्तर्गत नै पर्दथ्यो भन्ने प्रमाण भने प्रशस्त पाउन सकिन्छ । सबैभन्दा ठूलो प्रमाण त यहाँ पुस्तौंदेखि बसोबास गर्ने बासिन्दाको जनजिब्रोले उच्चारण गर्ने तथ्य नै हो । अर्घाखाँची मात्र होइन, प्यूठान, गुल्मी, बाग्लुङ लगायत छिमेकी जिल्लाका आम मानिस यो भेगलाई अझैपनि ‘मगरात’ भन्दछन् । नेपालका शासकहरूले मगरात राज्यको ऐतिहासिक भूभाग, भाषा, धर्मसंस्कृति, इतिहास र मनोविज्ञान मेटाउन अनेक प्रयास गरेका भएपनि यहाँ बसोबास गर्ने बासिन्दा र भूगोलले नै कुनै समय यो भूमि मगरात थियो भनी थुप्रै प्रमाण प्रस्तुत गरिरहेका छन् ।
के हो मगरात ?
अर्घाखाँचीका अनेकन् गढी, चउर, थुम र कोटहरूको नाम देख्दा यो भूभाग कुनै समय विशाल मगरातअन्तर्गत नै थियो भनेर सहजै मनन गर्न सकिन्छ । यहाँका धेरै ठाउँहरूका नामका पछाडि ‘बाङ’ जोडिएको छ । उदाहरणका लागि, अर्लिबाङ, करेबाङ, ढाकाबाङ, थेरबाङ, दुरबाङ, धातिबाङ, पाथ्राबाङ, फुदबाङ, बलेबाङ, मनबाङ नाम गरेका स्थान अहिले पनि अर्घाखाँचीमा पर्दछन् । यीमध्ये ढाकाबाङ र धातिबाङ त राज्य पुनर्संरचना हुनुअघि (२०७३) सम्म सिंगो गाविस नै थिए । अहिले ढाकाबाङ भुमिकास्थान नगरपालिका र धातिबाङ पाणिनि गाउँपालिकामा पर्दछ ।
यहाँबाट पश्चिम लागेपछि प्यूठान, रोल्पा र रुकुमका सघन मगर वस्तीहरूमा भएका ‘बाङ’ त कति छन् कति !
मगर भाषा तीन प्रकारका छन् । एक, मगर खाम जो राप्ती नदीपारिका जिल्लाहरू प्यूठान, रोल्पा, रुकुम र दाङमा बोलिन्छ । मगर ढूट जो पाल्पा, स्याङ्जा, तनहुँमा अत्यधिक बोलिन्छ र अर्को मगर काइके जो डोल्पा र हुम्लातिरका मगरहरू बोल्ने गर्दछन् । ‘बाङ’ भनेको मगर खाम भाषामा ‘समथर चउर’ हुन्छ ।२
यतिबेला पछाडि बाङ जोडिएका स्थानहरू प्रायः मगर खाम भाषा बोल्ने भूभागमा पर्ने हुँदा र त्यसको अर्थ मगर खाम भाषासितै मिल्ने (जस्तै, लि भनेको बाँस र बाङ भनेको चउर मिलाएर लिबाङ) भएकोले त्यो समय अर्घाखाँचीमा पनि मगर खाम भाषाको वर्चस्व थियो कि भनेर अनुमान लगाउन सकिन्छ । कालान्तरमा यतातिर खश भाषाले आधिपत्य जमाउँदै गएपछि मगर भाषा लोप हुँदै गएको हुनुपर्छ । प्यूठानका पूर्वी भेगका मगरहरू पनि अर्घाखाँचीका मगरलेझैं आफ्नो भाषा बोल्न जान्दैनन् । अझ मगर जातिको बाहुल्यता रहेको गुल्मी जिल्लामा पनि कुनै प्रकारको मगर भाषा नबोलिनुको कारण अर्थपूर्ण छ ।
अर्घाखाँचीभन्दा पूर्वतिर पर्ने पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी आदि जिल्लामा बोलिने मगर ढूट भाषामा समथर चउरलाई जनाउने आफ्नो भाषा नदेखिएको हुँदा यता बोलिने मगर नेपाली भाषामा खश नेपाली भाषाको प्रभाव परेको भन्न सकिन्छ । खश भाषाको प्रभाव गण्डकी क्षेत्रमा मात्र परेको होइन, यसको प्रभाव त सिंगो नेपालमै परेको हो । उदाहरणका लागि, रोल्पामा पर्ने एक प्रसिद्ध फाँटलाई अहिले धेरैले ‘माडी चउर’ भनेर चिन्छन् तर, त्यहाँका स्थानीयले ‘माडी बाङ’ भन्ने गर्दछन् ।
यसैगरी अर्घाखाँचीमा रहेका अनेकन् कोटहरूले पनि यो भूभाग पहिले मगरात प्रदेशको एक हिस्सा थियो भन्ने प्रमाण दिन्छन् । खाम मगर भाषामा ‘कोई’को अपभ्रंश रुप नै आजका ‘कोट’हरू हुन् ।
अध्येता बमकुमारी बुढामगर लेख्छिन्, ‘मगर राज्यको शासन केन्द्र कोई र खलंगा नामले स्थापित भए । मगर भाषामा ‘कोई’ भनिने शब्दलाई भारोपेली उच्चारणमा ‘कोट’ भन्ने चलन बनाइयो । कोई शब्दको व्यूत्पत्ति ‘बा+कोई’ बाट भएको हो । ‘बा’को अर्थ ‘भाले’ र ‘कोई’को अर्थ ‘बास्नु’ हुन्छ । बाकोई बेला (भाले बास्ने समय) राजाले प्रजालाई कचहरीका लागि खबर गर्ने अग्लो ठाउँ भन्ने बुझिन्छ । कोइवाले हुँदै कोटवाले–कतवाले–कटुवाल बनेको शब्दको अर्थ पनि अग्लो ठाउँबाट दमाहा, नगरा, झ्याली बजाएर ‘खुतयान्या’ (सुचना) दिने व्यक्ति भन्ने हुन्छ ।’३
अर्घाखाँचीमा पनि आजसम्म थुप्रै ठाउँहरू ‘कोट’का रुपमा परिचित छन् । जस्तै, अर्घाकोट, असुरकोट, उप्रीकोट, केरुङ्गाकोट, खाकोट, खाँचीकोट, खुम्चीकोट, गैंडाकोट, घोचाकोट, छत्रकोट, जयकोट, जुवाकोट, जैनी (जोगिनी) कोट, ढाकाबाङकोट, तुमकोट, थपकोट, थामकोट, थारकोट, दमारेकोट, नुवाकोट, बरमकोट, बलकोट, मगराकोट, मरुवाकोट, माझकोट, मिर्लिङकोट, रामकोट, रिकोट, लौरीकोट, सल्लीकोट, सामकोट आदि ।
तर पछिल्लो समय प्रायः सबै कोटहरूमा मन्दिर निर्माण गरिएको र ‘कोट’लाई ‘मन्दिर’को रुपमा बुझ्ने तथा बुझाइने गरेको पाइएको छ ।
किरातपछि शासनको मूलधारमा आएका लिच्छवी भनिनेहरू पनि मगर नै हुन् भन्ने केही अनुसन्धाताहरूको दाबी छ । केशव सूर्यवंशीका अनुसार मगरहरू नै लिच्छवीका रूपमा देखा परेका हुन् र उनीहरूले नेपाललाई इतिहासमै स्वर्णयुगमा पु¥याएका हुन् । तर हिजोका ती वैभवशाली लिच्छवीहरू आज कहाँ छन् त भनेर नेपालका इतिहासकारहरू बोल्न चाहँदैनन् ।४
गण्डकीदेखि पश्चिम र कर्णालीदेखि पूर्व मगरात थियो भन्ने अनेक प्रमाणहरूले पुष्टि गरेका छन् । केही उदाहरण :
कल्हणकृत राजतरङ्गिणी ४ : ५३१ मा नवौं शताब्दिमा खश काश्मीरका राजा जयापीडलाई नेपालका राजा अरमुडिले पराजित गरेको बताइएको छ । राजतरङ्गिणी ५ : ५४५ मा अरमुडिको किल्ला कालीगण्डकी किनारमा रहेको उल्लेख भएकाले अरमुडि मगर राजा भएको अनुमान हुन्छ ।
नेपाल सम्वत् ११९ अर्थात् वि. सं. १०५५ मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणकको उल्लेख छ । सुनको कारोबार गर्ने भएकाले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकी नजिक गुल्मीका मगर भएको बुझिन्छ ।५
वि. सं. ११२६ तिर लमजुङका गंग रानकले सारेको अष्टसाहस्रिका प्रज्ञापारमिता नामको बौद्धग्रन्थको प्रतिलिपि पाइएको छ ।६
नेपाल सम्वत् २२१ अर्थात् विक्रम सम्वत् ११५७ को एक अभिलेखमा मंग्वर विषयको सताडे भन्ने ठाउँका झान्टेश्वर महादेवको पूजाआजाको प्रबन्ध मिलाउन श्री इदाभावो नायक, श्री धक्नप नायक र श्री सोहव रानेलाई नाईके छानिएको कुरा लेखिएको छ ।
विक्रम सम्वत् १२०७ तिरको एक हस्तलिखित ग्रन्थको पुष्पिकावाक्यमा उल्लिखित पन्नग विषयलाई पनि मगरातकै विषय मानिएको छ ।७
तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण, वुवार वुदा राने, ओम राण, देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे, पाक आदि राने, राणे, राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरूमध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रूपमा सम्मानित छन् ।
राणक पदले सामन्त राजालाई जनाउँथ्यो । उत्तरमध्यकालमा उपत्यकाका लक्ष्मीनरसिंह र प्रताप मल्लका पालाका अभिलेखमा ब्राह्मण, प्रधान, खश र मगरहरूलाई विशेष महत्व दिएर उल्लेख गरिएको छ ।
यसैगरी कर्णालीपश्चिमका भूभागमा खशहरूको राज्य थियो र उनीहरू बौद्ध धर्मबाट प्रभावित थिए । अहिले पनि सुर्खेतको काक्रेविहार, जुम्लाको मिचागाउँ चैत्य, अछामको कुचीविहारका भग्नावशेषले त्योबेला खश साम्राज्यमा अंगीकार गरिएको बौद्धधर्मको साक्षी दिइरहेका छन् ।८
अनुसन्धाता बालकृष्ण पोखरेल खस कुनै जाति होइन बरू महाजाति हो भन्छन् । अर्थात् उनका अनुसार खस धेरै प्रकारका जाति मिलेर बनेको एक महाजाती हो ।९
ईसाको नवौं शताब्दीको अन्त्यतिर आएर भारतका आदि शङ्कराचार्य हिन्दु धर्मको प्रचार र विस्तार गर्दै कुमाऊँ, गढवालसम्मै आएका थिए । पछि उनी अहिलेको काठमाडौंसम्मै पुगे । धेरै बौद्धमार्गीलाई हिन्दुधर्ममा ल्याए । उनै आदि शङ्कराचार्यले बौद्ध धर्मका लाखौं ग्रन्थहरू जलाउन लगाएको कुरा पनि विभिन्न इतिहासकारहरूले जनाएका छन् तर, यसको प्रमाण भने कतै पाइएको उदाहरण छैन ।
विशाल मगरात प्रदेशमा विभिन्न गुट र कलह थियो । राजनैतिक रूपमा पाँचओटा गुटबन्दी थियो भनी प्रसिद्ध इतिहासकार ह्यामिल्टनले लेखेका छन् । उनकाअनुसार लमजुङ, पाल्पा, भिरकोट, मालिजङ (पर्वत) र प्यूठान राज्यले विभिन्न स–साना रजौटाहरूसित मिलेर शासन चलाइरहेका थिए ।१०
पृथ्वीनारायणको उदय हुँदासम्म माथिका यी राज्यहरूमा मगर, खश, गुरुङ जातिले शासन गरिरहेका थिए । तर, एकआपसमा रहेको कलह, डाह, ईष्र्या र गुटबन्दीले गर्दा नै उनीहरू नयाँ शासकको हातमा परेको हुनुपर्छ ।
को हुन् मगर ?
नेपालका प्रख्यात समाजशास्त्री जनकलाल शर्माका अनुसार मध्य एसियाबाट हिमाल नाघेर अहिलेको नेपाल देश हुँदै भारतको गंगा नदीको छेउछाउसम्म प्रवेश गरेका हूणहरू नै अहिलेका मगरहरू हुन् ।११
तिनै हूणहरूले अहिले नेपाल भनिने देशका धेरै भूभागमा आफ्नो राज्य निर्माण गरेका थिए । विशेषगरी गण्डकी र कर्णाली नदीका बीचमा पर्ने भूभाग उनीहरूको क्षेत्र थियो । तिनै हूणहरू पछि मगर कहलाइए र उनीहरूको बसोबास क्षेत्र मगरात भनियो ।
अर्का समाजशास्त्री डा. हर्षबहादुर बुढामगरकाअनुसार अहिलेका मगरहरू मध्यएसियाबाटै आएका हेप्ताल जाति थिए र उनीहरूलाई पनि सेता हूण नै भनिन्थ्यो ।१२
शर्मा र बुढामगर यो कुरामा समान विचार राख्दछन् कि हूण र हेप्तालहरू मध्यएसियाबाटै नेपालमा प्रवेश गरेका हुन् र उनीहरूको संस्कृति पनि मिल्दोजुल्दो थियो । त्यसरी हेर्दा हूण र हेप्ताल जातिको सम्मिश्रणबाट नै आजको विशाल मगर जातिको विकास भएको हुनुपर्दछ ।
किरात धर्मशास्त्र मुन्धुमलाई उद्धृत गर्दै बुढामगर लेख्छन्, ‘हिमालयको उत्तरी भेगतिर सिन नामक स्थान थियो । त्यहाँ मगरहरू पहिलोपटक देखा परे । सिन र चितु नामका अगुवाको नेतृत्वमा उनीहरू उत्तरबाट दक्षिणतिर झरे । यी दुईबाट बाह्र जाति सृजना भयो ।’
पाल्पा, मकवानपुर आदि राज्यमा शासन गर्ने राजाहरूको ‘सेन’ थर नभई पदवी थियो कि भन्न सकिन्छ ।
पूर्वी युरोपमा पर्ने देश हङ्गेरीमा मग्यार भनिने एउटा जाति छ । मिसेज बोडा सरोल्टाको नेतृत्वमा २०५३ तिर एउटा टोली नेपाल भ्रमणमा आएको थियो । उनीहरूको उद्देश्य थियो कि हङ्गेरीका मग्यार र नेपालका मगर जातिबीचको समानता पहिल्याउने ।
उनीहरूलाई विश्वास के थियो भने मग्यार र मगर एकै हुन् । हुनपनि हङ्गेरी देशको सुरुको तीन अक्षर मात्र पढ्दा हूण नै बन्छ । हङ्गेरीमा चलेको एक जनश्रुतिअनुसार मध्यएसियाबाट युरोप प्रवेश गरेका हूण नामका दाजु र मग्यार नामका भाइको संयुक्त नाममा अहिलेको ज्गलनबचथ देश बनेको हो ।
बुढामगरले नेपालका मगर र हङ्गेरीका मग्यारका बीच समानता देखाउने अर्को प्रमाणका रूपमा विश्वप्रसिद्ध भाषाविद् मोरिस स्वेडेसले ईस्वीसम्वत् १९९५ अर्थात् वि. सं. २०५२ मा गरेको एक सर्वेक्षण प्रस्तुत गरेका छन् जहाँ यी दुई जातिको भाषामा २० प्रतिशत समानता देखिएको थियो ।
अर्का अनुसन्धाता प्रोफेसर जिसेप टूचीले लेखेका छन्, ‘हूणहरूले पश्चिममा हङ्गेरी र रोमलाई समेत थर्काएर राखे भने पूर्वमा बेइजिङसम्मलाई ।’१३
मध्यएसियाबाट आएका हूणहरू नै नेपालका मगर हुन् भन्नेमा अब कतै दुई मत नहोला तर, हिमाल नाघेर अहिलेको नेपाल रहेको भूखण्डमा प्रवेश गरेका मगरहरू यत्तिमै सिमित रहे कि यहाँबाट पनि अन्यत्र फैलँदै गए ? भन्ने प्रश्नको जवाफ पनि खोज्नु सान्दर्भिक देखिन्छ ।
यसै प्रसङ्गमा यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने मगरजातिलाई नागजाति पनि भनिएको पाइन्छ । अध्येता विजय सागरले लेखेका छन्, ‘सेन वंशावलीमा मगरजातिलाई नागजाति उल्लेख गरिएको छ । किराँत जातिलाई सिंह, लिम्बुलाई महाव्याध्र र मगरलाई नागजाति भनिएको छ ।’१४
मगर जातिभित्र अथवा मगर जाति नै नागवंशी थिए भन्नेमा धेरै अनुसन्धानहरूले देखाएका छन् । साहित्यकार एवं पूर्व शिक्षामन्त्री मोदनाथ प्रश्रितले प्राचिन पुस्तकहरूमा उल्लेख गरिएको नागजाति सर्प नभई मानिसको कबिला अथवा गण थियो भनेका छन् । नागको पूजा गर्ने भएकाले उनीहरूलाई नाग भनियो ।१५
डा. केशवमान शाक्य पनि यो कुरालाई स्वीकार गर्दछन् । ‘यस्तो थियो मगरको स्वर्णिम इतिहास’ शीर्षक आलेखमा उनी लेख्छन्, ‘अहिले भारतमा पर्ने मगधसम्मै मगरहरूको शासन थियो ।’१६
मगर भाषाका जानकार विद्वान एम.एस. थापामगरलाई उद्धृत गर्दै शाक्य थप लेख्छन् कि ‘बुद्धले बोल्ने भाषा पाली वा मागधी थियो र त्यो ब्राह्मी लिपिमा लेखिने गरिन्थ्यो । लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपि त्यही थियो र उक्त लिपि मगरहरूको थियो । यसरी हेर्दा मगध राज्य र मगरहरूको सम्बन्ध राम्ररी जोडिएको पाइन्छ ।’
तर, मगर भाषाका अर्का विद्वान डा. हर्षबहादुर बुढामगर ब्राम्ही लिपि मगरहरूको थियो भन्नेमा स्पष्ट हुन नसकिएको बताउँछन् ।१७
जे भएपनि प्राचीन समयमा मगरहरू तिब्बतदेखि गंगाको समतल भूभागसम्म फैलिएका थिए र उनीहरू समृद्ध थिए भन्नेमा सबै अनुसन्धाता, लेखक तथा विद्वानहरूका एक मत देखिएका छन् ।
सिक्किममा मगर जोङ्गा अर्थात् मगर किल्ला थियो र त्यहाँका मगर राजाको नाम सिन्तु सतो सेन थियो जो सिक्किमका प्रथम मगर राजा थिए । काङ्वाचेन नदीको उपत्यकामा मगरजातिको राज्य थियो । त्यहाँ अझैपनि मगरजातिको प्राचीन बजार, बस्ती र किल्लाहरूको भग्नावशेष छँदैछ ।१८
भौगोलिक सीमारेखा कोरिएर अलग–अलग बन्नुपरे पनि अहिले भारतीय उपमहाद्वीपमा पर्ने भूभागमा बसोबास गर्ने एकै खालको शारीरिक बनोट र नाकनक्शा भएको जाति एकै हो भन्न सकिने आधार छन् । विभिन्न समयमा उदाएका शासकहरूले मगर जातिलाई छिन्नभिन्न पार्न थुप्रै प्रकारका षडयन्त्र गरेका थिए । त्यसको पछिल्लो कडीको रूपमा नेपालको वर्तमान राज्य पुनर्संरचनालाई लिन सकिन्छ ।
आजभन्दा १२२ वर्षअघि अर्थात् ई. सं. १८९८ मा नेपाल आएका प्रख्यात फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीले त्योबेलामा पनि यो देशमा मगर जातिको अधोगति सुरु भइसकेकोतर्फ इंगित गर्दै यस्तो लेखेका छन्,
‘गोरखा राज्यमा अरू पुराना दुई जाति छन्– मगर र गुरुङ । पृथ्वीनारायण र उनका उत्तराधिकारीहरूले यी दुई जातिलाई आफ्नो फौजमा इज्जतसाथ राखे तर हिन्दु समाजमा बडो होसियारीसाथ मात्र ल्याए । नेपालको हिन्दु समाजमा यिनीहरूको स्थिति अझ पनि निश्चित छैन । मगरहरूको खशसँग पुरानो सम्बन्ध थियो । खश र मगर नेपालको इतिहासमा ईस्वीको चौधौं शताब्दीतिर एकैपटक देखा परे । ...
मुसलमान आक्रमणबाट भागेर आएका रजपूतहरूलाई यिनीहरूले आत्मीयता देखाई स्वागत गरे, आफूसँग राखे र पछि उनीहरूलाई नै आफ्नो मुखिया बनाए । ठाकुरहरूका बारेमा यसै भन्न नसकिए तापनि धेरैजसो खशहरू त वास्तवमा मगर रगतका हुन् । हिमाली क्षेत्र आसपासमा बस्ने अरूहरू जस्तै मगरहरू पनि तिब्बती मूलका हुन् ।
यिनीहरू पनि मासु र रक्सी खूब खान्छन् । यिनीहरूमध्ये जसले हिन्दु धर्म स्वीकार गरी गाईको मासु खान छोडे उनीहरूलाई ब्राह्मणहरूले क्षत्री वा खशको दर्जा दिए । जात परिवर्तनको यो अभियान चल्दै रह्यो । तर ब्राह्मणहरू बलिया भएपछि जात परिवर्तनको विषयमा उनीहरू त्यति उदार रहेनन् । ... आफ्नो इज्जत बढाउन भर्खरै जात फेर्नेहरूले हिन्दु अभिजातीय वंशसित आफूलाई काल्पनिक किसिमले जोड्न थाले, जस्तै– सूर्यवंशी, चन्द्रवंशी ।’१९
मलेसियामा बस्ने आदिवासीले आफूलाई मले या मलायु भन्दछन् । ईस्लाम धर्म अप्नाउनुअघिसम्म उनीहरू पनि प्रकृतिपूजक नै थिए । त्यसरी हेर्दा पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्मै मगरजातिको भूमि थियो कि भन्ने प्रश्न उठ्ने प्रशस्तै कारण देखिन्छन् ।
लेखक प्रश्रितका अनुसार, ‘नागाल्याण्डका बासिन्दाले आफूहरूलाई आजसम्म पनि नाग भन्ने गरेका छन् । ‘नागा’ त अँग्रेजले आफ्नो भाषामा राखिदिएको नाम हो ।’२०
उनको कुरालाई मान्ने हो भने नागाल्याण्डमा पनि मगरहरूले शासन गरेका थिए र अहिले पनि त्यहाँ उनीहरू आदिवासी अर्थात् भूमिपुत्रकै दर्जामा बसेका छन् भन्न सकिन्छ ।
मगरजातिको पहिलो शत्रु भारततिरबाट आएको वैदिक आर्यजाति थियो जसले नेपालकोे भूभागमा राजनैतिकभन्दा पनि धार्मिक राज्य विस्तार ग¥यो । त्योभन्दा अघि कर्णाली भूभागमा आएका खश जातिसित मगरजातिको सम्बन्ध मित्रवत् नै रहेको देखिन्छ । त्यसो हुनुको कारण खश र मगरजातिबीचमा धेरै चालचलन मिल्दाजुल्दा थिए ।
प्रा. डा. सूर्यमणि अधिकारी लेख्छन्,
‘अझैपनि जुम्ला, बझाङ र जाजरकोटतिर मतवाली क्षत्रीहरूका ठूल्ठूला गाउँहरू छन् । जुम्लातिर मतवाली क्षत्रीलाई ‘पावई खश’ भन्ने चलन छ । पाखा–पखेरामा बस्ने हुनाले यिनीहरूलाई ‘पावई’ भनिएको हो । यिनीहरू जनै लगाउँदैनन् र परम्परादेखि नै मदिरा सेवन गर्न स्वतन्त्र छन् । यसर्थ यिनीहरूलाई मतवाली क्षत्री भनिन्छ । यिनीहरूका रीतिस्थिति हिन्दु परम्पराबाट बढी प्रभावित छन् तापनि ब्राह्मण पुरोहितको आवश्यकता ठानिंदैन । यिनै अपरिवर्तित मतवाली–क्षत्री अथवा पावई खश नै प्राचीन खश जातिका विशुद्ध अवशेष मानिन्छन् ।’२१
अधिकारीको अनुसन्धानअनुसार त्योबेलाका खशजाति र मगरजातिबीच स्वभावतः ठूलो भिन्नता पाउन गाह्रो हुन्छ ।
समाजशास्त्री डोरबहादुर विष्टले आफ्नो चर्चित किताब ‘सबै जातको फूलबारी’मा खश जातिका बारेमा यस्तो लेखेका छन्,
‘हाम्रा थुपै्र खश दाजुभाइहरूले आफू सफल, सम्पन्न र ठूला मानिस भएका बेला ठकुरी क्षत्री बनेर बाँकी हामीजस्ता गरिब अशिक्षित मानिसहरूलाई आफन्तै भए पनि खसेका मतवाली भन्दै ‘तल्ला जात’मा खसालेर राख्न ‘खस पावै’ भन्ने अपमानजनक शब्द प्रयोग गर्दै आएका थिए । त्यसैकारणले हामीहरूलाई पनि आफू खश हौँ भनेर स्वीकार गर्न धेरै लाज लाग्थ्यो । कसैले हामीलाई खश भनेमा रिसाउने र चित्त दुखाउने गर्दै आएका थियौँ । त्यसो त आज पनि थुप्रै खशहरूलाई आफू खश हौँ भनी स्वीकार गर्न लाज र असजिलो लाग्छ । खश हुनाको कारण उपेक्षापूर्ण व्यवहार पाउँदै आएका हुनाले हामीलाई अरूले खश भनिदिँदा अपमानित भएजस्तो लाग्छ । तर, खशवाहेक अरू कुनै नाम राख्न मिल्ने हाम्रो अर्को जातीय नाम पनि छैन ।’२२
भारतबाट वैदिक आर्यहरूको प्रवेशपछि विस्तारै अवस्था परिवर्तन भयो । खशहरू पनि पूर्णतया हिन्दुकरणमा परे । कुमाऊँको बाटो हुँदै पश्चिम नेपालमा प्रवेश गरी जुम्लाको सिञ्जामा आफ्नो राज्यप्रशासनको केन्द्र बनाउनुभन्दा अघि नै खशहरू हिन्दुधर्मप्रति आंशिक रूपमा आकृष्ट भइसकेका थिए ।२३
वैदिक आर्यहरूको प्रवेशपछि त नेपालमा हिन्दुधर्मको विस्तार झनै व्यापक भइदियो । यहाँ फेरि विष्टको भनाई राख्नु सान्दर्भिक होला । उनी थप लेख्छन्,
‘घरमा परेको सामाजिक, धार्मिक, सांस्कृतिक काम जति सबै हाम्रै धामीबाट गराउने र मष्ट, बाँटपल, ह्याँगरे, गुरा, थार्प, कालशिल्त, दारे, बबिरो, रुम, बुढु, म्वाहै, खापर, मरुद्धा, लामा आदि कहिलेकाहीँ बाहु मष्ट पनि भनिने अवैदिक देवता मान्ने हामी खशलाई बाहुनले मान्ने देवताको नामसम्म पनि थाहा छैन । जातीय हिसाबले खशहरू ककेशियन हुनाले उनीहरूको अनुहार बाहुनसित मिल्दछ । त्यसैले उनीहरूलाई क्षत्री भनाउन अरू जनजातिलाई भन्दा सजिलो पनि परेको थियो ।’२४
परिणामतः खश र मगरलगायत अन्य सबै जातिमा हिन्दु धर्मको कुनै न कुनै रूपको प्रभाव पर्न आयो । उनीहरू वैदिक आर्यहरूले ल्याएको वर्णव्यवस्था र मूत्र्तिपूजाको परम्परा मान्न बाध्य भए । शक्ति गुमाउँदै आएको मगरजाति पनि उनीहरूको प्रभावमा नपर्ने कुरै भएन । नेपालका आदिवासीहरूमध्ये हिन्दुकरणको सबैभन्दा चर्को प्रभावमा मगर जाति नै प¥यो । त्यही समयमा मगरजातिका धेरै मानिस जनै पहिरिएर क्षत्री समेत बने । कोही रहरले कोही बाध्यताले । शाहवंशको राज्य विस्तारमा पनि ब्राह्मण क्षत्रीको जत्तिकै भूमिका मगरहरूको रह्यो । त्यसैकारण निश्चित भूगोलमा केही बाक्लो वस्ती रहेको देखिए पनि बाहुन क्षत्री जसरी नै मगरहरू नेपालभरि छरिन सके ।
मगरहरू ठकुरी बनेर कथित माथिल्लो जात बन्न थालेको पनि वैदिक आर्यहरूकै प्रभाव र प्रपञ्चका कारण हो । यतिसम्म कि नेपालका अन्तिम राजवंश शाह पनि मगर नै थिए भनिन्छ । शाहहरूले यो कुरा कहिल्यै स्वीकार गरेका छैनन् । तर, पृथ्वीनारायण शाहले ‘म मगरातको राजा हुँ’ भन्नु या मामाकी (मकवानपुरका राजा हेमकर्ण सेनकी) छोरी बिहे गर्नुले मात्र होइन, धेरै त्यस्ता तथ्यहरू छन् जसले नेपालको शाहवंशीय राजपरिवार मगरजातिकै थियो भन्ने आधार प्रशस्त देखिन्छ ।
पृथ्वीनारायण शाहकी आमा कौशल्यावती पाल्पाली राजा गान्धर्व सेनमगरकी छोरी थिइन् । पृथ्वीनारायण आफैले मकवानपुरका राजा हेमकर्ण सेनमगरकी छोरी ईन्द्रकुमारीसित बिहे गरेका थिए । पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह भने कान्छी श्रीमती भारतीय राजपूतकी छोरी नरेन्द्रलक्ष्मीतिरका हुन् । प्रतापसिंहका नाती अर्थात् रणबहादुरका छोरा गीर्वाणयुद्ध त झन् तराई मूलकी मिश्रकी छोरीबाट जन्मेका थिए । यसरी नै राजपरिवारका अन्य पुरूष सदस्यहरूले पनि आर्यमूलका महिलाहरूसित वैवाहिक सम्बन्ध जोड्दै आउँदा अनुहारको बनोटमा फरक हुँदैआएको हुनसक्छ । अझ कतिपय त नेपालको राजखलक मगर जातिका भएकै कारण बाहुनहरूले षडयन्त्र गरेर राजसंस्था नै निर्मूल पारेका हुन् भन्नेहरू पनि छन् ।
तर यो तर्क आफैमा कमजोर किन छ भने राजसंस्थाले आफूलाई समयअनुकूल परिवर्तन गर्न नजानेकै कारण उसको जरा उखेलिएको हो ।
पृथ्वीनारायणका बुबा नरभूपाल शाहले पनि मगरकी छोरी बिहे गर्नुले त्यो समयको सामाजिक परम्पराको एक झल्को दिन्छ । अहिले त धर्म र परम्पराको नाममा अनेक व्यवधान हुने गरेको अवस्थामा राजपरिवार यदि आर्यमूलका भएका भए त्यसरी अन्तर्जातीय विवाह गर्नु त्यो समय कुनै हालतमा सम्भव थिएन ।
शाहवंशीय राजपरिवारका पुर्खा खाञ्चा र मिञ्चा हुन् भन्ने कुरामा पनि सबै इतिहासकारको मत मिल्दछ । यी शब्दावली पनि मगर भाषाका हुन् । मगर भाषामा कराङ्च भनेको जेठो हो भने मार्च भनेको कान्छो या सानो हो । तिनै कराङ्च र मार्च शब्दहरूको अपभ्रंश नै खाञ्चा र मिञ्चा हो भनिन्छ ।
अर्को मुख्य कुरा शाह राजाहरूको कुलदेवी स्याङ्जाकी आलमदेवी हुन् जहाँको पुजारी रानामगर हुने पुस्तौंदेखिको परम्परा रहेको छ । आफ्नो कुलदेवीको मन्दिरमा अर्को जातिको पुजारी राख्ने प्रश्नै हुँदैन ।
योगी नरहरी नाथले ‘मगर–गुरुङ वंशावली’ नामक पुस्तकमा ‘नुवाकोटको त्रिशुलीस्थित त्रिवेणी देवीघाटमा पृथ्वीनारायणको मृत्यु हुँदा उहाँको दाजु सुरथसिंह रानामगर पनि साथै थिए’ लेखेका छन् ।
यही कुरा साभार हुँदै ‘श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी’ मा पनि उल्लेख छ । पुस्तकको सुरुआतमै लेखिएको छ, ‘...श्रीश्रीश्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिंडुपतिको राज लियापछि पछिल्ला पटक् नुहाकोटमा पाउलाग्नुभयामा गुरूप्रोहित थरघर भैयाद भारादार र आफ्ना ददा सुरथिसिं राना सबैको बुढापाकाछेउ हुकुम भयाका कुरा । ...’
(अर्थात् श्री ५ बूढा महाराजाले तीन शहर नेपाल र हिन्दुपतिको राज्य लिएपछि पछिल्लो पटक नुवाकोटमा पाउलाग्नुभएमा गुरु–पुरोहित, थरघर, भैयाद, भारादार, आफ्ना ददा सुरथसिंह राना र सबै बूढापाकाछेउ हुकुम भएका कुरा ।)२५
इतिहासकारहरूले पृथ्वीनारायणसँगै एकजना मगर जातिको चाकर सती गएको उल्लेख गरेका छन् । शाह परिवारले काठमाडौंको कलंकीस्थित एक मन्दिरमा पूजा गर्दा कालो सुँगुरको बली चढाउने गरेको तथ्य पनि पाइन्छ । हिन्दुआर्यले सुँगुरको बली चढाउने कुरा कल्पना पनि गर्न सकिन्न ।
राजपरिवारमा मामाकी छोरी बिहे गर्ने चलन भर्खरैसम्म थियो । उदाहरणका निम्ति त्रिभुवनका बुबा पृथ्वीवीरविक्रमले आफ्नो मामा वीरशमशेर ज.ब.रा.की छोरी बिहे गरेका थिए । यो चलन पनि मगर जातिको हो ।
त्योभन्दा आलो उदाहरण पनि दिन सकिन्छ । छोरा दीपेन्द्रले सुप्रिया शाह र देवयानी राणालाई मन पराइरहेको आमा ऐश्वर्यलाई मन परेको थिएन । रानी ऐश्वर्य चाहन्थिन् कि हुनेवाला राजा अर्थात् आफ्नो जेठो छोरा दीपेन्द्रको बिहे आफ्नै माइती खलककी कुनै युवतीसित होस् । यसको अर्थ, दीपेन्द्रले आफ्नै मावलीको कुनै केटी बिहे गरोस् भन्ने उनको इच्छा थियो ।२६
आफ्नो चर्चित किताब ‘हाम्रो समाज : एक अध्ययन’मा समाजशास्त्री जनकलाल शर्मा लेख्छन्,
‘मगर पनि ठकुरीजस्तै मातृसत्तात्मक समाज हो । त्यसैकारण यिनीहरूमा मामाचेला फुपूचेलामा विवाह गर्ने चलन छ । मामाचेला फुपूचेला नभए मात्र यिनीहरूको अन्यत्र विवाह हुन्छ ।’२७
शर्माले अझ त्योबेलाका कवि शिखरनाथ सुवेदीको एक कविताँश यसरी उद्धृत पनि गरेका छन्,
मामाकि छोरिसित हक यिन्को लाग्छ
भानिज छैन भने आरकाले माग्छ
ठकुरी मगरको यति यौटा खुन्छ
मामाकि छोरीसित विह्यावरि हुन्छ ।
अर्थात् मगर र ठकुरीको एउटै रक्तसम्बन्ध रहेको कवि सुवेदीले कवितामार्फत् भन्दछन् । यसबाट पनि अहिलेका केही नश्लका ठकुरीहरू कुनैबेला मगर जाति नै थिए भन्न सकिन्छ । तिनै कविको अर्को चर्चित कविताको पंक्ति यस्तो छ,
मगरको वंशावलि हराएर जान्छ
ठकुरीको गाउँमा पसे पत्ता लाग्छ ।
अहिलेका धेरै ठकुरीहरू कुनै समय मगर थिए या मगर जातिसँग सम्बन्धित थिए भन्नका लागि योभन्दा राम्रो उदाहरण अर्को के हुनसक्ला ? सबै ठकुरी मगर होइनन् र सबै मगर ठकुरी होइनन् तर, शक्तिको पूजा गरिने यो भूमिमा राज्यशक्तिमा पहुँच भएका मगरहरू विस्तारै क्षत्री र ठकुरी कहलाइएका हुनसक्ने मत विश्वसनीय देखिन्छ ।
कुनै समय शासनसत्तामा पनि वर्चस्व रहेको मगर जाति कालान्तरमा नेपाली शक्तिको केन्द्र राजदरबारभित्र हुने गरेका विभिन्न षडयन्त्र र दाउपेचमा टिक्न नसकेर पाखा लाग्यो ।
केही निश्चित जातिको पनि निश्चित वंशको सहभागिता नेपाली राजनीतिक वृत्तमा हावी हुँदै आउँदा मगर जातिको सोझोपन त्यहाँ काम लाग्ने कुरै थिएन । कुनै समय विशाल मगरातको शासक जाति, नेपाल निर्माणको मुख्य सहयोगी जाति, नेपालको राजनीतिमा अथाह योगदान दिएको जाति अहिले आएर झनपछि झन् सीमान्तकृत र निम्छरो देखिएको छ ।
कतिले भन्छन् शाह त मुसलमान हो । तर, खान, खाँ, शाह भनेको जाति या थरभन्दा ज्यादा पदवी हो । खान अथवा खाँको अर्थ सम्राट भन्ने हुन्छ । यो पदवी खासमा मङ्गोलियाबाट ईराक हुँदै भारततिर आएको देखिन्छ ।
भारतमा मुगल शासन तिनै मङ्गोलियनहरूको हो । सुरुमा उनीहरूको अनुहारको बनोट चिम्सो आँखा र थेप्चो नाक नै थियो । कालान्तरमा उनीहरूको बिहेबारी अरबीयन र भारतीयहरूसित हुन थालेपछि नश्ल नै परिवर्तन हुँदैआयो । नेपालका राजपरिवारको हकमा पनि यो सत्य लागु हुन आउँछ भनिन्छ ।
शाहवंश मगर समुदायकै हो भनेर प्रख्यात इतिहासकारद्वय ह्यामिल्टनले ‘एन अकाउन्ट अफ किङडम अफ नेपाल’ र भेन्सिटार्टले ‘नोट्स अन नेपाल’ नामक आफ्ना किताबमा लेखेका छन् । यिनै ह्यामिल्टनलाई उद्धृत गर्दै विष्णुप्रसाद घिमिरेले लेखेका छन्,
‘पाल्पाका राजा महादत्त सेनका छोरा समरबहादुर सेनलाई अवधका नबाव असौफुद्दौलाहले ‘नादिर शाह’ र ‘लाल दिवान’ जस्ता उपाधि दिएका थिए ।२८
यो उदाहरणले नेपालको पछिल्लो राज खानदानमा शाह उपाधि हो थर या जात होइन भन्नेमा स्पष्ट हुन सकिन्छ ।
वि. सं. १९५१ तिर शाहहरूको असली वंशावली जलेको कुरा विदेशी लेखक इडेन भ्यान्सीटार्टले आफ्नो किताब ‘दि गुर्खा’ मा उल्लेख गरेका छन् । यदि यो सत्य हो भने त्यो आगलागी दूर्घटनावश भएको थियो कि नियतवश भन्ने प्रश्न उठाउन सकिन्छ । अर्को वंशावली तयार पार्दैगर्दा त्यस समय लेख्न पढ्न छूट पाएका केही मानिसले छलछाम गरेनन् होला र ? भन्ने प्रश्न स्वाभाविक हुन आउँछ ।
पृथ्वीनारायण शाहका माहिला छोरा बहादुर शाहको पालामा नेपाल आएका इतिहासकार कर्कप्याट्रिकले बहादुर शाहका भाइभदैहरू अझपनि मगर रीतिरिवाजमा छन् भनेर लेखेका छन् । अर्का इतिहासकार एफ.बी. ह्यामिल्टनले पनि अहिलेका राजाहरू मगरकै सन्तान हुन् भनी लेखेका छन् ।
यसरी देशी विदेशी धेरै लेखक, इतिहासकार र अनुसन्धाताहरूको साझा निचोडले के भन्छ भने मगर जाति कुनै समय यो देशको एक समृद्ध र विकसित जाति थियो र ऊ नेपाल देशको शक्तिकेन्द्रमा थियो । कालान्तरमा राजदरबार र नेपाली राजनीतिलाई प्रभावमा पारेका केही चतुरहरूले ‘मगर भनेको भारी बोकेर खाने जाति हो’ भनेर पाठ्यपुस्तकमै छपाउन सफल भए । उक्त पाठ प्राथमिक तहमा राखेर नेपालका कलिला मस्तिष्कलाई पचासको दशकसम्मै घोकाइयो । यसरी नेपालमा जानाजान राज्यसंयन्त्रबाटै मगर जातिको अवमूल्यन सुरु भएको थियो ।
यति मात्र होइन, यो राज्य मगर जातिको पहिचान मेटाउन कतिसम्म लागेको थियो भने मगर नेतृत्व÷राजाको मानमर्दन गर्नकै लागि पञ्चायतकालमा भीमनिधि तिवारीजस्ता साहित्यकारलाई ‘शिलान्यास’ जस्तो भद्दा किताब लेख्न लगाएर क्याम्पस तहमा पढायो । पञ्चायतले नै नालापानीमा युद्ध लड्नेहरूको पहिचान मेटाएर इतिहासको पुनर्लेखन गरायो ।
फलस्वरूप नालापानीमा त्यसरी बहादुरीपूर्वक लड्नेहरू नेपाली थिए भनियो तर ती नेपाली अधिकाँश मगर जातिका योद्धा थिए भन्ने तथ्यलाई लुकाइयो ।
प्रा. डा. सूर्यमणि अधिकारीका अनुसार ईसाको १२औं शताब्दीमा मात्रै खशहरूले हिन्दु बनेर वर्णव्यवस्थालाई स्वीकार गर्न थालेका हुन् । हिन्दु वर्णव्यवस्थाअनुसार उनीहरू क्षत्रीयमा परे अथवा पारिए । त्यसभन्दा अघि खशजाति बौद्ध धर्मको प्रभावमा थियो । खश र मगरजाति सँगसँगैजसो बौद्ध धर्म र हिन्दु वर्णव्यवस्थाभित्र परेका हुनसक्छन् ।
वर्णव्यवस्थाअनुसार केही टाठाबाठा मगरहरू पनि क्षत्रीय बनाइए । अहिले मगर र क्षत्री दुवै जातिमा पाइने समान थर भएकाहरू विगतमा मगरजातिकै थिए ।
हुन त वैदिक आर्यहरूले नेपाल भूमिमा प्रवेश गरेर अरूलाई आफ्नो धर्म र संस्कारमा बदल्ने काम मात्र गरेनन् । उनीहरूले यहाँका आदिवासी र भूमिपुत्रका अनेक संस्कारलाई आफ्नो बनाए पनि ।
जस्तो कि संस्कृतिविद् डा. जगमान गुरुङका शब्दमा भन्ने हो भने अहिले नेपालमा आर्य संस्कृति भनेर जसलाई भनिएको छ त्यो खश र विभिन्न आदिवासी संस्कृतिबाटै प्रभावित र विकसित भएको हो । उनी भन्छन्, ‘एकै वैदिक जरा भएर पनि भारतीय आर्य र नेपाली आर्य संस्कृतिको विधामा धेरै भिन्नता देखिन्छ ।’
हुनपनि चाडवाड मान्ने सवालमा होस् या बलिप्रथा र पूजाआजाको विषयमा होस्, नेपाल र भारतका सनातनी भनिने आर्यहरूकै मत अहिले मिल्दैन । अर्को शब्दमा भन्दा नेपालमा भएका सबै जातजातिले एकअर्काका संस्कार र संस्कृतिलाई आ–आफ्नो बनाइसकेका छन् र आफ्नै मौलिकतामा त्यसलाई अभ्यास गरिरहेका छन् । राज्यले उचित व्यवस्थापन गर्न सके यो सहिष्णुता सदैव अक्षुण्ण रहने कुरामा पनि कुनै शंका छैन ।
तर, लोकतन्त्रपछिको राज्य पनि धर्म र संस्कृति संरक्षणको मुद्दामा संवेदनशील देखिएको छैन । सयभन्दा बढी जातजाति र तिनको आफ्नै मौलिक धर्म संस्कृति रहेको देशमा राज्य नै पक्षपातको हिमायती बनेको देखिएको छ ।
‘खशहरू कर्णाली हुँदै गण्डकी क्षेत्रमा प्रवेश गरेपछि आफूजस्तै गुण र कर्म भएका यहाँका लडाका जाति मगर र गुरुङसँग उनीहरूको सम्बन्ध स्थापित भयो र यही सम्बन्धले राष्ट्र निर्माण र नेपाली राष्ट्रियतालाई सबल बनाउन सहायकसिद्ध भएको हो, संस्कृतिविद् डा. गुरुङले भनेका छन् ।’२९
अर्घाखाँची र यस वरपरका भूभाग मगरात भूमि भएका कारणले मगर राजाहरूले शासन गरेका थिए भन्नेमा दुईमत छैन तर यी विषयमा पर्याप्त अनुसन्धान हुन भने सकेको छैन । बरू अर्घामा राइठोरी (पछि शाह) वंशका राजाले राज्य हत्याउने समयमा त्यहाँ गुरुङ राजाले शासन गरिरहेको प्रा. डा. राजाराम सुवेदी लगायतले लेखेका छन् ।
त्योभन्दा अघि यहाँ मगर राजा नै थिए भन्ने एउटा आधार भने राजदरबार बनाइएको ठाउँको नाम ‘मगाथुम’ भएबाट अनुमान लगाउन सकिन्छ । पक्कै पनि यो ठाउँ मगर जाति या राज्यसित सम्बन्धित रहेको हुनुपर्छ । मगाथुममा पुरानो समयको अवशेष विद्यमान रहेको देख्न सकिन्छ । लेखक तथा अध्येता बुद्धिबहादुर रायमाझी भन्छन्, ‘मगरातकै अपभ्रंश ‘मगा’ भएको हो ।’३०